रुख बिरुवाहरु रहेपछि थरिथरिका चराहरूले बास बस्न आउने रहेछन् । भङ्गेरा , ढुकुर, परेवा, कागहरु त म चिन्छु । तर कतिपय चराहरु म चिन्दिनँ । रुख हुनुको एउटा समस्या पनि रहेछ । कहिले पात , कहिले बिउ , कहिले सानो सानो हाँगा झरिरहन्छ । आमरूपमा चिनिने दुई किसिमका चरा र उनीहरुको रूप र प्रवृत्ति भने देखिरहन्छु । रातोघर परिसरमा केही बोटहरू छन् । जस्तै धुपी, गुराँस, देबदार, भोगटे, आभोकाडो,रुद्राक्ष आदि ।
अहिले म दुई किसिमका चराहरुको प्रवृत्तिको बारेमा चर्चा गर्न चाहन्छु । जसलाई म दिन दिन देखिरहन्छु । एउटा काग र अर्को परेवा । दुई वर्ष भयो रुद्राक्षको बोटमा कागले गुँड बनाएको । त्यसैले करिब पचास जना जति कागहरु रुद्राक्षको बोटलगायत परिसरभरि उडिरहन्छन । त्यस्तै परेवाहरुले घरको भित्तामा बस्छन् र उनीहरु पनि खानेकुरा खोज्दै आँगनभरी आइरहन्छन । आँगनमा बिहान बिहान चारो हाल्ने गर्छु । चारो खान परेवा र कागहरु आउँछन् ।
परेवाहरुले चारो खान पहिले आए भने कागहरु आएर परेवालाई धपाउँछन् र चारो कब्जा गर्छन् । परेवाहरुले चुपचाप चारो छोडिदिन्छन् । परेवाहरु घुर्रघुर्र गरेर कराउँछन् तर कागहरु धेरै हल्ला गर्छन् । कागको आवाज यति कर्कस छ कि त्यसले वातावरण भयमय बनाउँछ , मानौँ के के न भइहालेछ कि भन्ने गराउँछ । रुद्राक्षको बोटमाथि कागको गुँड छ त्यसैले रद्राक्ष वरिपरि कोही आउनासाथ ठूलै हल्ला गर्छ । तर परेवाको नजिक जाँदा पनि भागिहाल्दैन । दिनदिनै चारो हाल्नेको काँधमा बस्न आउँछन् परेवाहरु । काग भने चारो हालेको टाढाबाट हेरिरहन्छ र मान्छे अलि पर पुगेपछि झम्टेर खान आइपुग्छ । दिनदिनै खान आउने एक जोडी परेवा भने मैले राम्रैसँग चिनिसकेँ । त्यसमध्ये एउटा परेवाको एउटा खुट्टामा औँलाहरु नभएको पनि याद भइसक्यो मलाई । तर यसरी म कुनै पनि काग याद गर्न सक्दिनँ । चिन्न सक्दिनँ । सबै काग उस्तै लाग्छन् ।
काग त रुपैले चिनिन्छ । रुप त राम्रै लाग्छ । कालो छरितो स्लिम शरीर । तर काग हुनका केही चरित्रहरु हुँदा रहेछन्, जस्तै सानो घटना घट्नै नपाई हल्ला गर्ने । जुन घर र परिसर नजिक छ उनीहरुलाई नै शत्रुवत् व्यवहार गर्ने, आफूलाई ज्यादै बाठो ठान्ने । एकपटक कसरी हो एउटा काग घाइते भएर तल भुइँमा झरेको रहेछ । मैले देखेँ । उसलाई भुइँबाट उठाएर लगेँ, बेसार तेल घाउमा दलिदिएँ । अनि पर्खालमा राखिदिएँ । त्यो अरु कागहरुले हेरिरहेका रहेछन् ।
मैले कागको उपचार गरेको भनेर कागहरुले बुझेनन् बरु मैले नै घाइते बनाएको भनेर भन्ठानेछन् कि कुन्नि, सबै कागहरु मिलेर मेरो टाउकोमा ठुङ्ग्न आए । मैले टाउको बचाएर हतार हतार घरभित्र पस्नु पर्ने भयो । त्यतिबेला संयोगवश रातो टोपी लगाएको थिएँ । करिब दुई वर्षसम्म मलाई झम्टिन आइरहे । रातो टोपी त झन् लगाउनै नहुने भयो । हुल बाँधेर टाउकोमै ताकेर ठुङ्ग्न आइरहे । यो काग भन्ने चराको जात यति हल्लाखोर र यति बैगुनी किन हुन्छ ? थाहा छैन ।
मेरो कम्पाउण्डमा बस्छ र मैले दिएकै चारो खान्छ, मलाई नै लखेट्न आउँछ । म कागहरुलाई घर कम्पाउण्डबाट निकाल्न पनि सक्दिनँ । बस मात्र मनमा राखिरहन्छु , काग बैगुनी जातको चरा हो । एकातिर परेवाहरु छन् । यिनीहरु अति गुनिला छन् भनेको होइन । तर शान्त छन् । चारो दिने मान्छे चिन्छन् । कमसेकम हुल बाँधेर ठुङ्ग्न आउँदैनन् । उनीहरुको हुलमै पसे पनि केही गर्दैनन् ।
म हरेक दिन काग र परेवासँग बाँच्छु । चारो हाल्छु । विनाप्रतिक्रिया चुपचाप उनीहरुको चर्तिकला हेर्छु । रूप र व्यवहारको तुलना गर्छु । सहन्छु । प्रकृतिले बनाएको चराहरु र म । मैले सहेर चारो खुवाउँछु । काग हल्ला गरेर झम्टेर आउँछ, परेवा कागले छोडेको वा काग नभएको ठाउँमा सरेर गुजारा गर्छ । यो संसार यसरी नै चलिरहेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।