“तिमीलाई पनि ।” बूढोले विदा माग्यो । अँध्यारोमै बन्दरगाहबाट डुङ्गा लिएर निस्क्यो बूढो । अर्को किनारबाट पनि डुङ्गाहरू समुद्रतर्फ लाग्दै थिए | बूढोले डुङ्गाका गति र डुबुल्कीको आवाज सुन्यो । यद्यपि उसले अन्य डुङ्गा र माझीहरूलाई डुब्नै लागेको जूनको उज्यालोमा देख्न भने सकेन ।

डुङ्गामा बोल्ने मानिसहरू विरलै थिए । डुङ्गाको डुबुल्कीको आवाज बाहेक अधिकांश डुङ्गाहरू सुनसान देखिन्थ्यो । कतैबाट आवाज आउँदैन्थ्यो । बन्दरगाहबाट निस्किनासाथ समुद्रमा माछा समात्ने आशामा अलग अलग दिशा लागे डुङ्गाहरू | बूढोलाई थाहा थियो कि ऊ आज निकै टाढा जाँदै छु साथै जमिनको सुवासलाई पछाडि छाड्दै विहानीपखको समुद्री सुवासको पछिपछि लाग्यो । समुद्री झारलाई पार गर्दै बूढो ठूलो तलाउतिर पुग्यो । त्यो तलाउको गहिराइ लगभग चार हजार दुईसय फीट थियो । जहाँ हरेक खालका माछाहरू समुद्री छालको प्रभावले गर्दा एकत्रित भएका थिए । झिंगेमाछा पनि त्यहीँ थुप्रिएका थिए । राति अन्य डुलुवा माछाहरूको चारो पनि त्यही झिँगे माछा हुन्थ्यो ।

अँध्यारोमै बूढोले थाहा पायो कि उज्यालो हुँदैछ । अँध्यारोमा डुङ्गा खियाउँदै गर्दा उडुवा माछाको आवाज सुन्यो । समुद्रमा बूढोको साथी भनेको त्यही उडुवा माछा त थियो जसलाई ऊ औधि मनपराउँथ्यो । स-साना सुकोमल गौंथली चराहरूप्रति ऊ सहानुभूति राख्थ्यो । खासगरी स-साना नाजुक र कालो रङको पुच्छर फाटेको चराप्रति उसको बढी नै सहानुभूति थियो जुन हर बखत उडिरहने तर भेट्न नसकिने खालका थिए । ऊ सोच्ने गर्थ्यो कि केही लुटेरा चरा र बलिया चराबाहेक अन्य चराहरूको जीवन मानिसहरूको भन्दा पनि बढी दयनीय छ । चराहरूलाई किन यति कमजोर र सुन्दर बनाइदिएका होलान्‌ बनाउनेले ? देख्नमा समुद्री भँगेराभन्दा कम सुन्दर छैनन्‌ । तिनीहरू प्रति समुद्र पनि यति निर्दयी किन ? दयालु र सुन्दर नै ठान्दछु म त तर कहिलेकाही समुद्र अचानक तिनीहरू प्रति निर्दयी भैदिन्छिन ।

समुद्रलाई बूढो पनि स्पेनीहरूले माया गरेर बोलाउने शब्द “ला मार” नै प्रयोग गर्थ्यौ । माया गर्दा गर्दा नै कहिलेकाहीँ उनीहरू समुद्रको बारेमा जे पायो त्यही बोल्थे । तरूणीलाई जिस्क्याएको जस्तो गरेर केही तन्नेरी माझीहरू शार्कको कलेजो बेचेर अलिकति पैसा कमाउनासाथ “एलमार” अर्थात तरूणीको रूपमा समुद्रलाई हेर्थे ।

साथै सौता वा शत्रुको रूपमा पनि । तर बूढोले सँधै समुद्रलाई स्त्रीजातिकै रूपमा हेर्यो । सम्मानै गर्थ्यो । कथंमकदाचित्‌ नराम्रै गरिछन्‌ भने पनि बाध्यात्मक अवस्थामा गरिन्‌ होला भन्ठान्थ्यो बूढो | ऊ सोच्ने गर्थ्यो, स्त्रीजातिलाई जस्तै चन्द्रमाले समुद्रलाई पनि प्रभाव पार्दोरहेछ । सौभाग्यवती ठान्थ्यो ऊ समुद्रलाई ।

बूढो अविचलित रूपमा बिस्तारै डुङ्गा चलाउँदै गयो । बानी परकोले होला उसलाई खासै बल पर्दैनथ्यो डुङ्गा चलाउन सागरपृष्ठ शान्त थियो । ऊ एकनासको गतिमा डुङ्गा चलाउँथ्यो । आकस्मिक बहाब आएको अवस्थामा बाहेक समुद्री सतह पनि समथर नै थियो । जतिखेर समुद्रको वहाब अलि शान्त भयो त्यतिखेर उसले थाहा पायो कि आफूले सोचेभन्दा निकै टाढा पुगिसकेको थियो |

ऊ सोच्थ्यो, “एकहप्तासम्म गहिरो तलाउमा बिताइयो तर केही हात लागेन ।” आज त म टुना जातका स-साना मार्न जान्छु सायद ठूलै टुना माछा फेला परिहाल्छ कि |

राम्ररी उज्यालो हुनु अघि उसले चारो लगाएको बल्छी निकाल्यो अनि समुद्रको बहाबसँगै अघि बढ्यो । पहिलो चारो २४० फीट गहिराइमा खसाल्यो भने दोस्रो चारो ४५० फीट गहिराइमा । त्यसैगरी तेस्रो र चौथो चारो नीलो समुद्रमा क्रमशः ६०० र ७५० फीट गहिराइमा प्रत्येक बल्छीको टुप्पोमा चारो माछालाई टाउको उँधोमुन्टो पारेर राम्ररी उनिएको थियो । त्यसलाई सार्डिन माछाले छोपिएको थियो । प्रत्येक सार्डिन माछाको दुईटै आँखा खोपेर बल्छीमा उनिएको थियो | ताकि हुत्याउने सुइरोमा त्यसले माला जस्तै बनाओस्‌ । ठूला-ठूला माछा समेत लोभिने गरी बल्छीमा सुगन्धित एवं स्वादिलो चारो उनिएको थियो । बल्छीको कुनै भाग पनि बाहिर निस्केको थिएन ।

केटोले बूढोलाई दूईटा स-साना आलो टुना माछा दिएको थियो । जसलाई निकै तल डोरीमा डकर्मीको घण्टी जस्तै झुण्ड्याएको थियो । कसित अझै माछालाई लोभ्याउन सक्ने अति राम्रो सार्डिनहरू थिए । उसले एउटामा आलो ठूलो निलो रङ्गको अनि अर्को पहेँलो रङ्गको ज्याक माछा उन्यो । प्रत्येक डोरी पेन्सिलको मोटाइमा थियो र त्यसलाई हरियो लठ्ठीमा सुर्केनी पारेर बाँधिएको थियो । चारो अलिकति छुनेबित्तिकै वा तान्ने बित्तिकै डोरी डुब्न सक्थ्यो । प्रत्येक डोरी ४८० फीटको गहिराइमा जान सक्थ्यो । आवश्यक पर्दा गुजुल्टोबाट जगेडाका रूपमा जति पनि डोरी प्रयोग गर्न सकिन्थ्यो । एउटा माछाले बढीमा १८०० फीटसम्मको डोरी तान्न सक्थ्यो ।

अब बूढोले डुङ्गाबाट तीनवटा लठ्ठीहरू पानीमा डुबेको हेर्यो । डोरीको सन्तुलन मिलाउन उसले बिस्तारै उचित गहिराइमा डुङ्गा चलायो । राम्रै उज्यालो भैसकेकाले छिट्टै घाम
झुल्किँदै थियो !

समुद्र गर्भबाट झुल्केर सागरपृष्ठमा छरपष्ट भई समुद्रतटतिर घाम जाँदै गरेको देख्यो बूढोले ।

समुद्रबाट हेर्दा घाम मधुरो देखिन्थ्यो । बूढोले समुद्री वहाबसँगै क्रमशः किनारतिर सर्दै गरेको डुङ्गाहरू देख्यो । घाम चकिँदै गएपछि यसको किनारतिर उसको आँखै तिर्मिरायो समुद्रमा परिवर्तित भएर । घामपट्टि नफर्की उसले डुङ्गा चलायो । पानीमा डोरी डुब्दै गरेको दृश्य हेर्यो उसले । अँध्यारोमा पनि बूढो अरू माझीले भन्दा डोरीलाई सिधा राख्न सक्थ्यो | ऊ के आशा गर्थ्यो भने कुनै पनि बेलामा माछा बल्छीमा पर्न सक्छ । अरू माझीहरू चाहिँ समुद्री वहाबसँगै डोरीलाई तैरिन दिन्थे । कहिलेकाहीँ त ती माझीहरू ३६० फीट गहिराइमा डोरी डुबेको बेला ६०० फीटमा डुबेको भ्रममा पर्थे । तर उसले सोच्यो, ‘म त डोरी र बल्छीलाई सन्तुलनमा राख्छु । भाग्यले चाहिँसाथ दिएन मलाई । तर कसले जान्दछ र ? आजै भाग्यले साथ दिन पनि त सक्छ नि । भाग्यमानी हुन पाए हरेक दिन नयाँपन लिएर आउन सक्छ । तर म आफ्नो सुर छाड्दिन । भाग्यले साथ देला भनेर तयारी हालतमा त बस्नै पर्यो ।’

घाम झुल्केको दुईघण्टा भैसकेकाले अब पूर्वतिर फर्किदा उसको आँखा तिर्मिराएन । उसले मात्र तीनवटा डुङ्‌ देख्यो जुन निकै टाढा समुद्री किनारमा भएकाले साना देखिए ।

“बिहानको झुल्के घामले मेरो आँखा निकै कमजोर बनाएको छ ।” उसले सोच्यो । अझ पनि राम्रै देख्न सक्छु सक्न त । साँझमा पनि सिधै घामतिर हेर्न सक्छु । खासै धमिलो देख्दिन । गाह्रो त निकै गाह्रो हुन्छ साँझमा तर विहान चाहिँ निकै दुख्छ आँखा घामपट्टि फर्काउँदा ।

लगत्तै बूढोले लामो र कालो पखेटा भएको चरो (मेन अफ वार) आफ्नो अगाडि आकाशमा उडिरहेको देख्यो । निकै द्रुतगतिमा त्यो चरो समुद्रतिर मोडियो र उँधो-उँभो गर्न थाल्यो ।

“केही चीज त अवश्य देखेको छ यसले ।’ बूढो जोडले चिच्च्यायो । “त्यसै त आएको छैन यो चरो । सायद उडुवा माछा देखेको हुनुपर्छ यसले समुद्रमा ।’ चरो घुम्दै गरेको दिशातिर बूढोले डुङ्गा लग्यो । बिस्तारै तर निरन्तर गतिमा । डोरीलाई सन्तुलित राख्दै हतार नगरिकन अगाडि बढ्यो बूढो साथै चरातिर हुँदै डुङ्गा चलाएको पानीमा झिनो आवाज सुन्यो । समुद्री वहाब छिचोलेर अगाडि बढ्यो मानौं ऊ अझै कुशलतापूर्वक र छिटो माछा मार्न सक्छ भनेर देखाउन चाहन्थ्यो ।

चरो फेरि निकै माथि उडेर घुम्न थाल्यो । उसका पखेटा चलेको देखिन्थ्यो । अचानक त्यो चरो उँधोमुन्टो लगाएर समुद्रतिर आयो । पानीबाट उडुवा माछाहरू निकै तेज गतिमा सतहमा आएर पागल जस्तै तैरिन थालेको देख्यो बूढोले ।

“डल्फिन’ । बूढोले जोडले चिच्च्यायो, “कत्रो बडेमाको डल्फिन !”

उसले बहाना डुङ्गामाथि राख्यो अनि डुङ्गाको अग्रभारा मुन्तिरबाट एउटा सानो डोरी निकाल्यो । डोरीमा मार्गदर्शक र मध्यम साइजको बल्छी लगाइएको थियो । त्यसमा बूढोले सार्डिनको चारो हाल्यो । अनि अर्को डोरीमा पनि त्यसैगरी चारो हाल्यो अनि डुङ्गाको टुप्पोको छायाँमा गुजुल्टो बनाएर राख्यो | त्यसपछि बूढोले डुङ्गा चलायो अनि लामो पखेटा भएको कालो चराको गतिविधि माथि नजर लगायो । बूढोले हेर्दा हेर्दै त्यो चरो पखेटा छड्के पार्दै निकै तल समुद्र नजिकै आइपुगेको थियो ।