१. म अपराधी हाेइन – देवेन्द्र गिरी
घाेराही, दाङ
     तुलसीपुर सुधार गृह, दाङ
समाज विरुद्ध गए पनि त म
आखिर सामाजिक प्राणी नै त हुँ
हाँस्छु, रुन्छु, बाेल्छु, रमाउँछु ।
मानव संवेदनाका सबै अंश छन्,
तर पनि किन याे समाज टाढा भाग्छ,
गाली गर्छ, डराउँछ, रिसाउँछ ?
हाे, मलाई कुनै बेग्लै ग्रहकाे एलिएन,
भएकाे आभाष गराउँछ ।
अनि पीडा हुन्छ, म पीडा भुलाउन
शब्दको सहारा लिन पुग्छु ।
एउटा एउटा शब्दकाे गुच्छा
कहिले गजल बनेर बर्सन्छ,
मलाई मेरै अस्तित्वले भ्रमित गराउँछ,
आखिर म एक मानिस नै त हुँ ।
हाे, मानिसदेखि गल्ती हुन्छ,
गल्ती नगर्ने त देवता भैगयाे,
म देवता बन्न सकिनँ ।
फेरि किन समाजले मलाई अपराधी भन्छ ?
मेराे गल्ती कसरी अपराध भयो ?
भन्ने कुरा ज्ञात नहुँदासम्म,
म कसरी अपराधी हुन सक्छु ?
हाे, म अपराधी हाेइन,
म पनि एक सामाजिक प्राणी नै हुँ,
हाँस्छु, रुन्छु, बाेल्छु, रमाउँछु ।
२. जेलभित्रकाे जिन्दगी –  खगेन्द्र थापा (निर्दाेषभित्रकाे दाेषी)
सिम्ता गाउँपालीका २, सुर्खेत
तुलसीपुर सुधार गृह, दाङ
हाँसो र राेधनकाे चाैतारीकाे सँघारमा छ जिन्दगी,
हर्ष र विष्मात्काे दाेधारमा छ जिन्दगी,
पछुताे र पश्चातापकाे डङ्गुरमा रुमलिएकाे छ जिन्दगी,
निल्नु न उक्लनु व्यर्थकाे रियालिटी साेमा रहेकाे छ जिन्दगी ।
नेपाली कानुनकाे परिपालनकाे परिबन्धमा परेकाे छ जिन्दगी,
मनमा हाेस र भविष्यमा प्रगति गर्छु भन्ने असमयकाे जिन्दगी,
बन्दी व्यतित् हाेस् भनी कामना गरिरहेकाे छ जिन्दगी,
पानीविनाकाे माछाजस्तै आफन्तजनकाे विछाेडमा तड्पिरहेकाे जिन्दगी ।
किताबी किराे बनी ती कथाहरूमा छट्पटाइरहेकाे जिन्दगी,
जान अन्जान जेल जीवन जिउन बाध्य साथीहरूसँग रमाएकाे जिन्दगी,
विगत र भविष्यकाे विचार विर्मशमा अल्मलिएकाे छ जिन्दगी,
मिसन र भिजनकाे नक्सा काेर्दै बाँचिरहेकाे छ जिन्दगी ।