१९ चैत्र २०७६ (अप्रिल १, २०२०)

हिजो बेलुकी ऋचाले उतैदेखि अलिक टाउको दुख्तैछ आज भनेकी थिइन् । सुत्ने बेला भइसकेको थियो र सुत्यौँ तर पनि त्यसको त्यो पीर मनमा थियो । आज उठेर पाँच बज्दा मात्रै माथि पुगेँ । आज चाहिँ दुईवटा बासन्ती चरा गाएको सुन्दैछु । जुरेली जस्ता चरा जसले मन धेरै आनन्दित भयो— बसन्त फिर्छ कि क्या हो !

पहिले हर्वल चिया लिएँ । त्यसपछि हिजोको छुटेको ‘डेली डायरी’ पूरा गरेँ जसमा मुख्य कुरा लेखेँ । राति लक्ष्मण श्रीमल सकेर सुतेको कुरा पनि डायरीमा जनाएँ । अनि अमेरिका पुगेका विद्वान् मित्र दुर्गा दाहालको एउटा नयाँ गीत पोष्ट रहेछ त्यो खोलेर अलिकति सुतेँ । सम्वेदना टिप्ने प्रयत्न र डायास्पोरिक दूरत्वको पीडा अनि संयोजक भूमिका छ साइबर प्रणालीको । त्यसका चार लाइन—

वारि र पारि समुद्र भारि छ हाम्रो बीचमा
तै पनि माया टाढा छ हाम्रो मुटुको साझमा
इन्टर्नेट इन्स्ट्राग्राम फेसबुक ट्विटर छ हाम्रो साझमा
मायाको भारि हालेको छ है हृदयको यात्रामा
वारि र पारि ……..

त्यति अनुप्रास मिलेको ता होइन तर पनि भावना छुने छ, त्यस्तो यथार्थ र खासगरी झ्याउरेमा रच्ने प्रयत्नले छोएको होला । आनन्द कार्कीको गायन र परम्परादेखि सुनिएको भाकामा सुनेर उहाँलाई बधाइ दिएँ । यसरी सुन्दै हेर्दै जाँदा दिन जान्छ, रात जान्छ । तृष्णाको सागर छ यो मुटुमा जति नदी खन्याए पनि, भरिने होइन— जति खाए पनि, जति नयाँ वस्त्र लाए पनि, जति मायाहरु धाए पनि, जति दृश्य हेरे पनि, जति गीत सुने पनि, जति धन थुपारे पनि… यो मनलाई नरिसाउने गरी गाली गरेँ र झलमल्ल भैसकेको बिहान उठेर फेरि शब्दहरुको पुनर्वास खोलेँ ।

त्यसै बेला वासिङ्टन डिसीदेखि ऋचा छोरी बोलिन्, अञ्जना थपिइन् कलमा । भोलि डेरा सर्ने दिन राम्रो छ अरे मासिक एकहजार डलरमा । हिजोको आफ्नो लेखमा धेरैले शेयर र कमेन्ट गरेको कुरा सुनाई । पोखरा आमाले पनि पढ्नु भो र तिमीले कति साहसी लेख्यौ भन्नु भो ।

मैले वार्ता अन्त्य गरेँ— नानी एउटी सासूले बुहारीको लेख पढेर प्रशंसा गर्ने, अर्का ससुराले बुहारीको नाम (अभिसरको लेखमा सेवा) छपाउने फेरि सम्धिनीले सम्धिनीको पुस्तक पढेर समय बिताउने (विन्दु मेडेमले अञ्जनाको) यस्ता परिवार नेपालमा कति होलान् ? यी खुसी र आनन्दका स्रोत हुन् ईश्वरले जुटाएका तर यो एकैछिन देखिने सपना हो धेरै देखिन्न । यसैबेला यो मनलाई मेलामा जोताउनु पर्छ । सिर्जनाका बाँझा गरा छन् नत्र उता उता हरियो देखेर मन ज्यादा व्यर्थमा उप्रिन्छ ।

त्यसपछि मैले शब्दहरुको पुनर्वास लिएँ । यो सिक्किमका विद्वान् कवि श्री राजेन्द्र भण्डारीको कविता संग्रह । यो पढेर लेखिदिनु छ, भाइ नवीन पौडेलको आग्रह छ, उनै लेखकको पनि । सिक्किमबाटै राजेन्द्र भण्डारीको बारेमा एक ग्रन्थ समग्र आउँदै छ रे ।

त्यत्तिबेलै गौहाटीका लीलबहादुर सरको फोन आयो— यहाँ ता सबै बन् छ । ठूलो शहरमा कोरोना फैलिन्छ भनेर डर छ । हेर्नोस् देशभरमा दिनको रातको कति रेलगाडी चल्थे, कति प्लेन सारा बन् । अब चौपट हुने भो । घरमा लकडाउनमा छौँ पूरै । त्यता के कसो छ ?

यता ठिकै भन्नु पर्‍यो सर, तर घरमै गेट भित्रबाट ताला ठोकेर बसेका छौँ । बाहिरी संसार खबरमा सुन्ने हेर्ने मात्रै, राम्रो चाला छैन ।

नेपालीहरु काम गर्न जानेहरु थुप्रै छन्, इण्डिया तल तल बम्बै बिहारसम्म पनि खराब छ भन्छन् । कति दिनदेखि हिँडेर आपतमा कहाँ जाँदैछन् ।

अनि मैले सम्झेँ— भारतबाट आउने एक नेपालीले महाकाली नदी पौडेर पार गरेको तर उसलाई नेपाल पस्न नदिएको घटना । दिउँसो अर्को खबर आयो— पोर्चुगलमा एउटै कोठामा बस्ने आठ नेपालीलाई यो बिमार सल्केको । बिहान डा. दुर्गा दाहालले पनि भने— यता (क्यालिफोर्निया) तिर त्यति पसेको छैन । तर समग्रमा हाम्रा दाजुभाइ दिदी बहिनीको बेहाल छ । एकै ठाउँमा साँगुरामा खाँदिएर बसेका हुन्छन्, धेरै जना । काम पनि गर्नुपर्छ के हुन्छ ! बिहान विश्वासदीपले गरे— बेलायतमा निकै कठिन छ नेपालीलाई, म बुझेर लेख्छु सर ।

त्यसपछि मात्रै डा. राजेन्द्र भण्डारीबारे पढ्न लेख्न थालेँ । आफ्ना स्मृतिमा भएका कुराले जोड्दै ल्याएर मेरो पीएचडीमा उनको कविता अनुवाद प्रसङ्ग लेखिसक्ता निकै समय बित्यो ।

‘हुप’ पस्यो भन्छन् थाहा छैन । हिजोदेखि मेरो देब्रे भुँडीमा झसक्क गर्छ, बेलाबेला मर्नेगरी सोला हान्छ । अनि ज्ञानबहादुर छेत्रीले पठाएको एक सानो भूमिका आयो । त्यो हेरेर दुई शब्द मिलाउने सल्लाह दिएँ । त्यो महत्वपूर्ण पुस्तक आउँदैछ जसको सहाराले नेपालका गोविन्द भट्टराईको ‘हंस’ पनि उता उत्तरपूर्वको नेपाली भाषा साहित्य विचारसम्म पुग्ने देखिन्छः त्यसपछि उनै ज्ञानबहादुरको एक इमेल पढेँः
सर, नमस्कारम् ।

डा. ज्ञानू मेडमको बन्दाबन्दीको उन्मुक्ति शीर्षकको लेख पढेर साह्रै राम्रो लाग्यो । लेखमा मेडमले, जस्तै हुण्डरी आए पनि धैर्यका साथ सामना गर्नु पर्छ भन्ने सकारात्मक विचार पोख्नुभाछ… ।

महामारीका समयमा हताशा र अत्यासका कुरा गरिरह्यो भने ती कम हुँदैनन्, बरु दुगुना तिगुना हुन्छन् । त्यस्तोमा मनको ब्याट्री डाउन हुन सक्छ । त्यसैले मनलाई सधैँ फुल चार्जमा राख्नु पर्छ … साह्रै घतलाग्ने तरिकाले पस्किनुभाछ — ज्ञानू मेडमले उहाँको शक्तिशाली विचार ।

मेडमको निबन्धमा त्यो शक्ति छ, पढेपछि कसैको पनि मन चार्ज्ड भइहाल्छ । यो लेख त पावरब्याङ्क जस्तै रहेछ, मनको ब्याट्री डाउन हुन लाग्यो भने चार्जमा राख्न सकिने ।

लेख पढेर मलाई यही अनुभव भयो । अहिले मेरो मन फुल चार्जमा छ, त्यसैले मेडमको लेखमा अरु केही कुरा थप्ने आँट गरेको छु ।
पहिले पनि प्लेग महामारी, विश्वयुद्ध आदिका हताशाहरु, अत्यासहरु संसारले भोगेकै हो । अहिले कोरोनाले सारा विश्वलाई एकैचोटि गाँज्न आँट्यो । ज्ञानू मेडमको लेख पढेपछिको मेरो मनले भन्दैछ यो हुण्डरी पनि पार भएर जानेछ । मान्छेले नै जित्नेछ यो युद्ध । मान्छेलाई विध्वस्त पार्न सकिन्छ तर उसलाई पराजित पार्न सकिँदैन…हेमिङ्वेले भनेका हुन ।

आज खोज्दै जाँदा युट्युबबाट कोरोना भाइरसपछिको विश्व कस्तो होला ? ९त्जभ धयचमि बातभच अयचयलब खष्चगक० भन्ने शीर्षकमा एउटा निबन्ध पाठ प्रसारित हुँदैरहेछ । यो वर्तमान विश्वका सुप्रसिद्ध लेखक युवाल नोआ हरारीको रचना रहेछ । हरारी चाहिँ स्यापिएन्ज, होमो डियाज, लेसन्ज फर द ट्वेन्टी फस्ट सेन्चुरी जस्ता प्रशिद्ध कृतिका लेखक हुन् ।

विवेक पण्डित (एक विद्यार्थी) ले स्यापिएन्ज पढ्न लिएर दमौली गए । अलिकति मात्र पढ्दै थिएँ । अहिले भ्याउँदिन पछि पढौँला भनी उनलाई दिएको हुँ । बाह्र कक्षाका विद्यार्थीमाझ पनि अति लोकप्रिय स्रष्टा हरारीका विज्ञान कृति कति पठनीय छन् ।

यो निबन्ध अलिकति सुनेपछि लाग्यो मै यसको रस लिएर पढ्छु र सकेसम्म राम्रो नेपाली अनुवाद गर्दछु । कोरोना महाव्याधिका विषयमा विश्वस्तरीय लेखकको विचार आम नेपालीले पनि थाहा पाउनु पर्छ । नभन्दै मैले त्यसको अनुवाद थालेँ र सकेँ पनि जुन यस प्रकार छः

कोरोना भाइरसपछिको विश्व
यतिखेर मानव जातिले विश्वव्यापी समस्याको सामना गर्दैछ । शायद यो हाम्रो पुस्ताकै सर्वाधिक ठूलो समस्या हुनुपर्छ । अब आगामी एक दुई हप्ता भित्र विश्वका जनताले र सरकारका तिनै निर्णयले यो संसारलाई आउने अनेकौँ वर्ष सम्मलाई नयाँ स्वरुप दिनेछन् । तिनीहरुले हाम्रो स्वास्थ्य हेरचाह प्रणालीलाई नयाँ आकार दिने मात्र होइनन् तर हाम्रो अर्थतन्त्रलाई, राजनीति र संस्कृतिलाई पनि यसरी बदल्ने छन् कि हामीले यथाशीघ्रै अर्को रुप दिन पाइला चल्नु पर्दछ । निर्णायक तरिकाले बदल्नु पर्दछ । हामीले आफ्ना राष्ट्रले भोग्ने दूरगामी परिणामहरुलाई पनि ख्याल राख्नु पर्दछ । हामीले तत्कालै निर्णायक रुपले कदम चाल्नु पर्दछ । आफ्ना कर्महरुको दूरगामी परिणाम के कस्तो हुनेछ त्यसबारे पनि हृदयङ्गम गर्नु पर्दछ । अनेक विकल्पहरु मध्ये एउटा के छनौट गर्दा हामीले तात्कालिक चुनौतीमाथि कसरी विजय प्राप्त गर्न सक्छौँ भन्ने विषयमा मात्र होइन हामी यो आँधी रोकिएपछि कस्तो संसारमा बास बस्न थाल्नेछौँ त्यो कुराबारे पनि चिन्तन गर्नु पर्दछ । हो, एकदिन यो आँधी अवश्य रोकिने छ, मानव जाति यसबाट जोगिने छ, हामीमध्ये धेरैजसो जीवितै रहने छौँ— तर हामी एउटा भिन्न संसारमा बाँच्न थालिसकेका हुनेछौँ ।

धेरै धेरै अल्पकालीन संकटहरु, संकटका उपायहरु जीवनमा जोडिने गर्छन् । संकटहरुको स्वभाव नै त्यस्तै हो । तिनीहरुले नै ऐतिहासिक प्रक्रियालाई तीव्र गतिमा अघि बढाउने गर्छन् । अरु बेला एउटा कुराको निर्णय लिन अनेकौँ वर्ष सोच्नुपथ्र्यो भने यसबेला केही घण्टामै निर्णय लिइसक्नुपर्ने हुन्छ किनभने अनिर्णयमा बस्नाले निम्त्याउने खतराहरु अझ गम्भीर हुन्छन् । सम्पूर्ण देशहरु नै प्रयोगशालाका मुसा जस्ता प्रमाणित हुन्छन् । मानिसहरु ठूलो मात्रामा सामाजिक प्रयोगका सिकार हुनेछन् । के हुन्छ होला विचार गर्नुहोस् त मानिस सधैँ घरैबाट मात्रै काम गर्दछ अनि टाढा बसेर सञ्चार गर्दछ ? के हुन्छ होला विचार गर्नुहोस् विद्यालय र विश्वविद्यालयहरु अनलाइनमा मात्र चल्न थाल्छन् ? सामान्य बेलामा सरकार, वाणिज्य, व्यवसाय, शैक्षिक संस्थानहरु कसैले पनि यस्तो प्रयोग गर्न स्वीकृति दिने छैनन् तर यो ता सामान्य समय होइन ।

यो संकटको घडीमा हामी दुई वटा महत्वपूर्ण चुनौतिको सामना गर्दैछौँ । पहिलो चुनौति हो— सर्वसत्तावादको निगरानी र नागरिकको स–शक्तिकरण बीचको छनौट अनि दोस्रो हो— राष्ट्रवादी एकान्तिकता र अन्तर्राष्ट्रिय एकताको बीचको छनौट ।

नजिकबाट निगरानी

यो महाव्याधिलाई रोक्नको निमित्त सम्पूर्ण नागरिकले केही निर्देशनहरुको पालनामा सहमति जनाउनु पर्दछ । त्यसको प्राप्तिमा दुईवटा मार्र्ग छन् । एउटा मार्ग हो— सरकारले जनताको मोनिटर (निगरानी) गर्नु अनि जसले नियम उल्लङ्घन गर्छ उसलाई दण्डित गर्नु । आज आएर मानव विकासमा पहिलोपल्ट प्रविधिको सहयोगले प्रत्येक व्यक्तिलाई चौबीसै घण्टा निगरानी गर्न सक्ने बनाएको छ । पचास वर्षअघि के जी बी भन्ने संस्थाले दुईसय चालीस मिलियन सोभियत नागरिकलाई दिनको चौबीस घण्टा पिछा गर्न सकेन यसले सङ्कलित सम्पूर्ण सूचनालाई प्रभावशाली तरिकाले व्यवस्थित गर्न पनि सकेन । केजीबीले मानवसंसाधन र विश्लेषकहरुको भर पर्नुपर्‍यो । अनि धेरैलाई पिछा गर्ने काममा एकजना मानिसलाई लगाएर सफल हुन पनि सकेन । तर अहिले आएर सरकारहरु अन्य त्रासद उपायको सट्टा यी सर्वव्यापी सेन्सरहरु अनि अति डरालाग्दा एल्गोरिथम (कलन विधि) प्रयोग गरेर पक्का सूचनाहरु प्राप्त गर्न सक्छन् ।

कोरोना भाइरस महाव्याधिको विरुद्ध चलेको लडाइँमा धेरैवटा सरकारले अहिले नै नयाँ किसिमका निरीक्षक साधनहरुको विकास गरिसकेका छन् । एउटा उल्लेख्य उदाहरण छ चाइनाका जनताले चलाउने स्मार्टफोनहरु जसले मोनिटर गरेर अनुहार चिन्ने हजारौँ लाखौँ क्यामेराको प्रयोग गर्न सक्छ अनि जनतालाई आफ्ना शरीरको तापक्रम र मेडिकल कन्डिशन चेक गर्दै रिपोर्ट पेश गर्नू भन्ने कुरामा बाध्य पारेर चाइनिज अधिकारीहरुले सङ्का गरिएको कोरोना भाइरस सम्वाहक व्यक्तिलाई पत्ता लगाउने मात्र होइन उनीहरुको उठबस गतिलाई पनि खुट्याउँछन् । कोसित उनीहरु सम्पर्कमा आए त्यो पनि पत्ता लाउँछन् । कति मोबाइलका एपहरुले नागरिकहरुलाई तपाईं संक्रमित बिरामीको नजिकमा पुग्नुभयो भनेर आफैँ सूचना पनि दिन्छन् । यस प्रकारको टेक्नोलोजी पूर्वी एशियामा मात्र सीमित छैन ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सुरक्षा व्यवस्थामा एउटा विज्ञप्ति जारी गरेर नयाँ सुरक्षा प्रविधिको प्रयोग गर्न आदेश दिए । त्यस्ता प्रविधिहरु आतङ्कवादीलाई पत्ता लगाउन प्रयोग गरिन्थे । अहिले आएर कोरोना भाइरसका सम्भावित विरामीहरुलाई पत्ता लगाउन प्रयोग गरिएका छन् । पार्लियामेन्ट उपसमितिले त्यो कुरा लागू गराउन अस्वीकार गरेको बेला नेतान्याहूले एउटा सङ्कटकालीन आदेश जारिगरेर त्यसलाई लागू गराए । यसमा त नयाँ कुरा के छ र भन्ने कुरा ठान्नुहोला । हालसालका वर्षमा सरकार र कर्पाेरेशन दुवै शक्तिले मानिसहरुलाई पत्ता लगाउने पिछा गर्ने र संचालन गर्ने सम्बन्धमा अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेकै छन् । तर हामी होसियार रहेनौँ भने यो महाव्याधि हाम्रा सम्पूर्ण सुरक्षा प्रणालीको एउटा महत्वपूर्ण प्रवाह हुनेछ । यसले आम समूहलाई निगरानी राख्ने सामाग्रीहरु देश देशमा सामान्य रुपले प्रयोग गर्न सक्छ । त्यस्ता सामाग्री अहिलेसम्म अस्वीकार गर्दै आइएको थियो । त्यसका साथै त्यो प्रयोगले मानिसको भौतिक शरीर बाहिर गर्ने गरिएका निरीक्षणहरु बद्लेर अन्डर द स्कीन अथवा शरीर भित्रका (मनका) कुरा पत्ता लगाउने काममा पनि प्रयोग हुनेछ ।

सङ्कटकालीन अवस्था

यस्तो निगरानीमा बसेर काम गर्दा हामीमाथि कुन समस्या आइलाग्छन् भने हामीमाथि कसरी निरीक्षण हुँदैछ भन्ने कुरा पत्ता पाउँदैनौँ अनि भोलिका वर्षले के ल्याउन सक्छन् भन्ने कुरा पनि हाम्रो ज्ञानमा हुँदैन किनभने निगरानी गर्ने प्रविधि अत्यन्तै तीव्र गतिमा बढिरहेको छ । अनि दश वर्ष पहिले जुन कुरालाई हामी विज्ञान कथा भन्थ्यौँ त्यो चाहिँ आजै पुरानो आख्यान भइसकको छ । एउटा विचारको प्रयोगको रुपमा एउटा यस्तो सरकारको कल्पना गर्नुहोस् जसले प्रत्येक नागरिकले शरीरको तापक्रम र मुटुको चालहरु चौबीसै घण्टा मापन गर्ने एउटा बायोमेट्रिक (जीवमितीय अर्थात् शरीरको चाल नाप्ने) चुरा लगाउनै पर्छ भनोस् यसको परिणाम के हुन्छ भने सरकारले ती सबै विश्लेषणलाई भेला गरेर सरकारी आँकडामा राख्दछ । ती आँकडा अर्थात् ‘एल्गोरिथम’हरुलाई के थाहा हुन्छ भने तिमीे योभन्दा पहिले नै बिरामी परेका रहेछौँ, तिमी कहाँ गयौ त्यो पनि उनीहरुले थाहा पाउने छन् कसकसलाई भेट्यौ त्यो पनि थाहा पाउने छन् । त्यसो गर्दाखेरी बिमार सरेका वा सार्ने सूचीलाई धेरै छोट्याउन सकिन्छ अथवा त्यसलाई पूर्णरुपले समाप्त गर्न पनि सकिन्छ । यस्तो प्रणाली विकसित भएमा महामारीलाई केहीदिन भित्रै बाटैमा रोक्न सकिन्छ । कस्तो आश्चर्य छ हैन त !

यसको अर्को पक्ष के छ भने यसले नयाँ किसिमको निगरानी प्रणालीलाई वैधानिकता दिन सक्छ । उदाहरणको लागि तपाईंहरुले थाहा पाउनु भयो भने सी एन एन समाचार खोल्नुको सट्टा फक्स न्यूज खोल्नुभयो भने त्यसले तपाईंलाई मेरो राजनीतिक धारणाहरुबारे बताउन सक्छ । मेरो व्यक्तित्व पनि बताउला । तर तपाईंले मेरा शरीरमा के हुँदैछ, मेरो तापक्रममा ब्लडप्रेसरमा मुटुको गतिमा के गर्दैछ भन्ने कुन कुराले, मलाई केले हँसाउँछ, कुन कुराले रुवाउँछ, कुन कुराले मलाई क्रूद्ध बनाउँछ भन्ने कुरा पनि थाहा पाउन सक्छ ।

यो कुरा स्मरणीय छ कि क्रोध, आनन्द, दिग्दारी, प्रेम जस्ता जैविक गुणहरु ज्वर अथवा खोकी जस्तै हुन् । यही प्रविधिले खोकी पत्ता लगाउनेले हाँसोको पनि कारण पत्ता लाउन सक्छ । सरकारले हाम्रा बायेमेट्रिक तथ्याङ्कहरुको उपयोग गर्‍यो भने हामीलेभन्दा उनीहरुले हामीलाई राम्ररी चिन्दछन् । उनीहरुले हाम्रा भावनाहरुको बारेमा पनि भविष्यवाणी गर्नसक्छन्, हाम्रा सम्वेगहरुलाई फकाएर तिनीहरुले खोजेअनुसारको चिज बेच्न सक्छन्— कुनै उत्पादन होस् या एक राजनीतिक सिद्धान्त । बायोमेट्रिक निगरानीले क्याम्ब्रिज एनालिटिकाको डाटालाई ह्याकिङ्ग गर्ने तरिकाहरु सिक्न सक्छ । सन २०३० को उत्तरी कोरियाको कल्पना गर्नुहोस् जहाँ प्रत्येक नागरिकले चौबीसै घण्टा बायोमेट्रिक चुरो लगाउनैपर्दछ । देशको महान् नेताले दिएको भाषण सुनेको बेला तपार्इंका मनमा क्रोधका संकेत उत्पन्न भएका छन् भने त्यो कुरा पनि यसले थाहा पाएर बताइदिन्छ ।

बायेमेट्रिक प्रणालीको निगरानीलाई तपाईंले आपत्कालीन अवस्थाको निमित्त सरकारले अपनाएको प्रक्रिया मात्र हो भन्ने ठान्नु होला । तर त्यसो होइन, आपत्काल सिद्धिएपछि पनि त्यो निरन्तर रहन सक्दछ । तर अस्थायी उपायहरुको एउटा नराम्रो बानी हुन्छ, संकटकाल सिद्धिएपछि पनि यो चलिरहन सक्दछ । किनभने जहिले पनि क्षितिजमा नयाँ संकटकालहरु झुण्डिरहेका हुन्छन् । मेरो मातृदेश— इजरायको कुरा गरौँ जसले सन् १९४८ को स्वतन्त्रता संग्रामको बेलामा संकटकालको घोषणा गर्‍यो र त्यसबेला प्रेसको सेन्सरशिपदेखि विशेष नियम अन्तर्गत जमिन जफत गर्ने र विशेष प्रकारको दुग्ध मिश्रित खाद्य पदार्थ (पुडिङ) उत्पादन गर्ने प्रणालीलाई रोक्ने विशेष अधिनियमहरु बनाएर लागू गर्ने घोषणा गर्‍यो । त्यो स्वतन्त्रता संग्राम जितेको धेरै भयो तर इजरायलले कहिल्यै पनि इमर्जेन्सी सिद्धिएको घोषणा गरेन र १९४८ मा प्रयोग गरिएका यस्ता धेरै अस्थायी उपायहरुको अन्त्य गर्न चाहेन । त्यसको ६० वर्षपछि सन् २०११ मा मात्रै त्यो इमर्जेन्सी दुग्ध उत्पादनमाथिको बन्देज हटायो।

कोरोना भाइरसबाट उत्पन्न हुने संक्रमणहरु शून्यमा झरेपछि पनि कतिपय तथ्याङ्कले भोकाएका सरकारले के तर्क दिनेछन् भने हामी यो बायोमेट्रिक निगरानी प्रणालीलाई यथावत राख्न चाहन्छौँ । किनभने कोरोनाको दोस्रो तरङ्ग फैलन सक्छ अथवा नयाँ प्रकारको इबोला भाइरस सेन्ट्रल अफ्रिकाबाट फैलिन सक्छ अथवा यस्तै केही धारणा आउँछन् । हिजोआज मानिसका निजी जीवनमाथि एउटा ठूलो युद्ध चलिरहेको छ । यो कोरोना भाइरसको सङ्कट नै लडाइँको एउटा विन्दु हुन सक्छ । मानिसलाई गोपनीयता (प्राइभेसी) र स्वास्थ्यको बीचमा एउटा कुरा छान्नुहोस् भन्ने हो भने उनीहरु शायद स्वास्थ्यलाई नै छान्ने छन् ।

साबुन पुलिस

गोपनीयता र स्वास्थ्यको बीचमा एउटा कुरा रोज्न लगाउनु नै समस्याको जड हो । किनभने यो छनौट नै एउटा असत्यमा आधारित कुरा हो । हामीले वास्तवमा गोपनीयता र स्वास्थ्य दुइटै कुरालाई भोग्न पाउनु पर्छ । हामीले आफ्नो स्वास्थ्य सुरक्षालाई रोज्न पाउनु पर्दछ र कोरोना भाइरस महामारीलाई रोक्नु पनि पर्दछ । तर सरकारले त्यसको लागि सर्वतोमुखी (अधिनायकवादी) निगरानी क्षेत्रलाई अघि सारेर होइन बरु देशका नागरिकहरुलाई नै शक्ति सम्पन्न गराएर त्यो गर्नुु पर्दछ । भर्खरै कोरोना भाइरस महाव्याधिलाई ओसार्ने तत्वको पहिचान गर्ने केही अत्यन्तै सफल प्रयत्नहरु गरिएका थिए दक्षिण कोरिया, ताइवान र सिंगापुरमा । यी देशहरुले निवेदकहरुलाई ट्र्याकिङ्गका केही उपाय गरेका थिए । त्यसको लागि उनीहरु व्यापक परीक्षणमा आधारित भए । इमानदारीसाथ त्यसको प्रतिवेदन दिए । अनि राम्रा सुसूचित नागरिकहरुबाट स्वेच्छाले प्राप्त भएको सहयोग लिए ।

केन्द्रिकृत मनिटरिङ र कठोर दण्ड सजायहरु मात्रै प्रभावकारी उपाय होइनन् जसले जनतालाई हितकारी निर्देशनको अनुपालनामा सहमत गराउँछन् । वैज्ञानिक तथ्यहरु बताएपछि र जनमानसले कर्मचारी अधिकारीलाई विश्वास गर्न थालेपछि उनीहरुले अनेक तथ्य खोल्ने तत्परता देखाउँछन् । अनि उनीहरुले माथिकाले निगरानी नराखे पनि आफैँ तथ्य खोलिदिन्छन् । स्वयम् निर्देशित र सुसूचित जनता हुनु भनेको पुलिसका लाठीले चल्ने अज्ञात जनताभन्दा धेरै शक्तिशाली स्थितिको कुरा हो ।

एउटा दृष्टान्त हेरौँ— साबुनले हात धुने कुरा । यो कुरालाई मानव स्वास्थ्यमा आजसम्मकै सर्वाधिक महत्वको उन्नतिको रुपमा लिनु पर्दछ । यो कुरा स्वीकार्नु पर्दछ कि उन्नाइसौँ शताब्दीमा मात्रै वैज्ञानिकहरुले साबुनले हात धुने कुराको महत्वबारे आविष्कार गरे । त्यो भन्दा पहिले डाक्टर र नर्सहरुले पनि एउटा सर्जिकल अपरेशन सकेर अर्काेमा जाँदा हात नधोई जाने गर्थे । आज आएर करोडौँ मानिसले दैनिक आफ्ना हात धुन्छन्; यो साबुन–पुलिसदेखि डराएर होइन उनीहरुलाई यसको महत्व थाहा भएर हो । म पनि साबुनले आफ्ना हात धुन्छु । किनभने मैले भाइरस र व्याक्टेरियाहरुको बारेमा सुनिसकेको छु । अनि मलाई यो थाहा छ यी सूक्ष्म जीवाणुहरुले रोग उत्पन्न गर्छन अनि साबुनले ती जीवणुहरुलाई पखाल्न सक्छ ।

यस्तो प्रकारले नियमको अनुपालन र त्यसको लागि सहयोग प्राप्त गर्न तपाईंले विश्वास आर्जन गर्नुपर्ने हुन्छ, जनताले विज्ञानमा विश्वास गर्नुपर्ने हुन्छ, उनीहरुले कर्मचारीहरुमा विश्वास गर्नुपर्ने हुन्छ, उनीहरुले सञ्चार माध्यममा विश्वास गर्नुपर्ने हुन्छ । विगतका केही वर्षदेखि उत्तरदायित्वविहिन राजनीतिकर्मीहरुले जानी जानी विज्ञानप्रतिको विश्वासलाई होच्याउँदै गएका छन् । उनीहरुकै कारणले सरकारी कर्मचारी र मिडियाप्रतिको विश्वास पनि घट्तै गएको छ । अब यिनै अनुत्तरदायी राजनीतिज्ञहरु अधिनायकवादको राजमार्ग खन्नतिर लोभिएका छन् । उनीहरु भन्छन्— उचित कुरो गर्ने सम्बन्धमा जनताको विश्वास गर्नु हुँदैन ।
साधारणतया वर्षौंदेखि खस्किँदै गएको त्यो विश्वासलाई रातारात उठाउन सकिँदैन, त्यसको पुनःनिर्माण गर्न सकिँदैन तर यतिखेर हामी असामान्य समयमा छौँ । यो संकटको घडीमा छौँ । यतिखेर हाम्रा मस्तिष्क पनि तत्कालै परिवर्तित हुन्छन् । तपाईं ससाना भाइबैनीहरुलाई सम्झाउन वर्षौंदेखि कडा तर्कहरु गर्दै आउनुभएको हुनसक्छ तर जब कुनै संकट आइलाग्छ तपाईं तत्कालै विश्वास र मित्रताको गुप्त भण्डार फेला पार्नुहुन्छ अनि एक अर्कालाई सहयोग गर्नतिर लाग्नुहुन्छ । यतिखेर निगरानीको राज्य निर्माण गर्नुको साटो मानिसको विज्ञानप्रतिको विश्वास निर्माण गर्न ढिला भइसकेको छैन । त्यसैगरी सार्वजनिक अधिकारी र मिडियाप्रति विश्वास बढाउन ढिला भइसकेको छैन । हामीले नयाँ प्रविधिको पनि प्रयोग गर्नुपर्दछ तर यी प्रविधिले नागरिकहरुलाई शसक्तिकृत गर्नुपर्दछ । म सधैँभरि मेरो शरीरको तापक्रमको मनिटर गर्ने, रक्तचाप हेर्ने पक्षमा छु तर त्यसको तथ्याङ्कले एउटा सर्वशक्तिमान सरकारको सिर्जना गर्ने पक्षमा म छुइनँ । बरु तथ्याङ्कले मलाई धेरै सुसूचित गरी व्यक्तिगत छनौटहरु गर्न सक्ने बनाओस् । अनि सरकारलाई पनि आफ्ना निर्णयहरुमा उत्तरदायित्व लिन सक्ने बनाओस् ।
मैले आफ्नै स्वास्थ्य अवस्थाबारेमा चौबीसैघण्टा दृष्टि दिन सकेँ भने म अरुको निमित्त, अरुको स्वास्थ्यमा खतरा उत्पन्न गर्छु कि गर्दिनँ भन्ने कुरा थाहा पाउँछु । त्यसका साथै कुन स्वभावले मेरो स्वास्थ्यलाई सहयोग गर्दछ भन्ने कुरा पनि थाहा पाउन सक्छु । अनि मैले कोरोना भाइरसको विस्तारका बारेमा पहुँच रहेछ भने र विश्वसनीय तथ्याङ्कको विश्लेषण गर्न सक्तोरहेछु भने सरकारले मलाई साँचो बताउँदैछ कि झूटो कुरा भन्ने पनि छुट्याउन सक्छु । यसले यो महाव्याधि विरुद्ध लड्ने उपयुक्त नीतिहरु लिएको छ कि छैन भन्ने कुरा पनि छुट्याउन सक्छु । मानिसहरुले कडा निगरानीको बारेमा कुरा गर्न थाल्छन् । त्यसबेला यो सम्झिनु पर्दछ कि सोही निगरानी प्रविधिले व्यक्तिको मनिटर गर्ने उद्देश्यले सरकारले प्रयोग गर्ने मात्र होइन व्यक्तिले सरकारको मनिटर गर्न पनि तिनैकुरा प्रयोगमा ल्याउन सक्छन् ।

कोरोना भाइरस महाव्याधि यस प्रकारले नागरिकहरुको एउटा परीक्षा पनि हो । आगामी दिनहरुमा हामी प्रत्येकले निराधार ‘षडयन्त्रका सिद्धान्तहरु’ र आफ्नै सेवा गर्ने राजनीतिकर्मीहरुमा विश्वास गर्नुको सट्टा वैज्ञानिक तथ्याङ्कमा र स्वास्थ्य सम्बन्धि विज्ञहरुको अडानमा विश्वास गर्न सिकौँ । हामीले समुचित छनौट गर्न सकेनौँ भने आफ्नो बहुमूल्य स्वतन्त्रतालाई राजीनामा गर्नतर्फ अघि बढेका ठहरिनेछौँ । यतिबेला हामी आफ्नो स्वास्थ्यको रक्षा नै सर्वस्व हो भन्ने कुरा मानेर अघि बढौँ ।

हामीलाई एउटा वैश्विक (ग्लोबल) योजना चाहिएको छ

यतिबेला हामीले सामना गर्नुपरेको महत्त्वपूर्ण छनौट दुईवटा कुराको बीचमा रहेको छ ।

एकातिर छ राष्ट्रवादी एकलता (एकान्त) र, अर्कोतिर छ वैश्विक एकता । यतिबेला यो महाव्याधि स्वमय र यसबाट उत्पन्न भएको आर्थिक सङ्कट दुवै कुरा विश्वव्यापी समस्या भएका छन् । तिनीहरुको समस्या समाधान गर्नलाई हामीलाई वैश्विक समन्वय नै आवश्यक पर्दछ, अलगाव होइन ।

सर्वप्रथम यो भाइरसमाथि विजय प्राप्त गर्नको निमित्त हामीले वैश्विक रुपले यसबारेको सूचना आदानप्रदान गर्न सक्नुपर्दछ । यो नै मानव जातिको निमित्त ठूलो अवसर (प्राप्ति) हो । चाइनाको कोरोना भाइरस अनि अमेरिकाको कोरोना भाइरसले कसरी मानिसलाई प्रदूषित गर्ने भन्ने सम्बन्धमा एक अर्कामा जुक्तिहरु साटासाट गर्दैनन् । तर चाइनाले अमेरिकालाई यो कोरोना भाइरसको बारेमा धेरै महत्वपूर्ण पाठहरु सिकाउन सक्छ । अनि यससँग कसरी लड्नु पर्दछ भन्ने कुराको अनुभव बताउन सक्छ । इटालीको मिलान शहरमा एक इटालियन डाक्टरले एकाबिहानै जुन कुराको आविस्कार गर्दछन् त्यही आविस्कारले त्यही दिन बेलुका तेहरानका धेरै जीवन बचाउन सक्छ । बेलायती सरकार विविध सरकारी नीतिहरुका बीचमा दोधारिएको बेला कोरियनहरुबाट केही सल्लाह प्राप्त गर्न सक्छ । कोरियनहरुले यस्तै किसिमको दोधारको स्थिति एक महीनाअघि भोगिसके । तर यो स्थितिको लागि हामीलाई विश्वव्यापी सहयोग र आपसी विश्वास चाहिन्छ ।

देशदेशले खुला भएर सूचना आदानप्रदान गर्ने र विनम्रतापूर्वक सल्लाह लिने–दिने तत्परता देखाउनु पर्दछ । उनीहरुले तथ्याङ्कमाथि विश्वास गर्ने र अनुभवबाट प्राप्त अन्र्तदृष्टिलाई विश्वास गर्ने बानी बसाउनु पर्दछ । यतिखेर चिकित्सा सम्बन्धि औषधी उपकरणहरु उत्पादन र वितरण गर्नेमा एउटा विश्वव्यापी प्रयत्न आवश्यक पर्दछ— खासगरी ‘टेस्टिङ किटहरु’ अनि स्वाशप्रश्वासका यन्त्रहरु प्रत्येक । देश–देशले आफ्नै बलले आफ्नै ठाउँमा उत्पादन गर्दै, संग्रह गर्दै जानुको साटो वैश्विक सहयोगको भावले वितरण गर्दै लाँदा एक ठाउँको उत्पादनलाई व्यापकरुपले विस्तारित गर्न सकिन्छ । अनि जीवन बचाउने उपकरणहरु धेरै न्यायपूर्ण ढङ्गले वितरण गर्न सकिन्छ । जसरी युद्धको बेलामा देश–देशले मुख्य उद्योगहरुको राष्ट्रियकरण गर्दछन् त्यसैगरी कोरोना महाव्याधि विरुद्धको मानव युद्धले पनि महत्वपूर्ण उत्पादनका पद्धतिको राष्ट्रियकरण होइन मानवीकरण गर्नुपर्ने कुरा देखाउँछ । कोरोना भाइरसका विमारीहरु कम्ती भएको एक धनी देशले धेरै बिरामी भएका गरीब देशहरुमा मूल्यवान सामाग्रीहरु पठाउने उदारता देखाउनु पर्दछ । पछि आफूलाई पर्दा पनि उनीहरुले सहायता गर्दछन् भन्ने विश्वास मनमा राख्नुपर्दछ ।

त्यसैगरी चिकित्सकहरुको ‘पूल’ (जगेटा समूह) खडा गर्न पनि त्यस्तै किसिमको विश्वव्यापी प्रयत्न आवश्यक पर्दछ । अहिले कम प्रभावित देशहरुले आफ्ना मेडिकल स्टाफहरुलाई नराम्रो प्रभाव खेपिरहेका देशमा पठाउन् । त्यसरी उनीहरु एकातर्फ परेको बेला मित्रहरुलाई सघाउने छन् साथै अर्कातिर मूल्यवान अनुभव पनि आर्जन गर्नेछन् । पछि महाव्याधि अन्यत्र सर्दै गयो भने त्यो सहयोग विपरीत दिशा (आफ्ना देश) तर्फ पनि सर्दै आउने छ ।

आर्थिक दृष्टिले पनि वैश्विक सरसहयोग नितान्त आवश्यक छ । वैश्विक तहको अर्थतन्त्र र यसको वितरण प्रणाली हेर्दा प्रत्येक सरकारले अरुको मुख नताकी आफ्नै कर्म गरेन भने त्यो परिणाम दुःखदायी हुनेछ र गहिरो किसिमको संकट उत्पन्न हुनेछ । हामी एउटा वैश्विक तहको कार्यप्रणाली चाहन्छौँ अनि यसलाई अति शीघ्र चाहन्छौँ ।

अर्को आवश्यकता के छ भने यात्रा–भ्रमणका सम्बन्धमा पनि एउटा विश्वव्यापी सम्झौता गर्नुपर्दछ । सम्पूर्ण अन्तर्राष्ट्रिय स्तरका यात्राहरु महिनौँसम्म निलम्वित गर्नाले अकल्पनीय कठिनाइ उत्पन्न गरी त्यसले कोरोना भाइरस विरुद्धको लडाइँलाई पनि प्रभावित गर्दछ । देश देशको सहयोगमा अत्यन्त आवश्यक यात्रीहरुलाई सीमित मात्रामा भएपनि सिमाना वार–पार गर्ने अनुमति दिइनुपर्दछ जसमा वैज्ञानिक डाक्टर, पत्रकार, राजनीतिज्ञ र व्यवसायीहरु पर्दछन् । यसमा पनि एउटा विश्वव्यापी सम्झौता गरेर यात्रीहरुको परीक्षण गरेर गृहदेश अनुसार निर्णय गर्नुपर्दछ । यसरी समुचित तरिकाले छानिएका यात्रीहरुलाई मात्रै एउटा जहाजमा बस्न दिने हो भने हरेक देशले तिनीहरुलाई आफ्नोमा स्वागत गर्नेछन् ।

दुर्भाग्यको कुरा के छ भने वर्तमानकालमा कुनै पनि देशले यी कुराहरुप्रति ध्यान दिएको छैन । अन्तर्राष्ट्रिय समुदायलाई एउटा सामूहिक पक्षाघातले अँठ्याएको छ । त्यस कोठामा कुनै पनि युवक, ठूलो मान्छे छैन कि जस्तो लाग्छ मानिसहरु यतिबेला एउटा साझा विश्व योजना लिएर विश्वका नेताहरु एक ठाउँमा भेला भइसक्नुपर्ने बेला थियो । जी सेभेनका नेताहरुले यो हप्ता मात्रै एउटा भिडियो सम्मेलनको प्रयत्न गरे तर यसको कुनै फलदायी परिणाम निस्केन ।

अघिका विश्वव्यापी संकटहरुमा, जस्तो कि सन् २००८ को आर्थिक सङ्कटमा, सन् २०१४ को इबोला महाव्याधिमा, अमेरिकाले विश्वनेताको भूमिका खेलेको थियो । तर यतिखेर आएर अमेरिकी प्रशासनले त्यो नेतृत्वकर्म त्यागेको छ । मानवजातिको भविष्य भन्दा पनि बढ्ता अमेरिकाको आफ्नै महानताको मात्रै चिन्तामा ऊ लागेको छ ।

अमेरिकी प्रशासनले आफ्ना निकटतम मित्रहरुलाई पनि त्यागेको छ । युरोपियन युनियनबाट गरिइने सम्पूर्ण यात्रालाई प्रतिबन्धित गरेको छ । अरु त कुरा छोडौँ युरोपियन युनियनलाई त्यसको सूचनासम्म पनि नदिइकन त्यसो गरेको छ । यसले जर्मनीको एउटा फार्मास्यूटिकल कम्पनीलाई कोभिड १९ को भ्याक्सिन किन्नलाई एकाधिकार दिएर “घोटाला” गरेको छ । वर्तमान प्रशासनले अन्त्यमा गएर यसको नीति बदलेर विश्वव्यापी कार्य योजनासँग आएछ भने पनि थोरैले मात्रै त्यस्ता नेताको अनुशरण गर्नेछन् जसले कहिल्यै कुनै उत्तरदायित्व लिँदैन, जसले कहिल्यै कुनै गल्ती स्वीकार्दैन अनि बारम्बार जसले सबै यशजति आफ्नै भागमा लिन्छ अनि सम्पूर्ण अपयशजति अरुमाथि खन्याइरहन्छ ।

अमेरिकाले उत्पन्न गरेको रिक्ततालाई अरु देशले भरे भने पनि यो वर्तमानकालको महाव्याधिलाई रोक्नु कठिन मात्र हुने छैन तर अन्तर्राष्ट्रिय सम्बन्धलाई आगामी अनेकौँ वर्षसम्म पनि प्रदूषित गरिरहने एउटा परम्परा स्थापित हुनेछ । यद्यपि प्रत्येक संकट नै एउटा अवसर पनि हो । हामीले यो आशा गर्नुपर्दछ कि वर्तमानकालको महाव्याधिले मानवजातिलाई यो महसुस गर्न सहयोग पुर्‍याउने छ— यो कठिन परिस्थिति अथवा खतरा नै विश्वव्यापी फूट अनेकताले गर्दा उत्पन्न भएको छ ।

मानवजातिले एउटा छनौट गर्नुपर्दछ— हामी अनेकता (फूट) को मार्गमै यात्रा गरिरहन्छौँ कि हामी वैश्विक एकताको बाटो लिन्छौँ ? हामीले अनेकताको र फूटको बाटो लियौँ भने यो सङ्कट ज्यादै लम्बिने मात्रै होइन तर यो भन्दा पनि बढ्ता नराम्रो दुर्दिनमा फँस्ने छ । हामीले वैश्विक एकत्व रोज्याँै भने कोरोना भाइरस विरुद्ध मात्रै हाम्रो विजय हुने होइन भविष्यमा आउने सम्पूर्ण महाव्याधि र संकटहरु, जसले एक्काइसौँ शताब्दीको मानव जातिमाथि आक्रमण गरिरहन्छन्, ती सबैमाथि विजय गर्नेछन् ।

विज्ञानको सहायताले विश्वचित्रमा लागौँ भन्ने यी मानवतावादीको “फ्री टु रीड” लेखिएको निबन्धलाई नेपालीमा अनुवाद गरी यहाँ प्रस्तुत गरेपछि आजको दिन सार्थक लाग्यो । कोरोनालाई “बेसार पानी खाएर तीनपल्ट हाछ्यूँ गरी भगाइदिनू पर्दछ” भन्ने फन्टुस नेता जन्मेको यो देशका जनताको यस लेखले केही दृष्टि खोल्ने छ । यो एक चक्षु–उन्मिलक चेतनाविम्ब हो ।

बिहान बेलुका धेरैजसो साहित्यिक फोनवार्ता चल्छन्, आउने जाने हुन्छन् । साइबरीय ग्लोबलताले स्थानिक दूरत्वको अन्त्य भयो; कालिक दुरत्वको अन्त्य भयो । सारा पृथ्वीलोकमा भूत भविष्य वर्तमान एकैचोटि पोको परेर उपस्थित हुन्छन् । विज्ञानले यसरी सारा खैँचेर ल्यायो । मेरा फोन देश–देशका भिन्न समयले छुट्याएका भिन्न कालमा पनि हुन्छन् । तर भारतका धेरै सायंकालका हुन्छन् । आसामका बेलुकी साढे आठ भएपछि तेजपुर आसामका साहित्यकार श्री ज्ञानबहादुर छेत्रीको आउँछ । त्यो दिनभरिको लेखापढी के भयो त्यो सुनाउनु हुन्छ । म सल्लाह दिन्छु, सदर गर्छु, आफ्नो पनि सारांश सुनाउँदै अन्त्यमा अझै साह्रो “कस्सिनोस्” भन्छु । मलाई लाग्छ यस्तो फरक फुर्सदको समयमा एउटा स्रष्टाको दिन व्यर्थमा गयो भने उनको जीवनलाई कत्रो हानी हुन्छ ! आजको रात ज्ञानबहादुरजीले यस्तो इमेल–पत्र द्वारा दिनभरिको उन्नति प्रयत्न सुनाउनु भयोः

मान्यवर डा. भट्टराई सर,
नमस्कारम् ।
आज पढेको पुस्तक हो तपाईंको विश्वविद्यालयमा अग्निपूजा शीर्षक निबन्धसंग्रह । त्यसभिका केही निबन्धको कुरा गर्छु । एउटा छ— कालचक्रको पाङ्ग्रामा बेरिएर । यो निबन्धको कथ्य विषय मातृभाषा कि अंग्रेजी भन्ने वितर्कित मुद्दा रहेको छ । यसै विषयको एउटा सेमिनारमा भाग लिन लेखक र एकजना साथी जयराज (गुरु) अवस्थी पाकिस्तान गएका थिए । उक्त सेमिनारमा लेखकले नेपालमा अंग्रेजी भाषा शिक्षण विषयको कार्यपत्र पाठ गरे । त्यो कार्यपत्रमा समेटिएका अनि कार्यपत्रमा राख्न नमिल्ने तर जातीय परिचयसँग ओतप्रोत रुपमा जोडिएका अत्यन्त महत्त्वपूर्ण कुरा उठान भर्नु भएको छ ।

लेखकका अरु निबन्धहरु जस्तै यो निबन्ध (कालचक्रको पाङ्ग्रामा बेरिएर) पनि व्यग्यात्मक र रुपकात्मक शैलीमा छ । निबन्धका लेखकको व्यंग्य हास्यात्मकताबाट शुरु हुँदै क्रमश कठोर हुँदै जान्छ र चरम विन्दुमा पुग्दछ । जस्तैः

हाम्रा रिसर्च अनुसन्धान, खोजी इतिहास, व्याख्या, विश्लेषण, परिचयहरु केवल अंग्रेजीमा हुन सक्छन । हामीले आफ्नो भाषामा बोल्नुको कुनै अर्थ छैन, त्यो केवल साउती हुन्छ, मोनोलग हुन्छ, आफ्नै घरभित्र गरेको गुनगुन—राम्ररी नफुटेको बोली जस्तो । पल्लो घरसम्म पुग्ने आवाज ता अर्कै चाहिन्छ, चर्को पनि चाहिन्छ ।

त्यो चर्को आवाज अंगरेजीमा मात्र हुन सक्छ, मातृभाषामा हुन सक्तैन भनेर व्यंग्य कसेका छन लेखकले । उनको व्यंग्यले चरम रुप त्यतिखेर लिन्छ जब उनी त्यसलाई गोरेको घोडाको लिदीसँग तुलना गर्छन । उनी भन्छन— अंग्रेजी भाषा संस्कृतिसँग टाँसिएर हामी बाँचेका छौ, झिँगे भएर—नभए हाम्रो सबै विकास ठप भइहाल्छ । उनीहरु घोडामा चडेर हिँडुन् हामीलाई आपत्ति छैन । त्यो घोडाले हाम्रो बालीनाली चरोस् हामीलाई आपत्ति छैन, त्यसले पारेको लिदी भए हामीलाई पुग्छ, किनभने त्यसले पनि हाम्रो खेतबारीलाई मलिलो पार्छ ।

यति भन्दा पनि धित नमरेर होला उनी हरिभक्तेली शैलीमा गोरेको छालालाई सलाम गर्छन् । कालचक्रको रचना गर्नेलाई सलाम, गोरो छालालाई सलाम । गोरो छाला मालिक हो, सारा सन्सार दास हो ।

डा. गोविन्दराज भट्टराई अंग्रेजीका प्रोफेसर हुन । नेल्टाका चेयरम्यान भएर उनले अंग्रेजीको शिक्षा दिने तरिका सिकाए । अंग्रेजी सिक्नुपर्छ तर आफ्नो मातृभाषालाई मासेर होइन…( यही हो निबन्धको गाँठी कुरा, लेखक भट्टराईको सिद्धान्त पनि ।)

अंग्रेजी भाषाको नचाहिँदो प्रयोगले आञ्चलिक भाषाहरु लुप्त भएको कुरा गरेका छन । कुसुण्डा भाषा विलुप्त भएको दर्दनाक कुरा दर्शाएका छन । पृथ्वीबाट एउटा भाषा विलुप्त हुनु भनेको अपुरणीय क्षति हो । भाषाका मर्मज्ञ डा भट्टराईले भन्दा राम्रो कसले बुझेको होला !

सिसौ र सल्ला रोपेपछि त्यस भूमिमा अरु रुख उम्रन सक्तैनन् ।

विडम्वनाको कुरा के छ भने अंग्रेजी घरघरमा ‘क्विक फिक्स’ले टाँसिएको छ, हटाउन खोजे पनि नसकिने भएको छ । रेडिओमा ‘स्वीच’ थिच्नै पर्‍यो, ‘लाइट’मा ‘ब्याट्री’ चाहिन्छ, ‘ब्यग’मा ‘बुक’ र ‘टिफिन’ बोक्नुपर्छ. जूत्तामा ‘पालिस’ लाउनु पर्छ । शिक्षित होस् या अशिक्षित, धनी होस् या गरीप सबैका घरका भान्सा र पूजा कोठामै अंग्रेजी पसिसकेको छ ।

यो अत्यन्त शक्तिशाली चुम्बक हो, प्रत्येक नेपालीले गोजीमा राख्नु पर्ने- यो पनि चोटिलो व्यंग्य प्रहार नै हो ।
भट्टराई सरको अर्काो जलेको कुर्सीमा उसलाई हासिरहेको देखें शीर्षक निबन्ध पनि । कथाजस्तो लाग्ने निबन्ध । उहाँका निजात्मक निबन्धहरुमा कथाका तत्त्वहरु नङ र मासु झै मिलेका हुन्छन् । उदाहरणका लागि यो कथालाई नै लिउँ । विश्वविद्यालयको जलेको कुर्सीमा ‘ऊ’ बसेको छ । कुर्सीको हात राख्ने ठाउँको फोम पूरै जलेको छ, बस्ने ठाउँमा पनि प्लास्टिक जलेर डल्लो परेको छ, त्यहाँ कीला काँटीहरु निस्केका छन् । यो कुर्सी काम नलाग्ने भएको छ, फ्याँकिदिनु पर्ने हो । तर त्यो फ्याँकिदैन । त्यहाँ एउटा मान्छे बसेको मात्र छैन, उसलाई कुनै अप्ठ्यारो भएको छैन— त्यसैले ऊ हाँसिरहेको छ ।

कुरा त्यतिमात्र हुँदो हो अथवा त्यही मात्र बुझियो भने पाठकका लागि सबै ग्रीक, फलामे चिउरा लाग्ने थियो ।

कुरा अर्कै छ । यो एउटा रुपक हो ।

त्यो कुर्सी साधारण कुर्सी होइन । विश्वमा ठूला ठूला युद्ध र घटना कुर्सीकै लागि भए–गरिएका छन् ।

यो त्यो कुर्सी हो जसमा बस्ने सपना धेरैले देखेका हुन्छन् । कतिले त त्यो कुर्सी हत्याउन कुनै पनि जघन्यतम कर्म गर्न हिचकिचाउँदैनन, त्यसको उदाहरण इतिहासका पन्ना पन्नामा पाइन्छ । कथाको गूढ तŒव त्यही कुर्सीमा लुकेको छ, त्यही कुर्सीलाई केन्द्र गरेर सबै घटना त्यसैका वरिपरि घुमेका छन् ।

त्यस घटनाका आडमा निबन्धकारले नेपालको इतिहास भनेका छन । वास्तवमा, यो नेपालको मात्र नभएर विश्वका प्रत्येक देशको इतिहास हो । कथाकारले एउटा सत्य घटनालाई लिएर विश्वमा सबै ठाउँमा सबै समयमा शक्तिकेन्द्रमा भइरहने घटनालाई विस्वजनीन रुप दिएका छन् ।

देख्ता फलामे मजबुत देखिए पनि यो कुर्सी मकैका ढोडले बनेको जस्तो क्षणभङ्गुर छ ।

व्यंग्य भट्टराईको निबन्धकारिताको विशेषता नै हो । सही ठाउँमा, सठिक समयमा सठिक व्यंग्य प्रहार गर्नमा उनी माहिर छन, अद्वितीय छन् ।

जलेको कुर्सी आगे सालको बजेटमा मरम्मत हुन्छ भनेर सरकारको कर्मशैलीमाथि पनि व्यंग्य प्रहार गरेका छन् ।

मानवजीवन, पृथ्वी सबै डढेकै त छ, कहाँ के पो सग्लो छ र? विद्यार्थीहरुको मन डढेको छैन ? आजका विद्यार्थी सुगा होइनन् सधैँ किताबको घाँस चपाएर गोबरजस्ता मार्कसीट उत्पादन गर्ने ।

कोठाको कुर्सी मात्र डढेको होइन । पूरै कोठा पूरै विभाग अग्निदेवताको चपेटमा परेका थिए । झ्यालको ऐना फुटेर बीचैमा मान्छे छिर्न सक्ने भ्वाङ परेका थिए । ऐनाका अवशेष तीखा सुइरा खस्न नसकी अडकिरहेका थिए । कोठा भयावह खण्डहर वा भग्नावशेष जस्तो थियो । निबन्धकारले भनेका ती आशा र भग्नाशाका प्रतीक थिए ।

कोठामा भीड भए पनि चकमन्न थियो वातावरण, त्यसैले कुनै युवतीले गुनगुनाएको गीत स्पष्ट सुनियो ।

ऐना फुटे जुट्ला
मन जुट्ने छैन

सिंहदरवारदेखि, भीसीका कार्यालयदेखि आएको हावा यहाँसम्म आइपुगेको थियो । यो कथनमा पनि सिंहदरवार र भीसीका कार्यालय भन्नाले शक्तिकेन्द्र बुझ्नु पर्छ ।

सधैँ जोगाएर राख्नु पर्ने तत्त्व कुर्सी नै त हो ।

‘बाबुरामका भतिजा’, ‘गिरिजाका अनुयायी’ जस्ता कथन पनि व्यंग्यात्मक, प्रतीकात्मक छन् । कसैले यस कर्मलाई ‘तोडफोड’ भन्यो भने म विरोध गर्छु, कसैले भन्डालिज्म भन्यो भने म राजीनामा दिन्छु भन्ने भुक्तभोगी कुर्सीमा बस्ने साथ अथवा कुर्सी जोगाउन चापलुसीको पराकाष्ठामा पुग्छन ।

दोहोरिरिहरन्छ इतिहासको यो अमर कथा सिसिफसको कथा जस्तै ।

दोहोरिरहन्छन् जुगजुगमा शक्तिका नाटकहरु जुलियस सीजर जस्तै ।
०००

यस्तो इमेल पढिसकेको थिएँ— प्रा. डा. माधवप्रसाद पोखे्रेल सरको फोन आयो जसमा मुख्य विषय थियो— नेपाल बाहिर नेपाली साहित्यको । जुन कुरा जनेवृइ (जगदम्बा वृहत् नेपाली साहित्यको इतिहास) को तेस्रो ग्रन्थमा पर्नेछ । त्यसका प्रगतिको कुरा उहाँले सुनाउनु भयो । उक्त खण्डको जिम्मा मैले लिएको छु ।

अबेला भएपछि एक निबन्ध आयो पढिमाग्दै प्रा. ज्ञानू पाण्डेको जीवनको अभिनन्दन शीर्षक । उक्त रचना पढेँ धेरै राम्रो जीवनवादी यो कथात्मक छ । भर्खरै आत्महत्या गरेर जाने एक अध्यापकका प्रयत्न विरुद्धमा जीवनलाई जोगाउने कि मास्ने भन्ने तर्कबीच अस्तित्ववादी सून्यवादी पनि आउँछन् तर जीवन बाँचेर जानुपर्छ भन्ने निबन्धको जीवनवाद राम्रो छ ।

फेरि एक कथा आयो डा. इन्दुप्रभा देवीको नवीनतम कथासंग्रह रुद्ध अनिरुद्धबाट । त्यो कथा कति शक्तिशाली, कति प्रभावकारी, उच्च शिल्पको छ । लागेको बात र बधाइ लेखेँ । हिमाली गुराँस (मासिक) मा प्रकाशनार्थ खिमानन्दजीलाई सो पठाएँ । डा. इन्दुप्रभा आसाम गुवाहाटीकी चुनिएकी नेपाली स्रष्टामा एक हुन् ।

सेवाले आज नवीन व्यायाम ल्याइन् । सिकाउने त्यो केटी ल्यापटपमा साह्रै तमास गरेर उफ्री । बेतको जस्तो जिउ चाहिने रहेछ । मैले त थाम्नै सकिनँ र पनि कसोकसो आधाघण्टा पुर्‍याएँ । त्यसपछि सदा झैँ बेलैमा खायौँ, पाँच बजे दुई रोटी । आज धेर फोन भएनन् । छत्र सुब्बाको आयो, डा. खेमराज नेपालको, बिहान हरि गौतमको, दिनमा मित्र हरिकृष्ण खतिवडाको । जय छोराले अर्काे लघु कथा पठायो— साँच्चै राम्रो छ, बेलुका खगेन्द्रको खबर आयो दमक भाङ्बारीस्थित सुकुम्बासी टोलमा एक जनाले प्राण जिम्मा लगाए घरैमा भन्ने कुरा । शायद विपद कालमा गरीबीले छेकेर उनलाई प्राण त्याग्न विवश बनायो होला ।

सरकारद्वारा चीनबाट नक्कली पी पी ई मगाइएको, विश्ववैंकले त्यसलाई अस्वीकार गरेको कुरा सुनियो आज तर यसबेला उनीहरुले सत्ताधारी लठैतका तक्मा भिरेका छन् जनता मर्दैछन्, निर्लज्ज झै उनीहरु देश लुट्तैछन् । दिनदिनै घुस काण्डका खबर आउँछन् । साहसी पत्रकारको प्राण लिनेहुन् कि जस्तो पीर पनि लाग्छ । यो केवल लुट्ने अवसर छ ।

आज दमक नगरपालिकामा गाडीले गाउँ गाउँ पसेर दबाइ छिटेको खबर आयो । उनीहरुले प्रचार गरेअरे— कोरोनाको दबाइ छर्केको । के यो सम्भव छ ? दुनियाँलाई थाङ्नामा सुताउनेहरु छन् हाम्रो नेतृत्वमा । ढाँट र लठैतको बजार हो नेपाल । गाउँ न शहर ।

बेलुका भएको थियो । घरमा खगेन्द्र र माल्दाइसित बात गरँे, प्रकाश दाइ र भूटान शिव भाइसित गरेँ त्यसैबेला एक पोष्ट आयो— ए ए करुणादेवी तिमीलाई परमेश्वरी तिमीलाई आजको अर्पन गर्‍यौँ है देवी तिमीलाई तिमीले कसैको छाती दुखाउने, कसैको टाउको दुखाउने सास फेर्नै सारो पर्ने बनाकी छ्यौ अरे देवी तिमीलाई हाम्रा जगत्मा मान्छेलाई दुःख नदेऊ है देवी तिमी आफ्नै बाटो जाऊ है तिमी परमेश्वरी तिमी पूर्वको पूर्वमा पश्चिमको पश्चिममा जाऊ है देवी तिमी उत्तर जाऊ है दक्षिण जाऊ है तर हामी भा ठाउँ नआऊ है देवी परमेश्वरी लै भन है तिमीलाई आज सबैथोक गरी बाजा गाजा बजाएर सुनाउनु पर्ने ।
एउटाले थाल ठोक्न थाल्यो, अर्काले धुप हाल्न थाल्यो । अनि म सुत्न झरेँ ।