कुनै पनि व्यवसाय, परियोजना वा संस्था वयस्कहरुको नेतृत्व तथा संलग्नताले मात्र चल्न सक्दैन, फस्टाउन सक्दैन। त्यहाँ युवाहरुको सहभागिता पनि उत्तिकै महत्वपूर्ण रहन्छ। वयस्कहरुमा नेतृत्वकला, धीरता, विशेषज्ञता, असंख्य अनुभवहरू हुन्छन् भने युवाहरूमा जोस, जाँगर, उर्जा, नयाँ सोच, केही गर्ने भोक र महत्वकांक्षा। यी दुई वर्गका मानिसहरुलाई एक ठाउँमा ल्याउन सकियो, सहकार्य गराउन सकियो भने जस्तोसुकै संवेदनशील र कठिन कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ। असम्भव, गर्न नसकिने भन्ने केही हुँदैन। यसो भन्दैमा के सम्पूर्ण युवाहरुले समान अवसर पाएका छन्? उचित स्थानमा उचित जिम्मेवारी सम्हालेका छन्? या भनौँ के उनीहरु सही तरिकाले परिचालित छन्? यी यावत् प्रश्नहरुको एउटै शब्दको उत्तर हुन्छ, ‘छैनन्।’

अधिकांश युवाहरु सामान्य तहको जागिरमा आवद्ध रहेर आफ्नो भविष्यको मार्गचित्र कोर्ने गर्छन्। भनाइको मतलब, उनीहरु आफ्नो करिअर निर्माण जागिरबाट सुरुवात गर्छन्। कारण? उनीहरुलाई एकैपटक नेतृत्वदायी भूमिका उपलब्ध हुँदैन। यसो भनौँ, दिइएको हुँदैन। यस्तोमा कर्पोरेट भर्याङ अर्थात् युथ सहभागिताको भर्याङ चढ्दै जानुको विकल्प हुँदैन। कर्पोरेट भर्याङको टुप्पोमा पुग्न त्यति सजिलो भने छैन। यसको लागि निकै समय, उर्जा र पैसा लाग्छ। यति मात्र होइन, क्षमतावान् एवं धैर्यवान् हुन सक्नुपर्छ। प्रायः युवाहरु धैर्य रहन सक्दैनन्। तत्काल परिणाम चाहन्छन्। तत्काल टुप्पोमा पुग्न चाहन्छन्। यद्यपि यसको निम्ति आवश्यक क्षमता, कौशल, सीप र विशेषज्ञता विकास कार्यमा पर्याप्त समय, उर्जा र पैसा लगानी गर्न भने तत्पर रहँदैनन्। उनीहरु केही वर्ष कुनै एक संस्थामा आवद्ध रहलान्। तर अपेक्षित परिणाम प्राप्त गरेनन् भने? करिअर निर्माण तथा जीवन परिवर्तनको कुनै संकेत पाएनन् भने? स्वभावतः उनीहरुमा संस्थाप्रति भावनात्मक सम्बन्ध रहँदैन र त्यसैले नयाँ अवसरको खोजीमा लाग्छन्। यदि कुनै पनि संस्थाको लागि समय दिँदा भविष्य सुनिश्चित हुन सक्दैन भने कोही किन त्यहाँ रहिरहन्छ?

अब कर्मचारी संग्लग्नताबारे एउटा तथ्याङ्क चर्चा गरौँ। सन् २०१७ मा ग्यालअपले प्रकाशित गरेको ‘स्टेट अफ द ग्लोबल वर्कप्लेस’ रिपोर्टअनुसार विश्वको १५ प्रतिशत कर्मचारीहरु आफू कार्यरत संस्थाप्रति भावनात्मक रुपमा संलग्न, कामप्रति उत्साहित र प्रतिबद्ध रहेको पाइयो। यसको अर्थ हो, बाँकी ८५ प्रतिशत कर्मचारीहरु आफू कार्यरत संस्थाप्रति भावनात्मक रुपमा जोडिएका छैनन्। कामप्रति कत्तिपनि उत्साहित र प्रतिबद्ध छैनन्। केवल तलब, भत्ता पकाउने खेलमा लिप्त छन्। अनि कसरी आउँछ उनीहरुको जीवनमा आमूल परिवर्तन? कसरी उनीहरु नेतृत्व तहमा रहन अथवा युथ सहभागिताको भर्याङको टुप्पोसम्म पुग्न योग्य ठहरिन्छन्?

ल्याडर अफ पार्टिसिपेसन

समाजशास्त्री रोजर हार्टले युथ सहभागिताको विषयमा एउटा सिद्धान्त प्रतिपादन छन्। जसलाई ‘ल्याडर अफ युथ पार्टिसिपेसन’ भनिन्छ। त्यस सिद्धान्तमा युथ सहभागिताका आठ चरणहरु वर्णन गरिएको छ।

  • म्यानिपुलेसन (गोटीचाल)

यो युथ सहभागिताको पहिलो खुड्किलो हो। यस चरणमा कुनै पनि राम्रो काम सम्पन्न गर्न युवाहरुलाई प्रयोग गरिन्छ। त्यो राम्रो काम युवाहरुद्वारा नै प्रेरित छ भनेर वयस्कहरु भ्रम फैलाउने गर्छन्। यस चरणमा युवाहरु जिम्मेवारी विहिन हुन्छन्।

  • डेकोरेसन (सजावट)

युवाहरुलाई आकर्षणको रुपमा प्रयोग गरिन्छ। उनीहरुले राम्रो काममा उत्साह भर्ने काम गर्छन्। उनीहरु जिम्मेवारी विहिनकै अवस्थामा हुन्छन्। जस्तै विशिष्ट व्यक्तिको स्वागतमा स-साना नानीहरुको प्रयोग हुनु, कार्यक्रम उद्घाटन समारोहमा स-साना बालबालिकालाई गीत गाउन लगाउनु सजावटका केही उदाहरणहरु हुन्।

  • टोकनिजम (प्रतिकवाद)

यस चरणमा युवाहरुलाई टोकनको रुपमा प्रयोग गरिन्छ। उनीहरुको धारणा सुनिँदैन। उनीहरु जिम्मेवारी विहिन हुन्छन्। जस्तै समारोहमा भाग लिन अनुमति दिने तर आफ्नो विचार राख्न स्वतन्त्रता नदिनु, संस्थाको संचालक समितिमा कोटा पुर्याउने अभिप्रायले मात्र युवाहरुको नियुक्ति गर्नु टोकनिजमका केही उदाहरणहरु हुन्।

  • तोकिएको तर जानकारी मात्र दिइएको

यस चरणमा युवाहरुलाई कुनै एक निश्चित काममा संलग्न गराइन्छ। उनीहरुलाई किन र कसरी त्यस काम र प्रोजेक्टमा सहभागि छन् भन्ने कुराको संक्षिप्त जानकारी मात्र दिइन्छ। यस चरणमा उनीहरुका लागि न्यून जिम्मेवारी रहन्छ।

  • परामर्श लिनु, जानकारी दिनु

यस चरणमा वयस्कहरु प्रोजेक्ट (परियोजना, कार्य) विकास गर्ने देखि संचालन सम्म गर्छन्। यसमा युवाहरुको महत्वपूर्ण योगदान भनेको उनीहरुले दिने सुझाव हो। उनीहरुलाई यो सुझाव कसरी प्रयोग गरिन्छ र त्यसपछि कस्ता परिणाम आए भन्ने कुराको पनि अवगत गराइन्छ। यस चरणमा युवाहरुका लागि जिम्मेवारी न्यून नै रहन्छ।

  • वयस्कहरुले सुरुवात गरेको, युवाहरुसँग साझा निर्णय लिइएको

यस चरणमा वयस्कहरु प्रोजेक्ट सुरू गर्छन्। महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्थामा युवाहरुको राय लिन्छन्। त्यसपछि साझा निर्णयअनुरुप अगाडि बढ्छन्। यस चरणमा युवाहरुका लागि मध्यम तहको जिम्मेवारी रहन्छ।

  • युवाहरुले सुरुवात एवं निर्देशित गरेको

यस चरणमा युवाहरुले नयाँ प्रोजेक्ट सुरू गर्ने देखि त्यसको निर्देशक पनि बन्छन्। वयस्कहरु सहायक भूमिकामा सीमित रहन्छन्। यस चरणमा युवाहरुका लागि उच्च जिम्मेवारी रहन्छ।

  • युवाहरुले सुरुवात गरेको, वयस्कहरुसँग साझा निर्णय लिइएको

यस चरणमा युवाहरु प्रोजेक्ट सुरुवात गर्छन्। उनीहरुका लागि त्यो प्रोजेक्ट विशेष हुनुका साथै प्रेरणाको स्रोत रहन्छ। उनीहरु प्रोजेक्ट सञ्चालन गर्ने क्रममा कुनै पनि किसिमको कमीकमजोरीका लागि ठाउँ राख्न चाहँदैनन्। त्यसकारण प्रोजेक्ट सम्बन्धित सबै निर्णयहरु वयस्कहरुसँग मिलेर लिन्छन्। उनीहरु वयस्कहरुको अनुभव, विशेषज्ञता र कार्य कुशलताबाट लाभान्वित हुन हर अवसरको सदुपयोग गर्छन्। यस चरणमा पनि युवाहरुका लागि जिम्मेवारी उच्च रहन्छ।

सहभागिताको भर्याङ चढ्न के गर्ने?

संस्था सानो होस् या ठूलो, त्यहाँ काम गरे पछि जो कोही ग्रोथ चाहन्छ। भविष्यको सुनिश्चितता चाहन्छ। एउटै पोजिसनमा (तहमा) रहेर काम गर्न चाहदैन। आफ्नो क्षमता र मुल्य मान्यताको कदर होस् भन्ने चाहन्छ। यदि त्यसो हुन सकेन भने? ऊ संस्था परिवर्तन गर्नमा तल्लिन रहन्छ। नयाँ अवसर र चुनौतीको खोजीमा रहन्छ। केहीजानी ऊ नयाँ अवसर पाउन, नयाँ संस्थामा कार्यरत हुन सफल भएपनि अवस्थामा परिवर्तन आउँछ भन्ने ग्यारेन्टी हुँदैन। उसलाई त्यस संस्थामा आफ्नो प्रभाव जमाउन र उपस्थिति मजबुत बनाउन अधिक मिहिनेत गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा पुनः शून्य तहबाट सङ्घर्ष गर्नुपर्ने हुन्छ। उसलाई सहभागिताको भर्याङ चढ्न निकै कष्टपूर्ण सावित हुन्छ। यो हरेक युवाको लागि लागू हुन्छ। हरेक युवाले यस्तो परिस्थिति सामना गर्नुपर्ने हुन्छ। यस्तो परिस्थितिमा सहभागिताको भर्याङ चढ्न के गर्ने? निम्नानुसारको कार्यविधिहरु, रणनीतिक कदमहरू अवलम्बन गर्न सकिन्छ।

  • अग्रसर रहने

कुर्ने व्यक्तिहरुले अवसर पाउँदैनन्। पाए पनि अरूले छोडेका अवसर मात्र पाउँछन्। त्यसैले कुनै पनि संस्थामा आवद्ध हुँदा आफ्नो उपस्थिति झल्काउने कोसिस गर्नोस्। संस्था भित्र अग्रसरता, सक्रियता बढाउने गर्नोस्। निष्क्रिय अवस्थामा नबस्नुस्। आफ्नो विचार प्रष्ट राख्ने गर्नोस्। कुनै सिर्जनात्मक योजना, विचार मनमा उत्पन्न भए नेतृत्व तहमा रहेकासँग व्यक्त गर्नोस्। कसरी त्यो योजना र विचार वास्तविकतामा परिणत गर्न सकिन्छ भन्ने विषयमा सशक्त संवाद गर्नोस्। त्यसैगरी आवश्यक परेको खण्डमा आफ्नो जिम्मेवारी बाहिरको काम गर्न पनि अप्ठ्यारो नमान्नुस्। यो मेरो काम होइन भनेर पन्छिने गल्ती नगर्नोस्। कहिलेकाहीँ टिममा जटिल समस्या खडा हुन सक्छ। यस्तो अवस्थामा आफ्नो तर्फबाट सकेको योगदान दिनुहोस्। जानेको हल दिनुहोस्। त्यसैगरी सहकर्मी साथीहरु लगायत कार्यकारी प्रमुखसँग सम्बन्ध स्थापित गर्न अग्रसर हुनोस्। उनीहरुप्रति सधैँ सकारात्मक रहने र सहयोग आदानप्रदान गर्ने सिलसिला कायम राख्नोस्।

  • ज्ञानको स्तर बृहत् बनाउने

सीमित ज्ञानले व्यक्तिको सीमितता उजागर गर्छ। यस्तो सीमित ज्ञानको सहायताले सहभागिताको भर्याङ चढ्न सकिँदैन। अवसर प्राप्त हुने त झन् सम्भावना नै रहँदैन।  त्यसैले संकुचित सोच नराख्नोस्। आफ्नो ज्ञानको दायरा फराकिलो बनाउँदै जानुहोस्। एउटैमात्र ज्ञानको स्रोतमा भर नपर्नुहोस्। विविध स्रोत र माध्यमबाट ज्ञान लिने प्रयास गर्नोस्। यसको लागि व्यक्तिगत विकास सम्बन्धी पुस्तकहरु अध्ययन गर्न सकिन्छ। यस अतिरिक्त व्यवहार कौशल देखि विभिन्न टेक्निकल (प्राबिधिक) तालिमहरुमा सहभागी हुन सकिन्छ। यसो गर्नाले तपाईंको विशेषज्ञता बढ्छ, उत्पादकताको स्तर बढ्छ। तपाईं अरु भन्दा अलग, क्षमतावान् देखिनुहुन्छ। फलस्वरूप तपाईंको अत्याधिक खोजी हुन्छ। जो कोही व्यक्ति, जुन कुनै प्रतिष्ठित संस्था तपाईंसँग सहकार्य गर्न चाहन्छ। तपाईंलाई जिम्मेवारी दिन चाहन्छ। हरदिन तपाईंको नेतृत्वमा काम गर्न, योगदान दिन, व्यवसायिक जीवनमा निरन्तर अगाडि बढ्न लालायित हुन्छ।

  • संस्थाको वर्तमान अवस्था र दूरदर्शिताबारे स्पष्ट रहने

संस्थाको वर्तमान अवस्था कस्तो छ? सामाजिक र आर्थिक अवस्था कस्तो छ? संस्थाले कस्तो दूरदर्शिता तय गरेको छ? के लक्ष्य राखेको छ? यसबारे थाहा हुन सक्यो भने संस्थामा काम गर्न सहज हुन्छ। अन्यथा त्यहाँ टिक्न सकिँदैन। नेतृत्व तहमा पुग्नु काल्पनिक कुरा बन्न जान्छ।  हरेक संस्था निश्चित सामाजिक र आर्थिक हैसियतमा बाँचेको हुन्छ। मानौँ तपाईंको मस्तिष्कमा व्यवसायको नवीन सोच, आइडिया प्रस्फुटन भयो। मानौँ त्यो आइडिया संस्थाको नेतृत्व तहलाई मन पर्यो। मानौँ त्यसमा काम गर्न ठूलो लगानी आवश्यक पर्ने देखियो तर संस्थाको कमजोर आर्थिक हैसियत छ। यस्तो अवस्थामा संस्थाले आवश्यक लगानी गर्न सक्दैन। के तपाईं बजेटको अभावमा पनि त्यो कामलाई गति दिन सक्नुहुन्छ? अपेक्षित परिणाम ल्याउन सक्नुहुन्छ? जस्तोसुकै चुनौतीको सामना गर्न तयार हुनुहुन्छ? त्यसैगरी के तपाईं संस्थाले तय गरेको दूरदर्शिता, उद्देश्य, अपेक्षा पूरा गर्नका लागि प्रतिबद्ध हुनुहुन्छ? संस्थाको कार्ययोजनामा, कार्यपद्धतिमा फिट हुन सक्नुहुन्छ? यदि तपाईंको सोच र संस्थागत सोचबीच मिलान भयो भने, संस्थाको वर्तमान अवस्था र दूरदर्शिताबारे स्पष्ट हुन सक्नुभयो भने तपाईंलाई युथ सहभागिताको भर्याङको टुप्पोसम्म पुग्न न कसैले रोक्न सक्छ, न कसैले त्यहाँबाट ओराल्न सक्छ।