प्यारी छाेरी, 

समाज र परिवारबाट अलग्गिनु पर्दा, जीवनकाे लक्ष्य नै भुलेर दायित्व र कर्तव्यबाट बिमुख हुनुपर्दा कसकाे मनमा हर्षकाे धुन बज्छ र ? कसकाे मुहारकाे कान्ति नउडाउला र ? नयन त हिजाे पनि रसाउँथे, तर आजकाल किन यसकाे छल्काहटमा छुट्टै भावुकपना छ ? व्याकुल मन हिजाे पनि बहकिएर मलाई छाेडी कतै हराउँथ्याे, तर आजकाल याे मन गुँडमा किन फर्कन मान्दैन् ?
पाउन नसकेकाे र गुमाएकाे हिसाब खाता त पहिलेदेखि नै गरिएको थियाे । तर आजकाल यस्ताे लाग्दैछ, केही अमूल्य पल छुटाएँ जिन्दगीमा । बन्द पर्खालकाे आँखीझ्यालबाट स्वतन्त्र संसारकाे दृश्य लाेप छ । तर म त्याे कम्पनलाई महशुस गर्न सक्छु, जाे यता पनि छ । चित्कारकाे ध्वनिलाई सुन्न सक्छु, जाे यता पनि गुन्जन्छ । फरक यति मात्र हाे, मेराे ध्वनिकाे गुन्जन याे पर्खालभन्दा बाहिर पुग्दैन ।
मलाई थाहा छ, बिलापताकाे रापमा ती निर्दाेष मुटुहरु पनि जलिरहेका छन् । जस्तो यहाँ मेराे हरेक पल जल्छ । पर्खाईकाे पीडामा चाैघेराकाे मेराे बसाइलाई उनले पनि गन्नेछिन् । त्याे भाेलि कहिले आउँछ आमा ? भनेर साेध्ने छिन् । “तिम्रो बाबा छिट्टै आउनुहुन्छ छाेरी”, भन्दै मैले धकेलेका विगतका दिनहरुले एक दिन एकमुस्ट हिसाब माग्नेछ । अनि त्याे ताेते बाेली स्पष्ट हुनेछ र ममाथि प्रश्नकाे वाण चल्नेछ, “खाेई त बाबा, तपाईंले आउँछु भनेकाे किन नआएकाे ?”
अहिले बाेलेका झुठहरुले त्यतिबेला काम गर्ने छैनन्, निशब्द मेरा ओठहरूले कुनै बाहाना पाउने छैनन् । भर्खर फक्रदै गरेकाे काेमल काेपिलालाई मैले स्याहार गर्न सकिनँ । सबैभन्दा हृदयविदारक पल हाे, मेरी सानी छाेरीबाट टाढिनु पर्दाकाे क्षण । तिनी निर्दोष काेपिलाका अबाेधतामा मेराे कर्मकाे बाछिटाले चाेट पुर्याएकाे छ । मेरी घरकी लक्ष्मीसँग शिर निहुराएर माफी माग्न चाहन्छु ।
समयकाे भेलले मलाई बगाएर जता लगे पनि मेराे आशीर्वाद सदैव तिमीसँग रहनेछ । छातीमा सानाे एउटा आशाकाे झिल्काे अझै बाँकी नै छ, र त्याे आशा तिम्रो सफल भविष्यसँग जाेडिएकाे छ । तिम्रो निर्दाेष मुहारमा मेराे बाच्ने आधारहरु प्रष्ट झल्किन्छन् । त्यसैले हाेला, हारेर पनि जित्ने सङ्कल्प साँच्दैछु । मरेर पनि फेरि एकचाेटि बाँच्दैछु ।
साँच्चै छाेरी, आजकल म फेरि हाँस्दैछु ।
                              तिम्रो बुवा
                           शालिकराम रेउले 
  तुलसीपुर सुधार गृह, दाङ