सन् २०२० मार्च महिना ११ तारिखमा विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको घोषणा गर्यो। यस सँगै विश्वका अरु राष्ट्रहरूमा जस्तै नेपालमा पनि लकडाउन (बन्दाबन्दी) अर्थात् निषेधाज्ञा हाम्रो जीवनको अभिन्न अंग बन्न पुग्यो। कयौँ महिना कडिकडाऊ साथ बन्दाबन्दीमा, निषेधाज्ञामा बाँच्नुपर्ने अवस्था सिर्जना भयो। सामान्य अवस्थामा फर्कन खोप पर्खनु भन्दा कुनै अर्को विकल्प रहेन। विभिन्न विकसित राष्ट्रका वैज्ञानिकहरु खोप पत्ता लगाउन दिनरात तल्लिन रहे। अन्ततः कोरोना बिरुद्धको खोप पत्ता लगाउन उनीहरु सफल भए। यसले विश्वका अरु मानिसहरुलाई जस्तै हामीलाई पनि आशाको किरण प्रदान गर्यो। सबैमा उत्साह थपियो। खोपको निकै लामो र सफल परीक्षण पछि नेपालमा पनि खोप उपलब्ध भयो। सम्पूर्ण संक्रमित, फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी एवं साधारण जनताहरुलाई चरणबद्ध रुपमा खोप दिइँदै थियो। अब महामारी पूर्ण रुपमा हट्ने र जीवन सामान्य अवस्थामा फर्किने आम मानिसहरु विश्वस्त थिए। अफसोच ! अकस्मात् कोरोना महामारीको दोस्रो लहर सुरुवात भइदियो। जसकारण देशमा पुनः निषेधाज्ञा लगाउनुपर्ने बाध्यता आइपर्यो । यो निषेधाज्ञा थप्ने क्रम कोरोना महामारी यथावत् रहुन्जेल निरन्तर जारी रहन्छ नै । यस्तो हुनु तपाईं हामी सबैको निम्ति संकटको घडी सुरुवात हुनु हो। अझ यसो भनौँ, अनिश्चिततामा जीवन बाँच्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुनु हो।

निषेधाज्ञा कुन रुपमा लिने ?

कोरोना महामारीमा लागू गरिने निषेधाज्ञालाई निम्न रुपमा लिन, ग्रहण गर्न सकिन्छ:

एक, सकारात्मक रुपमा लिने। निषेधाज्ञा रहर होइन, आवश्यकता हो। यो हाम्रै जीवन रक्षाका लागि हो, अवस्था झन् भयावह नबनोस् भन्नका लागि हो। निषेधाज्ञा अवधिमा जनजीवन कष्टकर हुनु, कुनै पनि किसिमको व्यवसाय सञ्चालन गर्ने वातावरण नहुनु, आर्थिक गतिविधि ठप्प हुनु वा कारोबारमा भारी मात्रामा गिरावट आउनु, निर्धारित लक्ष्य प्राप्त हुन नसक्नु, ढिलासुस्ती हुनु आदि सामान्य हुन्छन्। यस अतिरिक्त निषेधाज्ञामा जीवन पुनर्विचार गर्न, जीवन पुनर्निर्माण गर्न, जीवनको उद्देश्य पत्ता लगाउन, परिवारसँग गुणवत्ता समय बिताउन, थकावट कम गर्न लगायतका कार्यहरुको लागि पर्याप्त समयावधि प्राप्त हुन्छन्। त्यसैले निषेधाज्ञामा नकारात्मक पक्षहरुप्रति मात्र होइन, सकारात्मक पक्षहरुप्रति पनि बढी केन्द्रित रहने गरौँ।

दुई, व्यक्तिगत जिम्मेवारीको रुपमा लिने। निषेधाज्ञा सरकारको प्रयासले मात्र सफल हुन सक्दैन। यसको लागि सम्पूर्ण नागरिकहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ। कोरोना महामारी रोक्नु, निषेधाज्ञा लागू गरेर सामान्य अवस्थामा जनजीवन फर्काउनु सरकारको मात्र जिम्मेवारी हो भनेर कुनै पनि सचेत नागरिक आफ्नो व्यक्तिगत जिम्मेवारीबाट पन्छिन मिल्दैन। यदि सरकारको तर्फबाट कोरोना रोकथाममा कुनै कार्ययोजना तय नभएपनि, उदासीनता व्यक्त भएपनि एक नागरिकको तहबाट सतप्रतिशत जिम्मेवारी पूरा हुनुपर्छ। सरकारको आलोचना पछि गर्न सकिन्छ तर त्यो भन्दा पहिले आफ्नो व्यक्तिगत जिम्मेवारी पूरा गरौँ। जस्तैः घरभित्र बस्ने, अनावश्यक रुपमा बाहिर नहिँड्ने, जानु नै परे मास्क लगाउने, सामाजिक र भौतिक दुरी कायम राख्ने, सरसफाईमा ध्यान दिने आदि। यी यावत् व्यक्तिगत जिम्मेवारीहरु अरु व्यक्तिहरुबाट पूरा भए नभएको विषयमा प्रश्न गर्नु, उनीहरुको गैरजिम्मेवारी हर्कत देखेर आलोचना गर्नमा समय खेर फाल्नु भन्दा पनि म जिम्मेवार छु कि छैन भनेर सजग रहने गरौँ।

के दिन काट्न गाह्रो छ ?

निषेधाज्ञामा बाहिर जाने, फुक्का फाल भएर हिँड्ने स्वतन्त्रता कसैलाई हुँदैन। घरभित्रै बस्नुपर्ने हुन्छ। बाहिर गएर मनले चाहेका कार्यहरु गर्ने, अनेकन कार्यक्रमहरुमा सहभागी हुने सुविधा उपलब्ध हुँदैन। एउटै समय तालिका अनुसार चल्नुपर्ने हुन्छ। एकै किसिमका कार्यहरु तथा गतिविधिहरु दोहोर्याएर गर्नुपर्ने हुन्छ। कति सुत्ने? कति टिभी हेर्ने? कति सामाजिक सञ्जाल प्रयोग गर्ने? कतिपटक घरको तलमाथि, भित्र बाहिर गर्ने? जीवन एकोहोरो, नीरस बन्न जान्छ। यस्तोमा अधिकांश व्यक्तिहरुको एउटै भनाइ हुन्छ, ‘क्या बोर भयो। यो निषेधाज्ञा कहिले सकिन्छ? दिन काट्न गाह्रो भयो।’ यसमा कत्तिको सत्यता छ? संक्षेपमा चर्चा गरौँ।

दिन काट्न अति गाह्रो हुने भनेको जीवनको उद्देश्य नभएका वा त्यसबारे थाहा नपाएका, एउटै क्षेत्रमा मात्र विशेषज्ञता विकास गरेका, संकुचित सोच राख्ने तथा बेरोजगार व्यक्तिहरुलाई मात्र हो। जीवनको प्रमुख उद्देश्य थाहा पाएका, विविध क्षेत्रमा विशेषज्ञता विकास गर्न सफल, खुला विचारधाराका, स्वरोजगार तथा घरमै बसेर काम गर्ने व्यक्तिहरुलाई दिन काट्न कहिल्यै गाह्रो हुँदैन। उनीहरु निषेधाज्ञामा समेत आफ्नो काम सम्पन्न गर्नमा व्यस्त र मस्त रहन्छन्। त्यसैगरी दिन काट्न गाह्रो हुने भन्ने विषयलाई अर्को दृष्टिकोणबाट बुझ्ने कोसिस गरौँ। केही नगरेपनि, निष्क्रिय रहेपनि दिन स्वतः कट्छ। दिनले आफ्नो गति समाएको हुन्छ। तर हामी समयको गति समाउन, गतिशील हुन र नयाँ जीवनशैली अपनाउन असक्षम रहन्छौँ। यसकारणले गर्दा हामीलाई दिन काट्न गाह्रो भएको हो। अन्यथा दिन काट्न कत्तिपनि गाह्रो छैन।

केही महत्वपूर्ण कार्यविधिहरु

कोरोना महामारी कम नहुँदासम्म, जनजीवन सामान्य अवस्थामा नआउँदासम्म बन्दाबन्दी अथवा निषेधाज्ञा कायम रहन्छ। त्यसैगरी निकट भविष्यमा कुनै नयाँ स्वरुपको महामारी आउन सक्ने र कडा निषेधाज्ञा लगाउनुपर्ने सम्भावना बेवास्ता गर्न सकिँदैन। यस्तो अवस्थामा केही नगरी बस्नु, साधारण काममा मात्र व्यस्त रहनु, कुनै नवीन कार्यमा संलग्न नहुनु, सुतेरै दिन काट्नु जस्ता गतिविधिहरु कुनै पनि कोणबाट उचित हुन सक्दैनन्। केवल समयको बर्बादी हो। उसो भए के गर्ने? निम्नानुसारको कार्यविधिहरु प्रभावकारी रुपमा अवलम्बन गर्न सकिन्छ:

परिवारलाई समय दिने

परिवारको लागि दौडधुप गरिन्छ। कठोर मिहिनेत पनि गरिन्छ। तर दुःखको कुरा गुणवत्ता समय दिन भने सकिँदैन। जसकारण परिवारमा असन्तुष्टि पैदा हुन्छ। पारिवारिक सदस्यहरु भावनात्मक सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउन सक्दैनन्, खुसी हुन सक्दैनन्। यति मात्र होइन, परिवार सन्तुलित हुन सक्दैन। यस्तो परिस्थिति सिर्जना नहोस् भन्नका लागि परिवारलाई पर्याप्त समय दिनुहोस्। यसको लागि निषेधाज्ञा समय उत्कृष्ट सावित हुन जान्छ।

मानौँ तपाईं एक विवाहित पुरुष हुनुहुन्छ। मानौँ तपाईंले श्रीमतीलाई आजको मितिसम्म समय दिन सक्नु भएको छैन। अब तपाईं निषेधाज्ञाको सदुपयोग स्वरुप श्रीमतीलाई गुणवत्ता समय दिनुहोस्। गहिरो संवाद गर्नोस्। एकले अर्कालाई बुझ्ने कोसिस गर्नोस्। एक अर्काको आवश्यकताहरु पनि बुझ्ने प्रयास गर्नोस्। शारीरिक आवश्यकता हो या भावनात्मक, त्यसबारे यकिन हुनोस् र परिपूर्ति गर्न प्रतिबद्ध रहनोस्। यसो गर्नाले तपाईंको डुब्दै गरेको सम्बन्धमा क्रमिक सुधार आउन सक्छ।

त्यसैगरी आफ्नो बच्चाबच्चीहरुलाई समय दिनुहोस्। बच्चाबच्चीहरु हेर्ने काम श्रीमतीको हो भनेर अलग्गिने गल्ती नगर्नोस्। बच्चाबच्चीहरु तपाईंको पनि प्रेम चाहन्छन्। तपाईंसँग रमाउन, खेल्न चाहन्छन्। त्यसैले उनीहरुसँग निकट रहेर उनीहरुको मनोकांक्षा, आवश्यकता, स्वभाव र समस्याहरु बुझ्ने हर कोसिस गर्नोस्। अनि सोहीअनुरुप उनीहरुलाई मार्गनिर्देशन प्रदान गर्नोस्।

त्यसैगरी आफ्नो आमाबुबासँग गुणवत्ता समय व्यतीत गर्नोस्। तपाईं जुन अनुपातमा जवान हुँदै हुनुहुन्छ, त्यही अनुपातमा तपाईंको आमाबुबा पनि बुढेसकालमा प्रवेश गर्दै हुनुहुन्छ। त्यसैले आमाबुबाको लागि पनि समय छुट्याउने गर्नोस्। उहाँहरुसँग गहिरो अन्तरक्रिया गर्ने, उहाँहरुले भोगेको अनुभवबाट ज्ञान लिने, उहाँहरुको इच्छा, आकांक्षा सुन्ने र त्यसलाई पूरा गर्नमा सक्रिय रहनोस्।

रुचिकर कार्य गर्ने

सामान्य अवस्थामा प्रायः अरुको कार्य गरिन्छ। यसको अर्थ हो, जागिर खानु। अधिक समय र उर्जा यसैमा लगानी गरिन्छ। कारण? जीवन धान्नुपर्ने हुन्छ। आकर्षक करिअर निर्माण गर्ने भोक हुन्छ। परिवार पाल्नुपर्ने दायित्व हुन्छ। रुचिको काम गरेर तत्काल यो सब कुराहरुको सुनिश्चितता हुन सक्दैन। अनि आफ्नो रुचि दबाएर अरुको संस्थामा जागिरे हुन पुगिन्छ। जागिर खानु भनेको अरुको सपना र रुचिमा काम गर्नु न हो। जागिर खाएर जतिसुकै ठूलो सफलता प्राप्त गरेपनि सन्तुष्ट हुन भने सकिँदैन। आफ्नो रुचिको कार्य गरेर सफल हुँदा जुन स्तरको सन्तुष्टि प्राप्त हुन्छ, त्यो स्तरको सन्तुष्टि जागिर गरेर सफल हुँदा प्राप्त हुँदैन। त्यसैले रुचिकर कार्य गर्नोस्। यस्तो कार्य गर्नका लागि निषेधाज्ञा समयभन्दा अरु समय उपयुक्त हुन सक्दैन। तपाईंले गर्न सक्ने रुचिकर कार्यहरु गीत गाउने, संगीत रचना गर्ने, चित्र कोर्ने, खाना पकाउने, पुस्तक पढ्ने, लेख लेख्ने, पुस्तक लेख्ने, नेपाली टाइपिङ सिक्ने आदि हुन सक्छन्। आफ्ना सबै रुचिहरु पूरा गर्नोस्। र, कुनै एकलाई पेशामा परिणत गर्ने कोसिस गर्नोस्। जसले तपाईंलाई महान् सफलता सँगै सन्तुष्टि पनि प्राप्त गर्न मद्दत मिल्छ।

जीवन पुनर्निर्माण गर्ने

निषेधाज्ञा जीवन पुनर्विचार गर्ने वा जीवन पुनर्निर्माण गर्ने समयावधिको रुपमा सदुपयोग गर्न सकिन्छ। मानौँ तपाईंलाई आफ्नो जीवनको उद्देश्य थाहा छैन। र पनि जीवन धान्न एउटा सानो व्यवसाय सञ्चालन गर्नु भएको छ। मानौँ तपाईंलाई म किन व्यवसाय गर्दै छु भन्ने कुनै ज्ञान छैन। मानौँ तपाईंको व्यवसायले बृहत् रुप सकेन। टिक्न मात्र सफल छ। यस्तोमा निषेधाज्ञा लागू भयो। अब तपाईं अत्तालिने होइन। व्यवसायबारे पुनर्विचार गर्नोस्। व्यवसाय किन फस्टाउन सकेन? किन ब्राण्ड बन्न सकेन? संकटको घडीमा पनि कसरी व्यवसाय अगाडि बढाउन सक्छु? यी यावत् विषयमा सोचमग्न हुनोस्।

मानौँ तपाईंले केही हप्ताको मन्थनबाट व्यवसाय तपाईंको लागि होइन भन्ने निष्कर्ष निकाल्नु भयो। मानौँ तपाईंले आफ्नो जीवनको उद्देश्य लेखक एवं प्रेरक वक्ता बन्नु रहेको पत्ता लगाउनु भयो। अब तपाईं व्यक्तिगत विकास कार्यमा संलग्न रहनोस्। यसको लागि विभिन्न पुस्तक अध्ययन साथसाथै तालिममा सहभागी हुनोस्। विशेषतः लेखक र प्रेरक वक्ता बन्न सहयोग गर्ने पुस्तकहरु अध्ययन गर्नोस्। सोही उद्देश्य प्राप्त गर्न सहयोगी भूमिका खेल्ने तालिममा सहभागी हुनोस्। उदाहरणको लागि, मनोविज्ञान, भावनात्मक महारत, नेतृत्वकला, संवाद कौशल आदि सम्बन्धित पुस्तक तथा तालिमहरु। त्यसैगरी सफल लेखक र प्रेरक वक्ताहरुलाई  प्रत्यक्ष भेटेर कुराकानी गर्नोस्। प्रतिक्रिया र सुझावको लागि अनुरोध गर्नोस्। उनीहरुले दिएका प्रतिक्रिया र सुझाव अनुसार अगाडि बढ्नोस्। यसो गर्नाले तपाईंको जीवन पुनर्निर्माण सम्पन्न हुन धेरै समय लाग्दैन। परिणामस्वरूप तपाईं पारिश्रमिक दासताको दलदलबाट दीर्घकालीन रुपमा मुक्त रहन सक्नुहुन्छ। तपाईंको जीवन अर्थपूर्ण हुनुका साथै सन्तुष्टिले भरिपूर्ण हुन्छ।

प्राकृतिक सुन्दरता अवलोकन गर्ने

कार्य व्यस्तताले प्राकृतिक सुन्दरताको आन्नद लिन भ्याइरहेका हुँदैनौं। यस्तोमा निषेधाज्ञा समय अवधि नै प्राकृतिक सुन्दरता अवलोकन गर्ने र त्यसको भरपूर आनन्द लिने राम्रो अवसर हो। यहाँहरु सबैलाई एउटा व्यक्तिगत अनुभूति साट्न चाहन्छु। केही दिन अगाडिको कुरा हो, गोरखामा अकस्मात घामपानी परेको थियो। निषेधाज्ञा कडा रुपमा लागू गरिएको हुँदा कहीँ निस्कने अवस्था थिएन। घरबाट बाहिरी वातावरण अवलोकन गरिरहेको थिएँ। सोही समयमा घरभन्दा तीन सयदेखि चार सय मिटरको दूरीमा दुईवटा आकर्षक इन्द्रेणी देखा पर्यो। प्रकृतिले सिर्जना गरेको यति सुन्दर र मनमोहक दृश्य अहिलेसम्म अवलोकन गर्ने अवसर मिलेको थिएन। जुन यही निषेधाज्ञामा प्राप्त भयो। ती दुई इन्द्रेणीको सूक्ष्म अवलोकन गरेपछि इन्द्रेणी झुक्न सकेकै कारण अत्याधिक सुन्दर रहने अन्तरदृष्टि मलाई प्राप्त भयो। यदि तपाईंहरु पनि यस्तै मिठो अनुभूति, सुखानुभूति लिन चाहनुहुन्छ भने प्राकृतिक सुन्दरता अवलोकन गर्ने सबै अवसरहरू सदुपयोग गर्नोस्। प्रकृतिले सिर्जना गर्ने या पस्कने सुन्दरता अवलोकन गर्न छुटाउनु भनेको जीवन पूर्ण रुपमा जीउन छुटाउनु हो।

सहयोगका लागि तयार रहने

निषेधाज्ञा संकटको घडी हो। यस प्रतिकूल घडीमा, समयमा सबैले जीवन बाँच्ने समान हैसियत राख्छन् भन्ने छैन। यस्तो विषम परिस्थितिमा सरकारले सबै चीज, वस्तुहरूको व्यवस्था मिलाउन सक्दैन। त्यसैले तपाईं हामी सहयोगको आवश्यकता पर्ने व्यक्तिहरुलाई सहयोगी हात बढाउन तयार हुनुपर्छ। सहयोग निकै ठूलो हुनुपर्छ भन्ने छैन। मूख्य कुरा सकेको सहयोग गर्ने हो। उदाहरणार्थ, मानौँ तपाईं पूर्ण रुपमा निको भइसकेको कोरोना संक्रमित हुनुहुन्छ। यस्तोमा तपाईं कोभिड- १९ प्लाज्मा दान गर्न सक्नुहुन्छ। यो कोरोना संक्रमित बिरामीको लागि निकै ठूलो सहयोग हुन्छ। त्यसैगरी मानौँ तपाईं घरधनी हुनुहुन्छ। मानौँ तपाईंको घरमा सामान्य जागिर खाने विद्यार्थी भाडामा बसेको छ। यस्तोमा तपाईं निषेधाज्ञा अवधिभरको लागि घरभाडा मिनाहा गर्न सक्नुहुन्छ। यो नै ती विद्यार्थीको लागि निकै ठूलो सहयोग हुन्छ।

सहयोग चर्चामा आउने, भाइरल हुने मनसायले गरिनु हुँदैन। यदि तपाईंले कसैलाई सहयोग गर्नुहुन्छ भने त्यसलाई तपाईंमा सीमित राख्नोस्। सामाजिक सञ्जालको भित्तामा रङ्गाउनु आवश्यक छैन। प्रचार गरिएको सामाजिक कामलाई सामाजिक कामको रुपमा व्याख्या गर्न मिल्दैन। हिजोआज व्यापारीले अक्सिजन सिलिन्डर लुकाएका कुरा, मास्क र अक्सिमिटरमा अचाक्ली मूल्य वृद्धि गरिएका कुरा, कोरोना कालमा धन्दा चलाएको कुराका समाचारहरु विभिन्न संचार माध्यममा पढ्न पाइन्छन्। यो खेदजनक गतिविधि हो र पूर्ण रुपमा बन्द गरिनुपर्छ। गलत नियतले सहयोगी हात बढाउन तयार रहने सम्पूर्ण व्यक्तिहरुलाई आग्रह, ‘महामारीमा सहयोग शब्दको दुरुपयोग नगर्नोस्। सहयोगको आवरणमा व्यापार नगर्नोस्।’