साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चपेटा संस्मरण 

थाहा छैन यो शिलशिला कहिलेसम्म चल्छ, जहिलेसम्म चल्छ तबसम्म हरेक शक्तिले जीवनमा आफूलाई सङ्कटमा पार्ने, सङ्कटमा साथ छोड्ने र सङ्कटको घडीमा साथ दिनेलाई भल्नु हुँदैन।  

हरेक अँध्यारो सुरुङको पल्लोछेउमा उज्यालोको सङ्केत हुन्छ। फूलहरूको सुरक्षाको लागि जतिसुकै बार हाले तापनि एक दिन त्यो फूल ओइलाएर वा सुकेर झर्छ झर्छ । यो सत्य सबैलाई थाहा छ, के फूलहरू ओइलाउँछन् भनेर बार लगाउन नै छाडिदिने ?
यो जमानामा मान्छेको नैतिकता फेरिन बेरलाग्दो रहेनछ । खै कहाँ र कुन शब्दबाट सुरु गरूँ ? भनिन्छ, जिब्रोमा हाड हुँदैन तर त्यही हाड नभएको जिब्रोले चाह्यो भने अनेकौं हाडहरू भाँचिदिन सक्छ । शरीरमा हतियारले पुर्याएको चोट कालान्तरमा पुरिदै जान्छ तर वचनले पुराएको मनको खत जीवनभर कहिल्यै पुरिँदैन।
यो ‘चपेटा संस्मरण’लाई स्मरण गरेर लेख्नेक्रममा कसैको भावनासँग मेल खान गएमा क्षमा याचनाको साथमा संयोग मात्र हुन गएको भन्न चाहेँ । ‘एक्लो वृहस्पति’ शुद्ध भन्ने समाजमा विवेकको निर्णय कमै हुन्छ, त्यसैले यहाँ सत्यको हार र असत्यको जित हुन्छ ।
हाम्रो समाजका केही अविवेकी र अधर्मी व्यक्तिहरूले आफ्नो स्वार्थपूर्ति र शत्रु साधनको हिसाबले हामीमाथि षडयन्त्र गरी व्यापक प्रचार गरियो, कसैले पत्याएर भने कसैले पत्याएनन्, शङ्का र उपशङ्काकै भरमा र कसैले बोलेकै भरमा मुद्दा दायर गरी कारबाही अगाडि बढाइयो । शङ्का भनेको त विनानिर्क्योल र सत्यविनाको मन भित्र-भित्रै गरिने एकप्रकारको निर्णय हो । तर त्यही गलत कार्यलाई सही ठानेर गरिएको क्षणभरको खुसी र स्वार्थको नतिजा त्यही समाजले भोग्नुपर्दा के राम्रो भएको होला र ?
प्रत्येक व्यक्तिले आफ्नो जीवन यात्रामा विभिन्न प्रकारमा मोडहरू पार गर्दै जानुपर्ने हुन्छ, व्यक्तिले त्यस्ता असह्य परिस्थितिहरूलाई कसरी ग्रहण गर्छ ? समस्या ढिलो या चाँडो समाधान हुन्छ, त्यसैमा भरपर्छ र त्यस्ता कठिन मोडहरूमध्ये जेलजीवन पनि एक हो । जहाँ व्यक्तिहरूले अनेकौं मानसिक तथा आर्थिक समस्या भोग्नुपर्छ भने जेलजीवन मुक्त भएपछि पनि थप सामाजिक सङ्गर्ष गर्नुपर्ने हुन्छ । यसरी नै बन्द परिवेशभित्र स्थिर भएको दिमागलाई उपलब्धीमूलक क्षेत्रमा चलायमान गर्नुपर्ने आफैँमा कम सङ्घर्षको कुरा होइन । अचानक भोग्नुपर्ने यस प्रकारको असहज स्थितिले व्यक्तिलाई मानसिक रूपमा बिराम बनाउनसक्छ ।
परिवार तथा पुनः त्यही समाजबाट हेरिने दृष्टिकोणमा एकाएक आउने परिवर्तनले उनीहरूलाई थप मानसिक पीडा दिने कर्म गरेको हुन्छ । कारणवश परिबन्धमा जेलको चिसो छिँडीमा बस्नुपर्दा थप मानसिक रूपमा कमजोर बनाउने गर्दछ ।
परिबन्धको चौथो वर्षसम्म आइपुग्दा यो कष्टकर समयमा मलाई साथ र सहयोग गर्नुभएको सबै प्रियजनहरूलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु तथा आभार प्रकट गर्न चाहन्छु । आजको समयसम्म भोगेका मेरा तितामिठा पलहरूको सङ्गालोहरूलाई फर्किएर हेर्दा किस्ता-किस्तामा सम्हालिएको यो जीवनले दिएको योग-वियोगका कोसेलीहरूमा भेटिएका अमिट मित्रहरू, शत्रुहरूले दिएको अनुभव र ज्ञानरूपी सम्झनालाई यो यात्राको साक्षी मानेर अगाडि बढ्ने प्रण गरेको छु ।
“धेरै कुरा बिर्सियो अझै केही कुराहरू सम्झिन बाँकी छन्,
जसभित्र कोरिएका जीवनको सुन्दर नक्साहरू अझै थातिछन् ।”
थाहा छैन यो शिलशिला कहिलेसम्म चल्छ, जहिलेसम्म चल्छ तबसम्म हरेक शक्तिले जीवनमा आफूलाई सङ्कटमा पार्ने, सङ्कटमा साथ छोड्ने र सङ्कटको घडीमा साथ दिनेलाई भल्नु हुँदैन।
धेरै माया दिनु हुने, मिठो साथ दिनु हुने, कष्टका घडीमा साथमै रही उभिनु हुने र बाटो बिराउँदा मार्गदर्शन गर्दै हौसला र प्रेरणाले आत्मियता प्रदान गर्दै सकारात्मक मार्गमा लाग्न आत्मविश्वास जगाई मलाई भरोसा गर्नु हुने, मेरो साथमै हुनुभएको दलवीर कुमार, महिला बन्दीगृहतर्फ रहेकी मेरी प्यारी बहिनी हिमाल कुमाल, आदरणीय पुरुष बन्दीगृहका पुरुष दाजु दुर्गा अधिकारी दाजु, राजकुमार श्रेष्ठ दाजु, समस्त कारागार भाइबन्दु तथा नाइके साथीहरू र मेरो सदा दु:ख उत्सवमा साथ दिने मेरो घरपरिवारका दिदीबहिनीहरूमा आभार व्यक्त गर्न चाहन्छु ।
प्रतिक्रिया
Loading...