संसारको सर्वश्रेष्ठ प्राणी के हो ? उत्तरमा तपाईँले आफूलाई नै पाउनुभयो, हैन ? तर..सर्वश्रेष्ठ प्राणीको आँखा खुल्ला हुँदाहुँदै पनि किन केही देख्न सकिरहेको छैन ? थाहा छ किन ? जबसम्म  मानिसको हृदय दृष्टिविहीन बनिरहेको हुन्छ , आँखा खोल्दैमा उसले केही पनि देख्न सक्तैन।

हो, म हृदयको खुल्लापनलाई सचेतनासँग जोड्न खोजिरहेकी छु । सोच्नुहोस् त ! तपाईँ कतिको सचेत हुनुहुन्छ ?

आफूभित्र के चलिरहेको छ , सबैलाई थाहा हुन्छ । आफ्नो घरभित्र के के भैरहेको छ त्यो पनि थाहा हुन्छ । तर… बाहिर के के भैरहेको छ तपाईँलाई उति थाहा हुँदैन, किन ? तपाईँलाई किन सरोकार छैन बाहिरी दुनियाँसँग ? के बाहिर जे भैरहेको छ त्यसले तपाईँलाई कुनै असर गरिरहेको हुँदैन त ?

मानौँ , आज देशमा हड्ताल छ, देशै बन्द छ । जाबो एकदिन त हो नि ! सजिलै स्विकार्छौँ। एकदिनले अर्थव्यवस्थामा कति महत्त्व राख्दछ हेक्का नराखी चुपचाप सहन्छौँ किन भने हामी सहनशील छौँ । सहनशीलता हाम्रो कला हो ।

ईश्वरा शिवा

मानौँ, आज माइक्रोबसको परिचालकले दुई रुपैयाँ बढी भाडा लियो , खुद्रा छैन भनेर ! ह्या दुई रुपैयाँ त हो नि भनेर छोडिदिनु हुन्छ , तपाईँलाई हतार पनि भैरहेको हुन्छ कहीँ पुग्नलाई । तर.. बसको लोकल भाडा नै ११/१३/१५/१८ रुपैयाँ तोकिएको हुन्छ ता कि खुद्रा छैन भनेर झुक्याउन सकियोस् ! खोइ त तपाईँले याद गरेको ? किन भने तपाईँको आँखा खुला हुँदाहुँदै पनि हृदय बन्द छ नि त ! अर्थात् , तपाईँ सचेत हुन सकिरहनु भएको छैन !!

एकदिन, बिहानै कलेजबाट घर फर्किँदै गर्दा बेस्सरी भोक लाग्यो । केही खाऊँझैँ भयो । नजिकैको पसलमा गएर टाइगर बिस्कुट मगाएँ । सधैँझैँ दस रुपैयाँ तेर्साएँ तर तौल र मूल्य बढेका कारण १५ रुपैयाँ दिनुपर्ने जानकारी पाएँ । दिएँ पनि । यसो मूल्य हेरेको त अधिकतम खुद्रा मूल्य रु. १४ लेखेको रहेछ । मैले तुरुन्तै सोधेँ ,” मेरो एक रुपैयाँ खोइ ? , फिर्ता दिनुहोस् ! ” यद्यपि , ती शिक्षित देखिने युवाबाट, फिर्ता दिन मिल्दैन, कम्पनीले नै १५ रुपैयाँमा बेच्न भनेको छ भन्ने जवाफ पाएँ । मैले केही बेर त्यो एक रुपैयाँ फिर्ता लिने प्रयास गरेँ , चक्लेट नै भए पनि दिन भनेँ । कसैगरी दिइएन ।

मेरो एक रुपैयाँ ! अत्यन्तै भ्यालुलेस रकम !! मेरो एक रुपैयाँ बढी गएर मलाई केही फरक पर्दैन । तर…सोच्नुहोस् त , मजस्ता १० लाख मानिसको एक/एक रुपैयाँ जम्मा गर्दा कति हुन्छ ? यस हिसाबले, १० लाख पुरिया बिस्कुट बेच्दा १० लाख रुपैयाँ कालाबजारी हुन्छ कि नाई ? अब मनन गरौँ , साना साना कुराले देशमा कत्रा कत्रा अपराध घटाइरहेका हुन्छन् ?

प्राय: घरमा हुने हिंसालाई सामान्य घरझगडाको रूपमा मात्र लिइएको हुन्छ । पतिले पत्नीलाई कुटपिट गर्नु एकदम सामान्य मानिन्छ । एकै झापड त लगाएको हो नि ! सम्बन्धमा खटपट त भैरहन्छ । जति धेरै झगडा हुन्छ उति माया बढ्छ जस्ता उक्ति सर्वव्यापी छन् । तर.. एक झापडबाट नै हत्यासम्म घट्न सक्नेतर्फ कसैले सोचिरहेको हुँदैन । जसरी पहिलो सुर्कोबाट नै चुरोटको लत बस्न सुरु हुन्छ त्यसरी नै एकै झापडबाट कुटपिटको शृङ्खला बढ्ने गर्दछ । हाम्रा धेरै दिदीबहिनीले कहिले दाइजोको नाममा , कहिले छोरा नजन्माएको निहुँमा अकालमै ज्यान गुमाइरहेका हुन्छन् । कारण.. एकचोटी , दुइचोटी गर्दै महिला हिंसा सहने प्रक्रिया दोहोरिनु हो । यसरी सामान्य मानिएका व्यवहारले ठुला ठुला समस्या निम्त्याइरहेको हामी पत्तै पाउँदैनौ ।

हाम्रा साना साना बालबालिका प्रति गरिने दैनिक व्यवहार प्रति हामी सचेत बनिरहेका हुँदैनौ । सानै उमेरमा डर धम्की देखाएर तह लगाइयो भने अनुशासित बनाउन सकिन्छ भन्ने गलत धारणाको विकास भएको छ । अबोध बालबालिकालाई प्रेम र स्नेह दिनुको सट्टा गालिगलौजको भाषा प्रयोग भैरहेको हुन्छ । अभिभावकको सानो लापरबाही र बेवास्ताको कारण बालबालिकाहरू आक्रामक र रिसालु स्वभावका बनिरहेका भेटिन्छन् ।

त्यसैगरी, विद्यालयमा शिक्षकद्वारा जानेर या नजानेर बालबालिकाप्रति गरिने स-साना दुर्व्यवहारले उनीहरूको मनोविज्ञानमा असर पुर्‍याइरहेको हुन्छ । शिक्षा आर्जन गर्ने थलो नै हिंसा उत्पादन गर्ने कारखाना बनिरहेको हुन्छ । रचनात्मक तरिका अपनाएर विद्यार्थीलाई अध्यापन गराउनुको सट्टा डर धम्की देखाएर लाठी चार्ज गर्दै घोकन्ते शिक्षा दिने क्रम निरन्तर चलिरहेको हुन्छ । जसका कारण विद्यार्थीहरू सिर्जनात्मक हुन सकिरहेका त हुँदैनन् नै झन् पढाइप्रति नै वितृष्णा पैदा हुन गई कुलतमा फस्न पुग्दछन् । तसर्थ , शिक्षक मार्गदर्शक मात्र बन्ने हो ना कि कुनै जेलरजस्तो ।

एकपटक सोच्नुहोस् त ! विद्यालयमा गाली-गलौज , घरमा कचकच ! पटक पटक नकारात्मक टीकाटिप्पणी र शारीरिक हिंसाले बालबालिकाको कलिलो मस्तिष्कमा कस्तो असर पुर्‍याइरहेको हुन्छ ? यो नभुलौँ कि , बालबालिकालाई फ़ुर्तिलो र लगनशील बनाउने हो भने प्रेमबाहेक अर्को उपचार हुनै सक्तैन । हिंसाको प्रदर्शनले बालबालिकालाई हिंसालु बन्न प्रेरित गरिरहेको हुन्छ , अनुशासित होइन । किनभने , तपाईँले गाली गरिरहँदा तपाईँका अगाडि अनुशासित देखिन खोज्लान् तर भित्रभित्रै रिस हुर्काइरहेका हुन्छ्न् , जुन भोलिको समाजका लागि अत्यन्तै हानिकारक हुन्छ ।

हिंसाको कुरा गर्दा , एउटा अर्को घटना जोड्न चाहन्छु । यही चैत्र २३मा दमकका मानबहादुर बिकलाई आफ्नै छिमेकीले कुटी-कुटी मारेँ । धेरैलाई यो खबर थाहा नहोला । थाहा पाउनेहरूले यस्ता घटना त घटिरहन्छन् भनेर सजिलै स्विकारेको पाइयो । यहाँ मान्छे मारिनु सामान्य मानिन्छ ।

हुन त दलितलाई मान्छे मान्न नचाहने जमात ठूलो भएका कारण कुनै दलितको मृत्यु सानो घटना बनिरहेको हुन्छ ।

बरु, खैरे कुकुरहरूका लागि न्याय माग्नेहरू धेरै निस्किए , सडक तताए । ठिक छ , पशुले पनि बाँच्न पाउनुपर्छ । उनीहरूलाई निर्घात कुटपिट गर्ने अधिकार कसैलाई छैन । यद्यपि , सत्य तथ्य छानविन गरेर दोषीउपर कार्वाही अगाडि बढाउँदा हुने कुरालाई सडकमै आएर नारा लगाउनु आवश्यक थिएन । मासु खान मिल्ने अन्य प्राणीलाई ( विषेश गरि सुङ्गुर , राँगाभैँसी ) घनले ठोकेर , भालाले रोपेर तड्पाई-तड्पाई हत्या गर्दा तिनीहरूको न्यायका लागि कहीँ कतै नाराजुलुस उठ्दैन । हामी किन यति धेरै स्वार्थी ?

पशुहरूको न्यायका लागि उठ्ने आवाज  दलितको न्यायका लागि पनि उठ्न सक्नुपर्थ्यो । पशु होस् या मान्छे , कसैप्रति कुनै किसिमको भेदभाव हुनु अक्षम्य हुन्छ ।  तर.. हाम्रो देशमा दलितप्रति पशुभन्दा बढी हेय भाव राखिन्छ । कुकुरलाई अँगालो हालेर सुत्ने पढेलेखेको जमातले समेत दलितलाई छुन चाहँदैन , अछुत करार गरिरहेको हुन्छ । पुरातन सोच भएकाहरूको कुरा त के गर्नु !

अर्कोतर्फ, हालसालै बजारमा कोरोना सिजन टु भित्रिएको हल्ला चलिरहेको छ । पुन: लकडाउन हुने खबर आइरहेको छ । सङ्क्रमितको सङ्ख्या र मृतकको सङ्ख्या बढिरहेको समाचार बाहिरिँदै छन् । केही समयको लकडाउन त हो नि भनेर हामी स्विकार्न तयार देखिन्छौँ । तर.. सरकारले सुरक्षाका मापदण्ड अपनाएर अर्थव्यवस्थालाई सुचारु गरिरहन सक्छ भनेर दबाब दिन किन खोज्दैनौँ ? पहिलो लकडाउनले निम्त्याएको आर्थिक घाटाले अबको एक दशकसम्म असर गरिरहेने निश्चित छ । अब पनि सचेत नहुने हो भने , धेरै मजदुर भोकभोकै मर्ने छन् । हत्या, हिंसा, लुटपाट, बलात्कारजस्ता अपराध ह्वात्तै बढेर चौतर्फ त्रास फैलिने देखिन्छ । जनमानसले पनि आफ्नो कर्तव्य भुल्नुहुँदैन । नागरिक स्वयंले सुरक्षाका उपाय कडाइका साथ पालना गर्नुपर्दछ । याद राखौँ, जनता अनुसारका नै नेता उत्पादन हुने गर्दछन् । तसर्थ, अबका जनता सचेत हुन आवश्यक छ र सरकारप्रति निरन्तर खबरदारी जरुरी छ ।

अन्त्यमा, “एक” को महत्त्व बुझौँ । “अलिकति” लाई बेवास्ता नगरौँ । “थोपा”ले नै समुद्र निर्माण हुने हो । मैले एक्लैले गरेर के हुन्छ र ? भन्ने सोचलाई अहिल्यै देखि त्यागौँ । जुनसुकै राम्रो कामको थालनी गर्न पछि नपरौँ । अल्पमतमा नै सही आगाको झिल्को हुन नछाडौँ , झिल्काले नै अन्धकार हटाउने सामर्थ्य राख्दछ ।

सम्पूर्ण पाठकमा नयाँ वर्षको शुभकामना । तपाईँको यो वर्ष न्यायपूर्ण र फलदायी रहोस् ।