यो सहरको भीडको बयान गरी नसक्नुकाे छ । पेटीमा टेक्ने ठाउँ छैन । बजारमा हिंड्दा मान्छेसँग मान्छे ठोक्किन आउँछन् । कोलाहल आवाज छ । सडकहरु जाम हुन्छन् । ट्राफिक प्रहरीहरु मुश्किलले सवारी नियन्त्रण गर्न सकिरहेका छन् । कति मोटरसाइकल, कति मोटर, कति बस । मान्छे कुदेका छन् । लाखौँलाख मान्छेहरुको बीचमा सीमा चित्रकार पनि हिंडिरहेकी छिन् । बस चढिरहेकी छिन् । बिहान बेलुकी सहरका अपार्टमेन्ट र घरहरुमा भुइँ पुछ्ने, भाँडा माझ्ने गरिरहेकी छिन् भने दिउँसो एक निजी कार्यालयमा रिसेप्सनिष्ट छिन् । दिनभरिमा सयौँ जनाको फोन उठाउँछिन्, जवाफ फर्काउँछिन् । कार्यालयका अन्य कर्मचारीहरुको सूचना आदानप्रदान गर्छिन् । तर उनलाई लाग्छ, यो भीडमा उनका लागि उनी मात्र छिन्, अरू कोही छैनन् ।

कतिपय उनका शरीरमा आँखा लगाउँछन्, कतिले उनको अवस्था बुझ्छन् र केही लुटन खोज्छन् । तर उनले चाहेको चीज दिन कोही तयार छैनन् । उनका आफ्ना पीडा र समस्या सुनिदिने कोही छैनन् । उनी एक्लै छिन्, लाखौंलाख जनसङ्ख्या भएको सहरमा ।

सीमा यो सहरको एक प्रतिनिधि पात्र हुन् । यो लाखौंलाखको जनसङ्ख्या भएको भीडैभीडको सहरमा सबै मान्छेहरु एक्लाएक्लै त छन् । कुदेका छन्, भ्याई नभ्याई दौडेका छन्, एक अर्कालाई धक्का दिएका छन्, उछिनेका छन् । कोही गन्तव्यमा पुगेका छन् । कोहीले गन्तव्य बनाउन बिर्सेका छन् । कोही एक एक मिनेटको एक एक पैसाको हिसाब गरिरहेका छन् । घर, श्रीमान्, श्रीमती, सन्तान, दाजुभाइ, दिदीबहिनी छन् । तर यी अनगिन्ति नाताका बाबजुद मानिसहरु एक्लिएका छन् ।

एक्लै हुनका लागि नै हो भने किन यो सहर नै छान्नु पर्ने ? एक्लै हुनका लागि नै हो भने किन परिवारमा बस्नु पर्ने ? एक्लै हुन कै लागि हो भने किन विवाह बन्धनमा बाँधिनु पर्ने ? एक्लै हुनका लागि नै हो भने किन मित्रताका नाटक, नाताको नाटक गरिरहनु पर्ने ? कसले सोचेको छ ? यो सबै रित्ता नाता र सम्बन्धभन्दा उच्चस्तरको अर्को कुनै सम्बन्ध हुँदैन ?, जहाँ एक्लिएको अनुभव गर्न नपरोस् । सबै सम्बन्ध दिन सकुन्जेल मात्र हो भने अझ हाकाहाकी लेनदेन मात्र हो भनेर बुझ्ने हो भने सीमाजस्तै, नाममा फरक होला, कोही किरण नामका होलान्, कोही सूर्य नामका होलान्, कोही रामबहादुर होलान् त कोही प्रदीप नामका होलान् । यी कुनै नामले यो सहरको मान्छेहरुको एक्लोपन हटाउन सक्दैन । हामी सबै मिलेर एक्लोपनलाई नै सिँचाई गरिरहेका छौँ ।

एकताको कुरा गरेर, मायाको भ्रम छरेर, नाताको अन्धकारमा रहेर सायद हामी सबै एक्लो यात्री हौं । मैले धक फुकाएर मन खोल्ने ठाउँ छैन, मैले मेरो समस्या सुनाएँ भनेँ सुनाएको बेलै च्वः च्वः भनेर सहानुभूति प्रकट गर्छ र त्यतिखेरै उसले हेर्ने दृष्टिकोणमा मलाइ झार्छ । ऊ जोसुकै होस् । म यो सहरको एक्लो यात्री, तिमी यो भीडको एक्लो यात्रु । आँशुले भिजेको परेली र नक्कली मुस्कान भएको अनुहार देखाएर खुसी व्यक्त गरिरहेका नाटककारहरु हामी यो सहरका ।

शनिबारको दिन । दाजुको फोन आयो । भन्नुभयो, “मैले मेरो कारमा फुल ट्याङ्क तेल हालेको छु । मलाई थाहा छ, तपाईँ व्यस्त हुनुहुन्छ । भाइहरु पनि व्यस्त हुनुहुन्छ । मैले एक्लिएको अनुभव गरेको छु । विनागन्तव्य म मेरो गाडी हाँकेर सडकमा निस्कने छु । म कहाँ जान्छु ? मलाई थाहा छैन ।”

मैले सोचेँ, यो दाजुको धम्की हो कि एक्लोपनको अभिव्यक्ति ? उहाँको गन्तव्यहीन यात्रा, जुन एक दिनकै किन नहोस्, म सहयात्री हुन सकिनँ । किन सकिनँ ? मलाइ थाहा छैन । तर दाजुले मागेको त्यो एक दिन म पनि झमेलामै फँसेको थिएँ । अर्थात् मैले मलाई समय दिन बिर्सिसकेको म, मेरो समय मैंसँग रहेनछ, शनिबार बिदाको दिन पनि । अनि म कसरी दिन सक्छु यो समय दाजुको लागि ।

हामी आफ्नो समय अरुलाइ बेचेर दाल चामल मात्र होइन, आधुनिकता किनिरहेका “सभ्य” मानिसहरु । यही सभ्यता र आधुनिकताका लागि जीवन पिँधिरहेको मानव अनुहारका रोबोटहरु, हामीले एक्लिन जानेका छौँ, एक्ल्याउन जानेका छौँ ।