एकपटक एउटा प्रतिष्ठित विद्यालयका प्रधानाध्यापक एवं शैक्षिक विशेषज्ञसँग गहिरो संवाद गर्ने अवसर मिलेको थियो। सो संवाद दौरान उहाँले फ्रस्ट्रेसनमा जिज्ञासा राख्नुभयो, ‘जीवनमा के हुँदै छ? जीवन कता गइरहेको छ? किन अगाडि बढ्न सकिएन? यी प्रश्नहरूले मलाई पिरोलिरहेका छन्। तपाईंको मनमा यस्ता प्रश्नहरू उत्पन्न हुँदैनन् भन्या?’ निसंकोच उहाँको जिज्ञासामा आफ्नो पनि स्वीकारोक्ति व्यक्त गरेँ। तपाईं हामी सबैको मनमस्तिष्कमा ती प्रधानाध्यापकलाई जस्तै फ्रस्ट्रेसन, निराशा, असन्तुष्टि भाव तथा विविध प्रश्नहरू उत्पन्न हुन सक्छन्। यस्तो अवस्था जीवनको कुनैपनि मोडमा सिर्जना हुन सक्छ। यसको पछाडि धेरै कारणहरू हुन सक्छन्, जस मध्ये जीवनमा फोकस्ड हुन नसक्नु अथवा पूर्ण ध्यान केन्द्रित गर्न नसक्नु एक प्रमुख कारण हो।

कसरी ?

कुनै पनि व्यक्तिको ध्यान केन्द्रित गर्न सक्ने क्षमता र उसको करिअर अर्थात् भविष्य निर्माणबीच पारस्परिक सम्बन्ध रहन्छ। यो हरेक क्षेत्रमा उत्तिकै लागू हुन्छ। जस्तैः शैक्षिक, समाजसेवा, व्यवसाय, सम्बन्ध आदि। मानौँ हामी शैक्षिक क्षेत्रमा संलग्न छौँ। यस क्षेत्रमा पूर्ण ध्यान केन्द्रित गर्न सकिएन भने कार्य प्रभावकारी हुन सक्दैन। ढिलासुस्ती हुन्छ। अपेक्षित परिणाम प्राप्त हुँदैन। उत्पादकता बढाउन सकिँदैन। संक्षेपमा भन्नुपर्दा, शैक्षिक क्षेत्रमा करिअर निर्माण गर्न सकिँदैन। जीवनमा अगाडि बढ्न सकिँदैन। अन्ततः तीनै प्रधानाध्यापक जसको सुरुमा चर्चा गर्यौँ, उनकै जस्तो नियति भोग्न बाध्य हुन्छौँ। यसो भनौँ, निराशामा र असन्तुष्टिमा बाँच्न पुग्छौँ।

ध्यान केन्द्रित गर्न नसक्नुका कारणहरू

तथ्याङ्कअनुसार कम्प्युटर अगाडि काम गर्ने एक साधारण व्यक्तिको प्रत्येक ४० सेकेण्डमा ध्यान भङ्ग हुन्छ। यसको अर्थ हो, हामी पूरा एक मिनेट समय पनि कार्य गर्न सक्दैनौं। विभिन्न अनुसन्धानले एकपटक ध्यान भङ्ग भएको अवस्थामा पुनः ध्यान केन्द्रित गर्न २० मिनेट भन्दा बढी समय लाग्ने पुष्टि गरेको छ। आखिर किन हामी ध्यान केन्द्रित गर्न सक्दैनौं? निम्न कारणहरू रहेका छन्:

कारण एक, असीमित विकर्षणहरु।

अहिलेको संसार अधिक सुचनाले भरिपूर्ण संसार हो। अर्को शब्दमा भन्नुपर्दा, विकर्षणहरु असीमित मात्रामा चारैतिर छरिएका छन्। यस्तोमा मानवीय मस्तिष्कको ध्यान प्रणाली यसरी विकसित भएको हुन्छ कि हामी कुनै नवीन, आनन्ददायी र खतरनाक चीजहरुप्रति, विकर्षणहरुप्रति अत्याधिक आकर्षित हुन पुग्छौँ। त्यसैगरी हामी कार्यरत संस्थामा पनि विकर्षणहरुको कुनै कमी हुँदैन। प्रायःजसो खुला अफिस वातावरणमा काम गर्नुपर्ने हुन्छ। गोपनीयताको सुनिश्चितता हुँदैन। यस्तो वातावरणमा अनुसन्धानअनुसार विकर्षित हुने सम्भावना ६४ प्रतिशत हुन्छ। सहकर्मी साथीहरुबाट बारम्बार अवरुद्ध खडा हुन सक्छ। अनेकन प्रस्ताव ल्याउन सक्छन्। यस्तो परिस्थितिमा हामी ‘नो’ भन्न वा अस्वीकृतिको भाषा बोल्ल सक्दैनौँ। जसले गर्दा, हाम्रो समय तालिका अनावश्यक कामले भरिन्छ। परिणामस्वरूप हामीलाई के गरौँ, कताबाट सुरु गरौँ भन्ने दुविधा हुन्छ। भनाइको मतलब, हामी ध्यान केन्द्रित गर्न सक्दैनौं।

कारण दुई, बहुकार्यमा आवद्ध हुनु।

नोवेल पुरस्कार विजेता मनोवैज्ञानिक ड्यानियल काहमेनको अध्ययनले हामी सीमित समयावधि मात्र ध्यान केन्द्रित गर्न सक्छौँ भन्ने पुष्टि गरेको छ। त्यसैगरी सन् २००९ मा ‘युनिभर्सिटी अफ मिन्नेसोटा’ का व्यवसाय प्राध्यापक सोफि लुरोयले एउटा प्रभावबारे अनुसन्धान प्रकाशित गरेकी थिइन्। त्यो थियो ‘एटेन्सन रेजिड्यु’ जसलाई ‘ध्यान अवशेष’ पनि भनिन्छ। उनको अध्ययनले कुनै एक कार्यमा संलग्न हुँदै गर्दा अचानक अर्को नयाँ कार्य सुरुवात गरियो भने, मस्तिष्कमा पहिलेको कार्य गर्दाको ध्यान अवशेष यथावत् रहने, त्यस नयाँ कार्यमा तत्काल ध्यान केन्द्रित गर्न नसकिने र मस्तिष्कले पहिलेकै कार्यबारे सोच्ने प्रमाणित गरेको छ। सो अध्ययनले एक कार्य सम्पन्न गरेर अर्को नयाँ कार्यमा हात हाल्दा समेत त्यस कार्यमा सतप्रतिशत ध्यान केन्द्रित गर्न नसकिने पनि प्रमाणित गरेको छ। यी दुई अध्ययनबाट हामी बहुकार्य गर्न सक्ने मेसिन होइनौं भन्ने स्पष्ट हुन्छ। र पनि हामी बहुकार्य गरेमात्र जीवनमा छलाङ्ग मार्न सकिन्छ भन्ने भ्रम पाल्छौँ। एकैपटक धेरै कार्यमा संलग्न हुन्छौँ। फलस्वरुप कुनै एक कार्यमा पूर्ण रुपमा ध्यान केन्द्रित गर्न असफल हुन्छौँ।

कारण तीन, मुख्य लक्ष्य थाहा नहुनु।

एउटा विमान चालकले आफ्नो गन्तव्य, उद्देश्यबारे स्पष्ट भएपछि मात्र त्यस दिशातर्फ उडान भर्ने कार्यमा ध्यान केन्द्रित गर्न सक्छ। त्यसैगरी एक व्यक्तिले आफ्नो जीवनको प्रमुख उद्देश्यबारे स्पष्ट भएपछि मात्र त्यस उद्देश्य प्राप्तिकालागि सहयोग गर्ने कार्यमा ध्यान केन्द्रित गर्न सक्छ। अधिकांश हामीलाई जीवनको प्रमुख उद्देश्य थाहै हुँदैन। जुनसुकै कार्यमा सक्रिय हुन पुग्छौँ। यसो गर्नु भनेको धेरै निर्णयहरु गर्नु हो। जसकारण मस्तिष्क थकित हुन्छ र पर्याप्त ध्यान दिन सकिँदैन। यति मात्र होइन, कुनै एक कार्य गर्नुको प्रमुख उद्देश्य, कारणबारे हामी अनभिज्ञ हुन्छौँ। त्यसैले त्यस कार्य सम्पन्न गर्नमा प्रेरित हुन सक्दैनौं। ध्यानाकर्षण गर्न सक्दैनौं।

कारण चार, प्रशिक्षणको कमी ।

प्रायः ध्यान दिन सुझाव दिइन्छ, तर कसरी ध्यान दिने वा ध्यान केन्द्रित गर्ने भन्ने सिकाइएको हुँदैन। उचित प्रशिक्षण उपलब्ध हुँदैन। पूरै विद्यार्थी जीवनमा एक चीज सामान्य रहन्छ। सबैले गुरु तथा पारिवारिक सदस्यहरुबाट ध्यान दिएर पढ्नु, ध्यान दिएर सुन्नु, ध्यान दिएर लेख्नु भन्ने जस्ता सुझावहरु सुनिरहेका हुन्छन्। यद्यपि यसरी ध्यान केन्द्रित गर्ने भन्ने तरिका भने पाएका हुँदैनन्। त्यसैगरी पेशागत, व्यवसायिक जीवनमा पनि ध्यान दिएर रणनीति तय गर्नु, काम गर्नु, ध्यान दिएर अगाडि बढ्नु भन्ने जस्ता सुझावहरु सामान्य रुपमा उपलब्ध हुन्छन्। यद्यपि कसैले पनि यसरी ध्यान केन्द्रित गर्ने भन्ने तरिका पाएका हुँदैनन्। त्यसैले ध्यान केन्द्रित कसरी गर्ने भन्ने सिकाइ, प्रशिक्षण र अभ्यासको अभावमा हामी सजिलै विकर्षित हुन पुग्छौँ।

केही सशक्त विधिहरू

ध्यान केन्द्रित गर्न, उत्पादकता बढाउन, सन्तुष्टिको स्तर बढाउन निम्नानुसारको विधिहरू अवलम्बन गर्न सकिन्छ:

  • दैनिक ध्यानको ढाँचा बुझ्ने

‘द माइण्ड अफ द लिडर’ पुस्तकको लेखक रासमुस हुगार्ड र सह-लेखिका ज्याकलिन कार्टरले सञ्चालन गरेको अध्ययनबाट दैनिक ध्यानको ढाँचा बुझ्न सकिन्छ। उनीहरुको अध्ययनले विहान ८ बजे ध्यानको स्तर अति उच्च रहने, ९ बजे ध्यानको स्तर मध्य स्तरको रहने, दिउँसो एकदेखि दुई बजेसम्म ध्यानको स्तर अति न्यून रहने, दुई बजेपछि ध्यानको स्तर बिस्तारै बढ्ने र अन्तमा बेलुकी ८ देखि ९ बजे ध्यानको स्तर उच्च रहने पुष्टि गरेको छ। यो दैनिक ध्यानको ढाँचा व्यक्तिअनुसार हल्का फरक पर्छ। त्यसैले ध्यान केन्द्रित गर्न चाहनुहुन्छ भने, आफ्नो दैनिक ध्यानको ढाँचा बुझ्ने कोसिस गर्नोस्। सोहीअनुरुप कार्य योजना तयार गर्नोस्। कुन समयमा कुन कार्य गर्ने, त्यसको यकिन गर्नोस्। उदाहरणार्थ तपाईंको सबैभन्दा महत्वपूर्ण कार्य कुन हो? तपाईंको ध्यानको स्तर अति उच्च रहने समयमा त्यो कार्यमा सक्रिय रहनोस्। यदि तपाईं यसो गर्नु हुन्छ भने कार्यमा पूर्ण ध्यान केन्द्रित गर्न सक्नुहुन्छ र अपेक्षित परिणाम प्राप्त गर्न सक्नुहुन्छ।

  • ध्यान प्रभावित गर्ने कारकहरु पत्ता लगाउने

हाम्रो ध्यान प्रभावित गर्ने कारकहरु शारीरिक र मानसिक दुवै हुन सक्छन्। शारीरिक कारकहरुमा सुताइ, व्यायाम, खानाहरु पर्छन्। एक साधारण व्यक्तिले कम्तीमा दिनको आठ घण्टा सुत्नुपर्छ। तर सुताइ पर्याप्त हुन सकेन भने ध्यान केन्द्रित गर्ने क्षमता घटेर जान्छ। नियमित व्यायाम र स्वस्थकर खानाले ध्यान केन्द्रित गर्ने क्षमतामा सकारात्मक प्रभाव पर्छ। यसको ठीक विपरीत नियमित व्यायाम हुन सकेन, खाना उपयुक्त भएन भने ध्यान केन्द्रित गर्ने क्षमतामा नकरात्मक प्रभाव पर्छ। केही उदाहरणहरू लिउँ। कफीले निदाउरोपन हटाउने भएपनि ध्यान तितरबितर गराउँछ। पेयपदार्थ ध्यान केन्द्रित गराउने उचित विकल्प हुन सक्दैन।

त्यसैगरी मानसिक कारकहरुमा नकारात्मक र सकारात्मक भावनाहरु पर्छन्। नकारात्मक भावनाहरुले ध्यान केन्द्रित गर्ने क्षमता घटाउँछन् भने सकारात्मक भावनाहरुले ध्यान केन्द्रित गर्ने क्षमता बढाउनुका साथै समग्र बुझाइको ढोका खोलिदिन्छन्। त्यसैले कुनैपनि कार्यमा आवद्ध हुँदा ध्यान केन्द्रित गर्नको निम्ति ध्यान प्रभावित गर्ने कारकहरुबारे जानकार रहनोस्।

  • विकर्षणहरु पूर्णरूपमा हटाउने

विकर्षणहरु बाह्य पनि हुन सक्छन्, आन्तरिक पनि हुन सक्छन्। बाह्य विकर्षणहरुमा टिभी, रेडियो, फोन, सहकर्मी, बच्चाबच्चीहरु आदि पर्छन् भने आन्तरिक विकर्षणहरुमा चिन्ता, दुष्चिन्ता, आत्मविश्वासको कमी आदि पर्छन्। ध्यान केन्द्रित गर्न यी यावत् विकर्षणहरु पूर्ण रुपमा हटाउन सक्नुपर्छ। मानौँ तपाईं कार्यक्षेत्रमा ध्यान केन्द्रित गर्न सकिरहनु भएको छैन। यस्तोमा आफ्नो ध्यान भङ्ग गराउने पाँच विकर्षणहरु कापीमा टिपोट गर्नोस्। जुन यस प्रकारका हुन सक्छन्: फोनको घण्टी, अव्यवस्थित कार्यकक्ष, ग्राहकको आवतजावत, असहयोगी सहकर्मी र विषाक्त कार्यकारी निर्देशक। अब तपाईं यी विकर्षणहरु हटाउन के गर्न सक्नुहुन्छ, ती कार्यहरु कापीमा टिपोट गर्नोस्। जुन यस प्रकारका हुन सक्छन्: फोनको घण्टी सानो बनाउने, साउण्ड प्रुफ सिस्टम जडान गर्ने, कार्यकक्षबाट अनावश्यक वस्तुहरू हटाउने, आफ्नो उपलब्धता तय गर्ने र कार्यकारी निर्देशकसँग खुला संवाद गर्ने। यही किसिमको रणनीति शिक्षा, सम्बन्ध लगायत व्यवसायमा पनि लागू गर्न सक्नुहुन्छ। जसकारण तपाईं ती क्षेत्रमा पनि पूर्ण ध्यान केन्द्रित गर्न र ठूलो उपलब्धि हासिल गर्न सक्नुहुन्छ।

  • ब्याचमा काम गर्ने

ब्याचमा काम गर्दा कुनै एक महत्वपूर्ण कार्य छनोट गरिन्छ। त्यही कार्यको लागि सम्पूर्ण समय, उर्जा र पैसा लगानी गरिन्छ। कार्य सम्पन्न नहुँदासम्म अर्को नयाँ कार्यका बारेमा सोच्ने गरिँदैन। भनाइको तात्पर्य, बहुकार्य गरिँदैन। ब्याचमा कार्य कसरी गरिन्छ भन्ने थप बुझ्न अमेरिकी मनोवैज्ञानिक एवं लेखक एडम ग्रान्टबारे चर्चा गरौँ। एडम ह्वार्टन स्कूलका सबैभन्दा कान्छो प्राध्यापक हुनुका साथै बेस्टसेलर लेखक हुन्। उनी विभिन्न शिक्षण पुरस्कारहरुले पनि सम्मानित छन्। उनले यो स्तरको सफलता ब्याचमा काम गरेरै हासिल गरेका हुन्। उनको कार्यशैली यस प्रकारको छ। उनी शैक्षिक सत्रभरि पढाउने काम मात्र गर्छन्। त्यसपछि आफ्नो अनुसन्धानमा व्यस्त रहन्छन्। कसैलाई भेटको लागि समय दिँदैनन्। त्यसैगरी उनी लेखन कार्य पनि ब्याचमा गर्छन्। एउटा प्रकाशन गर्न योग्य आलेख तीन चरणमा लेख्ने गर्छन्। पहिलो चरण, तथ्याङ्क संकलन। दोस्रो चरण, पूर्ण ड्राफ्ट लेखन। तेस्रो चरण, संपादन। यो प्रक्रिया तीनदेखि चार दिनसम्म चल्छ। यस अवधिमा उनलाई सम्पर्क गर्न सकिँदैन। विकर्षण नहोस् भनेर इमेलमा ‘आउट अफ अफिस’ अटो रेस्पोन्डर सेट गरेका हुन्छन्। त्यसैले यदि ध्यान केन्द्रित गर्न चाहनुहुन्छ भने, एडम ग्रान्टले जस्तै ब्याचमा कार्य गर्नोस्। बहुकार्यमा आवद्ध नहुनुहोस्।