२१ चैत्र २०७६ (अप्रिल ३, २०२०)

आज पनि राति नै निद्राले छोड्यो । त्यसो त यसको पृष्ठभूमिमा मेरो इच्छा पनि छ, इच्छा शक्ति भन्न मिल्दैन । सिर्जनात्मक कर्म नगरेको निकै भयो । कोरोना लकडाउनका निकै दिन र रातहरु परसेवामा व्यतीत हुँदै आएका थिए ।

हिजो डा. ध्रुवचन्द्र गौतमलाई फोन गरेँ । भन्नुभयो— एउटा पुस्तक (चकमन्नमा एकान्त उपन्यास) निस्कियो, रत्न पुस्तक भण्डारबाटै । यस्तो समयमा । अहिले त्यसको मुख हेर्न पाइँदैन फेसबुकमा मात्रै । अर्को लेखिसकेको छु । यो कोरोनाकालभरि अब क्यै नगर्ने; यसै आराम गर्छु ।

यस्तो सुनेर म किञ्चित आश्चर्यमा परेँ— कसरी मन ढुक्क हुन्छ, कसरी आराम गर्न सकिन्छ यो समयमा ? अरुको जीवन होइन यो एक स्रष्टाको, एक कलाकारको । रातदिन ऊ संवेदित हुन्छ । शब्दले यस जगत्लाई हरघडी टिपौँ भन्ने कामना हुन्छ, प्रयत्न हुन्छ, कसरी आराम गर्न सकिन्छ ? त्यो उहाँले भनेको मात्रै होला !

तर म आफू मात्रै त्यस्तो अनुभव गरिरहन्छु, कसरी अरुलाई आफूजस्तै ठान्न सक्छु ? लेखकका पनि आफ्नाआफ्नै आचार, धर्म, चरित्र र स्वाभाव हुँदारहेछन्; तिनको सामान्यीकरण गर्न नमिल्ने रहेछ ।

केही दिनदेखि मनमा एक निबन्ध लेखौँ भइरहेको थियो । हिजो सिक्किमका स्रष्टा राजेन्द्र भण्डारीको भूमिका पढ्दा एउटा कविको निमित्त ‘मौनता’ र ‘निशब्दता’को विषयमा गहिरो गरी उनको कुरा पढेँ । छुने खालको छ । त्यसैले रुमीलाई उद्धरण गरेर एक वाक्य लेखेँ — मौनता ईश्वरको भाषा हो अर्थोक सारा केवल असफल अनुवाद ।

मलाई लाग्यो यतिखेर विश्वमा ठूलो साइलेन्स छ, मौनता र निस्तब्धता, सर्वत्र । बाटाघाटा खाली-खाली, रिक्त छन् । गाडी, साइकल, मोटर केही छैनन्, भारी ठेला केही छैन, भिखारी, डुलुवा, सफाइकर्मी कोही छैनन् । निर्वाध स्वतन्त्र भएका कुकुरहरु केवल भोकले लठारिँदै कुध्छन् । किनभने मान्छेका होटल रेष्टुराँ बन्द भए । पिकनिक, पार्टी, भोज–भतेर, दोकान, बजार सारा बन्द भए । मान्छेका ढोका सारा बन्द भए । ठीक यसैबेला कुकुरलाई कोरोना प्रभावले समाप्त पार्ने हो कि !

बेलुका गम्दै सुतेको थिएँ— बिहान छोडेछ भने म यस टपिकमा लेख्न थाल्नेछु, एक निबन्ध हो, एक नभए दुई बसाइमा समाप्त हुनेछ ।

नभन्दै ठीक तीन बजेको थियो । उठेर विचार गरेँ, अल्छे मनले भन्यो— प्रिय साइँला, आनन्दले सुत्न छोडेर रातिहुँदो उठेर कसका लागि मरिहेर्छस् ? छोड्दे त्यो निबन्ध न सिबन्ध यो ज्यान जोगाउने बेलामा ।

अर्को मनले उत्तर दियो— बहकिने होइन गोविन्द ! खाने, बस्ने, सुत्ने, उठ्ने, लोभिने, रमाउने यावत् तृष्णाको होहोरेमा लागेर तैँले अमूल्य जीवनलाई झिल्स्याएर समाप्त पार्न लागिस् । समय कम्ती छ, जागेर उठ् । अब एक पल पनि व्यर्थमा खर्च गर्ने होइन । जागेर उठ्, उठेर लाग्— सिर्जना गर्न थाल्, तेरा सामू केवल दुई मार्ग छन् अध्ययन कि सृष्टि ।

अनि उठेँ । तयार परेर थर्मससँग माथि चढेँ । चियाको तयारी पश्चात् टेबल पर्तिरको आसनमा बसेँ, खुट्टा, पसारेँ र डायरी नं. — ३ उघारेँ । यो डायरी मेरा मित्र हरिकृष्ण खतिवडाले अष्ट्रेलियादेखि उपहार ल्याइदिएका थिए । ठूले छ यो । यो कलम कवि मदन कार्कीको उपहार । मलाई डायरी–कलम, पुस्तक सर्वाधिक ठूला पुरस्कार लाग्छन् ।

प्रत्येक दुई घण्टामा उठेर एकपल्ट जगिङ गर्छु; गर्दागर्दै आठ बज्नेबेला भयो । जगिङको नेपाली शब्द छैन । तीन मिनेट आङ तन्काउँछु दबाइ चिया सार्छु र बस्छु । यतिबेला बिस्कुट टाइम पास केही खानु हुँदैन, सेवाले कत्रो होसियारीसाथ यो लकडाउनभरिमै आफ्ना पितामाताको खाने समय र तत्त्वबारे आमूल परिवर्तन गराउँदैछिन् । त्यसैले उनले बेल बजाएपछि झरेँ । ठीक आठ बजे । पाँच घण्टा बसेपछिको गाँजरको सूप र दवाइ चिया सेवन गरेर फिरेँ ।

साढे आठसम्ममा एक निबन्ध पूरा भयो । मध्यम आकारको । कोरोनामा स्रष्टा विषयको । अन्तिम शीर्षक भरेभोलि बदल्न पनि सकिन्छ; एक सिर्जना गर्न सकेकोमा मन प्रशन्न हुन्छ तर मनमा सधैँ त्यस्तै उसाह, ऊर्जा र तत्परता हुँदैन । भएपछि लेख्ने हो । दुई उपन्यास आधी छन् ती पहिले सिध्याउनु थियो तर मन अलिक सरलतातिर ढल्किने बहाना मात्रै खोज्छ ।

आज सकेको निबन्धको शीर्षक छ- कोरोनामा स्रष्टा ।

यसरी एक सुन्दर र शान्त बिहान बिस्तारै ढल्किन लाग्यो । माथि कीर्तिपुर पाखामा सल्लाका बोट सुसाउँछन् । जाडो गर्मी ठिक्कको आनन्दकर छ । एउटा प्यान्ट–सर्ट अनि पातलो ज्याकेट र टोपीमा छु । टोपी दुईथरीका छेउमै छन् गर्मी लागे ढाका, जाडो बढे ऊनी ।

त्यसपछि फलाहारीको फोन आयो । एकछिन वार्ता ग¥यौँ । यथावत् छ जीवन्त सबै । यो निस्तब्धता, यो नीरवता । ठूलाठूला हड्तालमा पनि पैदल हिँड्नलाई बन्द हुन्थेन, युद्धमा पनि रोकिन्थेन । तर मानिस आत्मानुशासनमा छन् आज । तथ्याङ्क पल्टाएर हेरेँ गुगलमा— दिवंगतको संख्या ५१ हजार पुगेछ । शीर्ष देशको नाम यस्तो रहेछ ।
१. इटाली— १३, ९१५
२. स्पेन— १०, ३४८
३. अमेरिका— ६, ०८८
४. फ्रान्स — ५, ३८७

यसो हेर्दा चीनबाट सल्कियो तर यतिबेला इटाली प्रथम भएछ, स्पेन दोस्रो, अमेरिका तेस्रो, फ्रान्स चौथो, चाइना तीभन्दा तल ३,२२२ । यसरी चाइनाले नियन्त्रण गर्दै ल्याएछ । सुपर–पावर अमेरिकाको संख्या बढ्दै गएछ । चार्टमा विश्वको सबै देशको नाम अंकित छ— मृतक संख्या, बिरामी, निको भएका सबै छुट्याएको छ । समग्रमा मानव प्रयत्न सानो छैन । नेपालमा पाँचवटा बिरामी देखायो तर आजको देशको समाचारअनुसार मृतकको संख्या नै पाँच पुगिसकेको छ ।

बिरामी ता धेरै छन्, ४० जति । ती सबै देखाउन पाएको भए राम्रो हुन्थ्यो । विश्वलाई जति धेरै देखायो त्यति राम्रो कारण नेताहरुले धेरै सहयोग माग्न पाउँथे, पुकारा गर्न पाउँथे, ल्याउन पाउँथे, खान पाउँथे । यस्तो बेलामा, किनेका उपचारका औजार पिपिई नक्कली हुन् भन्ने समाचार छ । यदि त्यस्तै भएको हो भने बेच्ने देश पनि निर्लज्ज भन्नु पर्छ । एउटा सुपर–पावर बनेका राष्ट्रले त्यस्ता भ्रष्टहरुलाई देशमा पाल्नुको के अर्थ हुन्छ । एक गरीब मुलुकलाई नक्कली सामान बेच्नुको के अर्थ हुन्छ ?

यता केही दिनदेखि कोरोना कोषमा सहयोग खन्याएको सुन्दैछु । तर त्यो रकम कुनै जनताको सहयोगमा पुग्ने छैन । उनै शक्तिशालीहरुलाई पोस्न मात्र हुनेछ । बरु नदिए हुन्थ्यो भन्ने लाग्छ । त्यसैबेला भाइ लक्ष्मण गाम्नागेको खाउँ साथी हो खाउँ शीर्षक कविता आयो । यो कविता यसप्रकार छः

खाऊँ साथी हो खाऊँ
खाऊँ साथी हो खाऊँ
यो देशलाई पिसेर धुलो पारेर खाऊँ
ऐन नियमको आँखामा फुलो पारेर खाऊँ
हाब्रो सकेसम्म ठूलो पारेर खाऊँ
खाऊँ साथी हो खाऊँ
कानूनमा दुलै दुलो पारेर खाऊँ ।

सात पुस्तालाई मात्र होइन
सत्र पुस्तालाई पुग्ने गरी खाऊँ
खाँदा खाँदा आफ्नै पखालामा आफैँ डुब्ने गरी खाऊँ
नङ्ग्र्याएर, दारेर, निचोरेर खाऊँ
भुत्ल्याएर, रेटेर, चिथोरेर खाऊँ
सुतेर खाऊँ, बसेर खाऊँ
खाऊँ साथी हो खाऊँ
नालीमै घुँडा धसेर खाऊँ ।

क्रान्तिकारी मजेत्रोमा लुटपुटिएर खाऊँ
गेरु वश्त्रमा गुटमुटिएर खाऊँ
दौरामा ढुकुटी लुकाएर खाऊँ
लँगौटीमा सुकुटी सुकाएर खाऊँ
हिसाव हिनामिना गरेर खाऊँ
लिनादिना मिनाहा गरेर खाऊँ
नगरिदिनुपर्ने गरिदिएर खाऊँ
गरिदिनुपर्ने नगरिदिएर खाऊँ
खाने खाडलहरू खनीखनी खाऊँ
‘खानु हुँदैन’ भनीभनी खाऊँ
प्रश्न र प्रमाणहरूका मुख सिलाएर खाऊँ
खाऊँ साथी हो खाऊँ
शौचालयदेखि न्यायालयसम्म सेट मिलाएर खाऊँ ।
खबरदार !
हजार–लाख खाएर कुख्याति नकमाऊँ
करोड–अरब खाएर मान बढाऊँ
समातिए पनि बदनाम नहुने गरी खाऊँ
थुनिए पनि नाम चल्ने गरी खाऊँ
हाकाहाकी खाऊँ, भकाभकी खाऊँ
डण्डा घुमाएर खाउँ, झण्डा हल्लाएर खाउँ
बालुवाटारमा ढुकेर खाउँ, सानेपामा लुकेर खाउँ
गोकर्ण खाउँ, टुँडिखेल खाउँ
ढाटदेखि खाँदै खाँदै अर्यघाटसम्मै खाऊँ
खाऊँ साथी हो खाऊँ
यो देशलाई अगस्तीहरूको बस्ती बनाएर जाऊँ ।।

०००

यस्तो सोच्तै थिएँ । उता अफगानिस्तानका भाइ केदार संकेतले फोन गरे । एकछिन बोल्यौँ । उनको आगामी आख्यानको नाम अफगानिस्तानको रणमैदान भएछ । खुसी लाग्यो ।

त्यसपछि आजको मूल काम योगन्द्र तिमल्सिनाकृत विश्वका विख्यात साहित्यकारको परिचय पढ्ने पालो मिलाउने चिन्तामा थिएँ । चितवनका साहित्यकार भाइ डी आर पोख्रेलले पठाएको एक पोष्ट आयो, खोलेर सुनेँ—

ह्यालो, नमस्कार छ सबैजनालाई । म भर्खर अस्पतालबाट आएको छु । कुनै कारणवश म हरेक महीना अस्पताल जानुपर्छ, इन्जेक्सन लिनलाई र म डराई डराई गैराखेको थिएँ । सबै मास्कहरु लगाएर । अस्पतालको अवस्था के छ भने एउटा ढोकाबाट जान दिइन्छ अर्कोबाट आउन दिइन्छ र एकजना मान्छे मात्र एकचोटि जान दिइन्छ र कोभिड पेसेन्टहरुलाई अर्कै अस्पतालको अर्को बिल्डिङमा राखिएको छ तर पनि यति धेरै प्रिकसन (होसियारी) लिएको देखेर म आश्चर्यमा छु । के कस्तो अवस्थाबाट आज मानव जाति गुज्रिराछ । यो अमेरिका जस्तो देशमा सबै कुरा फ्यासिलिटी हुँदा मजस्तो रोगी मान्छे यो संसारमा बाँच्न पाइरहेछु भनेर पनि यिनीहरु यति डराइराछन् भने नेपाल र इण्डियाको अवस्था के होला, तपाईंहरु कल्पना गर्न सक्नुहुन्छ ? मलाई आज अस्पतालमा मेरो नाम के हो, मेरो थर के हो, मेरो जात के हो, मेरो देश के हो भनेर कसैले सोधेन । मलाई सोध्ने प्रश्नहरु तिमीलाई ज्वरो आएको छ ? तिमीलाई रुघामर्की लागेको छ ? तिमीलाई सास फेर्न गारो भएको छ ? तिमीलाई सुख्खा खोकी लागेको छ ? ती मात्र थिए ।

हेर्नोस्, जेसुकै गर्नोस् अरुबेला चाहिँ, यतिबेला चाहिँ सजग भएर आफ्नो विवेकसाथ काम गर्नोस् । सबैलाई समझाउनोस् । यसको कुनै उपचार छैन । यसको उपचार एउटै मात्र हो, तपाईंले यो भाइरसको चेनलाई ब्रेक डाउन गर्नुपर्छ । नभए यसले होष्ट (स्वागतार्थी) पाउँदै गर्छ र मान्छे यहाँ कीरा-मकोडा जस्तै मरिराछन् । तपाईंहरु न्यूजमा हेर्दै हुनुहुन्छ होला कति डेटाहरु छन्, कति डेटा छैनन् । मान्छे विध्वंशक रुपले मरिराछन् यो भाइरसले । प्लीज तपाईंहरुले डाक्टरहरुको कुरा नर्सको कुरा अथवा तपाईंहरुका गभमेन्टको कुरा मानिदिनोस् । तपाईंहरु बसिदिनोस्, तपाईंहरु जसरी हुन्छ यो भाइरस कन्ट्रोल गर्नोस् किनभने अमेरिकाजस्ता देशले ता शायद सक्ला नेपाल र इण्डिया यो सक्ने अवस्थामा छ जस्तो लाग्दैन मलाई चैँ । तपाईंलाई जे मन लाग्छ गर्नोस् । तपाईंको मनमा जति घृणा छ जति अरुप्रति जस्तो जस्तो भावना छ सबैलाई एक ठाउँमा जलाइदिनोस् अहिलेको लागि । पछि बाँचियो भने जति मनलाग्यो त्यति घृणा गर्नोस्, जति मनलाग्यो त्यति झगडा गर्नोस् तर प्लीज अहिले तपाईंलाई भाइरसले कुनै जात कुनै धर्म जान्दैन; केही अवस्थामा तपाईंलाई एउटा मान्छेको रुपमा मात्र चिन्छ । प्लीज यो कुरा मानिदिनोस् प्लीज । एउटा स्मशानमा गएर आउने मान्छे कसरी चोखिन्छ ? म आज एउटा अस्पतालमा गएर आउने मान्छे । म आज सबै सामान बाहिर फालेर सबै लुगाहरु ड्रायरमा राखेर स्यानिटाइजर गरेर म सिधैँ बाथरुम पसेर नुहाएर निक्लिँदैछु तपाईंले सोच्नोस् यहाँ कस्तो व्यवस्था छ । तपाईंहरुलाई था छैन । मेरो फेसबुकमा नेपाली बुझ्ने कति छन् तर मैले चैँ नेपाली भाषा नै प्रयोग गरेको छु र शायद भारतमा बस्नेहरु पनि हिन्दी भाषीहरु पनि यो बुझ्छन् होला, मेरा रिलेटिभले पनि बुझ्छन् होला, त्यसलाई चैँ तपाईंहरुले साधारण रुपमा नलिइदिनोस् । मानव जातिका लागि ठूलो थ्रिट (चुनौती) हो यो । तपाईंले यो विश्वास राख्नोस्, मैले बोलेको कुरा यो अमेरिकाले शायद सक्ला तर नेपाल र इण्डियामा यो सक्ने स्थिति छैन । त्यसकारणले यो अवस्थामा जसलाई रोक्न सक्नुपर्छ घरमा आउनबाट रोक्नोस् … तपाईंहरु मान्छे बन्दिनोस्, मान्छे बनेर घरमा बसिदिनोस् ।

यो एउटा पोष्ट सुनेँ र सबैलाई सुनाउनै पर्ने भएर होइन कसैले नसुन्नु पर्ने कुरा आएको सुनेर यति बोल्न बसेको हुँ । शर्मा माया नामक पात्रको यो प्रस्तुति सुन्दा के लाग्छ भने यसबाट प्रस्तोताले आफ्ना देशबासीलाई मात्र होइन, हाम्रा छिमेकी भारतीयलाई समेत तीनपल्ट होच्याएर निन्दा गरिन् । आफूले कुनै मूलमन्त्र सुनाएझैँ गरी कोरोना व्याप्त भएको झण्डै एक महीना बढी भएको बेला ‘प्लीज घरैमा बसिदिनोस्’ भन्नलाई आफ्नो वृथा अहंकार र दम्भ पोखिन् । अमेरिकाको तीनपल्ट प्रशंसा गरिन् जब कि भारतमा कोरोनाबाट ६९४ मात्र मृत्यु देखिछन् । यी शर्मा मायाद्वारा अति प्रशंसित अमेरिका विश्वकै तेस्रो स्थानमा पुगिसकेको छ । यो तुलना गर्ने कुरा होइन । यसरी अरुका प्रशंसा गरी आफ्ना दुःखी दाजुभाइलाई हीन गराउने बेला होइन । मलाई दुःख लाग्यो हामीलाई उनले बारम्बार ‘मान्छे बनिदिनोस्’ भनेकी छन् । यसरी अर्काको डेरामा पसेर आफ्नो घरतिर थुक्ने नेपाली(हरु)को बुद्धि फिरोस्— म यही कामना गर्दछु ।

ब्रह्माण्डकै सारा मानिस यसघरी क्वारेन्टाइनमा हुनुपर्छ, आइसोलेसनमा । प्रत्येकले यतिबेला आफ्नो उपलब्धि देखाउनु छ, बुद्धि, उपदेश, ज्ञान, सल्लाह, हाँसो हरकुरा शेयर गर्नु छ । साराका सारा मोबाइल कम्पनीहरु मेसेज ओसार्न व्यस्त छन् । दिनको चिया पिएर फेरि योगेन्द्र दाइको काममा लागेको थिएँ, लेखकको क्रम मिलाउँदै हेनरिक इब्सेन (पृ. १५) सम्म पुगेको थिएँ , त्यसैबाट एउटा पोष्ट आयो कसबाट हो ।

त्यसको शीर्षक रहेछ नाइस् लाइन्ज फ्रम रतन टाटा लण्डन (लण्डनका रतन टाटाबाट केही सुन्दर उक्तिहरु) । रतन टाटा भारतका एक सुविख्यात उद्योगपति, मानवतावादी चिन्तक, लेखक रहेछन् । उनका विद्वत्तापूर्ण, विचारको सानो गुच्छा यहाँ आएको रहेछ । मैले तुरुन्त भाइ खगेन्द्रलाई दमकमा फर्वार्ड गर्दै भनेँ— यिनको ट्रान्सक्राइब गरी पठाइदिनू भाइ ।
एकैछिनमा आइपुग्यो; तिनको अंग्रेजी र नेपाली दुवै संस्करण निम्नानुसार छन्ः

१. आफ्ना सन्तानलाई धनाड्य बन्न नसिकाउनोस्; उनीहरुलाई खुसी हुन सिकाउनोस्, जसले गर्दा तिनीहरु शिक्षाको महत्व बुझ्नेछन्, यसको मूल्य (कमाइ) होइन ।

२. आफ्ना खाना औषधी झैँ गरेर खानोस् होइन भने तपाईंले खाना जस्तो गरेर औषधी सेवन गर्नुपर्ला ।

३. जसले तपाईंको प्रेम गर्छ उसले तपाईंलाई एक्लै छोड्दैन किनभने छोड्ने सय कारण भेटे पनि नछोड्ने एउटा कारण भेट्नेछ ।

४. मानव जाति हुनु र मानव बन्नुमा धेरै अन्तर छ । थोरैले मात्र यो कुरा बुझ्दछन् ।

५. जन्मेपछि तपाईंले माया पाउन थाल्नुहुनेछ मरेपछि पनि तपाईंले माया पाइरहनु हुन्छ । त्यस बीचमा तपाईंले आफैँ व्यवस्थापन गर्ने हो ।

६. मानिसले तपाईंलाई ताकेर हानेका ढुङ्गा टिपेर भेला गर्नाेस् अनि एउटा स्मारक बनाउन तिनैको प्रयोग गर्नुहोस् ।

७. म ठीक निर्णयमा विश्वास गर्दिनँ म त निर्णय लिन्छु अनि तिनलाई ठीक गर्दछु ।

८. तपाईं चाँडो हिँड्न चाहनुहुन्छ भने एक्लै हिँड्नोस् । तर तपाईं टाढा परसम्म पुग्न चाहनुहुन्छ भने समूहमा हिँड्नुहोस् ।

९. फलामलाई कसैले पनि नाश गर्न सक्तैन, यो आफ्नै खियाले सकिन्छ त्यसैगरी कुनै व्यक्तिलाई कसैले ध्वस्त गर्न सक्तैन उसकै चेतनाले मात्रै ।

१०. सृष्टिका छवटा उत्कृष्ट डाक्टरहरुमा (क) सूर्य किरण (ख) विश्राम (ग) व्यायाम (घ ) सन्तुलित आहार ( ङ) आत्मविश्वास र (च) मित्रता तथा मित्र हुनु । जीवनका प्रत्येक अवस्थामा तिनलाई जोगाइराख्नोस् ।

११. तपाईंले सूर्य देख्नुभो भने तपाईंले ईश्वरको शक्ति देख्नुभो; तपाईंले चन्द्र देख्नुभो भने ईश्वरको सौन्दर्य देख्नुभो । तपाईंले ऐना हेर्नुभो भने तपाईंले ईश्वरको सुन्दरतम सृष्टि देख्नुहुन्छ त्यसकारण आफैँमा विश्वास गर्नुहोस् ।

१२. हामी सबै टुरिष्ट हौँ, ईश्वर हाम्रा ट्राभेल एजेन्ट हुन् जसले हाम्रा गन्तव्यहरु, बाटाहरु र रिजर्भेशनहरु तय गरिसकेका छन् । त्यसकारण जीवन नामको यात्राको आनन्द लिनोस् ।

अपराह्नपछि पुनः खाजा ब्रेकमा कोरोना चिन्तनमा लागेँ । ख्यालख्यालमै महासंकट आइलाग्ने हो कि ! प्रभुको लीलाको अन्तिम फेरो पो घुम्दै छ कि, कलिजुग निख्रिन लागेको हो कि । अमेरिकी शर्मा मायाको चेतावनी सुन्दा झस्केको थिएँ । त्यसैबेला धरानस्थित स्वास्थ्यविज्ञान प्रतिष्ठानका एक इन्टर्न डाक्टर जितेन्द्रप्रसाद शाहको आयो, अति राम्रो, तथ्यपरक सो निम्नानुसार सार छ । दिने त्यसपछि एउटा कविता छ गुवाहाटी की डा. इन्दुप्रभा देवीको अर्को कविता अफगानिस्तानका केदार संकेतको ।

डा. इन्दुको कविता यसप्रकार छः

शोकमग्न आँखाका तालभित्र
पराजयपछि
अर्को रणनीतिका निम्ति
शरणागत भएका छन्
यत्रोदिनका कोलाहलहरू
उखरमाउलाहरू
आफैँभित्र…

शोकमग्न आँखाका सुनसान तालभित्र
जम्दै जाँदैछन् गह्रौँ प्रश्नहरू–

के सबै आह्लादभित्र करुणता हुन्छ त ?
सबै पूर्णताभित्र शून्यता ?
सबै उच्छल उज्यालोभित्र पट्यारलाग्दो अन्धकार ?
सबै सपनालाई ध्वस्त पार्ने ब्युँझ्याईझैँ
के यो त्यही कठोर ब्युँझ्याई हो ? अन्त हो ? अथवा अन्त छ भन्ने आभास ?
पूजा पछिको करुण विसर्जन हो यो ?
हर्ष पछिको विमर्ष ?

सामूहिक हुनुको खोलभित्र
कहाँ लुकेको थियो यो निःसङ्गताको चोलो?

यत्रोदिनका प्रार्थनाहरू
घण्टाध्वनिहरू
उन्मुक्त फुरफुर्याइहरू
उद्धत अहंकारहरू
सबै सबैलाई गोता खुवाउने
कुन खोलो यो
कुन पैह्रो?

शोकमग्न आँखाका तालभित्र थुप्रिँदै जाँदैछन्
कोरोनाका राता गुलाबी फूलका चित्रजस्तै
सुन्दर
तर जटिल
र संक्रामक यी प्रश्नहरू… ….

मानिस गलेका छन् भने जति चुनौती आउँछन्, ती खप्तैछन्; बाधा खप्तैछन्,
अन्त्यमा सेवा बजार गएर आइन् । अब रातको बिर्को लाग्ने बेला भयो ।