नमस्कार नमस्कार नमस्कार… सन्चै हुनुहुन्छ?

पछिल्लो केही महिना गुप्त भएको कोरोना फेरि उग्र भएको छ । केही समय अघिसम्म दिनमा सयौँमा मात्र देखिने अहिले हजारौँलाई देखिन थालेको छ । कोरोना यस्तै रहेछ भनेर दैनिक कामकाजमा व्यस्त जनमानसमा अब फेरि भय सिर्जना हुन थालेको छ ।

कोरोनाको प्रकोप बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेको छ । भिडभाड, आवतजावतमा रोक लगाएको छ । मैले पनि पसल बन्द गर्ने सोचेको तपाईँहरूकै मायाले मात्र खोलिराखेको छु । त्यही पनि अब मायाले नथाम्लाजस्तो छ ।

भयभन्दा ठूलो माया हैन रहेछ । पानी बसाएर ।

भय भन्ने कुरा अजिबको रहेछ, हेर्नुस् । जाने बुझेकै कुराले पनि तर्साइदिन्छ । भूत छैन भन्ने थाहा हुँदाहुँदै पनि हामी चिहानघारी र घाटतिर जान डराउँछौ । भय मनमा सिर्जना भएर मनमै हराउने कुरा हो ।  कोरोनाको भय बढेसँगै धेरै कुराहरूको भय स्वतःस्फूर्त बढेको छ ।

विद्यालय/ शैक्षिक संस्थाहरू बन्द भइसकेका छन् । निजी तथा प्रविधिको पहुँच हुने धेरैले अनलाइन कक्षाको व्यवस्था गरिसके । सरकारी तथा सामुदायिक विद्यालयमा अध्यनरत लाखौँ विद्यार्थीहरूको भविष्य भने लठिबज्र हुने भयो ।

कतिपय उद्योग कलकारखानाहरू पनि बन्द हुने मोडमै छन् । वैदेशिक रोजगारीमा गएकाहरू लामो समयदेखि निर्बाध घर आउजाउ गर्न पाएका छैनन् भने नयाँ जान चाहनेहरूका लागि पनि बाटो बन्द छ । त्यसै पनि रेमिट्यान्सले धानेको देशको अर्थतन्त्र ओरालो लागेको समयमा, कोभिडको भयले झनै प्रभाव पार्ने देखिन्छ ।

अकबरे

हुने खानेहरूले सम्भावित महामारीकाललाई भनेर रासनपानीको जोहो गर्न थालेका छन् । यसो हुनाले बजारमा खाद्य सामग्रीको माग बढ्दो छ । बजार महङ्गिदो छ । त्यतिमात्र कहाँ कतिपय दैनिक उपभोग्य सामग्रीहरूको बजारमा अभाव नै हुन थालिसक्यो भन्या !

कहाँ बस्ने, के खाने, के गर्ने ? दैनिक मजदुरी गरेर गुजारा टार्नेहरूको अवस्था झन् चिताइनसक्नु छ । दोस्रो चरणको भयले पहिलो चरणभन्दा अझै विकराल रूप नलेला भन्न सकिन्न । भारतको पछिल्ला केही दिनको तथ्याङ्कलाई हेर्ने हो भने कोरोनाले ठूलै विपद् ल्याउने निश्चयतः देखिन्छ । दैनिक लाखौँको सङ्ख्यामा बिरामीहरू भेटिनु र हजारौँको सङ्ख्यामा मर्नु कम जोखिमयुक्त कहाँ हो र !

स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने जिम्मेवारी सम्हालेको स्वास्थ्य क्षेत्र झनै लठिबज्र छ । सङ्क्रमितहरू १० हजार नपुग्दै सबैतिरका अस्पतालहरू भरिभराउ भैसकेका छन् । कति ठाउँमा त शय्याका लागि पालो कुर्नपर्ने अवस्था छ । अक्सिजन सिलिन्डरको चरम अभाव छ । मेडिकल किटहरूको अभाव छ । बिरामीहरूले भेन्टिलेटर नपाएर ज्यान गुमाइरहेका छन् । कतिले पालो कुर्दाकुर्दै प्राणपखेरु त्यागिसके ।

हुन त कोभिड आतङ्क आजको होइन । करिब दुईवर्ष पहिल्यैदेखिको हो तर यस विषयमा हाम्रो सरकार अझै कानमा तेल हालेर बसिरहेको छ । भइपरि आउने स्वास्थ्य विपद्लाई ख्याल गरेर पहिल्यै सतर्कता अपनाउन सकिन्थ्यो । कोभिडको भय कम भएको समयमा अस्पतालको क्षमता बढाउन सकिन्थ्यो । पिपिई, मास्क र ग्लोब्सजस्ता मुख्य आवश्यक सामग्रीहरू उत्पादनमा जोड दिन सकिन्थ्यो । तर यसो भएन । जब-जब विपद् आउँछ, जब-जब सरकारको कार्यकौशलमाथि प्रश्न उठ्छ सरकारले लकडाउन गरिदिन्छ । समस्यालाई बन्द कोठामा थुनेर समाधान निस्कदैन भनेर कसले बताइदिने हाम्रो सरकारलाई ? सरकारलाई थाहा हुनुपर्ने अपराधीलाई जेल हाल्दैमा अपराध निर्मूल हुँदैन ।

माफियाको चङ्गुलमा फसेको सरकार र सरोकारवालाहरू त्यतिबेला मात्र ब्युँझने गर्छन् जतिबेला सरकारले सामानहरूको खरिदबिक्री गर्छ । अलिकति गोजी भरिएपछि फेरि निदाइपनि हाल्छन् । यस्तो राजनैतिक संस्कारले झनै भय सिर्जना गर्दो रहेछ । संसारमा भय नभएको यौटै चिज छ ‘लोभ’ । नत्र जताततै भय ।

हेर्नुस् बोली महाराजको सरकार इतिहासकै निकम्मा निस्कियो च्यापत्ति मिसाएर ।

गणतान्त्रिक सरकारको भ्युटावर मोह देखेर वाक्क दिक्क लाग्या छ मलाई त । कतै खेतका बिचमा ठडिएका छन्, कतै डाडाका टुप्पोमा, देशैभरि जताततै भ्युटावरनै भ्युटावर । मैले नबुझेको कुरा यी अनेक भ्युटावरबाट हेर्ने चैँ के होला ? एसियाकै शक्तिशाली कम्युनिष्ट सरकारको नछोपिएको गुप्ताङ्ग(लाज)?

शिरमा जसको टोपी लगाउन प्रयत्नरत सरकारले शिरभन्दा पहिले गुप्ताङ्ग छोप्नुपर्छ भनेर किन नसोचेको होला । इमान राख्ने टोपीभन्दा इज्जत ढाक्ने कट्टु धेरै मुल्यवान् छ चिनी मिसाएर ।

हुन त मुहारै छोपेपछि गुप्ताङ्ग देखिएर के को लाज भन्नुहोला । ठिकै पनि हो । मुख लुकाउनेहरूसँग देखाउन लायक त्यही त हो ।

हजुर, हजुर कसो अरे? धरहरा हाम्रो शान रे?

हाहा मैले हाम्रो शान हैन भनेर भनेको पनि त छैन नि । भत्किएका भौतिक संरचनाहरू पुनर्निर्माण गर्नुपर्छ, गरिनुपर्छ तर पुननिर्माणको बहानामा सस्तो लोकप्रियता कमाउने ध्येयले मात्र हुँदैन । ठिकै छ ढलेको धरहरा बन्यो यो राम्रो पक्ष हो तर बोली महाराजलाई उद्घाटनको किन यति हतार ? अन्डरग्राउन्ड पार्किङ र हरियाली बगैँचाको लक्षसहित निर्माण भैरहेको धरहराको चुचुरो ठडिनबाहेक अरू कुन काम पूरा भएको छ भन्नुस् त ? कम्तीमा ७०/८० प्रतिशत काम त सिद्धिनु पर्छ नि!

धरहराको पुनर्निर्माण पूर्ण हुन अझै डेढ दुईवर्ष लाग्ला तर उद्घाटनमा सरकारको हतारोले केही कुराको सङ्केत गरेको चैँ स्पष्टै छ । मलाई लाग्छ सरकार आफ्नो आयुसँग खुब डराइरहेछ । ऊ मर्नुभन्दा पहिल्यै आफ्नो तारिफ सुनेर मर्न चहान्छ । इतिहासका पानामा आफ्नो नाम रङ्ग्याउन चाहन्छ । हुन त आफ्नो जीवनकालको धेरै समय गालीमात्र सुनेको सरकारले तारिफ सुन्न चाहनु नौलो कुरा पनि त होइन । कर्मको होइन जसको भारी बोक्न सबैलाई हतारो नै त हुन्छ ।

तपाईँ भन्नुहोला धरहरा निर्माणमा तेरो किन टाउको दुखाइ ? स्पष्ट पारिहालौँ मलाई धरहरा निर्माण भएकोमा टाउको दुखेको छैन । खुसीचैँ लागेको छ ।

अनि के को विरोध त? अब फेरि भन्नुहोला । यो प्रश्नसँग चै मेरा केही जवाफहरू छन् । मैले धरहराको पुनर्निर्माणको विरोध गरेको होइन । मैले खासमा सरकारको कार्यशैलीको विरोध गरेको हुँ । धरहरा पुनर्निर्माणप्रति उसले दिएको प्राथमिकतामा मेरो चित्त दुखाइ हो । सरकारले जति धरहरा निर्माणमा जागरुकता देखायो त्यही जागरुकता कोभिड विरुद्धमा लड्न देखाउन सक्थ्यो । अस्पतालहरूमा ICU को सङ्ख्या थप्न सक्थ्यो । जस कमाउनकै लागि भए पनि देशैभर सचेतना अभियान चलाउन सक्थ्यो । रहादानी सिरानी लगाएर सुतेका युवाहरूलाई देश निर्माणमा जगाउन सक्थ्यो । आफ्नो जयजयकार गर्न साइबर सेना खटाउनुको साटो तिनै कार्यकर्ताहरूलाई देश निर्माणमा लगाउन सक्थ्यो । धरहरा पुनर्निर्माण अहिलेको मुख्य एजेन्डा होइन । अहिले त सरकारले भत्किएका विद्यालयहरूको पुनर्निर्माण गर्नुपर्थ्यो । पार्टी पौवा, सामाजिक सरोकारका विषयहरूमा ध्यान दिन सक्थ्यो । भुकम्पले ढकेको जनताको मनमा मलम लगाउन सक्थ्यो । दुई छाकको जोहोमा अल्झिएका अधिकांश जनतालाई डाँडामा बसेर रमिता हेर्न कहाँ फुर्सद छ र?

साँच्चै जस कमाउनु नै थियो भने कृषिमा क्रान्ति गर्न सकिन्थ्यो । भ्युटावरमा गर्ने खर्चले किसानहरूलाई निःशुल्क उन्नत जातको बिजन दिन सकिन्थ्यो । रसायनिक मलमा छुट दिन सकिन्थ्यो । प्रत्येक स्थानिय तहमा ठडिने टावरहरूको ठाउँमा शीतघरहरू निर्माण गर्दा कसको के बिग्रन्थ्यो र ? रहादानी बनाउन लाम लाग्ने युवाहरूलाई सिप दिएर घर फिर्ता पठाइदिनू, धेरैलाई उद्यमतिर आकर्षित गर्नू, घरेलु तथा साना उद्यमीहरूले उत्पादन गरेका सामानहरूको बजारीकरण ग्यारेन्टि गरिदिनू र पो पाइन्छ जस; र पो हुन्छ जयजयकार । हाहाकार मच्चाएर जयजयकार खोज्ने, तरिका हो ! कि कसो पो हौ ?

अँ अँ, कसो अरे कसो ? भन्नेहरूले भन्लान् डाँडामा बसेर कराउनु र काम गर्नुमा फरक छ । बिलकुलै छ । म उनीहरूको तर्कसँग सहमत छु । संसारका हरेक कामहरू जटिल छन्; हुन्छन् । महामारीसँग जुध्नु सानोतिनो काम होइन । त्यही जटिल कामलाई बेवास्ता गरेको भएर चैँ चित्त दुखेको हो । त्यही जटिलतालाई मजाक गरेको भएर चैँ चित्त दुखेको हो । यसरी चैँ बुझौँ न ।

सिटामोल नपाएर प्याक प्याक भएको जनतालाई बेसार पनि खा, अम्बाका पात चबा भन्दिने ? प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले बोल्नुपर्ने बोली यही हो ? तपाईँ भन्नुस् त यसै गर्नुपर्थ्यो ? यसै भन्नुपर्थ्यो ?

यतिबेला जो कोही जनता(कार्यकर्ताबाहेक)को दिमागमा हाम्रा राजनैतिक दल र यिनका कार्यशैलीप्रति गलत छाप बसेको छ । कसैले राजनीति भन्यो भने छि नभन्ने को छ र! यसरी राजनीति प्रति वितृष्णा जाग्नु राजनैतिक कुसंस्कारले नै त हो । यहाँ साँच्चै सेवाका लागि राजनीति गर्ने कोही पनि छैन । आउने यौटा अवसर लिने र हराइदिने । नत्र किन ठूलठूला उद्योगपतिहरू करोडौँ पैसा तिरेर संसद् पद किन्छन् ? ब्यापारीले कहिल्यै घाटाको ब्यापार बारे सोच्छ र ? नत्र किन धेरै उद्योगहरूमा राजनैतिक व्यक्तिको लगानी हुन्छ ?

हजुर हजुर, ह्या राजनीति रे ? अब के बोल्ने त ? बोल्न लायक केही हुनु पर्‍यो नि! बोल्नुपर्ने विषय हाम्रा बोली महाराजलाई नै पुगेको छैन ।

देख्नुभएन? अस्ति धरहराको टुप्पामा चढेर म त आइफल टावर चढेँ भनेछन् । लजिक के भने आइफल टावरमा चढ्दा हावा आउँछ रे ! धरहरा चढ्दा पनि आयो रे ! कति हाँस्नु । के ऐतिहासिक धरहराको आफ्नै महत्त्व र परिचय छैन र ? त्यतिमात्र कहाँ धरहरा चढेर देशको विकास हेर्नु रे ! धरहराबाट विकास होइन विनाशचैँ देखिएला । टुडिखेल अतिक्रमित भएको, खुल्ला मञ्च हराएको । सबै स्पष्टै देखिँदो हो धरहराबाट ।

भयो छाडौँ यी नानाथरि कुराहरू आउनुस् बरु हामी आफ्नै समीक्षा गरौँ ।

हरेक कुरा बन्नु र बिग्रनुमा राष्ट्रमात्र जिम्मेवार हुँदैन । शासन सत्तामात्र जिम्मेवार हुदैन । सबैभन्दा जिम्मेवार त हामी जनता नै हौँ । हामीले के बोलिरहेका छौँ ? हामीले के गरिरहेका छौँ ? असलमा बोल्नुपर्ने के थियो ? गर्नुपर्ने के थियो ? जस्ता कुराहरू सोच्नै पर्ने भएको छ ।

एकपटक तपाईँ आफैँले आफैँलाई हेर्नुस् त । देख्नुभयो ? पक्कै देख्नुभयो किनभने हामीले पनि केही गरेका छैनौँ । अब कोरोनाको विपद्लाई नै हेरौँ न हामीले सुरक्षाका मापदण्डहरू कति नै पो पालना गरेका छौँ र ? मास्क लगाउनुपर्ने लगाउँदैनौँ । सर्वजनिक क्षेत्रमा भिडभाड नगर्नुपर्ने गर्छौँ । विवाह भोज भतेरमा नहिड्नुपर्ने हिडिदिन्छौँ ।

कुनै पनि रोगसँग लड्नका लागि बिरामीको शरीरमा जति धेरै एन्टिबडी बन्छ उति छिटो ऊ स्वास्थ्य हुन्छ । राष्ट्र पनि त्यही त हो जति हामी जिम्मेवार उति छिटो राष्ट्रनिर्माण । हामी कतिसम्म संवेदनाहीन भैसक्यौँ भने मन्त्री भनाउँदाहरू कुनै सर्वजनिक कार्यक्रममा गएर कसैमाथि धावा बोल्छ हामी थपडी बजाइदिन्छौँ । जिम्मेवार व्यक्ति मञ्चमा जान्छ र हाम्रा नारीहरूप्रति गलत धारणा राख्य, हेय दृष्टिले बोल्छ । हामी ताली बजाइदिन्छौँ । वा वा भनिदिन्छौँ; हाँसिदिन्छौँ । यसका अलावा हामीले चुनेका जनप्रतिनिधिहरूले गलत गर्दाखेरि मूकदर्शक बनिदिन्छौँ । गलत व्यक्ति भन्ने जान्दा जान्दै पनि चुनावमा उसैलाई चुनेर पठाइदिन्छौँ । यसरी हेर्दा गलत कार्यको बिजारोपण हामीहरूले नै गरिरहेका छौँ ।

साथीभाइ भेटघाट, गेट टुगेदर, भोज भतेर, पिकनिक, सभा सम्मेलन अहिले तत्काललाई नगर्दा हुन्न ? गर्नै परेपनि भर्चुअल गर्दा हुँदैन र ?

अब हामीले आफ्नो सुरक्षा आफैँ गर्नपर्छ । विश्व स्वास्थ्यसङ्गठनले तोकेको मापदण्डलाई अक्षरस पालना गर्नैपर्छ । स्वास्थ्य मापदण्डहरू पालना नगर्नेलाई सबैले सामाजिक बहिस्कार गरौँ ।

सजीवका लागि सबैभन्दा महत्त्वपूर्ण जीवन हो । हाम्रो सानो हेलचेक्र्याईँले हाम्रै जीवनलाई जोखिममा हालिरहेको छ । यतातिर पनि सोच्ने कि ?

ला ला ला…

उम्लि त गो !!

फु फु फु…

ढक ढक ढक…

खै खै गिलास.. ??

ल ल लिनुस् तातातो खानदानी च्या ।

हस् त आजलाई यो भ्युटावर च्या यत्ति नै ।  कोरोनाको डरले भोलिदेखि सबैले आफ्नै घरको च्या पिउनुहोला जिब्रो पड्काएर । खानदानी बाजेले पनि च्याभट्टी बन्द गर्नेछ । धन्यवाद ।