नमस्कार नमस्कार नमस्कार…. आरामै हुनुहुन्छ ?
मेरो पसलमा नियमित रूपमा यौटा युवाहरूको समूह आउने गर्दछ । करिब बाइस पच्चिसका आधा दर्जन युवाहरू दिउँसोभर पसलमा रहन्छन् । उनीहरूकै अनुरोधमा मैले वाइफाई राखेको हुँ । खासमा उनीहरू कलेजका विद्यार्थीहरू हुन् । यहीँ बसेर दिउँसोभर उनीहरू आफ्नो रोजीरोटीको जोहो गर्छन् ।
‘चिया भट्टीमा चिया पिउँदै व्यवसाय ?’ कस्तो अचम्म भन्नुहोला । दुनियाँमा पैसा कमाउने अनेक बाटाहरू हुँदा रहेछन् हेर्नुस् । जसलाई जे सहज लाग्छ त्यही गर्ने हो ।
आजकलका युवाहरूमा बिनाश्रम, बिनाझन्झट, बिनास्ट्रेस कसरी मनग्गे कमाउने भन्ने कौतुहल खुब जाग्न थालेको छ । पानी बसाएर ।
हजुर हजुर, बिनाश्रम पैसा, कस्तो अविश्वसनीय रे ? अरे मित्र, दुनियाँमा विश्वास नलाग्ने कुराहरू नै धेरै हुने हुन् । मलाई भन्नुस् त तपाईँ आफैँलाई आफैँसँग विश्वास छ ? छैन नि,कोही कसैलाईकोही कसैसँग विश्वास नै लाग्दैन ।कोही कसैलाई कुनै केहीसँग विश्वास नै लाग्दैन । असलमा अविश्वास सबै सजीवहरूको साझा विशेषता हो ।
हा हा.. बुढाले दर्शन ठोक्यो अरे ?
अरे यार, जीवन जिउने क्रममा सिकेका कुराहरूनै दर्शन हुन् के । यसरी बुझ्नुस् —मैले बोल्ने हरेक कुराहरू अनुभव र भोगाइ हुन् ।
उम् उम्, त्यो कुनातिर बस्ने भाइले के भन्नुभो ?
हाहा बिनाश्रमको व्यवसाय जान्न हतार भो रे ?
एकैछिन् धैर्य गर्नुस के, भर्खर त पानी बसाउँदै छु । चिया पाक्न समय लाग्छ नि । त्यतिन्जेल के गफ गर्ने त ? गफै नभए चिया पिउनुको पनि के मजा !
चियाको कप सँगसँगै केही थान रमाइला गफ, कुरा काट्ने व्यक्ति र मीठा सपनाहरू हुनुपर्छ र मात्र चिया पिएको स्वाद पर्छ । नत्र त हरेकका घरमै चिया पाकिहाल्छ नि ! पैसा तिरेर बाहिर खानुको के मजा त ? खासमा भन्ने हो भने हरेक गल्लीका चिया पसलहरू दुनियाँका पहिला अखबारहरू हुन् । हरेक सपनाका उद्गम स्थलहरू हुन् ।
कुनै जमाना थियो मानिसहरूले ठूलो रकम जग्गामा लगानी गर्थे । घर घडेरीमा लगानी गर्थे । रातारात मालामाल हुन्थे पनि । आजकल धेरैको जग्गा, घर घडेरीप्रतिको मोह बद्लिएको छ । पछिल्लो समय धेरैको रोजाइमा सेयरबजार पर्न थालेको छ । खासै मेहनत पनि गर्न नपर्ने, शारीरिक श्रम त पर्दै नपर्ने नाफा भए मनग्गे हुने । छैन त काइदाको सेयरबजार ? सम्पत्तिको फुई लगाउँदा फल्ना सहरमा, फल्ना ठाउँमा यति रोपनी, यति बिघा, यति कित्ता जग्गा छ भन्नेहरू आजकल फल्ना कम्पनीको यति कित्ता सेयर छ भन्न थालेका छन् ।
न क्रेता छैनन् भनेर बेच्ने झन्झट, न पर्खिरहन पर्ने, खेल्न जाने घरमै बसी-बसी सेयरबाट गज्जबको मुनाफा हुने रहेछ । दुध मिसाएर ।
मैले अघि नै भने नि, दिनकै पसलमा युवाहरूको यौटा समूह आउँछ भनेर । हो त्यही समूह पसलमा आउन थालेदेखि मैले पनि सेयरमा हात हालेको छु । उनीहरूकै सहयोगमा मैले डिम्याट खाता खोलेँ र आइपियोहरू भर्न थालेँ । पहिलोबजारमा मात्र होइन दोस्रोबजारमा पनि मैले कारोबार गरिरहेको छु ।
हुन त म बुढोलाई यो प्रविधिको सवालमा खासै केही थाहा छैन । तिनै पसलमा आउने बाबुहरूले मरो सबै काम गरिदिन्छन् । सेयरहरू किन्दिन्छन्, बेचिदिन्छन् र यति नाफा भयो है बा भनिदिन्छन् । कहिलेकहीँ त लाखौँ पनि कमाउँदा रहेछन् मोराहरूले । खित खित खित …
सुरुसुरुमा मलाई पनि विश्वास लागेको थिएन तर जब खातामा पैसा आउन थाल्यो, यो त काइदाको पो रहेछ भन्ने लागेको छ । पछिल्लो समय मैले मेरी अर्धाङ्गिनी र छोराछोरीको पनि आइपियो भर्ने गरेको छु । मेरी श्रीमतीको खाताबाट जम्मा दसहजार लगानी गरेको अहिले लाखभन्दा माथि छ । अनि भएन त कमाल ?
यतिखेर बिभिन्न सञ्चार माध्यम हुँदै पनि सेयरबजारको खुबै चर्चा चल्ने गरेको छ । सामाजिक सञ्जाल हुँदै पनि यसको राम्रै चर्चा छ । उसो तबजार पनि बढेर होला । जुनकुनै कम्पनीमा लगानी गरे पनि अहिले लगानीकर्ताले थोरै-धेरै कमाइरहेका नै छन् । त्यसैले पनि जनमानसमा चासो बढ्नु स्वभाविक हो । बलेकै आगाले ताप दिने हो । दुनियाँमा धेरै दुःख गर्न, शारीरिक श्रम गर्न कसलाई पो रहर लाग्छ र !
मेरो पसलमा आउने उक्त समूहका केटाहरू खुबै मेहनती छन् । धेरै अध्ययन गर्छन् । उनीहरूसँग ठूलो पुँजी त छैन त्यही पनि उनीहरूको कमाइ राम्रै छ । गोजी खर्च पुर्याइरहेका छन् । सुरु-सुरुमा उनीहरूले घरबाट गोजीखर्च भनेर पठाइएको पैसा लगानी गरे । त्यसैबाट बढेको पैसाले उनीहरू आजकल घरमा पैसासम्म पठाउन थालेका छन् ।
अलि अस्तिको कुरा हो मलाई चन्द्रागिरि केबुलकारको दस कित्ता सेयर पर्यो । बैङ्कबाट उक्त कम्पनीले मेरोहजार रुप्पे लग्यो । यसरी भनौँ मैले उक्त कम्पनीमाहजार रुपैयाँ लगानी गरेँ । डेड—दुई महिनाको अन्तरालमा मेरो उक्त रकम कति भयो थाहा छ ? अनुमान लगाउनुस् त अनुमान ।
पच्चिस हजार, भएन त मालामाल ! चियापत्ती मिसाएर ।
अँ अर्को कुरा नि सेयरबजारमा जसरी कमाइन्छ त्यसरी गुमाइँदो पनि रहेछ है रनचैँ । योबजार निकै बेइमान पनि रहेछ । सेयरबजारमा जोखिम पनि उत्तिकै हुँदो रहेछ । हिम्मतिलाहरूको खेल रहेछ । हाइ रिक्स, हाइ गेन कि खै के भन्दारछन् ! तिनै बाबुहरूलाई थाहा छ ।
आफूले पनि धेर-थोर लगानी गरेको भएर होला मैले पनिबजारबारे धेर-थोर चासो दिने गरेको छु । साँढेबजारमा कमिन त जसरी पनि कमिन्छ । यतिखेर म तपाईँलाई कसरी गुमाइँदो रहेछ भनेर केही उदाहरण दिन गैरहेको छु । जुन मैले जाने, सुने, बुझे देखेका हुन् ।
दुई साता अगाडिको कुरा हो एक्कासी यौटा कम्पनीको सेयर खोसाखोस भयो । अघिल्लो दिनभन्दा उक्त दिन दस प्रतिशत महँगोमा उक्त कम्पनीको सेयर किन्न मान्छेहरू तँछाड मछाड गरे । दिनमाहजार दुईहजार कित्ता कारोबार हुने कम्पनीको सेयर एकैदिन किन लाखौँको सङ्ख्यामा कारोबार भयो भनेर भाइहरू र मैलेसम्म चासो दियौँ । ठूलो सङ्ख्यामा कारोबार भएको ठिक भोलीपल्ट उक्त कम्पनीले पचास प्रतिशत हकप्रद सेयर दिने भनेर सूचना निकाल्यो । भन्नुको मतलव के भने कम्पनीले पहिल्यै सूचना चुहायो । पहुँच भएका ठूला खेलाडीहरूले मनग्गे सेयर उठाए ।
जसै कम्पनीले सूचना निकालेको दिनदेखि उक्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो । दिनकै दस प्रतिशतको हाराहारीमा मूल्य बढ्यो । चार दिनको अन्तरमा सेयरको मूल्य ६सयबाट बढेर प्रतिकित्ता एघारसय भयो । मतलब प्रतिकित्ता चारसय कमाइ भयो ।
हँ ? चार सय नाफा छ कसरी गुमाए त भन्नुहोला ! ध्यान दिएर सुन्नुस है म गुमाएकै कुरा गर्दै छु । सेयरबजार भनेको कमाउने ठाउँ मात्र हैन रहेछ गुमाउने ठाउँ पनि रहेछ । खेल्न नजाने गुम्दो पनि रहेछ । चिनी मिसाएर ।
के भन्दै थिएँ ? अँ एघारसयको कुरा । कम्पनीले सूचना निकाल्नुभन्दा अघिल्लो दिन सेयर किन्नेहरूले त मनग्गे कमाए तर जब हकप्रदको लोभमा एघारसयसम्म हालेका लगानीकर्ता भने नमजाले फसे । उक्त कम्पनीको सेयरमूल्य एघारसयको बिन्दुमा पुगेर ओरालो लाग्न थाल्यो । मतलब छ/सातसयमा किन्नेहरूले बेच्न थाले र सेयर मूल्य घटेर आठसयमा आइपुग्यो । एघारसय हाल्नेहरूको सेयर आठसयमा नबिक्ने भयो । फसेन त उनीहरूको पैसा ?
हुन त उक्त कम्पनीले ठूलो बेइमानी पनि गर्यो आन्तरिक खबर मात्र चुहाएन ठूला खेलाडीले सेयर बेचिसकेपछि हाकप्रद नदिने भनेर सूचना निकाल्यो । राइट सेयरको लोभले लगानी गरेका धेरै लगानीकर्ता भने नमज्जाले फसे । यसरी खुलेआम ठगीको धन्दा गर्दा पनि मुख्य जिम्मेवारी सम्हालेको धितोपत्र बोर्ड कानमा तेल हालेर सुतेको छ । छानबिनको कमिटि बनाएँ भनेको छ तर कमिटिले सत्य तथ्य जाँचबुझ गर्नेमा शङ्का छ । उसै पनि नजरै सामु खुलेआम ठगी गर्दा तत्कालै उक्त कम्पनीको सेयर किनबेचमा रोक लगाउनु पर्ने हैन र ? सूचना चुहिएकै दिनदेखि कम्पनीको सबै कारोबार रद्द हुनुपर्ने हैन र ? यसरी नियमन निकायले ठूला लगानीकर्ताहरूसँग मिलेर ठग्ने गर्छ । यस्तो कुरामा सतर्क नभए फसिन्छ ।
अर्को उदाहरण लिऊँ चन्द्रगिरि केवलकारले आइपियो निकाल्यो । चन्द्रगिरि हिल्स यौटा व्यपारिक संस्था हो । कोभिडको कारण कम्पनीको खासै कमाइ छैन धेरै ऋण छ र कम्पनीको पुँजी पनि कम नै छ । तर लगानीकर्ताहरूले यसको भाउ आकाश पुर्याएका छन् । प्रतिकित्ता २६सय सम्ममा कारोबार भयो । अझै पनि लगानीकर्ताहरूको किन्नमा तँछाड मछाड देखिन्छ । अहिले २६सय तिरेर किनेको सेयरले अझै केही वर्ष कुनै मुनाफा दिनसक्छ जस्तो लाग्दैन । यसको अर्थ चुचुरामा पुगेको मूल्यमा लगानी गर्नु भनेको फस्नु नै हो । म त त्यो दसकित्ता पनि भोलि बेचिदिन्छु ।
कम्पनीको राम्ररी अध्ययन नगरी हचुवाको भरमा, अर्काको लहलहैमा लगानी गर्नेहरू सेयरबजारमा नराम्ररी फस्दा रहेछन् । खासमा हल्लालेबजारलाई नराम्ररी उथलपुथल बनाउँदो रहेछ । अँ अर्को कुरा आफूसँग भएको सेयरको मूल्य बढाउनलाई लगानीकर्ताहरू जे गर्न पनि तयार हुँदा रहेछन् । नियोजित रूपमै भ्रामक हल्लाहरू फिजाउँदा रहेछन् र अकुत कमाउँदा रहेछन् । आफूले बेच्न पर्या छ भने पछिल्लो समय धेरै प्रयोग हुने हतियार भनेको मर्जको हल्ला हो । मैले हेर्दा हेर्दै नेबिल बैङ्कसँग मर्ज हुने भनेर बाँकी पाँच/सातवटा बैङ्कहरूको मूल्य चुचुरोमा पुर्याइयो ।
अलि अस्ति बिबिसि भन्ने चस्मा पसलले पनि धेरै लगानीकर्तालाई रुवायो । पन्ध्रसय प्रतिकित्तामा कारोबार भैरहेको कम्पनीको मूल्य ह्वात्त बढाएर(कर्नरिङ गरेर) चारहजारसम्म पुर्याइयो । बम्पर बोनस, राइट आदि इत्यादिको भ्रामक हल्लाको पछि लागेर मान्छेहरूले ठूलो धन प्रतिकित्ता कमाइ शून्य भएको कम्पनीमा ओहिर्याए । पछि के भैदियो भने करिब चारहजारमा कारोबार भैसहेको कम्पनीको मूल्य ठूला लगानीकर्ता बाहिरिएपछि पच्चिससय तिर झर्यो । त्यतिमात्र कहाँ धितोपत्र बोर्डले उक्त कम्पनीले धितोपत्रका नियमहरू पालना नगरेको, आर्थिक विवरणहरू नियमित पेस नगरेको भनेर कारोबारीमै रोक्का लगाइदियो । अब परेन त फसाद ! अहिलेसम्म पनि त्यसको कारोबार फुकुवा भएको छैन ।
भाइहरूले अध्ययन गर्दा थाहा भयो दसौँ वर्षदेखि उक्त कम्पनीको आय-व्ययको हिसाब किताब रहेनछ । कम्पनीको अवस्था कस्तो छ कसैलाई थाहा छैन । असलमा कम्पनी अस्तित्वमा छ छैन त्यो पनि शङ्कै छ । अब यस्तो कम्पनीले वार्षिक लाभाम्स दिने कुरै भएन । धितोपत्रले कारोबार रोक्का गरेपछि आफ्नो फसेको लगानी उठाउन पनि पाइएन । घाटै खाएर बेच्छु भन्दा पनि मिल्दैन । यस्तो बेला धुरुधुरु रुनु सिवाय अरू के नै हुन्छ भन्नुस् त ? बुल मार्केटमा पुराना खेलाडीहरूले आफूसँग फसेको कवाडा सेयरहरू पम्प एन्ड डम्प गर्दारहेछन् । यसरी नयाँ लगानीकर्ता नमजाले फस्दा रहेछन् ।
अर्को पनि यौटा कम्पनी छ नारायणी डेभ्लोप्मेन्ट बैङ्क भन्ने । त्यसको पनि मूल्यमा एकाएक उछाल आयो । नकारात्मक प्रतिकित्ता कमाइ भएको बैङ्कले दिनकै सर्किट हान्न थाल्यो । दुईसयदेखि बढेर सेयरमूल्य नौसय पुग्यो । पछि थाहा भयो कम्पनीले राइट(हकप्रद) निकाल्ने भएछ । अहिले करिब चारसयको हाराहारीमाबजारमा किन-बेच भैरहेछ । यसमा पनि राइटको पछि लागेर धेरै लगानीकर्ता फसेका छन् ।
अप्पर तामाकोशीको पनि अवस्था त्यस्तै छ । लागत बढेर झन्डै डबल भएको र नकारात्मक प्रतिकित्ता कमाइ भएको कम्पनीलाई नौसय हाल्न लगानीकर्ताहरू तँछाड मछाड गरिरहेका छन् । उत्पादन सुरु हुन लागेको भनेर यसरी मूल्य चुचुरोमा पुगेको सेयरमा लगानी गर्नु पनि ठूलो जोखिम हो । सबैलाई थाहा भएकै कुरा हो सगरमाथाको चुचुरोमा पुगेपछि फर्किनै पर्छ । आधार शिविरमा झर्नै पर्छ ।
मान्छेहरूले मिटर व्याजमा ऋण काडेर सेयरमा ठूलो लगानी गर्छन् । सेयरले सोचेको समयमा भनेजस्तो मुनाफा कमाइदिँदैन । उता व्याजले टाउको दुखाउँछ । यता घाटैमा भए पनि बेचेर ऋण त तिर्नै पर्यो ।
खासमा ऋण काडेर सेयरमा ठूलो लगानी गर्ने कुरा हैन रहेछ । सेयरमा लगानी गर्ने भनेको उभ्रिएको पैसामात्र हरेछ ।
यतिखेर फेसबुक तथा ट्विटरजस्ता सामाजिक सञ्जालमा परिपरीका समूहहरू भेटिन्छन् । अनगिन्ती विश्लेषकहरू भेटिन्छन् । उनीहरू अनेक बहाना गरेर आफूसँग भएका सेयरहरूको मूल्य बढाउन खप्पिस हुँदा रहेछन् । कोही टेक्निकल एनलाइसिस भन्दै धर्का तान्दा रहेछन् । कोही फाउन्डामेन्टल भन्दारछन् त कोही इन्साइडर भन्दा रछन् । कोहीकोहीले त कतिसम्म गर्दा रहेछन् भने निजी अनलाइनहरू खोल्दिने र आफू अनुकूल भ्रामक समाचारहरू सम्प्रेषण गरिदिने । समाचार नै आएपछि होलातानी भनेर नबुझेका, नयाँ लगानीकर्ताहरू उक्त कम्पनीप्रति आकर्षित हुन्छन् । त्यति नै बेला आफू बाहिरिने ।
त्यतिमात्र कहाँ, खेल अझै सकिएको छैन । आफूले सेयर बेचेपछि त्यही हिजो आफूले राम्रो भनेर समाचार लेखेको कम्पनीको खराब समाचार सम्प्रेषण गरिदिने । आफूले लगानी गरेको कम्पनीको खराब समाचार आएपछि जुनसुकै लगानीकर्ता उक्त कम्पनीबाट बाहिरिन खोज्छ । बेच्नेहरूको भिडभाड बढ्छ । ह्वात्तै सेयरको मूल्य घट्छ र त्यत्तिनै बेला हिजो नाफा खाने लगानीकर्ताले फेरि कम मूल्यमा त्यही सेयर उठाउँछ । फेरि पम्प गर्छ । यस्तो खेल चलिरहने रहेछ ।
हुन त सेयरबजार भनेको यौटाको सम्पत्ति अर्काले खिच्ने ठाउँ नै हो । यौटा बिन्दुमा पुगेपछि कुनै न कुनै लगानीकर्ता त फस्छ फस्छ । खासमा सेयरबजार अनुत्पादनमूलक क्षेत्र पनि हो । यहाँ उत्पादन, श्रमले काम गर्दैन । पैसाले काम गर्छ । लोभ लालचले काम गर्छ । मान्छेलाई पैसामुखी बनाउँछ ।
लोभले लाभ लाभले विलाप भन्ने उखान छ नि ठ्याक्कै त्यस्तै रहेछ । बजार बढेपछि झन् नाफाको भोक बढ्ने । अनि घटेपछि पछारिने । हेर्नुस् यौटा कुरा चैँ के जानियो भने अरूले र्याल चुहाइरहेको बेला खेलाडीहरूले डकार्दा रहेछन् र डकार्नु पनि पर्ने रहेछ । सुरुमै यौटा लक्ष राखेर काम गर्नपर्ने रहेछ । बुल मार्केटमा लङट्रम इन्भेस्टमेन्टको काम छैन भन्छन् भाइहरू । साँढे सधैँभरि ग्वाली वरपर घुम्दैन गाईले गोरु खोजेको बेलामात्र हो ।
मेरो मतलब के भने धेरैजसो लगानीकर्ताले किन्न र बेच्न नजान्दा रहेछन् । बजार घटेकाबेला किन्ने र बढेकाबेला बेच्नुपर्ने ठाउँमा ठिक उल्टो गर्दा रहेछन् । बजार बढेका बेला हौसिएर किन्ने र बजार घटेकाबेला आत्तिएर बेच्ने । यसो गर्दापनि नमजाले फसिने रहेछ ।
पसलमा आउने भाइहरूले बिभिन्न भिडियोहरू देखाएका छन् मलाई । कमाउने गुमाउने तरिकाहरू सिकाएका छन् । कमाउने गुमाउनेहरूका अनुभवहरू सुनाएका छन् । मैले जानेअनुसार केही कुराहरूमा ध्यान दिए सेयरमा राम्रो कमाउन सकिने रहेछ ।
सबैभन्दा पहिले हामीले लगानी गर्नुपूर्व लगानी गर्ने कम्पनीको राम्रो विश्लेषण गर्नुपर्ने रहेछ । कम्पनीको पुँजी, नाफा नोक्सान, बोनस, प्रतिकित्ता कमाइ, सेयरको मूल्य अनुपात, ऋण, खराब कर्जा, जगेडाकोश लगायतका केही महत्त्वपूर्ण कुराहरू हेर्नै पर्ने रहेछ । त्यसपछि लगानीकर्ताको भिड कतातिर छ भन्ने पनि हेर्नपर्दो रहेछ । टेक्निकल एनलाइसिस भनेको त्यही लगानीकर्ताको भिड हो । भिड जता जान्छ आफू पनि त्यतै जानुपर्ने रहेछ । भिड किन्न ताम्सिए किन्ने । भिड बेच्न ताम्सिए बेच्ने र भिड पूर्ण बाहिरिनुभन्दा पहिल्यै बाहिरिसक्ने । मूल्य बढिरहेछ अझै बढ्छ भनेर बस्नु गलत रहेछ । जसरी बढेको छ उसरी घट्दो पनि रहेछ ।
आफू कुन किसिमको लगानीकर्ता हुँ भन्ने कुराले पनि मुख्य भूमिका खेल्दो रहेछ । कति समय लगानी गर्छु भन्ने पहिल्यै निर्धारण गर्नुपर्छ । छोटो समय लगानी गर्नेहरूले भिडको पछि लाग्ने र दीर्घकाललाई लगानी गर्नेले कम्पनीको आधारभूत पक्षलाई हेर्ने । आधारभूत पक्ष दह्रिलो भएको कम्पनीले ढिला चाँडो रिटन्स पनि राम्रो नै दिन्छ ।
राजनीति र प्रकृतिक विपद्ले पनि सेयरबजारलाई प्रभावित गर्दो रहेछ । राजनैतिक घटनाक्रमहरूसँग जानकार भैरहनुपर्ने रहेछ । जस्तो गत डिसेम्बरमा ओली महाराजले संसद् विघटन गर्दा सेयरबजारले नेगेटिभ सर्किट हान्यो । अर्को कुरा अर्थमन्त्री युवराज खतिवडा हुँदा निदाएको बजार विष्णु पौडेल आएपछि एकाएक उचालियो ।
सेयरबजारलाई जुवाघर पनि भनिन्छ तर असलमा सेयरबजार जुवाघर नै चैँ हैन रहेछ । यसमा अध्ययन गरेर लगानी गरे हत्तपत्त फसिने रहेनछ । फाउन्डामेन्टल राम्रो भएका कम्पनीहरूको सेयर किने र सेयरको भाउ घटेपनि खासै घाटा हुने रहेनछ । कम्पनीले वार्षिक बोनस दिने भएकाले बैङ्कको व्याज मज्जाले बोक्दा रहेछन् ।
बजारमा चल्ने अनेकथरि हल्लाको पछि आँखा चिम्लिएर लाग्न हुँदो रहेनछ । हल्ला सुन्ने तर नबुझी पछि नलाग्ने ।
अध्ययन र धैर्यता बजारमा एकदमै चाहिने रहेछ । आफ्नो लगानीमा विश्वास हुनैपर्ने रहेछ ।
हाम्रो देशमा कानून छ तर कानूनको राम्ररी प्रयोग छैन त्यसैले हरेक क्षेत्रमा ठगहरूको ठूलो बिगबिगी छ । सेयरबजारमा त झनै छ । ठगहरूबाट सधैँ एककोश टाढै रहने । ठगहरू भनेका मुसाहरूजस्तै हुन् । मुसाले भकारी दुलोमात्र पार्दैन धान पनि खाइदिन्छ ।
ला ला ला…..
उम्ली त गो …
फु फु फु….
ढक ढक ढक…
खै खै गिलास ….
ल है ल, तयार भयो खानदानी चिया । लिइहाल्नुस् ।
सुरुप्प… ।
हस् त आजलाई पुँजीपति चिया यत्ति नै, जिब्रो पड्काएर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।