साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कुकुर-बिरालाेकाे खेल

उठ्नुस् उठ्नुस् अब हामी बोल्नै पर्छ । स्वार्थ पोतिएका राजनैतिक झण्डाहरु उठाउने यी हातहरु अन्यायको विपक्षमा किन नउठ्ने ?

नमस्कार नमस्कार नमस्कार …. आरामै हुनुहुन्छ ?

मान्छेको जिन्दगी भनेको अनौठो रहेछ हेर्नुस्, कतिखेर के पर्छ कसैलाई पत्तै नहुने । आँखा झिम्क्याइको तालमा, नविन्द्रराज जोशी फुसुक्क भैगए । कति सजिलो रैछ जानलाई, अनि अनौठो पनि; जानै पर्ने बेला भएसी कसैले छेक्नै नसक्ने रैछ । केहीले रोक्ने नसक्ने रैछ ।

अलबिदा नविन्द्र । ढिलो चाँडो मात्र न हो, हाम्रो पनि बाटो त त्यही हो ।

तपाईंहरु पनि श्रद्धाञ्जली भन्नुस् के ! राम्रा मान्छे थिए । जोकसैको जन्म र मृत्युको कुनै पार्टी हुँदैन । जन्म र मृत्युको कुनै आस्था हुँदैन । साँच्चै मान्छे जन्मदा कुनै पनि धर्म, भाषा,  संस्कृति, रहनसहन, पार्टी, धनदौलत, पहिरन लिएर जन्मदैन र जाँदा पनि केही लिएर जाँदैन । र, यो सत्य हो — दुनियाँका हरेक प्राणीको जन्म र मृत्यु एउटै छ । न यसलाई कसैले चलाउन सक्छ, न भत्काउन नै ।

यो दुनियाँमा जन्म र मृत्युमात्र पबित्र प्रकृयाहरु हुन् । यिनलाई कसैले चलमलाउन सक्दैनन् । जन्म र मृत्युबीचमा एउटा दूरी छ । हो त्यो दूरीचाहिँ सधैँजसो अपबित्र कहलिइरहन्छ । खासमा त्यो जन्म मृत्युबीचको दूरीले जे पनि गर्न सक्छ । जहाँ पनि पुर्याउन सक्छ । त्यही अपबित्र दूरीको नाम हो, जिन्दगी ।

बेलाबेला सोच्ने गर्छु हामीले जन्मदै भविष्यमा यो यो गर्छु, यो यो बन्छु, यहाँ यहाँ जान्छु, यस्तो खान्छु भन्ने कुरा थाहा हुनु भने जिन्दगी कस्तो हुँदो होला ?

मानिलिऊँ, तपाईं भर्खर जन्मिएको बच्चा हो । र, तपाईंको न्वारानको दिन पुरोहितले तपाईंको कानमा तपाईंको नामसँगै तपाईंको भविष्य पनि बताउँदै छन् ।

कल्पनुस् त, टक्क लगाएर बेलैदेखि आफ्नै भविष्यको बाटोमा हिँड्ने, दुनियाँदारी, बकम्फुसे, बेमतलबी कुराहरुमा ध्यानै नदिने । जिन्दगीलाई बेअर्थमा अल्झाइरहने अखडम् बखडम् नभैदिए कस्तो मस्त हुँदो हो हगि !

कल्पनु भयो ? कल्पदै गर्नुस् है, कल्पदै । पानी बसाएर ।

अकबरे

कहिलेकहीँ मेरो मगजमा परिपरिका ख्यालहरु आउने गर्छन् । म घन्टौँसम्म बेअर्थका सोचहरुमा घुमिबस्छु । बेला बेला त लाग्छ, म यो मामुली च्या व्यापारी नभएर साहित्यकार भएको भए के के लेखिभ्याउँथेँ होला ! कति चर्चित भैसक्थेँ हुँला ! आफन्तका नाममा वरिपरि आफूले लेखेका किताबहरु छरप्रष्ट हुन् । तिनै किताबहरु पल्टाऊँ, सुम्सुम्याऊँ, छेउछाउमा केही पाठक शुभचिन्तक हुऊन्, अहो ! तर, कर्मले च्यादानीको उझिन्डो पकड्न लेखिदियो । जुठा गिलासहरु मोल्न लेखिदियो ।

उसो त म यो च्या बेच्ने कर्मबाट दुःखी भने छैन । हुन त मैले पनि पार गरें जिन्दगीका अनेक घुम्तीहरु, अनौठा मोडहरु । त्यही पनि जीवन गुजार्न मैले गरेको यो कर्म निकै लोभलाग्दो लाग्छ । चित्तबुझ्दो अर्थ नदिए पनि अरु धेरैथोक दिएको छ यसले मलाई । साँच्चै मान्छेले आफ्नो कर्ममा रमाउन सक्यो भने धेरैथोक कमाउँदो रहेछ । कर्ममा रमाउँदा धेरैथोक पाउँदो रहेछ । च्या पिउने मान्छेहरु नभएको बेला यसो बस्छु र झोक्राउँछु । आफैँलाई ऐनामा हेर्छु । पानी बसायो, दूध चिनी मिसायो, च्यापत्ती हालेर केहीछिन पकायो फेरि छानछुन पारेर तैर्यायो, अलिकति मसला हाल्यो र मुसुक्क मुस्कुराएर ग्राहकका हातमा थमाइदियो । विचार गर्नुस् त, कति रचनात्मक काम छ यो ! विचार गर्नुस् त, कति धेरै कुराहरुको ख्याल गर्नुपर्छ ! दिमाग सुस्ताउनै पाउन्न ।

म च्या व्यापारमा यसरी रत्तिनुको पछाडि अनेक कारणहरु छन् । त्यतातिर नअल्झिऊँ । त्यही पनि एउटाचाहिँ भन्नैपर्छ, सुरु सुरुमा मैले यो पेसा बाध्यताले गरें । मेरो दैनिकीमा च्या बेच्नैपर्ने बाध्यता थियो । मेरो मगजमा एनिहाउ च्या बेच भन्ने प्रेसर थियो । त्यतिखेर मेरो खासै च्या बिक्दैन थियो । म पसल पसल च्या पुर्याउन कुध्थें । एकछिनमा रित्ता गिलास उठाउन पुग्थें । कत्तिले महिना दिनसम्म च्या पिएपछि बल्ल पैसा दिन्थे । उतिबेला मलाई लाग्थ्यो, कुन दिनमा यो खाडलमा जाकिएछु ! कुन दिनमा यो च्यादानीको उझिन्डो समाएछु !

खासमा भन्ने हो भने मेरो नजरमा आफ्नो कामप्रति शक्त नफरत थियो । म आफ्नै कामलाई घृणा गर्थें । यसरी कामलाई बोझको रुपमा लिएर होला, मेरो अनुहार पनि उज्यालो हुन्थेन सायद । खासै बोल्ने बानी पनि थिएन । ग्राहकहरुसामु वाथ्थ पर्दो हुँ त्यसैले पनि होला मेरो व्यापार खासै थिएन । व्यापार सिर्फ व्यापार मात्र हैन रहेछ । व्यापार भन्नु यौटा कला पनि रहेछ ।

एउटा कर्म निरन्तर गरेपछि रस भिज्दै जाँदो रहेछ । यसरी चाहिँ भनौं; यौटै शब्द बारबार दोहोर्याएपछि उच्चारण सहज हुन्छ । सम्झनुस् त, बालापनमा कपुरी क सिक्न कति समय लागेको थियो ! क लेख्नका निम्ति कतिपटक पिटाई खानुभएको छ, सम्झनुस् त सम्झनुस् । अनि अहिले निमेसभरमै कतिपटक क लेख्न सक्नुहुन्छ ? हो, कर्म पनि यस्तै रहेछ । जति गर्दै गयो उति सरल हुँदै जान्छ । जति गर्दै गयो उति आद्धत बढ्दै जान्छ ।

कर्म आफैँमा एउटा अम्बल रहेछ, दूध मिसाएर ।

विस्तारी नशामा डुब्दै गएपछि हरेक कुराले बढ आनन्द दिन थाल्छ । चुरोट नपिउनेहरुलाई हेर्नुस् त ‘के होला र नाथे धुवाँ मा’ ? अनि चुरोटका अम्बलीलाई हेर्नुस्, त्यही धुवाँका लागि कति धेरै तड्पिन्छन् !

जसरी मैले मेरो मगजबाट च्या बेच्नुपर्ने बाध्यतालाई पाखा लगाउँदै लगें, विस्तारी मेरो पसलको रौनक पनि फेरिदै गयो । ग्राहकहरु थपिदै गए । च्यामा पनि स्वाद फेरिदै गयो । कर्ममा सफल हुन सबैभन्दा मुख्य कुरा कर्ताको सोच रहेछ ।

पहिले म कमाउनका लागि च्या बेच्थें । पछिपछि च्याले आफैं पैसा कमाइदिन थाल्यो । यसबाट मैले के सिकें भने चाहिएको कुरालाई फरक फरक तरिकाले हाँसिल गर्न सकिँदो रहेछ । हैन हैन, कर्मले आफैं आफ्ना आवश्यकताहरु पूर्ति गर्दै जाँदो रहेछ । मलाई कर्मले आफ्नो बाटोमा डोहोर्याउन थाल्यो । म कर्मको लयमा बाँच्न थालें । असलमा मान्छे कर्मको कारिन्दा रहेछ ।

हजुर हजुर… कसो अरे ?

अँ अँ ‘कर्मले आवश्यका पूर्ति मात्र गर्दैन, झन् बढाउँछ पनि’ रे !

हो हो, तपाईंको कुरा गलत होइन । कर्मले आवश्यकताहरु बढाउँछ र सँगसँगै पूर्ति पनि गर्दै जान्छ । भोकले भोजन खोजे पनि भोजनसँगै सन्तुष्टि जन्मिन्छ । कर्म एउटा भोजन हो, त्यसबाट सन्तुष्ट हुन सक्नुपर्छ, चिनी हालेर ।

कतिले सफाइका प्रश्न गर्थे । अनेकले अनेकथरि भन्थे । जाबो ५ रुपैयाँको च्या बेच्नु छ सय रुपैयाँ बराबरको अपजस सुन्नु पर्थ्यो ।

उसो त कर्ममा दुःख, समस्याहरु नआउने भन्ने हुँदै हुँदैन । हजारौं हन्डर खानु पर्दछ । हजारौं ठक्कर खानु पर्दछ । अब कुरा यही च्याभट्टीकै गरौं न, हेर्नुस् सुरुसुरुमा मलाई खुबै अपजस आउँथ्यो । कसैले सेलायो भन्थे । कसैले चिनी कम भयो भन्थे । कसैले त्यही चिनीलाई कडा भयो पनि भन्थे । कसैले रङ पुगेन भन्थे । कसैले उही रङलाई कडा भयो भन्थे । कसैले दूध पातलो रहेछ भन्थे । कतिले सफाइका प्रश्न गर्थे । अनेकले अनेकथरि भन्थे । जाबो ५ रुपैयाँको च्या बेच्नु छ सय रुपैयाँ बराबरको अपजस सुन्नु पर्थ्यो । हुँदा हुँदा गिलास स्यानो भयो, गिलासभरि च्या भएन भन्नेहरु पनि कति भेटिए कति ।

दुःख भन्नु कर्मको सहयोगी रहेछ । जति दुःख भयो त्यति कर्म सहज हुदै जाँदोरहेछ ।

हजुर हजुर ? बुझिन फेरि भन्नुस त !

बोर भो हगि !

हस् हस्, अब कर्मका होइन मर्मका कुरा गरौं उसोभए ।

अँ अँ …

देश दुनियाँको त के कुरा गर्नु र हाउ ! भनिसाद्धे छैन । जसै गरे पनि बोली महाराज कुर्सीबाट ढसमस गर्ने हैनन् । गरिबी झन् झन् बढिरहेछ । अभावहरु झन् झन् बढिरहेछन् । फोहर, प्रदुषण अपराधहरुको त भो नकुरा गरम् ।

याद छ तपाईंलाई, अस्ति काठमाडौँ पूरै तुवाँलोले ढाकेको थियो नि । विज्ञहरुले भनेको सुनेको त्यो तुवाँलो त फोहर पो अरे ! धुलो पो अरे ! हाम्रो राजधानी संसारकै फोहरी, प्रदुशित सहर भएछ नि । हेर्नुस् त, राजधानीमा बसेको छु भनेर पनि के फुईँ लगाउनु ? संसारकै सबैभन्दा फोहरी सहरमा बसिएको रैछ । बस्न त गाउँमै राम्रो । हरियाली त हुन्छ । स्वच्छ हावा त पाइन्छ ।

मलाई त लाग्छ, हाम्रो उमेरले १ वर्षको चक्कर पार गर्दा हामीले २ वर्ष उमेर गुमाइसकेका हुन्छौं । यस्तै अवस्था रहे हाम्रा नाति, नातिनाहरुले ६० वर्ष बाँच्ने कल्पना नगरे पनि हुन्छ । प्राकृतिक विविधताको देश भनेर के गर्नु ? रोग र महामारीले अकालमै जानु परेपछि । अनेकथरि बनस्पति छन् भनेर के गर्नु ? आफैंले फडानी गरेपछि ।

हजुर हजुर …. ‘गृहमन्त्री बेकम्मा भए रे ?’

हाहा ….. कुनचाहिँ काम लाग्ने थिए र, कत्ति न ! सबै नालायकहुरु नै हुन् नि । नालायकहरुमध्ये पनि यिनीचाहिँ महानालायक रहेछन् । नत्र गृहमन्त्री जस्तो मान्छेले कुनै हत्यारालाई रिहा गर भन्दै सडकमा जान्छ ? त्यो पनि नरसंहार मच्चाउनेको पक्षमा । अब त अपराध र अपराधीहरु राजनैतिक सौदाबाजीका श्रोतहरु हुन लागे ।

धर्म, मानवता, नैतिकता त कसैमा छैन छैन, एउटा भएको कानुन पनि पहुँचवालाको हातमा छ हेर्नुस् । उनीहरुलाई जे गर्न मन लाग्यो त्यही सम्भव छ । न कसैले छेक्छ न कसैले रोक्छ ।

देशमा हुने अपराध, हत्या जस्ता कुराहरुलाई मुख्य जिम्मेवारहरुले नै यसरी प्रशय दिएपछि तपाईं हामी सर्वसाधारण कति असुरक्षित छाैँ भनेर अनुमान लगाए हुन्छ । मानवअधिकारका कुरा गर्ने, नागरिकका हकअधिकारका विषयमा बोल्ने खै के के समाजका अगुवाहरुले यस्ता संवेदनशील विषयमा बोल्नु पर्छ कि पर्दैन भन्नुस् तो ? नढाँटी भनौं ‘यो सबै कुकुर बिरालाको खेल हो । तँ रोएजस्तो गर म कुटेजस्तो गर्छु ।’

देशमा असुरक्षाको अवस्था कति छ भने हेर्नुस्, अस्ति ट्याक्सी ड्राइभरहरुले पठाओ ड्राइभरलाई पिटेछन् । यस विषयमा खै कसले बोल्ने ?

मनपरी भाडा उठाएर ठग्न पल्केका ट्याक्सी ड्राइभरहरुलाई छिटो छरितो सेवा दिने पठाओ हाउगुजी भएको छ यतिबेला । हाकाहाकी लुट्न पाउने ठाउँमा अरु कसैले अधिकार जमाउँछ भने लुटेराहरु बहुलाउने त भैगए नि ।

हिजो एक जना मुगलानी च्या पिउन आएका थिए । उनी कोरियामा बसोबास गर्छन् रे ! भन्दै थिए, कोरियामा यस्ता कुराहरु एकदमै व्यवस्थित छन् रे । ट्याक्सीले एकदमै राम्रो सेवा दिन्छन् रे । ककाओ ट्याक्सी भन्ने यौट ट्याक्सीको कम्पनी छ अरे । त्यसको एउटा मोबाइल एप पनि छ रे । यात्रुहरुले कहाँबाट कहाँ जानु पर्ने हो त्यो एपमा हालेर सर्च गरेपछि नजिकै भएको ट्याक्सी तत्काल आउँदो रहेछ । गन्तव्यमा पुग्ने सम्भावित भाँडा पनि ट्याक्सी चढ्नुपूर्व नै यात्रुलाई थाहा भैसक्ने रहेछ । अँ, अर्को कुरा के फाइदा छ अरे भने यहाँजस्तो ट्याक्सीले यात्रुले भने ठाउँमा मन नलागे जान्न भन्न पाउँदैन अरे । यात्रीले चढेर हिँड भनेपछि जानैपर्ने रहेछ । ठग्ने धम्क्याउने हुँदैन अरे । सबैका हात हातमा स्मार्ट मोबाइल र मोबाइलमा नेभिगेसन भएपछि इन्द्रेको बाउ चन्द्रेको पनि केही लाग्ने रहेनछ ।

मैले मेरो दोकानको अगाडि अर्कोले दोकान खोल्यो भने उसको पसल तोडफोड गर्दिने र ? तपाईं आफैं भन्नुस् त ?

हो, त्यस्तो पो हो त सेवासुविधा भनेको । कसैले आफ्नो व्यवसायमा प्रतिस्पर्धा गर्न आउँछ भने जबर्जस्ति पिटेर धाँकधम्कीको भरमा निस्तेज गरेर कहाँ हुन्छ ? स्वस्थ प्रतिस्पर्धा पो गर्नुपर्छ । यात्रुलाई आकर्षित पार्ने नयाँ नयाँ सेवासुविधाहरु पो थप्नपर्छ । मिटरमा चल्ने, यात्रुले भने ठाउँमा सरक्क गैदिने, लुटपाट नगर्ने, नजिकै जानपरे पनि घुमाइफिराई धेरै बिल नउठाउने गरे सबैले चढिहाल्छन् नि । मैले मेरो दोकानको अगाडि अर्कोले दोकान खोल्यो भने उसको पसल तोडफोड गर्दिने र ? तपाईं आफैं भन्नुस् त ? मैले उसको पसल तोडफोड गर्न मिल्छ ?

ठिकै छ, पठाओको पनि गल्ती होला, अनलाइन भनेर अफलाइन पिकअप गरे रे, विनादर्ता चले रे ! यदि त्यसो गरे भने कानुन छ । प्रहरी प्रशासन छ । अदालत छ । कानुनी कारबाही पो गर्नपर्छ । उजुरी पो गर्नपर्छ । धाकधम्कीको भरमा कसरी व्यवसाय चल्छ, भन्नुस त भन्नुस् ?

व्यवसाय फस्टाउन धाकधम्की होइन प्रेम भए पुग्छ भनेर कसैले सिकाइदिए हुने नि च्यापत्ती मिसाएर ।

अस्ति एउटा भिडियो हेरे थें, त्यसपछि मेरो मन ठेगानमा छैन । खालि खै के के जाति दिमागमा आउँछ आउँछ ।

कुनै व्यक्ति विनाकसुर  ४० वर्ष जेल बस्दा उसको मनमा के के भयो होला ? तपाईंले कल्पना गर्नसक्नु हुन्छ र ?

कसैले कल्पनासम्म गर्न नसकेको घटना घटेछ इलामका दुर्गाप्रसादको जीवनमा । विनाकसुर आफ्नो अमूल्य जीवनका ४० वर्ष भारतका विभिन्न जेलमा चक्कर काटेछन् उनले ।

मानिलिनुस्, कसैले तपाईंमाथि झुटो आरोप लगाइदियो । जेल पर्नुभयो । तपाईंलाई रिहाई गर्न कोही पनि आएन । तपाईंको पक्षमा बोलिदिने कोही पनि छैन भने के होला ? यदि कसैले नरक के हो भनेर सोधे भने दुर्गाप्रसादले सहजै भन्लान्, नर्क भनेको जीवन हो ।

कलिलै उमेरमा पिताको देहान्त भएपछि अलिकति बालसुलभ खोज्न र केही पैसाको जोह गर्न उनले घर छाडे । भारतमा पुगे र कसैको घरमा चौकीदारी गर्न थाले । निकै लामो समय त्यही घरमा बिताएका उनलाई त्यही घरधनीले झुटो हत्या आरोपमा जेलमा कोचिदियो । त्यसपछि अन्त्य भयो एउटा सपनाको ।

विवाह बन्धन, छोराछोरी, परिवार सबै उनको चार पर्खालभित्रको कालो कोठीमा एक्लै बित्यो । बरु प्रहरीले मरणासन्न हुने गरी पिटे । सिस्नो पानी लगाए । त्यही पनि उनले सहिरहे ।

आज होला कि, भोलि होला कि, उनले छुट्ने दिन गनिरहे । तर त्यो दिन कहिल्यै आएन । विस्तारी जेलका कोठीहरुमा उनको मानसिक अवस्था विचलित हुन थाल्यो । उनी सद्धे भएर पनि सद्धे हुन छाडे ।

विभिन्न मनकारीहरुको सहयोगमा दुर्गाप्रसाद ४० वर्षपछि जेलमुक्त भए र ६ दशक पछि घरको आगन टेके ।  सम्झनुस्, त कति कारुणिक छ कहानी ।

कमाएर फर्कन्छु भनेर भागेको घरमा सबैथोक गुमाएर रित्तै फर्कनुपर्दा कस्तो भयो होला उनको मन ? उनी घर फर्किएपछि कसैले उनीसँग अन्तर्वार्ता लिएको रहेछ । त्यही भिडियो हो मैले हेरेको । भिडियोमा उनी बोल्न सक्दैनन् । बलैले बोलेका शब्दहरु पनि बुझिदैन । उनी लगलगी कामिरहन्छन् । न हाँस्न सक्छन् न रुन ! त्यो भिडियो हेर्दैगर्दा जो कोहीका पनि गह भरिन्छन् ।

उक्त भिडियो हेरेपछि लाग्यो, दुनियाँमा मानवता भन्ने कुरा छैन । संसार अहंकारी र स्वार्थीहरुले भरिएको छ । उनलाई त्यो हालतमा पुर्याउने अपराधी अहिले पनि खुलेआम हिँडिरहेको छ ।

अझ दुःखको कुरा के भने, उनी ४० वर्ष विनाकसुर जेल बसेर अनेक यातना खपे । कति धेरै दुःख पाए । विनाकसुर उनलाई यातना दिने प्रहरी प्रशासनले उनलाई क्षतिपूर्ति दिन त परैजाओस्, माफीसम्म मागेन । छँदाखाँदाको अल्लारे ठिटौलीको जीवन नरक बनाइदिएपछि उसको बाँकी जीन्दगीको ग्यारेन्टी लिन पर्छ कि पर्दैन ?

मानवअधिकारकर्मी, नागरिक समाज र विभिन्न समाजसेवीहरुले उनको पक्षमा अहिलेसम्म मुख खोलेका छैनन् । उनलाई जेलबाट मुक्त गराउनु मात्र न्याय हैन नि । पीडकले पीडितको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ । अनि पो उनले न्याय पाउँछन् । अब मानवअधिकार आयोगले विश्व अदालतमा दुर्गाप्रसाद तिम्सिनाको पक्षमा मुद्धा हाल्नुपर्छ । उनलाई न्याय दिलाउनु पर्छ । मलाई लाग्छ, दुर्गापर्सादको केस मामुली केस होइन । दुई राष्ट्रबीचको भाइचारामाथिको प्रश्न पनि हो । सिङ्गो भारतीय प्रहरी प्रशासनप्रति पनि प्रश्न उठ्छ ।

अब हामी सबैले दुर्गाप्रसादको पक्षमा बोल्नैपर्ने दिन आएको छ । उठ्नुस् उठ्नुस् अब हामी बोल्नै पर्छ । स्वार्थ पोतिएका राजनैतिक झण्डाहरु उठाउने यी हातहरु अन्यायको विपक्षमा किन नउठ्ने ?

ला ला ला….. उम्ली त गो !

ढक ढक ढक…..

फु फु फु…..

खै खै खै गिलास ….

ल है ल लिइहाल्नुस् तातातो च्या ।

हस त, आजलाई यो अमानवीय च्या यति नै । अर्को दिन भेटौला जिब्रो पड्काएर ।

प्रतिक्रिया
Loading...