कजना कक्षा आठमा अध्ययनरत विद्यार्थीले आफ्नो नाममा “पुजा” लेखिन् । मैले “पूजा” शब्द शुद्ध हुन्छ भन्ने कुरा गरेँ । उनले आफ्नो जन्मदर्ता ल्याएरै भनिन्, ‘मेरो नाम यही सही हो ।’ अर्थका हिसाबले ‘सिता’ को अर्थ भातको सिता हुन्छ भने शुद्ध नाम ‘सीता’ को अर्थ स्त्रीबोधक नाम हुन्छ । मान्छेकै नाममा ह्रस्व “सिता” लेख्ने गरेको त्रुटि विद्यार्थीमा पाइन्छन् । जिज्ञासाकै क्रममा अर्का विद्यार्थीले त्यसै गरी भने– ‘मेरो जन्मदर्तामा “बिकास” छ त्यसैले म मेरो नाममा “विकास” सही हो भन्ने जान्दाजान्दै पनि “बिकास” नै लेख्ने गर्छु ।’ आजभोलि जन्मदर्तामै आधिकारिक रूपमा अशुद्ध नाम लेखिएका प्रशस्तै भेटिन्छन् जसमा सम्बधित निकायलाई कुनै होसहवासै छैन । मुलुकले यो चीरहरणलाई ग्राह्यता दिनै सकेको छैन ।
वास्तवमा पुजा, आशिर्वाद, गिता, दिपक, नबिनजस्ता कैयौँ नाम अशुद्ध लेखिँदा रहेछन् जुन नामहरू क्रमशः पूजा, आशीर्वाद, गीता, दीपक, नवीन हुनुपर्ने हो । भाषिक प्रयोगमा एकरूपता छैन । आज नेपालको सबैभन्दा बढी समृद्ध भनिएको नेपाली भाषाले पनि अशुद्धी र अपमानका जटिलतासँग पौँठाजोरी खेल्नुपरिरहेको छ । सार्वजनिक सूचनाका लागि जारी गरिएका आधारिक सूचनाका भेटिने भाषिक भद्रगोलका बारेमा गहन भएर सोच्न ढिलो भएको त छैन ? आधा दर्जन बढी केही सङ्केत गरिएका, नगरिएका सबै खाले सूचनालाई केवल शुद्धताका प्रयोजनार्थ हेर्ने हो भने हामी सहजै भन्न सक्छौँ– यो त अति नै भो !
उल्लिखित सरकारी तथा सार्वजनिक सूचना, शुभकामना, सन्देश लगायतका सामग्रीमा नेपाली भाषाको चीरहरण हुँदा नियमन कसले गर्छ ? एकातिर आधिकारिक प्रमाणमै अशुद्धता हुन्छ अर्कातिर नेपाली शुद्धताका विषयलाई ठूलो समस्या मान्दै मानिएन । ‘नेपाली त हो नि, मलाई आउँछ’ भन्ने दम्भ बोक्नेको पनि कमी छैन । कतिपय निजी विद्यालयले त नेपाली विषयको घण्टीबाहेकको विद्यालय समयमा आफ्नै देशको माध्यम भाषा प्रयोग गरेबापत सजाय शुल्क असुली गरिरहेको हुन्छ । यो कस्तो देश हो जहाँ आफ्नो देशको भाषा बोल्दा जरिवाना तिर्नुपर्ने अनि अर्काको देशको भाषा बोले पुरस्कार पाउने ? यसको अर्थ अङ्ग्रेजी भाषाको ज्ञान जान्नुको विरोध पटक्कै होइन । कलिला मस्तिष्कमा देश र स्वाभिमानसँग गाँसिएको भाषालाई अपहेलना गर्न लगाउने असंवैधानिक र बालअधिकार हनन भएका दुवै विषय मौनप्रायः छन् । कलिला मस्तिष्कलाई दबाबपूर्वक अङ्ग्रेजी मोहमा लादिन्छ जसमा आफ्नो स्वाधीनता र पहिचानलाई, आपूmलाई मेट्ने चर्को होडबाजी छ । यो मुलुकको हित विपरीत पलायनवादी बन्ने र परनिर्भरताको चक्रव्यूहमा एउटा अफिम पनि बन्दै छ । आज धेरै विद्यार्थीको मस्तिष्कमा विदेशको भूत चढाइएको हुन्छ । स्वदेशमा केही छैन भन्ने भावनाको विकास गराइन्छ । उसलाई विदेशको सौन्दर्यको पाठ सिकाइरहिएको हुन्छ । आत्मनिर्भर बन्न, स्वदेशमै विकासका सम्भावना खोज्ने शिक्षा दिइँदैन । ग्रिनकार्डवाला सपना बोकेर युरोप, अमेरिकातिर भास्सिए महान् मान्ने सोचले आजको समाज साह्रै नराम्ररी सङ्क्रमित छ ।
बालकले आधारभूत तहसम्म मातृभाषामा अध्ययन गर्न पाउँदा तिनको बौद्धिक तथा शैक्षिक विकासमा सहज हुने कुरालाई अध्ययनले देखाएका छन् । त्यसपछि बल्ल अङ्ग्रेजी लगायतका अन्य भाषामा दखल राख्ने गरी विकास गरे राम्रो हुन्छ । हाम्रो देशले आफ्नो भाषासँग प्रेम गर्ने राष्ट्रिय परिवेश बनाएको देखिँदैन । आजका पुस्तालाई आफ्नै मातृभाषा आउँदैन । मातृभाषा शिक्षाका लागि केही प्रोत्साहनका कार्यक्रमका सन्दर्भमा सरकार केही जागरुक त छ तर प्रभावकारी बनाउने स्पष्टता छैन । शुद्ध र ढङ्ग मिलाएर नेपाली भाषामा एउटा निवेदन लेख्न नजान्ने विज्ञहरू राष्ट्रियताको गफ चुट्छन् । भाषण गर्छन् तर आफ्नोपनाको गुदी केही हुँदैन । चाणक्यले भनेका छन्– ‘साहित्य, सङ्गीत र कला नभएको मानिस सिङ र पुच्छर नभएको असचेत पशु जस्तै हो ।’ कक्षा १० का निकै मेधावी विद्यार्थीले पनि अक्षर फुटाएर अध्ययन गर्न सक्दैन । प्रश्न उब्जिन्छ– भाषाको प्रयोगमा कामचलाउ गरेरै देशले राष्ट्रियतासँग नातो गाँस्ला ! ‘जसोतसो कोरे पनि पास भइहालिन्छ । अलिअलि व्याकरण पढ्ने बाँकी अनुच्छेद, अरू लेख्ने, कामचलाउ सरकार गर्ने’– एकजना विद्यार्थीले मलाई सहजै जवाफ दिए । म नाजवाफ भएँ । भविष्यका कर्णधारहरूलाई बिहानदेखि बेलुकासम्म अतिरिक्त कक्षा (ट्युसन) मा राखेर मूलतः अङ्ग्रेजी, गणित र विज्ञानकै विषयमा रटाइराखिन्छ । यो हुने खाने सहरियाहरूको कुरा हो जसलाई नेपाली नजान्दा उस्तो पीडाबोध हुँदैन । नेपाली विषय त यसो उत्तीर्ण भएमात्रै पनि ठिकै मान्छन् । यसर्थ नेपाली भाषामाथिको बेथितिका विरुद्धमा यो कलमी आवाज ओकल्नै पर्ने आवश्यकता बोध भएको हो ।
के भाषा देशको पहिचानभित्र पर्दैन र ! तीतो यथार्थ हामीमाझ छ, पहिचान त शब्दजालमा मात्रै अड्कियो । भाषिक गरिमालाई सरकारका आधिकारिक निकायबाटै बेवास्ता गरिरहिएको छ । एउटा भाषिक बहसमा मैले सोधेँ– भाषिक अशुद्धीलाई हेरेर सुझाव दिने, सुधार गर्न आग्रह गर्ने अर्थात् कारबाही गर्नेसम्मको काम हुन्छ कि हुँदैन ? हुन्छ भने त्यो निकाय भाषा आयोग हो त या प्रज्ञा प्रतिष्ठान हो ? तथापि, भाषानीति र योजनाको वास्तविक आधार नभएको कुरामा सो भेलाले सहमति जनायो । यस कुराका बारेमा त अघिल्ला लेखहरूमा पनि भनिसकिएको छ ।
वास्तवमा भाषाको कुरा देशको आत्मस्वाभिमानभित्र परेको देखिँदैन । यसो काम चले भइहाल्यो भन्ने टालटुले पद्धतिले नेपाली भाषाको चीरहरण भइरहेको छ । नेपाली भाषाको शुद्धीकरण र मातृभाषाको रक्षाका विषयमा सदनमा न त सडकमा कतै पनि उस्तो चर्चा हुँदैन । तत्कालै उपलब्धि हासिल गर्ने विषयमा मात्रै चासो राख्ने हामी नेपालीले आफ्नै भाषामा भएका अत्याचारलाई हलुका रूपमा लिइरहेका छौँ । वास्तवमा हरेक सरकारी निकायबाट प्रकाशन हुने सूचना, विज्ञापन, शुभकामना लगायतका सामग्री शुद्ध र स्पष्ट हुनु अत्यावश्यक छ । नेपालका बहुसङ्ख्यक नेपालीको मनमुटु गाँसिएको नेपाली भाषाको सुरक्षार्थ शुद्धीकरणको अभियानलाई सशक्त बनाउनु पनि अपरिहार्य देखिन्छ । मातृभाषाको विकास र रक्षाका लागि झनै जागरुक हुनु आवश्यक छ । अतः देशको मूल पहिचान र अमूल्य सम्पदाभित्र पर्ने भाषा, संस्कृतिको संरक्षण र विकासका विषय भोलिको भविष्य निर्माणका आधार हुन् । हामीले आफ्नै पहिचानलाई अब जुँगाको लडाइँ गरेर बेवास्ता गर्ने हो भने हाम्रो आफ्नोपना नै के बाँकी रहला र ? हामी को हौँ, यो प्रश्नको उत्तर दिने हैसियत के बाँकी रहला र ! के भाषाकाबारेमा पनि संवेदनशील हुनु आवश्यक छैन र ! (क्रमशः….)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।