नियमित आकस्मिकताको एउटा मोडमा म दिनभर इनरुवा नगर–प्रमुख राजन मेहतासँग थिएँ ।
बाटोमा संयोगले भेट भएको थियो । म घुमाउरो कुरा गर्न जान्दिनँ ।
‘गुरु, डुम्राहा घुम्न जाऊँ,’ उनले भने ।
डुम्राहा मेरो तेस्रो मातृभूमि हो । पहिलो बबिया । दोस्रो इनरुवा । तेस्रो डुम्राहा । अहिले सोलोडोलो सबै इनरुवा भएको छ ।
यसो हेरेको नगरपालिकाको गाडीमा उनी र ड्राइभरबाहेक कोही थिएन । उनको बडीगार्ड नवीन पनि थिएन । नवीन राना मेरो साथी हो, सानोमा सँगै पढेको ।
उखरमाउलो गर्मी थियो । गाडीबाट एसीको चीसो हरक आइरहेको थियो ।
‘ओके छ त !,’ भन्दै म गाडीमा चढेँ ।
रेडक्रस बस्ती हुँदै गाडी अगाडि लाग्यो । पहिले हिँडेर पुग्थ्यौँ कक्रु–कुरुवा हेलिँदै, कहिले बङ्कुलुवा, कहिले अर्ता । कहिले आँप, काँक्रा चोर्न । कहिले सुनसरी, कक्रु–कुरुवामा नुहाउन । कतै–केही भेटिएन भने जिरायत जिन्दावाद छँदै थियो । सिजनअनुसार आँप, काँक्रा, बयर, उखु कति खानु ! खाँदा–खाँदा आँखा रातो हुन्थ्यो । बेलुका आमाको गाली खायो, मस्त निदायो । निदायो भन्दा पनि सँगै पढ्ने, सँगै खेल्ने केटीहरू सम्झियो । तिनका राम्रा नराम्रा पक्षहरूको विश्लेषण ग¥यो । त्यतिले पुगेन भने श्रीदेवी, अमृता सिंहहरू त छँदै थिए । सपनामा बोलाउनेबित्तिकै सर्लक्क आउँथे ।
मेरो बालसखा दिवाकर सापकोटाको कामत, खेती थियो बङ्कुलुवामा । बङ्कुलुवा पुगेपछि म एकपटक फेरि नोस्टाल्जिक भएँ ।
…
किशोरवयमा सुरज सुब्बा, अजय मण्डल, हेमनारायण पोद्दार सन्तोष तिवारी, विष्णु भट्टराई, राजकुमार शाही, सञ्जय लुइटेल, अनुज पराजुली आदि साथीहरू अबेलासम्म सँगै हुन्थ्यौँ । दिनभर बेताल, मोटु–पतलु, आक्साका कमिक्स, साहित्यिक किताब, हिन्दी बाल उपन्यास, फिल्म कलियाँ, मायापुरी, सरिता, मुक्ता, कादम्बिनी पढ्यो । राति जूनको उज्यालोमा नरनारी र त्यस्तै खालका किताबमा रमायो । बेलाबेलामा नवीन नेपाल, सुशील दाहाल, भोला दाहाल, अनील झा, शैलेन्द्र नेपाल, टीकेन्द्र राणाहरू पनि सँगै हुन्थे ।
दाइ–साथी कनिष्ट भट्ट र गुणानन्द झाहरूसँग जोडिएका प्रसङ्ग बेग्लै छन् ।
भाइ–साथी जीवराज दाहालहरूसँग मिलेर सन्तोषको एउटा कोठामा लाइब्रेरी नै बनाएका थियौँ हामीले । नेपालीमा कामना फिल्मी पत्रिका, अहिलेको साप्ताहिक जस्तो आकारमा भर्खर–भर्खर छापिन थालेको थियो । त्यो पनि कदेखि ज्ञसम्म सबै पढिन्थ्यो । विज्ञापन पनि बाँकी राखिदैनथ्यो ।
छिमेकमै गङ्गाबहादुर कार्की दाइको घर थियो । डुम्राहाबाट आएर पन्तहरूको घरेडी किनेर कार्की दाजुभाइ (गङ्गा–सूर्य)ले नयाँ पक्की घर बनाएका थिए ।
घरपछाडि कबड्डी खेल्न पुग्ने ठाउँ थियो । गङ्गा दाइका छोरीहरू सुभद्रा, सुशीला, टीकाहरू मसँग साँझमा कबडी खेल्ने साथी थिए । टिममा दिदी–साथी रेनुका अर्यालसहित सञ्जीव अर्याल, अजय, दिवाकर, गुणानन्द, भाइ अरुण कार्की, निर्मल कार्की आदि हुन्थे ।
सुशीला त क्लासमेट पनि थिइन् । उनले पहिलोपल्ट टेस्ट हो कि एसएलसी पास गर्न सकिनन् । दोस्रोपल्ट गरिन् । उनी पास भएको थाहा पाएर मैले राम्रा अक्षरमा बधाई तथा शुभकामनाका शब्दहरू एउटा पोस्टकार्डमा लेखेर हुलाकमार्फत् पठाएको थिएँ । उनी मसँग भन्दा पनि दिवाकरसँग अलि क्लोज थिइन् । दिवाकरसँग सुशीला मात्र होइन, धेरै केटीहरू क्लोज हुन्थे । मालती, आरती, मञ्जुला आदि अनेक नाम छन् ।
त्यस्तो ‘प्ले व्वाइ’ जस्तो मेरो साथी दिवाकर आज साइभक्त जोगी भएर बिहे नगरी बसेको छ । सम्झिँदा पनि अचम्म लाग्छ ।
…
यता, मेरो पोस्टकार्ड हात परेपछि सुशीलाले तमास गरिन् ।
खाम खोल्दा पनि नखोली ‘विद्याधरलाई राम्ररी सम्झाउनू, यहाँ मलाई केके लेखेर पठाएको रहेछ, यो उसैलाई दिनू,’ भन्दै सोझै आमालाई लगेर दिइछन् । साँझमा घर आउँदा, आमा रोएर तमास ।
‘छिनमै लहर उठेर आउँछ, छिनमै शान्त हुन्छ ।
छिनमै मुटु दुखेर आउँछ, छिनमै शान्त हुन्छ ।
रुझ्न पनि पाइएन लौ ! मनै भिज्ने गरी,
छिनमै पानी दर्केर आउँछ छिनमै शान्त हुन्छ ।’
यो शायरी मैले अलि जान्ने भएपछि लेखेको । त्यो बेला यस्ता कुरा सोच्न सकिन्थ्यो, न लेख्न आउँथ्यो । केटाकेटी बुद्धि थियो ।
त्यो रात रिस र आवेगमा बित्यो । सपनामा कतिपल्ट बदला लिएँ थाहा छैन । बिहान मन शान्त भइसकेको थियो ।
मान्छे चिन्नू, नचिनाउनू भन्छन् । उनको केटाकेटी व्यवहारलाई त्यसै पचाइदिएँ । ‘भोलि जान्छु, सोझै गङ्गा दाइसँग कुरा गर्छु । सुशीलाले नराम्रो पारिन् भन्छु । लु, यो पोस्टकार्डमा नराम्रो कुरा के लेखेको छ भन भन्छु । तिनलाई नथर्काई त्यसै कहाँ छोड्छु !,’ भन्ने व्यापक योजना बनाएको थिएँ । तर, बिहान ‘हलेदो भनेर जानिसकेपछि किन कोट्याइरहनु,’ भन्ने उखान सम्झेँ । फेरि यही कुरालाई लिएर मैले झगडा चर्काएँ भने हाम्रो कबड्डी टिम प्रतिबन्धित हुने खतरा थियो । कबड्डी खेल्ने चौरसँगै दक्षिणतिर तित्रीको झ्याम्म परेको ठुलो रुख थियो । अजय, सुरज र मैले दिनभर लुकीलुकी रसियन किताब पढ्ने ठाउँ । त्यो पनि खोसिन सक्थ्यो ।
त्यसैले मनमा उठेजति तरङ्ग–तर्कनाहरू सबै अजयलाई भनेँ र आफू ठण्डाराम भएँ ।
एसी गाडीमा बसेर बालवयका यस्तै–यस्तै कुराहरू सोच्दै थिएँ, ड्राइभरले गाडी अर्ता पु¥याएर ठिक्क गङ्गा दाइको आँगन अगाडि बाटोमा रोक्यो ।
…
‘एकदिन यसैगरी गाडीमा बसेका बेला तपाई बाटोभरि खेमराज दाइसँग बोल्नु नै भएन रे हो ?’
‘को खेमराज ?’
‘खेमराज पोखरेल । हाम्रो पूर्व मेयर सा’ब ।’
‘कसले भन्यो तपाईलाई ? खेमराज काका मसँग यसरी गाडीमा बस्नु नै भएको छैन,’ राजनले भने ।
यो प्रकरणमा सत्यता के हो ? म त्यतापट्टि जान्नँ । हाम्रोमा एउटा समस्या छ । अग्रजहरूलाई लागिरहन्छ, अनुजहरूले आफूसँग केही सोधुन्, केही सल्लाह दिन पाइयोस् । आफ्ना अनुभवहरू सुनाउने वातावरण बनोस् । अनुजहरूलाई चाहिँ त्यसको ठिक विपरीत लागिरहेको हुन्छ । अग्रजहरूले कुरा–परिस्थिति बुझेर सल्लाह–सुझाव दिए हुने । भएका कमी–कमजोरी सच्याउने अवसर दिए हुने ।
तर, यस मामलामा म अलि फरक छु । कोही अग्रज होस् चाहे अनुज । आफूले थाहा पाएका राम्रा कुरा सेयर गर्न समय पर्खिरहनु हुँदैन । कसैले सोधोस् चाहे नसोधोस्, कोही बोलोस् चाहे नबोलोस्, सकारात्मक, प्रेरक कुरा, कथा–कहानी, कविता–चुट्किला, प्रश्न जे छ मनमा त्यो तत्काल बाँडिहाल्नुपर्छ । केहीबेरपछि मरिन्छ–बाँचिन्छ, कसलाई के थाहा ?
‘अस्ति, राजन मेहताका १४१ बुँदे घोषणा–पत्रमा कति बुँदा कार्यान्वयन भइसके दाइ ? भनेर शशी कोइराला भाइहरूले सोध्दै थिए !’ मैले प्रसङ्ग बदलेँ ।
जवाफमा उनले अग्रज कला–साहित्य सर्जकलाई समेटेर प्रज्ञा प्रतिष्ठान गठन तथा पत्रकार सहयोग कोषका लागि केही रकम व्यवस्थापन गरेको बताए ।
यतिबेला आफू विकास–निर्माणका सवालमा नगरबासीको सोच र इनरुवाबाहिर रहेका शुभेच्छुकहरूको भावनाको चेपुवामा परेको उनको भनाइ छ । एकातिर इनरुवामा चौडा सडक भएन भनेर बाहिर बस्नेहरू दबाब दिन्छन्, अर्कोतिर बाटोका लागि घरअगाडिको जग्गा दिन बहुदा नगरवासीहरू तयार छैनन् ।
‘यस्तो परिस्थितिमा हाम्रो आदर्श घोषणा–पत्रको हविगत के हुन्छ ? लु तपाई आफैँ भन्नुस् !’
उनले प्रश्न मैतिर ते¥स्याइदिए ।
…
‘एमालेको बहुमत छ । भैँसी सुन्दरी प्रतियोगिता समयमै गर्ने भनेर केही भैँसीहरूको व्यवस्थापन पनि गरिसकेको थिएँ । त्यस्तो प्रतियोगिता नगर्ने भनेर नगरसभाले ठाडै अस्वीकार गरिदियो । केही फरक र राम्रा कुरा गर्न खोज्यो, पास हुनै दिँदैनन् । कसरी काम गर्ने ?’
उनले भनेका कुरा अलिअलि हो–हो जस्तो पनि लाग्छ । अलि–अलि होइन–होइन जस्तो पनि लाग्छ । खाने मुखलाई जुँगाले छेक्दैन भन्छन् । तर, इनरुवाको राजनीतिक अल्पमत र बहुमतको गोलचक्करमा घोषणा–पत्रका कुन–कुन कुरा भुमरिएर जाने हुन्, अहिले अनुमान गर्न गाह्रो छ । चार वर्ष अझै बाँकी छ ।
एकदिन नगरपालिकाअगाडिको चिया दोकानमा म थिएँ । छेउमा कालुराम गुरुङ पनि थिए । तीन नम्बर वडाका वडाध्यक्ष । सुरुमा चिन्दा उनी मालपोतमा लेखापढी गर्थे । पछिल्लो समय उनैलाई नगरको प्रवक्ता बनाइएको थियो । काम गर्ने वातावरण नभएको भन्दै अहिले प्रवक्ताबाट राजीनामा दिएका छन् ।
प्रसङ्ग उनैले उक्काए । राजन मेहताले चुनाव जितेपछिको पहिलो पत्रकार सम्मेलनमा बाँडेको ५९ बुँदे कार्यतालिकाको कुरा थियो ।
‘कस्तो हावा–हावा कुरा रै’छ भने त्यसमा,’ उनले भने, ‘चार–पाँच वटा बुँदामा चाहिँ मैले स्वार्रर रातो मसीले केरिदिएँ ।’
त्यसमा भएका सबै कुरा मैले नै ड्राफ्ट गरेको हो भन्ने सायद उनलाई थाहा थिएन त्यो बेला ।
‘के थियो हौ त्यस्तो, त्यसमा गर्नै नसकिने कुरा ?,’ विस्मित हुँदै मैलै सोधेँ । उनलाई म पत्रकार हुँ भन्ने कुरा चाहिँ राम्ररी थाहा छ ।
उनले आफूले असम्भव भनी काटेका विभिन्न बुँदाहरूमध्ये पत्रकारितासँग जोडिएको एउटा बुँदा सुनाए ।
२६ औँ बुँदा । नगरका पत्रकारहरू सङ्गठित गरी ६ महिनाभित्र रङ्गीन अखबार निकाल्न पत्रकार तथा सरोकारवालाहरूसँग अन्तक्र्रिया गर्ने । कार्ययोजना बनाउने ।
‘छ महिनाभित्र इनरुवाबाट रङ्गीन पत्रिका निकाल्न सकिन्छ ?, उनले प्रश्न आफैँ सिर्जना गरे र जवाफ पनि आफैँले दिए, ‘कुनै हालतमा निकाल्न सकिँदैन ।’
अब के भन्ने यस्ता जन–प्रतिनिधिलाई । कुरै नबुझी प्रतिक्रियावादी भइदिन्छन् । त्यो बुँदामा पत्रिका निकाल्ने होइन, निकाल्ने बारेमा सरोकारवालासँग अन्तक्र्रिया गर्ने प्रसङ्ग उल्लेख छ । पत्रकार र सरोकारवाला भेला गरेर अन्तक्र्रिया गर्छुु भन्नु कुन पहाड उचाल्ने कुरा हो ?
म फिस्स हाँसे मात्र । उनी आफैँ पत्रिका प्रकाशन व्यवसायसँग पनि जोडिएका मान्छेलाई कुनै जवाफ फर्काउनु उचित लागेन ।
राजन मेहताले नगरसभामा मलाई सहयोग भएन भनेको सुन्दा अचानक मैले पुरानो यो घटना सम्झिएँ ।
…
गङ्गा दाइको घरअगाडि एउटा शिव मन्दिर रहेछ । त्यसैको साधारणसभामा नगरप्रमुख निम्त्याइएका रहेछन् ।
धेरैपछि गङ्गा दाइसँग भेट भयो । इनरुवाका छिमेकी गङ्गाराम मण्डल सरसँग भेट भयो । सुरज खड्कासँग पनि भेट भयो । नेत्रे–नेत्रे भन्थ्यौँ हामी । साह्रै मिल्ने साथीमध्येको एक हो ऊ । अरुण भाइसँग भेट भयो । म स्वयम्मा एउटा हिन्दूवादी अभियन्ता त छँदै थिएँ ।
एक प्रकारले निकै भावनात्मक वातावरण थियो त्यहाँ । साँचो अर्थमा अथिति भएर पुगेको । आयोजकले कार्यक्रमको पूर्व सूचना दिएर बोलाइएको थिइनँ म ।
बिचमा मेरो बोल्ने पाली आयो ।
अलिकति धर्मका विषयमा बोलेँ । भनेँ, ‘यो देशमा अदालतले हत्यारा प्रमाणित गरेको, धर्म निरपेक्षतावादी भनिएको बालकृष्ण ढुङ्गेललाई फूलमाला लगाएर जेलबाट निकालिन्छ र हिन्दू धर्म जागरणका लागि आफूलाई आहुति दिन तयार श्रीनिवासलाई घोक्रेठ्याक लगाएर जेलमा कोचारिन्छ । तर पनि हिन्दूहरूमा जागरण आउँदैन । के हुँदैछ यो देशमा ? मनैदेखि आदर गर्न मन लाग्ने हिन्दूवादी नेता किन छैन कोही ?
अलिकति घोषणा–पत्रका विषय बोलेँ । ‘डुम्राहा, भिठ टोलअन्तर्गत पर्ने रामधुनी वन क्षेत्रको संरक्षण गरी, ताल, झोलुङ्गे पुल, मिनी चिडियाखाना, चिल्ड्रेन पार्कसहितको पर्या–पर्यटन एवम् वनभोजस्थलका रूपमा विकास गर्ने । त्यहाँसम्म जान–आउन नगरको मुख्य बजारबाट दुई लेनको सडक निर्माणका लागि केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गर्ने,’ कुरा घोषणा–पत्रमा छ । यदि सबै मिलेर यो काम गर्न सकियो भने डुम्राहाको कायापलट हुनेछ । यो गर्न सकिन्छ । चार वर्षमा यसको परियोजना प्रस्ताव तयार गरी केही काम थाल्न सकियो भने इटहरीले तालतलैयाबाट जति फाइदा लिइरहेको छ, त्यो भन्दा कम हुने छैन यहाँ । तर, यसका लागि डुम्राहाका सबैले खबरदारी गर्नुप¥यो । साथ पनि दिनुप¥यो ।
बाँकी बालककालमा आफूले अर्ताको धूलोमाटोमा लडीबुडी खेलेको कुरा गरेँ ।
‘हैट्, गुरु के थाहा मलाई,’ फर्किने बेलामा राजन मेहताले भने, ‘मैले जानी–नजानी तपाईलाई, तपाईकै घरको आँगनमा पो लिएर गएँछु ।’
०००
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।