पोथी पढ़ि पढ़ि जग मुआ,
पंडित भया न कोय,
ढाई आखर प्रेम का,
पढ़े सो पंडित होय।
~कबिर

शरीर थोरै पाएर पनि सन्तुष्ट छ. शरीरका माग धेरै छैनन्. मन भने जति पाएर पनि सन्तुष्ट छैन. मनका माग अनन्त छन्. मनका वासना दुस्पुर छन्, पूरा गर्नै नसकिने. आत्माको भने कुनै चाह छैन, कुनै वासना छैन. जीवनका यी भिन्न भिन्न आयामहरुसँगै प्रेमको परिभाषा पनि भिन्न हुँदै जान्छ. जति गहिरो लेभलमा प्रेम गरिएको हुन्छ, त्यसले दिने आनन्द त्यति नै दिगो हुन्छ. शारीरिक प्रेममा गहिराईको अनुभव केही सेकेन्डको मात्र हुन्छ. सम्भोगको चरमसुखसँगै त्यो क्षणभंगुर आनन्दको अनुभव गरेर फेरि तल ओर्लनु पर्दाको पीडा पनि सँगै आउँछ. त्यसैले कामवासनालाई नै प्रेम ठान्नेहरु कहिले सन्तुष्ट हुँदैनन्. मनको त झन् कुरै नगरौं. यो केही पाएर कहिल्यै सन्तुष्ट हुनेवाला छैन. आत्माले गरिने प्रेममा मात्र परम आनन्दको सम्भावना छ र त्यो पनि स्थायी. दुःखको कुरा, जीवनमा जे अत्यावश्यक छन्, ती सबैको पढाइ कुनै विश्वविद्यालय वा पाठशालामा हुँदैन.
प्रेमको, आनन्दको, शान्तिको शिक्षण गराउने कुनै पाठशाला छैन. यी सिकिरहनु पर्ने चीज हुन् जस्तो पनि हामीले ठानेका छैनौं. प्रेम के हो ? जीवन के हो ? आनन्द के हो ? हामी ठान्दछौं हामीलाई यी सबैको उत्तर थाहा छ. कतैबाट, कसैबाट सुनेका उत्तरहरुलाई नै हामीले हाम्रो उत्तर बनाएका छौं. हामीलाई यी सबैको उत्तर थाहा हुँदो हो त जीवनमा प्रेमको, आनन्दको कुनै अभाव नहुँदो हो. हामीले कुनै वस्तु वा व्यक्तिलाई आफ्नो बनाउनु नै प्रेम हो भन्ने बुझेका छौं. कोही केवल आफ्नो होवोस् भन्ने चाहना प्रेम हैन भनेर ओशो भन्दछन्. उनका अनुसार कुनै व्यक्तिमाथि आफ्नो स्वामित्वको दाबी गर्नु व्यक्तिको अस्तित्वको र प्रेमको हत्या गर्नु हो. जीवनमा जे जति कुरा सुन्दर छन्, तिनलाई कैद गर्न सकिंदैन. बिउटी अर्थात् वाइल्ड एण्ड फ्री. बन्द मुट्ठीमा चाहे प्रेम होस् वा खुसी वा आनन्द, कैद गरेर राख्न सकिन्न. यी कुराहरु प्राप्त गर्न हाम्रो मुट्ठी र हृदय दुवै खुला हुनुपर्छ. प्रेम बाँडेर बढ्छ. कुनै एक व्यक्तिमा मात्र सीमित गर्नाले यो घट्दै जान्छ र एक दिन समाप्त पनि हुन्छ. हाम्रो जीवनमा भएको यही हो. शताव्दियौंदेखि हामीले आँखा चिम्लेर प्रेमलाई गलत बुझ्दै आयौँ.
ईर्ष्या, तनाव, हकदावीजस्ता कुरा प्रेमकै पाटा हुन् भन्ने स्वीकार गर्यौं । त्यसैले ईश्वरको झलक देखाउन सक्ने सम्भावना बोकेको प्रेम केवल क्षणिक सुख र अनेक दुःख दिने साधन बन्न पुग्यो. ओशो भन्छन्, “समाजमा विवाहको प्रादुर्भाव भएसँगै प्रेम विकृत हुन थालेको हो. त्यसभन्दा अघिसम्मको मानवीय प्रेम प्राकृतिक थियो र यसर्थ आनन्ददायी थियो. विवाहले व्यक्ति माथिको हकदाबी लिएर आयो र त्यससँगै ईर्ष्या, शंका उपशंका जस्ता विकारहरु पनि सँगै आए. अन्यथा जनावरको संसार हेर्ने हो भने त्यहाँ कुनै प्रेमजन्य विकार वा समस्या भएको देखिंदैन. यदाकदा प्रेमको निम्ति उनीहरुले युद्ध गरिहाले भने पनि त्यो युद्ध मान्छेले प्रेमको नाममा भोग्नु परेको कष्ट र पीडाभन्दा धेरै गुणा प्राकृतिक हुन्छ.”

विवाह अप्राकृतिक हो. प्रेम प्राकृतिक हो. प्रकृतिले प्रेमलाई महसुस गर्ने संवेदना हामीलाई प्राकृतिक रुपमै दिएको छ. जनावरले समेत प्रेम महसूस गर्न सक्छन्. विवाहका लागि भने हाम्रो मनमा त्यस्तो कुनै प्राकृतिक व्यवस्था छैन. जुन दिन प्रेमको स्थायित्वको चाहना गर्दै त्यसको सामाजिकीकरण गरियो र विवाहको आविष्कार गरियो, मान्छेको जीवनबाट प्रेमका सम्भावना पनि नष्ट गरियो. स्वतन्त्रता प्रेमको एक मात्र शर्त हुनुपर्छ. जसले हामीलाई बन्धन दिन्छ, त्यस्तो सम्बन्ध प्रेम हुँदै हैन. सही र गलतको, पाप र पुण्यको केवल एक मात्र मानक छ र त्यो हो स्वतन्त्रताको आभाष. यस्तो प्रेम गर्न जानियो जसमा आफू र आफ्नो प्रेमी दुवैलाई कुनै बन्धन महसूस हुँदैन भने त्यत्ति नै काफी छ जीवनमा आनन्द र अमृतको स्वाद लिएर आउन.
.

प्रेम र ध्यान लगभग उही हुन्. प्रेमलाई ध्यानमा रुपान्तरित गर्न सकिन्छ र ध्यानलाई प्रेममा. आफैँसँग प्रेमको गहिराईमा डुब्नु ध्यान हो भने अर्को कसैसँग ध्यानको गहिराईमा डुब्नु प्रेम हो. प्रेमका गहन क्षणहरुमा हाम्रो अहंकार विसर्जित भएको हुन्छ. भलै यो क्षणिक नै किन नहोस्, दुई शरीर एक आत्माझैँ भएको अवस्था हुन्छ प्रेममा. यो सुन्दर क्षणलाई ध्यानको गहिराईमा प्रवेश गर्नका लागि उपयोग गर्न सकिन्छ. प्रेम र अध्यात्म त्यसैले परस्पर विरोधी हैनन्. ध्यानी नै सच्चा प्रेमी हो र प्रेमी नै सच्चा ध्यानी. खुसी नभैहाल्नुहोस् अहिले नै, म ध्यानी हुँ वा प्रेमी हुँ भनेर. ध्यान गर्ने मान्छेले, सबैसँग बराबर प्रेम गर्न सक्नुपर्छ. केही विशेष व्यक्तिहरुलाई मात्र आफ्नो र बाँकीलाई पराई ठान्ने मान्छे ध्यानको नाममा अर्को एउटा नाटक गर्दैछ जिन्दगीमा. अनि एकजनालाई मात्र प्रेम गर्छु म भन्नेहरुले पनि त्यसै गरी नाटक गर्दैछन्. कि प्रेम भनेको के हो नै बुझेका छैनन् उनीहरुले कि प्रेम गर्छु भनेर अर्को व्यक्तिलाई चुतिया बनाइरहेका छन्. प्रेम त भाषा हो एउटा. जस्तो चाइनिज. जानेपछि तपाईं एकजना मान्छेसँग मात्र चाइनिज बोल्न सक्नुहुन्छ कि बोल्न सक्ने जति सबैसँग? प्रेमको भाषा त्यसैगरी कि जानिदैन कि जानेपछि त्यसलाई एक जनामा सीमित राख्न सकिँदैन. सही अर्थमा प्रेम गर्न जान्ने हो भने कुनै पूजा, प्रार्थना आवश्यक पर्दैन ईश्वरसम्म पुग्नलाई. तर यहाँ हामी अनेक स्वार्थसिद्धि र वासना तृप्तिलाई प्रेमको नाम दिइरहेका हुन्छौँ. त्यसैले प्रेम पीडादायी छ जस्तो प्रतीत हुन्छ.

प्रेम र ध्यान बीचको फरक मात्र यत्ति हो, प्रेम गहिराईमा डुब्ने प्रशिक्षण हो. मानौं, तीन चार फिटको स्विमिङ पुल. केट्केटीका लागि. ध्यान भने त्यही गहिराईमा निर्भयतापूर्वक डाइभ हान्नु हो. प्रेमको गहिराईमा डुबेको क्षणमा समयको अनुभव हुँदैन. यस्तो लाग्छ मानौँ, समय छँदैछैन अथवा छ भने पनि रोकिएको छ. एक क्षण प्रेमको, अनन्तता बराबर लाग्छ. दुई फरक व्यक्ति हुनुको अनुभव पनि केहीबेरलाई मेटिन्छ प्रेमको जीवन्त कुनै क्षणमा. ध्यानमा हुने अद्वैत बोधको अनुभव पनि त यही नै हो. फरक यत्ति हो, प्रेमका लागि अर्को व्यक्तिको आवश्यकता पर्छ. त्यसैले प्रेम हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छ. प्रेमको गहनतम भन्दा गहनतम क्षण पनि क्षणभंगुर हुन्छ. प्रेमीहरुको पीडा यही नै हो. ध्यानमा भने यही समयरहित, मनरहित अवस्था बिना अरु कोहीको आवश्यकता प्राप्त गर्न सकिन्छ. ध्यानको कला जानेकाहरुलाई समय ठप्प भएको, मन ठप्प भएको अनुभव गर्न अरु कोहीको आवश्यकता नै पर्दैन. प्रेममा जे जस्तो आनन्द अनुभव हुन्छ, ध्यानमा त्यही अनुभवको अझै सघन रुपको बोध हुने हो.

ध्यान र प्रेम फरक कुरा हैनन्.

दुवैको केन्द्रमा शून्यताको उही हरियो घाँसे मैदान छन्.रुमीले भन्ने जस्तो.

“सही र गलत,
पाप र धर्मको परिभाषाभन्दा धेरै गहिरोमा,
समाजका नियम,
शरीर र मनका पर्खालभन्दा गहिरोमा
एउटा मखमली घाँसे मैदान छ.
म तिमीलाई त्यहीं भेट्नेछु.”

आउनुहोस्. ध्यान गरौँ, अथवा प्रेम गरौँ. कुरो उही हो भन्ने बुझेकालाई निम्तो.