लिङ्ग

शिशु जन्मेपछि उसको प्राकृतिक शारिरीक बनावट (Biological characters) हेरेर छोरा वा छोरी के जन्मियो त्यो निर्धारण गर्ने गरिन्छ भने त्यो लिङ्ग (Sex) हो । जन्मदा हामी छोरी (महिला) वा छोरा (पुरुष) भएर जन्मियौँ, त्यो हाम्रो ‘यौनिकता’ अर्थात् ‘लिङ्ग’ अर्थात् ‘सेक्स’ हो। यसले आधारभूत अङ्ग–प्रत्यङ्गको भिन्नता दर्साउँछ।

सामाजिक लिङ्ग

समाजले छोरा वा छोरी जन्मेको आधारमा उसप्रति गर्ने अपेक्षा र व्यवहार (social and cultural differences) चाहिँ ‘लैङ्गिकता’ अर्थात् ‘जेन्डर’ अर्थात् ‘सामाजिक लिङ्ग’ हो । यसरी हेर्दा कुनै खास समुदायमा पुरुष र महिलाको आधारमा तय गरिएको सामाजिक संस्कार (Social relation of gender) या मनोसामाजिक भूमिका नै ‘सामाजिक लिङ्ग’ हो। 

अत: शारीरिक र जैविक रूपले स्त्री वा पुरुष हुनु यौनिकता (सेक्स) हो भने यौनिकताका आधारमा तय हुने सामाजिक, आर्थिक एवं सांस्कृतिक जिम्मेवारी तथा अवसरहरूको समष्टिगत रूप नै लैङ्गिकता (जेन्डर) अर्थात् सामाजिक लिङ्ग हो । केटा र केटीको प्राकृतिक लिङ्ग (जैविक लिङ्ग) विश्वभरि उस्तै हुन्छ भने उनीहरूको सामाजिक लिङ्ग समाजअनुसार फरक हुन्छ। 

छोरा-छोरीदेखि ‘महिला र पुरुष’सम्मको यात्रा :

स्तम्भकारः राजु झल्लु प्रसाद

छोरा वा छोरी भएर जैविक लिङ्ग लिएर जन्मेपश्चात् हरेक समाजले उनीहरूबाट छुट्टाछुट्टै उत्तरदायित्वको आशा गर्छ। समाज वा परिवारको छुट्टाछुट्टै किसिमको निरन्तर तालिमका कारण एउटा छोरी महिलाका रुपमा विकसित हुन्छिन् भने एउटा  छोरा पुरुष भएर देखा पर्छ । 

एउटी छोरीलाई महिलाको रुपमा निर्माण गर्न र एउटा छोरालाई पुरुषको रुपमा निर्माण गर्न समाजको अथक मिहेनत देखिन्छ । त्यो मिहेनतमा देखिएको सबैभन्दा रमाइलो पक्ष हो- उनीहरूलाई एक-अर्काको परिपुरकको रुपमा उभ्भाउन तय गरिएको विभिन्न सामाजिक अवधारणाहरू । एक–अर्कामा पुरक हुनेगरी महिला र पुरुषहरूका आचरण, व्यवहार अनि उत्तरदायित्वहरू बाँडिन्छन्, भाग लगाइन्छन् । यसै क्रमबद्धता अनुरुप उनीहरू सामाजिक वा सांस्कृतिक रूपले छोरा र छोरीबाट ‘महिला र पुरुष’का रूपमा चिनिन पुग्छन् । नामाकरण, लालनपालन र कर्मक्षेत्रको निर्धारण पनि यही प्रकियामा समानन्तररुपमा भइरहेकै हुन्छ ।

लैङ्गिक भेदभाव

समाजमा महिला र पुरुषको कस्तो भूमिका हुने, कसको हैसियत र सम्मान उच्च हुने, श्रोत–साधन र शक्तिमा कसको पहुँच बढी हुने भन्ने कुरा समाजले निर्धारण गर्छ । यसलाई लिङ्गभेदको आधारमा तय गरिएको भेदभाव अर्थात् ‘लैङ्गिक भेदभाव’ भन्न सकिन्छ। 

छोटकरीमा बताउँदा, लिङ्गभेद अर्थात् ‘लैङ्गिक भेदभाव’ भनेको प्राकृतिक लिङ्गको आधारमा कुनै पनि समाजमा महिला र पुरुषबीच हुने सामाजिक भेदभाव र पक्षपातीपूर्ण व्यवहार नै हो। 

उसो त, नेपालमा लैङ्गिकता र यौनिकताप्रति समाजको भाष्य ज्यादै कुण्ठाग्रस्त र सीमित छ । यसले ‘लैङ्गिक पहिचान’लाई बुझ्न र सम्झन पटक्कै कोसिस गरेको देखिँदैन । 

लैङ्गिक पहिचान: 

कुनै व्यक्तिले आफू पुरुष, महिला वा फरक लिङ्गी भएको कुरा स्व:अनुभूतिमार्फत् अन्तर्मनदेखि बोध गर्दछ भने त्यसलाई ‘लैङ्गिक पहिचान’ भनिन्छ । यो व्यक्तिअनुसार फरक हुने गर्दछ, उसमा आफ्नो अन्तर्आत्माबाट लैङ्गिकतासम्बन्धी आएको अनुभूति एवं अनुभव नै उसको लैङ्गिक पहिचान हो । अत: कुनै पनि शिशुलाई जन्मनेबित्तिकै आफ्नो लैङ्गिकताको बारेमा चेत हुँदैन । लैङ्गिक पहिचान या लैङ्गिक बोध भनेको शिशु हुर्कदै जानेक्रममा उसले अनुभूति गर्ने कुरा हो ।

तर लैङ्गिक पहिचानको कुरा यत्तिमै सकिँदैन । यसबाहेक पनि एउटा बृहत्तर समुदाय छ, जसबारे हामी बुझ्न र बुझाउन नै खोज्देनौं । नीति निर्माणको क्रममा मात्रै होइन व्यक्तिगत र सामाजिकरुपमा नै हामी यस समुदायबारे चासो राख्देनौं । राखेको हकमा पनि पूर्व-कल्पित धारणा र पूर्वाग्रहसिवाय अर्थोक हामीसँग छैन । किसिमकिसिमका लैङ्गिक दुस्बोधन हाम्रो समाज व्याप्त छ । हिजडा, मारुनी, छक्कालगायतका शब्दहरू यही दुस्बोधनको व्युत्पति हो । (यी शब्दको प्रयोग गरेको म क्षमा चाहन्छु)

हाम्रो समाज महिला र पुरुषबीचमा नै यति ठूलो लैङ्गिक भेदभाव बोकेर बसेको छ, जसले फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई हरहमेशा दरकिनार गर्दै आइरहेको छ । यो एक अप्राकृतिक भेदभाव हो । 

फरक लिङ्ग : 

जन्मिदा केटा र केटी दुवैको लिङ्ग भएका या दुवै (कुनै पनि) लिङ्ग नभएका, जन्मिदा एउटा लिङ्ग भएको तर उसको चाहना र व्यवहार अर्को लिङ्गको भएका लगायतका लैङ्गिक पहिचान भएका व्यक्तिलाई लैङ्गिक अल्पसङ्ख्यक या फरक लिङ्गी व्यक्तिको रुपमा परिभाषित गरिएको छ । फरक लिङ्गीभित्र शारिरिक-प्राकृतिक तथा व्यक्तिगत-मनोवैज्ञानिक दुवै किसिमका लिङ्गीहरू पर्न आउँछन् । 

फरक लिङ्गको संक्षेपीकरणका लागि एलजीबिटीआइक्यु (LGBTIQA) अर्थात् समयौनिक महिला (Lesbian), समयौनिक पुरुष (Gay), द्वीयौनिक व्यक्ति (Bisexual), पारलैङ्गिक व्यक्ति (Transgender Person), अन्तरलिङ्गी व्यक्ति (Inter sex), क्वयेर व्यक्ति (Queer Person) तथा अलिङ्गी व्यक्ति (Asexual Person) को प्रयोग गर्ने गरेको पाइन्छ । तर यस संक्षेपीकरणको प्रयोगले सिमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको विविधतालाई समेट्न सक्दैन । यसकारण एलजीबिटीआइक्यु पल्स (LGBTIQA+) समेत प्रयोग गरेको पाइन्छ ।

यौन आकर्षण अनुभवहीन व्यक्तिहरू (अयौनिक, Asexual Person), आदि रुपमा पुरुष या महिलाको पहिचान भए पनि आधि रुपमा भने लैङ्गिक तरलता हुने व्यक्तिहरू (अर्धपुरुष, Demiman र अर्धमहिला, Demiwomen), आफूलाई कुनै पनि लैङ्गिकतासँग सम्बन्ध नभएको भनी पहिचान गर्ने व्यक्ति र समुदाय (अलिङ्गी, Agender), आफूलाई महिला र पुरुष दुवै हूँ भनी पहिचान गर्ने व्यक्ति र समुदाय (दुई लिङ्गी, Bigender), क्वेयर (Queer) व्यक्ति र समुदायलगायतलाई सदैव किनाराकृत गरिरहेको छ ।  सिमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूलाई क्वयेर व्यक्ति (Queer Person) भनिन्छ, जो एक विचारधारासमेत बनिरहेको छ ।

हाम्रो समाजमा पुलिङ्गी र स्त्रीलिङ्गी भनी यौन विशेषताका आधरमा दुई वर्ग बनाई तिनैको अध्ययन, अध्यापन, पहिचान तथा हकहित र अधिकारका पाठहरू पढाउँदै र पढ्दै आइएको पाइन्छ । जसले पुलिङ्गी र स्त्रीलिङ्गीको परम्परागत अवधारणाभित्र नअटाउने व्यक्ति र समुदाय (अन्तरलिङ्गी, Intersex) अर्थात् फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई हरहमेशा दरकिनार गर्दै आइरहेको छ । 

आजभोलि यसप्रकारका समुदायका व्यक्तिहरूको पहिचानको कुरा आउँदाखेरि शक्ति पदानुक्रमअनुसार कुनै ठोस कदम चालिहाल्न नसकुन भनेर देखावटीका लागि सहभागी, समावेश र प्रतिनिधित्व गराउने अभ्यास (टोकनवाद) देखिन्छ, जसले झन् उनीहरूमाथि अपमान र उछितो काट्नेबाहेक अर्कोथोक केही गरिरहेको छैन । 

यहाँनेर एउटा अर्को कुरा पनि देखिन्छ, जस्तो- पुरुषलाई प्रथम लिङ्गी, महिलालाई दोस्रो लिङ्गी र पुरुष या महिलाको पहिचान नअट्ने सम्पूर्ण व्यक्तिहरूलाई ‘तेस्रो लिङ्गी’को नामले बोलाएर लिङ्गको तहगत वर्गीकरण गरिरहेको छ, यो ‘तृतीयवादी’ सोचले पुलिङ्गी र स्त्रीलिङ्गीबाहेकका सम्पूर्ण व्यक्तिहरूलाई ‘असामान्य’ मानेर हरेक बखत अपहेलना र विभेद गरिरहेको छ । सौन्दर्य र शारीरको  आकर्षणसम्बन्धी एकप्रकारको परम्परागत मानिसिक धारणा बोकेर हिँड्नाले यो प्रवृतिलाई थप मलजल गरिरहेको छ ।

लैङ्गिक समानता :

नेपालले पनि लैङ्गिक हिँसा तथा विभेद कम गर्न घरेलु हिँसा विधेयक, लैङ्गिक उत्तरदायी बजेट, महिला आरक्षण आदि विभिन्न रणनीतिहरु ल्याएको छ । समाजमा लैङ्गिक समानता कायम गर्नु उसको मुख्य उद्देश्य हो । नेपालले अल्पसङ्ख्यकको चाहना र मानवअधिकारलाई ध्यानमा राखेर सन् २००७ मा उनीहरुको लैङ्गिक पहिचानलाई कानुनी मान्यता प्रदान गरेको छ । तर के यति पर्याप्त छ ? यसले लैङ्गिक समानता कायम गर्न सकेको छ ? लैङ्गिक हिँसा तथा विभेद कम गर्दैमा लैङ्गिक समानता कायम हुने हो ? पक्कै हो तर त्यस पहिले पत्रपत्रमा तहगत हाम्रो समाजको अन्तर्विरोधलाई हामीले कसरी बुझेका छौं ? भन्ने प्रश्न आउँछ । 

पृष्ठभूमि :

यो कुरा त प्रष्ट नै भइहाल्यो, लिङ्ग पहिचान सँगसँगै हाम्रो समाजिल लिङ्ग पनि तय गरिन्छ र सोही परिपाटीअनुरुप हामी हुर्कन्छौँ, अगाडि बढ्छौँ । तर के हामीले प्रश्न गरेका छौं- पुरुष हुनु भनेको के हो ? महिला हुनु भनेको के हो ? पुरुष हुनासाथ पहिलो श्रेणी र स्त्री हुनासाथ दोस्रो श्रेणीमा कित्ताकाट किन र केको आधरमा गरिरहिएको छ ? अझ महत्त्वपूर्ण प्रश्न पुरुष यौनाङ्ग लिएर जन्मनासाथ ऊ महिलाप्रति र महिला यौनाङ्ग लिएर जन्मनासाथ ऊ पुरुषप्रति आकर्षित हुने गर्दछ भन्ने मान्यता सही हो ? आकर्षणको सीमारेखा बस् यत्ति हो त ? 

पुरुष भएर पुरुषप्रति या दुवै (महिला र पुरुष) प्रति र महिला भएर महिलाप्रति या दुवै (महिला र पुरुष) दुवैप्रति आकर्षित हुने विशेषतालाई समाज किन अस्वीकार गरिबस्छ ? कुनै व्यक्ति जो पुलिङ्गी/स्त्रिलिङ्गी शारीरमा जन्मिएका छन् तर आफूलाई गलत शरीर लिएर जन्मिएको या स्त्रिलिङ्गी/पुलिङ्गी महसुस गर्दछन् र आफ्नो यौनाङ्ग परिवर्तन गरी स्त्रिलिङ्गी/पुलिङ्गी हुन चाहन्छन् भने समाज उनीहरूलाई किन स्वीकार गर्दैन ?

समाज उनीहरूमाथि लगातार प्रश्न किन गरिराख्छ ? आफ्नो शरीरमाथि व्यक्तिको आफ्नो आत्मनिर्णयको अधिकारमाथि समाज किन हस्तक्षेप गरिराख्छ ?

यौनिकता अनुभव नै नहुने, एलजीबीटीआइक्युए, एलजीबीटीआइक्युए प्लस तथा सिमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूतर्फ समाज किन ध्यान दिँदैन ? उनीहरूको हकअधिकार र पहिचानलाई हाम्रो सामाजिक संरचनाले किन स्वीकार्दैन ? के यी प्रश्नहरू आवश्यक छैनन् ?  छन् भने यसको उत्तर के हो ? कसले दिने हो ? उत्तर खोज्ने जमर्को कसले गरिरहेको छ ? उत्तर दिने प्रयासमा को को लागिरहेका छन् ?.. म निरन्तर प्रश्नहरूको भूमरीमा रहिरहेँ ।

यी प्रश्नहरूले मलाई लखेटिरहे । मैले कुनै सहज उत्तर भेट्न सकिनँ । तत्क्षण एक्कासी मेरो मनमा एउटा प्रश्न अङ्कुरित भयो, ‘मलाई मेरो लिङ्ग यो हो है’ भन्ने कुराको बोध कहिले भयो ? कसरी भयो ? के त्यो मलाई आफ्नै अन्तर्मनदेखि भएको थियो ? या परिवार, सामाजले पटकपटक ‘तँ यो होस् है’ भनेर भनिरहँदा त्यसलाई मैले स्वीकारेको हूँ ? 

कुनै पनि शिशु जन्मदा पुलिङ्गी र स्त्रीलिङ्गी भनी प्रष्टसँग नछुट्टिएको अवस्थामा निजको आमाबाउले आफ्नो मनमर्जी चलाई ‘छोरा या छोरी’ भनी किटान गरी त्यसैअनुरुप हुर्काएको/बढाएको देखेको छु। र, सो बच्चा हुर्कदै जानेक्रममा उसले आफ्नो लैङ्गिक पहिचान खोज्दै जाँदा घरपरिवारसँग टाढा हुन् पुगेको घटनासँग ठोक्किन पुगेको छु । सो पारलैङ्गिक व्यक्तिसँगको त्यस साक्षत्कारले मलाई सायद आफ्नो लैङ्गिक पहिचान वा लिङ्गबोधमाथि प्रश्न उठाउन अवेचनरूपमा सघाउ गरेको हुनुपर्दछ । म आफैँ अनुत्तरित छु कि, यस प्रश्नले मेरो मस्तिष्कमा कसरी डेरा जमाउन सफल भयो ? 

अत: यस प्रश्नको थप्पडले ममा प्रथमत: ‘लिङ्गबोधको अनुभव कहिले भयो ?’ भन्ने प्रश्नको जवाफ खोज्न कर गरिरह्यो । सम्झनाको दूर क्षितिजसम्म पुगेर फर्किनु मेरो लागि सहज रहेन । 

म आफूले बच्चाबेला खेलेको गट्टा, चुङ्गी, गुच्छा, ढ्याक जस्ता खेलहरू सम्झिन पुगेँ । म आफूले बच्चाबेलामा लगाएको कट्टु र सेन्डोबारे सोचेर बसिरहन थालेँ । उठेर पिसाब फेर्ने र छाती नढाकीकन नुहाउने कुरामाथि म घन्टौँ घोरिएँ । त्यसअघि आमा, दिदीबहिनी र आफ्नै उमेरका केटी साथीहरूप्रतिको मेरो न्यानोपन र आद्रतामाथि तर्क-वितर्क गरिरहें । 

के म केटीप्रति मात्रै आकर्षित हुन्छु या केटाप्रति पनि मेरो आकर्षण छ ? या मलाई यस किसिमको कुनै आकर्षण नै हुँदैन ? तर म आफू पुरुष रहेको र मेरो आकर्षण महिलाप्रति रहेको तथ्य (विषमयौनिकता/ Heterosexuality) सँग यतिखेर म नजिक छु । 

आफूमा विषय यौनिकता भएको अनुभव गरेसँगै मैले आफू पुरुष भएको बताउन मद्वारा गराइएको या भनौं मद्वारा सम्पन्न भएका तमाम तमाम काम, कर्तव्य र दायित्वहरू सम्झन थालेँ । त्यसक्रममा सकेसम्म अझ आफ्नो पहिलो अनुभव या घटनाहरूलाई सम्झने जमर्को गर्न थाले । जति घटना/उपघटनाहरू सम्झिएँ, त्यसमाथि मैले लगातार प्रश्न पनि गरेँ, गरिरहेछु।

म प्रश्न गर्न थालेँ, त्यतिबेला दिनहुँ मैले रुखको डाले घाँस झार्नु र बहिनीले त्यो घाँस सँगाल्नु अर्थ के थियो ? अझ महत्त्वपूर्ण प्रश्न, मसँगै रुख चढ्न तम्सिएकी बहिनीलाई ‘छोरीमान्छे भएर पनि रुख चढ्छन् ?’ भनेर हप्काउन मलाई कुन कुराले प्रेरित गर्थ्यो ? 

म लगातार आफूलाई प्रश्न गरिरहें, मलाई हँसियामा धार लगाउदा खुसी किन लाग्थ्यो ? मलाई देवताको थानमा पूजा गर्न बुबासँग जाँदा एकप्रकारको अहम् भाव जस्तो किन हुन्थ्यो ? मलाई बिहान अबेरसम्म सुत्न र खाना खाइसकेपछि थाल रछ्यानमा फ्यालेर स्कुल दौडिन कसले सिकायो ? 

५/७ वर्षको उमेरमा पोछो निकालेर पिँढी पोत्न खोज्दा आमाले ‘हुँदैन, यो तेरो काम होइन’ भन्दा त्यस कुरालाई फेरि नदोहोराउने प्रण लिन के कुराले बाध्य बनायो ? उसैगरी मलाई आफू ८/१० वर्षको उमेर शङ्क फुक्न नसक्दा बुबाले ‘छोरो मान्छे भएर पनि यति जान्दैन ?’ भनेर प्रश्न गर्दा त्यस कुरालाई मन राखेर डुलिहिँड्न के कुराले बाध्य तुल्यायो ? 

म सम्झन्छु, म र तल्लोघर दिदी दुवै सुसेला हाल्न खप्पिस थियौं तर उहाँले सुसिला हालेबापत ठूलोबुबाको गाली खानुभएको थियो जब कि मैले चाहिँ खाइन् । साँच्चै, त्यस दिन उहाँलाई गाली किन गरिएको थियो ? उहाँले सुसिला हाल्न नपाउनुको कारण के थियो ?

.. प्रश्नहरूको भूमरीमा फसिरहँदा मलाई भात पकाई खेल खेलेको सम्झना आयो । जहाँ म एक्कासी ‘म दुलाहा है’ किन भन्थे ? अझ दुलाहा बनिसकेपछि तरकारी बटुल्न, सर्जाम खोज्न म स-साना ढुङ्गाको चाङ्ग लगाएर बनाइएको घर छोडेर किन निस्किन्थे ? दिदीहरूले झैँ ढुङ्गाको घरको स्याहारसम्भार गरेर किन बस्दिन थिएँ ? या दिदीहरू किन तरकारी बटुल्न, सर्जाम खोज्न जङ्गलतिर जानु हुँदैन थियो ? उहाँहरू ‘भात पकाई खेल’ मा भात पकाउने काम उहाँहरूकै हो भनेर कसरी बोध भयो ?

मैले केके कुरा गरे, मबाट केके काम गराइयो ?  कुन-कुन कामकुरा नजान्दा मैले गाली खानुपर्यो ? के-के फत्ते गर्दा मैले स्याब्बासी पाएँ ? म यस्ता यावत् यावत् घटना र प्रसङ्गहरूलाई सम्झिन थालेँ । (यस कुरालाई आगामी शृङ्खलाहरूमा लेख्दै जानेछु।) 

यहीँनेर मलाई लाग्यो कि मेरो जस्तै अनुभव हामी सबैको होला ? किन त्यो अनुभव एक-अर्कालाई नसुनाउने ? किन एकअर्काको अनुभवमार्फत् हाम्रो समाजको अन्तर्यमा रहेको ‘सामाजिक लिङ्ग’लाई नबुझ्ने ? किन एकअर्काको लैङ्गिक पहिचानलाई एकअर्कामाझ साझा नगर्ने ? लिङ्गबोधका अनुभवहरू एक-अर्कामाझ साटासाट नगर्ने ?

यही कारण मैले एक प्रश्न तयार पारे र विभिन्न व्यक्तिहरू कहाँ यस प्रश्नसहित उपस्थित भएँ, भइरहेको छु ।

प्रश्न हो- तपाइँले आफू महिला/पुरुष वा फरक लिङ्गी भएको प्रथमपटक कहिले थाहा पाउनुभयो ? कसरी थाहा पाउनुभयो ? 

यही प्रश्नको वरपर रहेर ‘लिङ्ग बोध’ नामक यस शृङ्खलाको पहिलो अङ्कमा केही व्यक्तिहरूको अनुभव बटुल्ने जर्मको गरे, जसलाई यहाँ प्रस्तूत गरेको छु –

१. जीवनपानीको ‘लिङ्गबोध’ अनुभव:

वैदिक गणना अनुसार पृथ्वीमा जनावर र वनस्पतिको कूल सङ्ख्या ८४ लाखलाई मानिन्छ। जीव वैज्ञानिकका अनुसार भने यो सङ्ख्या सालाखाला १ करोडलाई मानिन्छ। 

सङ्ख्या जतिसुकै भए पनि एककोषीय र उभयलिङ्गी जीवहरूबाहेक अन्य जीवहरूलाई लिङ्गका आधारमा पुलिङ्ग र स्त्रीलिङ्ग गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ । महिला र पुरुषमा आङ्गिक भिन्नता भनेकै लिङ्ग हो।  पशुपन्छी र वनस्पतिमा पनि यही हो।  

वनस्पति, पशुपन्छी र कीटपतङ्ग आदिलाई आफू पुलिङ्ग वा स्त्रीलिङ्ग भएको बोध हुन्छ वा हुन्न , त्यो म भन्न सक्दिनँ।  शायद प्रकृतिले उनीहरूलाई लिङ्गबोधको जानकारी नै गराएको छैन र थाहै नपाई उनीहरू सबैले प्राकृतिक रूपमा पुलिङ्ग र स्त्रीलिङ्गको कर्म गरिरहेका पो छन् कि? त्यो जेसुकै होस्।  फेरि यो कुरा उनीहरू आफैँलाई थाहा छैन भने मलाई कसरी थाहा होस्? यसैले उनीहरूको यो विषयमा म जान्न चाहिनँ।  

हामी मानिसहरूका विषयमा पनि पारिवारिक संरचनाको निर्माण हुँदैनथ्यो भने अर्थात् सामाजिक संरचनाका लागि वैवाहिक संस्कारको निर्माण नहुँदो हो त लिङ्गबोधको आवश्यकताले अर्थै राख्दैनथ्यो होला। लिङ्गको यति चर्चै हुँदैनथ्यो होला। 

विवाह केटा र केटीका बीचमा हुने गर्छ। यसका लागि लिङ्ग बोधको अनिवार्य भयो। जन्मेको बच्चा छोरा कि छोरी भन्ने कुराले महत्त्व पायो।हुँदहुँदा जन्मिनु अगावै भिडियो एक्सेद्वारा आमाको पेटभित्रै यसको जानकारी लिन थालियो। तातेताते र तोते बोली बोल्न नजान्दै उसको वरिपरि बसेर समाजले छोराछोरीको विषयमा गरिएका कुराहरू बच्चाले सुन्न थाले। यसैले आफू छोरा कि छोरी? भन्ने विषयमा उसैले सानैदेखि बुझ्न थाल्यो।  छोराछोरीमा हुने आङ्गिक भिन्नतालाई चिन्न थाले। छोरा भएमा यस्तो र छोरी भएमा त्यस्तो अङ्ग हुँदो रहेछ भन्ने उनीहरूले राम्ररी बुझ्न थाले। 

समाजमा केटा र केटीको पहिरन र उनीहरूको अन्य फरक भूमिकाबाट पनि यो कुराको बोध उनीहरूलाई प्रस्टसँग स्पष्ट हुँदै आयो।  

अब म आफूलाई पहिलोपटक कहिले लिङ्ग बोध भयो भन्ने विषयमा प्रवेश गर्छु। केटा र केटीको लैङ्गिक भिन्नता नबुझ्दै मैले आमाबुबाका भिन्न रूप र व्यावहारलाई देखेको थिएँ, अन्तस्करणले बुझेको पनि थिएँ तथापि उनीहरूको लैङ्गिक भिन्नता म भन्न सक्दिनथें।   

म आमासँग मामाघर गएको थिएँ। सानो थिएँ।  तर वर्ष कतिको थिएँ त्यो मलाई थाहा भएन।  मैले आँगनको डिलमा उभिएर डिलमुन्तिर पिसाब फेर्दै थिएँ, माइज्यूले ‘कुरीकुरी’भन्नु भयो। आमा पनि मेरो नजिकै हुनुहुन्थ्यो। आमाले मसँग हाँस्दै भन्नुभो , ‘सू’ गर्दा ‘कुरी’लाई छोपेर गर्नुपर्छ। अनि मैले कुरी भनेको शू गर्ने अङ्ग रहेछ र नदेखाई गर्नुपर्छ भन्ने बुझें। तर मलाई  म केटा वा केटी के हुँ ? त्यो भने अझै थाहा थिएन।  

मेरो ठूलो मामाकी छोरी मभन्दा महिनाले कान्छी थिइन्। उनले आँगनमा टुक्रुक्क बसेर पिसाब फेर्दै थिइन्। मैले दौडिंदै गएर आमासँग भनें- ‘आमा! आमा!!  बैनीको त शू गर्ने कुरी नै छैन। 

त्यसपछि आमाले मलाई भन्नुभो – ‘बाबु, बैनी त छोरी हो नि त, बैनीको तिम्रो जस्तो कुरी गर्ने कुरो हुँदैन।’  

शायद यही दिन थियो, मैले आफूलाई केटो रहेछु भनेर चिनेको दिन। 

 (जीवनपानी शिक्षक एवं नेपालका प्रख्यात कवि, गजलकार हुन्।)

—————————————————–

२. सन्जीत फलानाको ‘लिङ्गबोध’ अनुभव

शिशुले आफू छोरा हूँ कि छोरी हूँ भन्ने उसले जन्मेको एक दुई वर्षमा थाहा पाउँदो हो। तर म स्त्री, म पुरुष भन्ने जुन शब्दको माध्यमबाट निर्धारित लिङ्गबोध छ, त्योचाहिँ विद्यालयमा अध्यन गरेपछि थाहा लाग्दो हो । मेरो सवालमा नि यहीँ हो । मैले विद्यालय जान थालेपछि मात्रै लिङ्गबोधको अनुभव गरेँ ।

(सन्जित फलाना शिक्षक एवं कवि हुन्।)

——————————————————

३. भेषराज बुढाथोकीको ‘लिङ्गबोध’ अनुभव:

लिङ्गको भन्दा पनि जेन्डरको कुरा गरौँ है त ! 

म त्यो भूगोलको मान्छे , जहाँ अझैँ पनि छोरा नभई नहुने एउटा समाज छ।  छोरा अनिवार्य जस्तै छ।  केही गरी छोरी नै छोरी भएमा या छोरा नै नभएको खण्डमा अर्को बिहे गर्ने प्रचलन अझैँ छ। त्यो पनि जुन आमाबाट छोरीहरू मात्रै जन्मे त्यहीनेर आमाले नै आफ्नो श्रीमानलाई दोश्रो बिहे गर्न उक्साउने परम्परा पनि जीवित नै छ।  

भेषराज बुढाथोकी

म जन्मेको डेढ बर्षपछि मेरो बहिनी जन्मी। त्यो जन्मेको मलाई याद छैन।  त्यसको डेढ वर्षपछि मेरो अर्को बहिनी जन्मी । त्यसपछि हजुरले आमाले भन्नुभयो, “यो पाली त नाती जन्मेला सोचेको फेरि नातिनी नै जन्मी। मेरो छोरो एउटो हो। नाती चाहिँ दुईवटा होस् भन्ने चाहन्थेँ। खैर.. एउटा नाती त भयो।..”

अब मलाई बिस्तारै थाहा हुन थाल्यो कि म हजुर आमाको नाती हुँ।  मैले जन्मिँदा नै ‘नातीमा हुनुपर्ने विशेष गुण’ लिएर जन्मेको छु। यसरी म हजुरआमा र हजुरबाको प्यारो अर्थात् नाती भएँ।   

हाम्रो समाजमा नामबाट पनि केटा हो या केटी छुट्याउन सकिने प्रावधान छ। अलि पहिलाको जेनेरेसनमा त्यस्तो थियो। अहिले पछिल्लो समय केटा र केटीको नाउँ साझा भएको उदाहरण पनि छन्। जस्तो: सुमन , कमल, आदी।  

त्यसैले मेरो नाउँले पनि ‘केटाको विशेष गुण’लाई काखी च्यापेको रहेछ। मेरो न्वारनको नाउँ ‘भिष्म’ हो।   बहिनीहरू कमला, पार्वती र पवित्रा छन्। यसरी नामले पनि जेन्डर छुट्याउन सजिलो हुने रहेछ। समाजले बोलाउने मेरो नामबाट पनि म केटा भएको थाहा पाएँ।  

अनि धार्मिक र सांस्कृतिक कुराहरू पनि छन्। जस्तो: मेरा हजुरबा किसान हुन। हजुरबाले खेतमा जोत्ने हलोलाई हाम्रो तिर छोरी मान्छेले नाघ्न हुँदैन। नाघ्यो भने नरिवलको वली चढाउन पर्छ। एकपटक सानोमा बहिनी र खेल्दै थियौं। मैले पनि हलो नाघ्न पुगेछु।  बहिनीले पनि नाघी।  बहिनीले नाघ्दा नरिवल फुटाईयो।   मैले नाघ्दा फुटाईएन। त्यतिबेला गाउँलेले भने, “तँ छोरा होस्। तैँले हलो नाघ्दा हुन्छ। छोरीले नाघ्न हुँदैन।..”. यसरी थाहा भयो कि म छोरा मान्छे रहेछु।  

अनि साँस्कृतिक कुरा; हाम्रो तिर मठमन्दिरमा पुर्णिँमामा रूघ्न गईन्छ। रातभरी मन्दिरमै बस्नु पर्ने हुन्छ।  

म सानो छँदा सपरिवार मन्दिर गयौँ, हामीसँगै छिमेकी एवं गाउँलेहरू पनि थिए। अनि मन्दिरमा महिला र पुरूष बस्ने अलग अलग ठाउँ हुँदो रहेछ। म हजुरआमासँग बसें। हजुरआमासँगै सुत्न खोजेँ तर मलाई हजुरआमासँग सुत्न दिईएन। मलाई रातारात हजुरबा भएको ठाउँ तिर सारियो। किनकी म केटा रहेछु।   यसैले महिलाहरू हुने ठाउँमा मलाई बस्न बर्जित गरियो। अनि थाहा पाएँ – म त केटा पो रहेछु। या केटामा हुन पर्ने गुण म भित्र रहेछ क्यारे । 

त्यसै दिन थाहा पाएँ, मन्दिर भित्र कलस सजाउने काम रजस्वला नभएका छोरी मान्छेहरूबाट गरिने रहेछ।   म आफै कलस सजाउने काम गर्न थालें तर मलाई त्यो काम गर्न दिइएन। किनकी म त छोरा मान्छे पो रहेछु।  

लिंगबोधलाई लिएर मेरा यस्तै यस्तै अनुभवहरू छन्। 

(भेषराज बुढाथोकी कवि एवं गजलकार हुन्।)

———————————————-

४. रोशन कोइरालाको ‘लिङ्गबोध’ अनुभव:-

रोशन कोइराला

बुझाईको स्पष्ट क्षण याद नहुने जीवनका अनेक कुराहरुमा जस्तै नै रहेको छ जेन्डरको बुझाइ मेरो अनुभवमा। जेन्डरमा आधारित पहिचान र अपेक्षित भूमिका ममाथि आरोपणको सिलसिला बाल्यकालको त्यस बेलादेखिको हो जब कसैले ‘यो त केटीजस्तो रुञ्चे छ’ भनेर ठट्यौली गरेको घटना मलाई स्मरण हुन्छ।  

‘केटा मान्छे भएर रुनु, कमजोर देखिनु’ लज्जाका कुरा हुन्भन्ने किसिमका व्यवहारगत परिपालनाका अनौपचारिक तालिम जेन्डरको सामाजिकीकरणको स्वाभाविक अभ्यासकारुपमा यसरी आन्तरिकीकरण गराइयो कि पछि गएर कलेजमा नारिवाद पढिरहँदा पनि पितृसत्तात्मक अहम् र मनोवैज्ञानिक साँचोले जड बनाईदियो।  

मेरो सोही व्यक्तित्व अहिलेसम्म हरेकखाले दैनिन्दिनका आरोहअवरोहमा बोध र परम्पराले अभ्यस्त व्यवहारबीचको खाडल पुर्ने कोसिसमा संघर्षरत रहने गर्दछ।   

(रोशन कोइराला कवि लेखक एवं निजामति कर्मचारी हुन्।)

—————————————————————–

५. सृजना पोख्रेलको ‘लिङ्गबोध’को अनुभव: 

राजु जी, तपाईंको प्रश्नले मलाई सानोमा मलाई लगाउन दिएको कपडालाई सम्झाईदियो।  तिजमा सधैं कुर्ता सिलाइदिनुहुन्थ्यो घरमा। मलाई पनि सानैमा टीका, चुरा लगाउन मन लाग्थ्यो। मलाई कथित केटीले लगाउने कपडा, शृंगार गरिदिएपछी र मलाई पनि त्यही मनपरेपछी होला मैले महिला हो रै’छु भन्ने बोध गरेको।

 हुन त यो अलि उमेर भइसकेपछीको कुरा हो, घरमा नुहाउँदा त केही भएन तर नदीमा नुहाउन जाँदा पेटिकोट लगाएर नुहाउनुपर्थ्यो। तर मलाई याद छ बुझ्ने हुँदासम्म दादा र म उस्तैगरि नुहाउथ्यौ।

अर्को कुरा कपाल पनि हो जस्तो लाग्छ मलाई।  सानोमा कपाल जहिल्यै लामो नै भयो मेरो।  छोटो भएपनी केटी भनेर थाहा हुने खालको थाईकट (Thaicut) कपाल नै हुन्थ्यो।  

जस्तो एउटा घटना सुनाउछु, हाम्रो गाउँमा दुई बहिनीहरु थिए, जो ‘केटाजस्तै’ कपडा लगाउथे। कपाल नि छोट्टो थियो उनीहरूको। अनि बालक्ल्बको मिटीङ हुन्थ्यो, त्यहाँ उनीहरू पनि आउथे । तर  उनीहरू आइसकेपछी अरू केटाकेटीहरू ‘केटा सोचेको केटीहरू पो रहेछन्!’ भन्दै मुर्छा परिपरी हाँस्थे। मलाई याद छ, त्यस घटनापछि मेरो अवचेतन मनमा, ‘यति छोटो कपाल चाहिँ कहिल्यै बनाउनु हुन्न’ भन्ने बस्यो। अहिले त म आफ्नो पहिरन, कपाल बारे आफै निर्णय गर्छु। तर एउटा उमेरसम्म त्यो घटनाले पनि प्रभाव पारेको थियो। 

अहिले ती बहिनीहरु कथित केटीहरुले गर्ने पहिरन नै प्रयोग गर्छन्। तर सानामा चाहि आफुले लगाएका कपडा, आफ्नो कपाल मनपराउँथे। पछि त्यो कुरा रहरले बदलियो कि अरु कुनै कारणले, थाहा छैन ।

बहिनीहरुका आमाहरु त्यो बेलाका फेमिनिस्ट हुनुहुन्थ्यो गाउँमा। अहिले सम्झदाखेर लाग्यो, त्यतिबेला फेमिनिस्ट महिलाहरूलाई पनि ‘छोरीलाई सशक्त बनाउनु भनेकै छोराजस्तो बनाउनु हो’ भन्ने लागेर त्यसो भएको हो कि? तर पछि फेरि एउटा तहसम्म पुगेर लड्न नसकेपछी आफै छोरीहरुलाई पहिरन, कपाल बदल्न लगाउनु भएको हो कि?

जेलिएको कुरा लाग्छ। एकातिर पहिरन, कपाललाई सामान्य सौख नसोची लिङ्गसङ्ग जोडिने दुःखद् अवस्था,अर्कोतिर फेमिनाईन एनर्जी(Feminine energy) लाई कमजोर, नखरा सोच्ने प्रवृति ।

(बिए.एलएलबी अध्ययनरत सृजना पोखरेल साहित्य लेखन सँगसँगै अखबारीय लेखनमा सक्रिय छिन्।)

——————-

६. रेजिना बस्नेतको लिङ्गबोधको अनुभव :

म नर्सरी कक्षा पढ्दा मेरो मिल्ने साथी केटा थियो। उ र म सधैँ सँगै बस्थ्यौ तर शौचालय भने फरक जानु पर्ने हुन्थ्यो। केटाहरू उभिएर पिसाब फेर्ने गर्थे भने केटीहरू बसेर। मलाई समझना भएसम्म मानिसहरुको फरक लिंग हुन्छ भन्ने कुराको आभास मलाई त्यसै समय भएको हो। 

मेरो लागि उभिएर पिसाब गर्ने भन्ने कन्सेप्ट नै आश्चर्यको विषय थियो । तर त्यो फ्रायडले भनेको जस्तो ‘पिनस एन्वि’ अर्थत ‘लिंग इर्ष्या’ भने थिएन। हुन त, त्यसबेला लिंग र यौनिकताको सम्बन्धबारे थाहा हुने उमेर थिएन होला। 

एउटा निश्चित उमेर पुगेपछि, अलैंगिक नभएको खण्डमा एउटा मानिसलाई अर्को मानिससँग आकर्षित हुनु स्वभाविक कुरा हो। हुर्कदै गर्दा लिंग र यौनिकता फरक कुरा हुन सक्छन भन्ने ज्ञान थिएन। केटालाई केटी मन पर्छ, केटीलाई केटा भन्ने सामन्य बुझाइ मात्रै थियो। 

हाम्रो शैक्षिक प्रणालीमा लिङ्ग / यौनिकता जस्ता विषयहरुलाई खासै महत्व पनि दिइदैन। पछी आफैले पढ्दै बुझ्दै गएपछी मात्र थाहा भयो लिङ्ग र यौनिकताको ‘ब्ल्याक एण्ड वाइह्ट्’ मा परिभाषा हुँदैन रहेछ । यसको त विशाल ‘स्पेक्ट्रम’ हुने रहेछ। त्यसपछी भने मैले आफैलाई प्रश्न पनि गरेको छु। के मेरो पुरुषप्रतिको आकर्षण समाजले निर्माण गरेको ‘केटीलाई केटा नै मन पर्छ’ भन्ने अवधारणाबाट त विकास भएको होईन? तर मैले यी कुराहरु बुझिसक्दा पनि मेरो आकर्षण पुरुषमा मात्र सिमित भएपछी मैले म ‘हेटेरोसेक्सुअल’ अर्थत ‘विषमलिङ्गी’ रहेछु भन्ने कुरा सही अर्थमा बुझे। 

मानवलाई लिङ्गको परिधी भन्दा बाहिर गएर प्रेम गर्ने छुट छ। विषमलिङ्गीहरुको विपरित लिङ्गको मानिससँगको आकर्षण समाजलाई जती पाच्य छ, त्यति नै सहज सबै खाले यौनिकता भएका मानिसहरुको लागी पनि हुनु पर्दछ। 

(बिए.एलएलबी अध्ययनरत रेजिना बस्नेत कला साहित्य सँगसँगै सामाजीक घटनाक्रमहरूमा रूची राख्दछिन्।)

————————-

७. सुष्मा तिमिल्सिनाको ‘लिङ्गबोध’को अनुभव :

सुष्मा तिमल्सिना

घरमा सानै छँदा देखि हजुरआमा सुनाउनु हुन्थ्यो-  “तँ जन्मने वर्ष गाउँमा तँ सहित चार जना जन्मेका थिए। तेरि आमा सँगैका सबैले छोरा नै छोरा जन्माउँदा तँ मात्र छोरी बनेर जन्मिएकी थिइस्।” 

त्यो बेला त म यी कुरा खासै बुझ्दिनँ थिएँ। तर जब पछि उनिहरूसँगै हुर्किदै गएँ मलाई टीका लगाइन्थ्यो, गाजल लगाइथ्यो, कपाल दुइपट्टी बाटिदिइन्थ्याे, मेरो पहिरहन पनि छुट्टै हुन्थ्यो र मलाई विद्यालयमा म जस्तै साथीहरूसँग बस्न भनिन्थ्यो। 

अल्लि ठूली भएपछि सायद त्यो बेला म ६ कक्षामा पढ्थें होला, एकदिन मेरो छिमेकीको एकजना दाईले स्कूलबाट फर्कदै गर्दा आफ्नो घरमा बोलाउनु भएको थियो। अहिले सम्झन्छु उहाँको घरमा त्यो बेला कोहि थिएन। मलाई बिस रूपियाँ देखाएर हात समाउँदै भित्र लैजानु भएको थियो। म त्यो एकान्तसँग डराएर भागेकी थिएँ कि उनको पुरुषत्वसँग खै तर दौडिदै घरमा आएर भनिदिदाँ उनले खुब गाली खाएका थिए। 

यी बाहेक अन्य थुप्रै अनगिन्ती घटनाहरु भएका छन्, जसले मलाई सानै छँदादेखि बारम्बार ‘म छोरी हुँ’ भन्ने कुराको बोध गराएको छ। छिमेकमा एक महिलाले छोराको आशमा सात छोरी जन्माएपछि बल्ल एक छोरा जन्माएकी थिइन। मेरी आमाले पनि उनैलाई देखेर हो कि किन हो, म जन्मेको दुई वर्ष नबित्दै भाई जन्माइसकेकी थिइन। 

कतिपय बेला लाग्छ यो वर्गीकरण एउटा बन्धन हो। हामी विद्रोह गरेर फुत्किन खोज्दा पनि अड्किरहेकै हुन्छौं।

(सुष्मा तिमिल्सिना कवि एवं विद्यार्थी हुन्।)

क्रमश..

—————–

स्रोत/सन्दर्भ:

१.क्वेयेर युथ ग्रुप र क्याम्पेन फर चेन्जले प्रकाशित गरेको ‘यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता): आधारभूत अवधारणा’ नामक पुस्तक

२. यौनिकता र लैङ्गिकताको शब्दकोष

३.क्वयेर तथा महिलावादी शब्दकोष

४.र, विभिन्न अनलाइन सामग्रीहरू