कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य ‘ नामक यस शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – राष्ट्रिय पुस्तकालय अभियान 

कारागारमा पुस्तकालय अभियानका अभियन्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ “कारागार साहित्य” सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेल–जीवन बिताइरहनुभएकाहरूको साहित्य–सिर्जना प्रस्तुत गरिने छ । अवश्य नै, सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुने छन् । तर जेल–जीवन बिताइरहनुभएकाहरूको कथा–व्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट

==========================

कर्मचारी हुँदाको पीडा

जीवन अविरल खोलाको भेलझैं बगिरहेको छ । कहिले उकाली त कहिले ओराली, कहिले घाम त कहिले छायाझैं दुख र सुखका दुई पाटासँग लुकामारी खेलेझैं खेलिरहेको छ । चालीसौँ बसन्तसँग मितेरी गाँस्दै दु:ख र सुखको भारी बोकी प्राइभेट कम्पनीको रोजगारीसँग जीवन ठोकिन पुगेछ । बाहिरबाट हेर्दा म आफ्नो पेसामा सफल मानिसमध्ये एक थिएँ, प्रशंसकहरूकाे कमि थिएन । आलोचक पनि यथेष्ट थिए । घरपरिवार, गाउँ, समाजमा राम्रो छवि बनेर सामान्य दिनचर्याका साथ जीवनयापन भइरहेकाे थियो ।

कर्मचारीको हैसियतमा रहेर कार्य गर्दा ममा यति कार्यप्रति लगाव बस्न पुग्यो कि सबथोक भएर पनि मुख्य कुरा नभए जस्तो र अनेक गोरेटोमा हिँडिसक्दा पनि मूलबाटो नपाएर भौँतारिए जस्तो तरिकाले घरपरिवार, गाउँ, समाजलाई भुलेर दिनरात नभनी लागि परिरहन्थेँ । परिवारिक खराब समयको चक्रसँगै रोजगारदाताको परिवर्तित व्यवहार बुझ्न मलाई गाह्रो हुँदै जाँदै थियो । त्यसैक्रममा २०७४ चैत्र ०६ गते मेरो जीवनमा अप्रिय दाग लाग्न पुग्यो । नखाएको विष लाग्यो ।

विधिको विडम्बना या नियतिको खेल ! कम्पनीले नक्कली अन्तशुल्क स्टिकर खरिद गरी राजस्व हिनामिना गर्ने कार्यमा सहयोग गरेको सहयोगी मतियारको रुपमा कसुरदार ठहर्‍याई जेल जीवन बिताउन बाध्य भएको छु । जेल र कारागार भन्ने शब्दावली सुनेर डराउने म स्वयम् आज बन्दी जीवन बिताउन विवश छु । राज्यको जुन कानुनले मलाई आज कैदी जीवन बिताउन बाध्य बनायो, त्यो कानुन कार्यान्वयन गर्ने निकायले म एउटा रोजगार गर्ने व्यक्तिप्रति मतियारको भूमिकामा सबुत प्रमाण बेगर नै मेरो क्षमताभन्दा बढी जरिवाना गरी चार भित्ताभित्र कैद गरिदियो ।

त्यसरी नै कम्पनी सञ्चालकहरुमा आएको मप्रतिको बदलाव र दृष्टिकोण देखेर बिरक्तिन पुग्दछु । मान्छे अवसरवादी सोच र विकारबाट ग्रसित हुन्छ भन्ने चाहिँ सोचेको पनि थिएन । दिन र रात नभनी जुन कर्मचारीले कम्पनीको कार्यलाई (अर्काको त हो नि) आफ्नो ठानेर गर्‍यो, साथसाथै कम्पनीको लागि जेलनेल भोग्न विवश भयो । त्यो कर्मचारी आज दुखमा पर्दा सान्त्वना र हौसला प्रदान गर्नु पर्ने ठाउँमा उल्टो धम्काउने र तर्साउने शैलीमा प्रस्तुत हुन्छ भने, कोप्रति विश्वास जगाउने र कसलाई विश्वास गर्ने ?

विश्वास गर्न लायक नभएको मान्छेलाई विश्वास गरेर मैले जीवनमा ठूलो भुल गरेँ र आज एउटा कर्मचारी भएर सहयोग गर्दाको पीडा महसुस गरिरहेको छु । चार दिवारभित्र एक्लो जीवन जिउनु पर्दाको क्षण अनि कारागारमा बन्दी भएपछि साथीभाइ, आफन्तहरु पराइ भए र बेग्लै दृष्टिकोणले हेर्न थाले । यस कुराले साह्रै मन दुख्दो रहेछ ।

चार पाँच वर्षको तोते बोली बोल्ने नाबालक बच्चोको बोली सुन्न र हेर्नका लागि बानी परिसकेका यी नयन र कानहरु सुन्न र देख्न नपाउँदा साह्रै विचलित हुँदा रहेछन् । कति मिठा मिठा सपना र आशाको जालो बुनेको थिएँ, क्षणभरमै खरानी भयो । थाहा छैन, भोलि के हुने हो ? त्यो भविष्यको गर्भमा रहेको विषय हो । वर्तमान अवस्थामा टुटेफुटेका मनलाई एकीकृत गरी कारागारलाई भूत र वर्तमानको कमिकमजोरी नियाल्ने थलोको रुपमा परिभाषित गर्दै यो एउटा विश्वविद्यालयको रुपमा अँगालेको छु । चार पर्खालभित्रको यो दुनियाँलाई साँचो अर्थमा जीवनप्रतिको दायित्व बोध र मानवमा शिक्षा र सीप दिने विश्वविद्यालयको हुनुपर्ने गुणहरूका  रुपमा लिनै पर्ने हुन्छ । जति सक्दो आफूमा सकारात्मक सोचको विकास अनि विस्तार गरेर परिपक्वताका साथ जीवनलाई गति दिनु सार्थकता हुनेछ ।

शारीरिक वा मानसिक रुपमा विक्षिप्त नभई समाजको अगाडि ज्ञान र सीप फिजाउने आत्मबलको विकास गर्नु सम्पूर्ण बन्दी साथीहरुको कर्तव्य हुनेछ । नयाँ सोच र नयाँ विचारका साथ पुनः  समाजमा स्थापित भएर जीवन जिउने सुरुवाती कदमको विकास गरी आजैबाट थालनी गर्नुपर्ने छ।

भवानीप्रसाद उप्रेती झापाली

जिल्ला कारागार कपिलवस्तु