तराईको एउटा गाउँमा,अहिले कुरा सुन्दा पुराणको कथा जस्तो सुनिने कुनै अर्कै युगमा, थियो मेरो बाउको बगैंचा. त्यो युगमा दिदीबहिनीहरु भाइटीकामा दुबो पिसेर आफैँ हरियो रङ बनाउँथे. सप्तरंगी टीकाका सातै रङ विशुद्ध अर्ग्यानिक पदार्थहरु कुटेर, पिनेर आफैँ बनाउँथे उनीहरु. गाउँका केटीहरु मेहन्दीको पात पिसेर, त्यसमा कागतीको रस मिसाएर हातमा र कपालमा लगाउँथे.

गाउँका अरु खेतबारीमा आलु, मुला, काउली, सागपात मात्र रोपिएको हुन्थ्यो. मेरो बाउको बगैँचामा प्रायः सबै फ्रुट ट्रिज मात्र. कहिलेकाहीँ वाक्क पनि लाग्थ्यो. हाम्रो नि यी फलका बोट र वाहियात रुखहरुको सट्टा आलु-मुलाको बारी भए हुनेजस्तो लाग्थ्यो. तर त्यो उमेरमा मलाई फलफूल पसल पनि हुन्छ संसारमा भन्ने थाहा थिएन.

मेरा बाउले जसरी सारा फल आफैँ फलाएका छन्,अरुले पनि फलाएका होलान् जस्तो लाग्थ्यो मलाई. एक दिन बाउले मलाई साइकल चढाएर बजार घुमाउन लगे. बजारमा मैले फलफूल पसल देखें. फलफूल किनेर पनि खाँदा रहेछन् मान्छेले भनेर मलाई अचम्म लाग्यो. म एक कक्षामा पढ्थें त्यो बेला. कति वर्षको थिएँ भन्ने कुराको हिसाब म जान्दिनँ. मलाई पनि मेरो बाउलाई जस्तै तीनभन्दा बढी गन्न कहिले मन भएन.

गाउँका केटी साथीहरु, दिदीहरु, खुसुक्क मेहन्दीको पात र कागतीको फल चोरेर ल्याउन अह्राउँथे मलाई. मेरो बाउको बगैँचामा मेहन्दी र कागती दुवैका रुख थिए. मैले माटोको सुगन्ध त्यही बगैँचामा चिनेको हुँ. यति नजिकबाट, मानौँ कुनै प्यारो मान्छेको शरीरको गन्ध हो माटोको गन्ध ! चराको चिरबिर, फलफूलको स्वाद मैले त्यहीँ चिनें.हावाको गन्ध कस्तो हुनुपर्छ,पानीको स्वाद कस्तो हुनुपर्छ, अक्षरको रङ कस्तो हुनुपर्छ, मैले मेरो बाउको बगैँचामा सिकेको हुँ बच्चैमा. बच्चा बेलाको आफूलाई सम्झँदा म, जुटको बोरा र सुकेका पातको ओछ्यान हालेर, हातमा कुनै किताब बोकेर, कुनै पाकेको फलको बोटमुनि त्यही फल खाँदै, उपरखुट्टी लगाएर, किताब पढ्दै, एउटा कुहिनाबाट फलको रस तपतप चुहाउँदै गरेको म सम्झिन्छु. अथवा त्यो बगैँचामा एक्लै डुल्दै गरेको. बाउको बगैँचा त्यो उमेरमा मेरालागि चारकोसे झाडी थियो. बगैँचा लम्बाई धेरै चौडाई थोरै भएको, काठमाडौँका दुई आने घरहरु कम्तीमा दस वटा अट्ने जत्रो थियो. बगैँचाको मुखमा अम्बाको र नरिवलको बोट एउटा साइडमा थियो, आँप, जामुन र सुपारीको बोट अर्को साइडमा. सुपारीको बोटको ठ्याक्कैमुनि हाम्रो बाथरुम थियो. नुहाउने ठाउँ मात्र. बाथरुमसँगै हाते कल थियो. हातेकलको पानी बगेर जाने ठाउँमा उखुको झाडी थियो जहाँ मैले खाएका उखुहरुमध्ये संसारकै सबैभन्दा गुलियो उखु फल्थ्यो. एक झाडी उखु. त्यहाँबाट थोरै अगाडि बढेर बायाँ फर्केर एक जम्प हानेपछि पुगिने जति दुरीमा परेवाको खोर थियो. परेवाको खोर, एउटा बूढो रुखमाथि काठको बर्ड हाउसजस्तो स्ट्रक्चरको थियो. त्यो बूढो रुखको ठ्याक्कैमुनि पानको लहरा रोपेर माथि चढाएका थिए बाउले. म कहिलेकाहीँ बाउको खैनीको डब्बाबाट चुना चोरेर पानको पात टिपेर, त्यसमा चुना दलेर आफैँले पान बनाएर खान्थेँ र रातो रङको थुक पिच्चपिच्च थुक्थेँ.

पानको लहरा भएको ठाउँबाट थोरै अघि बढेपछि बाउको लेमन गार्डेन थियो, जहाँ कमसेकम दस फरक प्रकारका कागती फल्थे.अझै अघि बढेपछि लटरम्म रातै भएर फल्ने कफीको बोट थियो. त्यसपछि हाम्रो घर थियो. घरको पछाडिबाट फेरि उही जङ्गली पारा सुरु. एकपछि अर्को गर्दै लाइन लागेर उभिएका मेवा, काजु, दालचिनी, आरु, आरुबखडा, अनार, आँप, कटहर, भोगटे, मेहन्दी, लिच्चीका रुखहरु. एउटा साइडमा लहरै हात्तीका तिघ्रा जत्रा मोटा सिसौका रुख.

ती रुखको ठ्याक्कैमुनि लहरै पाइन्याप्पल र बगैँचाको चाकमा बाँसको भयङ्कर झाडी. बाँसको झाडीभन्दा थोरै वर पराल थुपारेर टाल बनाइएको हुन्थ्यो जहाँ आफैँ, खै कसरी हो, मसरुम फल्ने गर्थ्यो, जो कहिलेकाहीँ टिपिन्थ्यो र पकाएर खाइन्थ्यो. हामी सामान्य तरकारी र प्रायः सबै फलफूल आफैँ फलाएर खान्थ्यौँ. बगैँचाको डिलमा अदुवा, बेसार, रहर, मुसुरो लगाइएको हुन्थ्यो.

पितृसत्ताको कारण पितृसत्ताकै ब्याण्ड बजेको पनि समय थियो त्यो. बाउ एकजनाको कमाइले पूरा परिवार पाल्नुपर्ने. घरमा सबथोक पर्याप्त थियो, पैसा थिएन. बाउलाई पैसाको कुनै मतलब नै थिएन. स्कूलको मेरो फिस, नुन, तेल आदि इत्यादि, फेमिनिजम भनेको कुन चरोको नाम हो कसैलाई थाहा थिएन त्यसबेला. घरका आइमाईले भातभाँडा लुगासुगा मात्र गर्नुपर्ने. बाहिर गएर, पैसा कमाउने जिम्मेवारी केटाको मात्र हो भन्ने ठानिने. म हुर्कंदै थिएँ, काम नलाग्ने बकवास पढाइने स्कूलहरुले लिने फिस अब तीन अंकको नभएर चार अंकको हुँदै थियो. मेरो बाउले तीनभन्दा उता गन्नै सकेनन्. तीनभन्दा उता गन्न सिक्नुपर्यो अब, भनेर घरका अरु मान्छेले दिनरात बाउलाई किचकिच गर्न थाले. अनि हामी पात गन्दै बस्ने त्यो सुन्दर संसार छाडेर नोट गन्ने संसारमा गयौँ, जसलाई शहर भनिन्थ्यो. शहरमा, दिनभर आफ्नो शरीर र आत्मा बेचेर बेलुका सधैँ हारेको अनुहार लगाएर घर फर्किन थालेका थिए बाउ, जब म ठूलो हुँदै थिएँ. माटोसँग खेलेर जिन्दगी बिताउन चाहने ध्यानी स्वभावका मेरा बाउलाई जबर्जस्ती चार जनाको दाल चामल,पढाइ लेखाइको भार परेको थियो. पितृसत्ताको चेपुवामा परेर, बाउले नै घरको सारा खर्च धान्नुपर्ने चेपुवामा परेर नासिएका अरु कति बगैँचा होलान् यस्ता ! अनि सधैँ मुस्कुराउने, ध्यानी बगैँचेबाट कति बाउहरु झर्किने, झगडा गर्ने, पानी सुकेका,आँत रुखिएका फूल बने होलान्.

पातका पैसा चल्ने भए सजिलो हुन्थ्यो होला बाउलाई, अनेक आवश्यकता तिर्न र किन्न. त्यसो नभएकाले अप्ठ्यारो भयो. रुखका पातलाई पैसासरह मानिने दिन आए आ-आफ्नो घरमा सबैले भरपूर रुख रोप्थे होलान् तर त्यस्तो भएन. रुख काटेर, त्यसलाई मारेर, पकाएर, कागज बनाएपछि मात्र पैसा मानिने चलन चल्यो संसारमा. त्यसैले रुखहरु नासिए. सबै रुख पैसा बने. धुँवा र धुलोले घरभित्रै आँखा पोल्ने हुँदै गयो संसार अनि. त्यो युगबाट अहिलेको यो युगमा आउने क्रममा मेरो बाउको बगैँचा पनि पैसा बन्यो. एकएक रुख काठ बने. झाडी र लहरा फाँडिए. त्यो समयमा मेरो परिवारले गरेको पापको प्रायश्चित म आश्रमको कम्पाउण्डमा त्यस्तै बगैंचा बनाउने कोसिस गरेर गर्दैछु.

मैले आफ्नो जिन्दगीका थुप्रै अँध्यारा रातहरु स्मृतिको एउटा कुनामा मैले जोगाएर राखेको त्यही सुन्दर बगैँचाको स्मृतिको उज्यालोले कटाएँ. बच्चा बेला, कुनै फूल फक्रिएको हेर्न दिनभर त्यसैको बोटअघि उभिने गर्थें म. त्यसैले जिन्दगीका पर्खाइहरु कहिले लामा लागेनन्. पातहरु झरेको मैले त्यहीँ देखेँ, त्यसैले जिन्दगीका कतिपय पातहरु झर्दा अनौठो लागेन. हतार नगरिकन, बिस्तारै, आफ्नै गतिमा पनि जिन्दगीको यात्रा गर्न सकिन्छ भन्ने कुरा मलाई मेरो बाउको बगैँचाका रुखहरुले सिकाए. मैले घडीले नापिने समय त्यसैले कहिले मानिनँ. त्यसैले हातमा कहिले घडी बाँधिनँ, र मलाई कहिले हतार भएन. हतार नभएकैले मैले जिन्दगीको भरपूर आनन्द लिन पाएँ. स्लो मोसनमा. जसलाई आजभोलिको चाउचाउ भाषामा मेडिटेसन भनेर भनिन्छ.