कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य ‘ नामक यस शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – हरि खनाल, अभियन्ता (कारागारमा पुस्तकालय)

कारागारमा पुस्तकालय अभियानका अभियन्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ “कारागार साहित्य” सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेल–जीवन बिताइरहनुभएकाहरूको साहित्य–सिर्जना प्रस्तुत गरिने छ । अवश्य नै, सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुने छन् । तर जेल–जीवन बिताइरहनुभएकाहरूको कथा–व्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट

========

जीवनकाे यात्रामा मान्छेले अनेकौँ प्रकारका चुनाैतीहरूकाे सामना गर्नुपर्ने रहेछ । कतिपय सहज र सरल ढङ्गले हल गर्न सकिन्छ कतिपय जटिल किसिमका हाेलान् तर जे जस्ता किसिमका भए पनि चुनाैतिकाे सहज ढङ्गले सामना गर्नु र आँसु पिएर भए पनि मुहारमा मुस्कान दिन सक्नु मुख्य कुरा हाे ।
जब मान्छे वेदना, राेदन र आँसुकाे बलिन्द्रधारा बगाई बस्न विवश हुनपर्छ, याे अवस्थामा आफ्ना कथाव्यथाहरू अत्यन्तै कुण्ठित बनाएर बस्नु पर्दछ । तर भावनाका छालहरू नदीकाे भेलभन्दा पनि छिटाे छिटाे बग्न थाल्दा रहेछन् । त्यही भएर म अहिले साहित्य सृजनकाे बाटाे अँगाल्न पुगेँ । जेलसम्म आइपुग्दा मैले अलिङ्गन गरेको साहित्य यसरी फक्रिएका छन् ।
१. कसैकाे मायामा परेपछिका भावहरू मुक्तकमा 
एक्लै तड्पिएर बाँच्न पर्ने जेल रहेछ माया,
हेर्दाहेर्दै डाँडा काट्ने रेल रहेछ माया ।
मिठाे माया सम्हालेर हाँसीखुसी जिउँला भन्थ्याै,
रुने अनि रुवाउने खेल रहेछ माया ।।
२. माया गरेकाे मान्छेले अरूसँग माया गर्न थालेपछिकाे मुक्तक 
आँसु तिमीले मेरासामु झारी गयाै भने,
बिचबाटाामै मेराे माया मारी गयाै भने ।
हाे, त्यतिखेर पक्कै पागल हुन्छु सायद,
याे चाेखाे मायाहरू सँगै सारी गयाै भने ।।
३. कसैकाे यादमा 
नभने है हिरा-माेती अनि सुन चाहिन्छ,
बरु लैजाऊ मुटु-कलेजाे कुन चाहिन्छ ?
अरू सबै माग बिन्ती आँसु नमाग,
आँसु त म एक्लै जेलमा हुँदा चाहिन्छ ।।
४. म मरेपछि
 फूलजस्तै ओइलिएर यतै कतै झरेछु भने,
समय परिस्थिति भङ्गुरमा कतै परेछु भने ।
सिउँदाे सिन्दुर नपुछ्नु है प्रिय तिमीले,
यदि पुरुषाेत्तम जेलभित्र कतै मरेछ भने ।।
५. आफ्नै जीवनमा आधारित मुक्तक 
मेराे झुपडी हाेस् घर बरु, तिम्रो दरबार हुनुपर्छ,
मभन्दा हुनेखाने, राम्रो केटासँग तिम्रो घरबार हुनुपर्छ ।
बलत्कारीकाे सजाय बढाएर मात्र हाेइन ए सरकार !
हाम्रो देशमा सत्यतथ्य छानविन गर्ने सरकार हुनुपर्छ ।।
               पुरुषाेत्तम परियार 
जिल्ला कारागार, दाङ, तुलसीपुर