कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य ‘ नामक यस शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – हरि खनाल, अभियन्ता (कारागारमा पुस्तकालय)

कारागारमा पुस्तकालय अभियानका अभियन्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ “कारागार साहित्य” सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेल–जीवन बिताइरहनुभएकाहरूको साहित्य–सिर्जना प्रस्तुत गरिने छ । अवश्य नै, सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुने छन् । तर जेल–जीवन बिताइरहनुभएकाहरूको कथा–व्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट

========

न्याय प्रणाली

अहिलेकाे परिस्थितिमा नेपालकाे न्याय प्रणाली खस्किँदै गएकाे छ । हाे, मानिस परिबन्धमा परेर जेल जीवन बिताउन बाध्य हुन्छ, तर ऊ जेलबाट सजायमुक्त भएर समाजमा जान्छ । त्याे समाजले उसलाई सजिलै स्वीकार्दैन । एउटा अपराधीलाई समाजले हेर्ने दृष्टिकाेण नै अलग हुन्छ । उनीहरुलाई घृणा र अवहेलित गरिन्छ । मानाैँ उनीहरू बेग्ल‌ै दुनियाँबाट आएका एलियन हुन् । जसले गर्दा उनीहरू डिप्रेसनमा परेर फेरि अपराधकाे बाटाे पहिल्याउन बाध्य हुन्छन् ।

अपराधी पनि एउटा सामाजिक प्रणाली हाे । जसलाई समाजमा बस्ने र बाँच्ने अधिकार हुन्छ । आखिर ऊ पनि मानव नै हाे । ऊभित्र पनि सबैखालका मानव संवेदनाहरु हुन्छन् । ऊ पनि दुःखमा रुन्छ, सुखमा खुसी हुन्छ । तर पनि किन याे समाजले उसलाई स्वीकार्दैन ?

उसको निम्ति सरकारले केही उचित कदम चाल्न जरुरी छ । समाजकाे आँखा खाेल्नकाे निम्ति चेतनामूलक कार्यक्रमहरु चलाउनुपर्छ । देशमा यदि अपराधलाई न्यूनीकरण गर्नुछ भने सरकारले देशका बेराेजगार युवाहरुलाई राेजगारकाे अवसर प्रदान गर्नुपर्छ । शिक्षालाई प्रोत्साहन गर्नुपर्छ । साथै हरेक क्षेत्रमा भइरहेका भ्रष्टाचारलाई न्यूनीकरण गर्नका लागि उचित कदम चाल्नुपर्छ । यदि यसाे भयाे भने पक्कै पनि नेपालकाे न्याय प्रणालीमा केही सुधार आउने छ । अनि अर्काे कुरा म के भन्न चाहन्छु भने निष्पक्ष जाँच एवं सूक्ष्म अनुसन्धान हाेस् । वास्तविक अपराधीलाई मात्र दण्ड वा सजाय मिलाेस् । कुनै पनि निर्दाेष व्यक्ति प्रहरी प्रशासनको लापरबाहीले गर्दा चार पर्खालभित्र बाँच्न विवश नहाेस् । यस्ता कुरालाई ध्यान  दिइयो भने आम नेपाली जनतालाई  नेपालकाे न्याय प्रणालीप्रति विश्वास र भराेसा हुनेछ।

के नेपालको न्याय प्रणालीले न्याय गरेको छ त ? वास्तवमा न्यायको परिभाषा खोज्ने हो भने, बरालिएका र भड्किएका मानिसलाई सही बाटोमा ल्याउन सहयोग पुर्याउनु नै न्याय हो । कुनै अपराधीलाई सजाय वा दण्ड दिनु न्याय होइन । दुनियाँको कुनै पनि अदालतले न्याय दिन सक्दैनन् । उनीहरूले अपराध गर्नेलाई दण्ड वा सजाय दिने काम गर्दछन् । वास्तवमा न्याय भनेको के हो भन्ने कुरा न्यायाधीशले नै बुझेका हुँदैनन् । समाजमा अपराधलाई निर्मूल पार्नको लागि न्याय दिनुपर्छ, दण्ड वा सजाय होइन ।
यदि अपराधीलाई दण्ड दिइयो भने त्यस व्यक्तिलाई कहिल्यै पनि सही बाटोमा ल्याउन सकिन्न ।  जसरी पहिला एउटा बालकलाई दण्ड दिदाँ सुरुमा दुख्छ, अनि ऊ कराउँछ, रून्छ र जब उसको दुखाइ सहन सक्ने क्षमतामा वृद्धि हुन्छ तब  उसलाई जति दण्ड दिए पनि सुध्रदैन । त्यस्तै प्रकारले कुनै अड्डाअदालतले न्यायको बदला कुनै अपराधीलाई दण्ड दिन्छ भने ऊ कहिल्यै पनि सही बाटोमा आउन सक्दैन । फेरि भविष्यमा ऊ अपराधको बाटोमा अग्रसर हुन्छु । किनभने ऊभित्र अदालतले दिने दण्डसजायको डर हराइसकेको हुन्छ ।
आममानिस डरको कारणले अपराध  गर्न डराउँछ तर जब उसले डरलाई जित्छ तब ऊ अपराध गर्न डराउँदैन । त्यसैले कुनै अपराध गरेको व्यक्तिलाई दण्ड वा सजाय दिनभन्दा समाज र प्रशासनले उसमाथि न्याय गर्न सक्नुपर्छ । जसरी बिरामी मानिसलाई उपचार गराइन्छ त्यसैगरी एउटा अपराध पनि मानसिक बिमारी हो । उसलाई पनि उपचारको खाँचो हुन्छ । त्यसैले एउटा अपराधीलाई पनि उपचारको खाँचो छ ।
अपराध निर्मूल पार्नुको लागी सजाय वा दण्ड कुनै विकल्प होइन, बरु प्रशासन र समाजले ऊमाथि न्याय गर्नसक्नुपर्छ, जसले गर्दा ऊ पनि भविष्यमा शिर ठाडो पारेर हिँड्न सकोस् । जीवनभर आफूले विगतका दिनहरूमा गरेका भुल र अपराधको पश्चाताप गरेर आफू सही बाटोतर्फ अग्रसर होस् र कहिल्यै पनि अपराध नगरोस् । न्यायको सही अर्थ यही हो जस्तो लाग्छ ।
शङ्कर थापा, तुलसीपुर सुधारगृह