२०६५ साल भदौ २ गते मङ्गलबार दिउँसो साढे १२ बजे ।
हेर्दाहेर्दै एउटा ठिक्कको डङ्गर गीद्ध तित्रिगाछी तालमाथिबाट एक फन्का मारेर मृगकुञ्जतिर हानियो । त्यसको केही घण्टाअघिसम्म हामीलाई आभास थिएन प्रलयको ।
एक साताअघि तित्रिगाछी तालनजिकै कटान सुरु भएको सूचना पठाए भान्टाबारीस्थित हाम्रा संवाददाता सज्जाद आलमले । म त्यसबेला इटहरीबाट प्रकाशित हुने ‘जनलक्ष्य’ दैनिक समाचारपत्रको सम्पादक थिएँ । सुरुमा पत्याइनँ त्यसलाई । कोसीको बाँध त्यति सजिलै के फुट्छ होला भन्ने लाग्यो । अनि, ‘जनजीवन आतङ्कित हुनसक्ने’ ठानेर समाचार प्रकाशित नगर्ने निर्णय गरेँ ।
‘समाचार किन नछापेको दाइ ? कटान तटबन्धमा आइपुग्न अब सय मिटर पनि बाँकी छैन,’ दुई दिनपछि सज्जादले फोनमा गुनासो गरे ।
त्यसपछि भने मेरा कान अलि चनाखा भए । कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालयछेउ घर भएका राजकुमार सिंहलाई फोन गरेर क्रस–चेक गरेँ । उनले पनि पाँच दिनदेखि कटान जारी रहेको जानकारी दिए । कटानले तित्रीगाछी ताल छोइसकेको, बाँधछेउका बासिन्दामध्ये केही विराटनगर, इनरुवा, लौकहीलगायत सुरक्षित स्थानमा पुगिसकेको बताए । केही स्थानीय बाँधमा रहेका गाछीहरू तारले एक–आपसमा बाँधेर क्षति कम होस् भन्ने उपायमा लागेको, प्रायः घरमा आफ्नो थातथलो छोडेर अन्त जान नमान्ने बुढाबुढी र केही भाग्नसक्ने युवाहरूमात्र भएको उनको भनाइ थियो ।
समाचार छापेँ । तर प्रहरी उपरीक्षक यादवराज खनाल, प्रमुख जिल्ला अधिकारी दुर्गा भन्डारी, स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीलगायत सरोकारवालाहरूले ‘बाँध फुट्ने’ कुरा पत्याएनन् । बरू अधिकारीहरू समाचार गलत भएको भन्दै ‘खण्डन गर्ने’ मनस्थितिमा देखिए ।
‘तपाईहरूले जनतामा भ्रम सिर्जना हुने गरी यस्तो नचाहिँदो समाचार नलेख्नुपर्ने, तपाईहरू अन्तर्यामी हो,’ भनी सदरमुकाम इनरुवास्थित पत्रकारहरूसँग प्रजिअ भन्डारीले गुनासो गरे । कोसी बाँध फुट्न लागेको जानकारी मिडियामा आएपछि गृह मन्त्रालयबाट सुनसरी प्रशासनलाई दबाब परेको रहेछ । अधिकारीहरू त कोसी फुट्दैन भन्नेमा कतिसम्म विश्वस्त देखिए भने त्यही दिन १० बजेतिर विराटनगरस्थित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इन्जिनियर मोहन भट्टराई, प्रजिअ भन्डारी, उपरीक्षक खनाललगायतको टोली कोसी ब्यारेज पुलमा भेला भए । सुनसरीका कृष्ण जुनेली, सप्तरीका जितेन्द्र खड्गालगायत पत्रकारहरू पनि रिपोर्टिङका लागि ब्यारेज पुगेका थिए । भारत सुपोलका डिएम सरिफ आलम तथा कोसी प्रोजेक्टका केही इन्जिनियरहरू पनि आएका थिए ।
दुई देशका सरोकारवालाहरूबीच बैठक भयो ।
‘कोसी बाँध फुट्ने सम्भावना छैन,’ बैठकपछि नेपाली पक्षलाई आश्वस्त पार्दै पत्रकारहरूलाई इन्जिनियर भट्टराईले ब्रिफिङ गरे, ‘कटान भइरहेको स्पोर नियन्त्रणका लागि टोली परिचालन भइसकेको छ । टोलीले केही घण्टामै स्थिति नियन्त्रणमा लिनेछ । कोसी ब्यारेज र तटबन्धको पानी नियन्त्रण र बहाव क्षमता साढे तीन लाख क्युसेकभन्दा बढी छ । अहिले एक लाख ८६ हजार क्युसेक पानी भएको बेला कोसी तटबन्ध फुट्छ भन्ने अनुमान गलत हो ।’
इन्जिनियरको दाबीपछि वस्तुस्थिति र अधिकारीहरूको खण्डनबारे पत्रकारहरूले आ–आफ्नो मिडियामा टेलिफोन लाइभ गरे । सबै फर्किने तयारी गर्दै थिए, कोसी ब्यारेज प्रहरीलाई तित्रिगाछीमा सिपेज बढेर पानीले तटबन्ध नाघिसकेको जानकारी आयो । सब भगाभाग भए । इन्जिनियरहरू भारतको वीरपुरतिर लागे । प्रजिअको टोली हतार–हतार कोसीटप्पुतिर हानियो । पत्रकारहरू पनि लाखापाखा भए ।
दिउँसो साढे १२ बजे ।
हाम्रो बलौटे विश्वासमाथि कोसीको एउटा भङ्गालो पहिलो धक्का दिन उत्तेजित भइसकेको थियो । अथाह जलराशिले सिमाना नाघ्ने बेला हुँदै थियो । चर्को मध्यान्नमा स्थानीय जडताको साक्षी भइबसेका थिए सिमलका रुखहरू ।
तित्रिगाछी तालनजिकै रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय परिसर छेउ र तटबन्ध क्षेत्रमा मान्छेको ‘मेला’ लागिसकेको थियो । चरा–चुरुङ्गी र आरक्षका जीव–जनावरहरूको कल्याङमल्याङले वातावरण खजबजिएको थियो । ब्यारेजबाट प्रहरी–प्रशासनको टोली त्रासद् रमिता हेर्न भर्खर घटनास्थल पुगेको थियो ।
नेपाल टेलिभिजनका संवाददाता कृष्ण भट्टराई भुल्केली एउटा रुखमा चढेर त्रासको पारो बढेको दृश्य रेकर्ड गर्दै थिए, पानीले धक्का दिँदैगरेको तटबन्ध फुटिहाल्यो । पानी पूर्व–दक्षिण बस्तीक्षेत्रमा जताततै फिँजारिन थाल्यो । नजिकै एक जना स्थानीय कुन्युबाट पराल तान्दै थिए, केही सेकेन्डमै उनी पानीमा पौडी खेल्न थालेको दृश्य क्यामेरामा कैद भयो । पछि उनी मरे, बाँचे ? केही थाहा भएन ।
कटान यति तीव्र थियो कि दुई मिनेटमै करिब ५० मिटर वर रहेको रुखतल पानीको धार आइपुग्यो, जसमा पत्रकार भुल्केली चढेका थिए । विचरा हत्तपत्त उत्रिए र सप्तकोसी एफएमका संवाददाता राम प्रधानसँग मोटरसाइकलमा नौ–दुई एघार भए । सम्भावित जोखिम व्यवस्थापनका लागि वस्तुस्थिति बुझ्न गएका अधिकारकर्मीहरू राजेन्द्र पोखरेल र भेषराज आसे बाँधछेउ पुगेका मात्र के थिए, पानीको मुस्लो उडेको देखेर सातोपुत्लो गयो ।
अहिल्यै र यति सजिलै फुट्दैन होला भन्ने ठानिएको कोसी तटबन्ध हेर्दा–हेर्दै फुट्यो । उता रेडियोमा सशस्त्र द्वन्द्वका नाइके पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबाट प्रधानमन्त्री पदको सपथ ग्रहण गरेको समाचार प्रसारित हुँदै थियो ।
त्यसपछि के भयो ? कति मान्छे मरे, कति क्षति भयो, कति विस्थापित भए ? राहत र उद्धारको काममा कति विलम्ब, कति चलखेल भयो ? सबै तपाईलाई थाहा छ ।

भङ्गालोले साबिकको बाटो समाउनुअघि कोसीका माछाभन्दा धेरै त्रास थियो ‘मधेस’मा । धरान, भेडेटारतिरका कोही राई, लिम्बू वा बाहुन–क्षेत्रीका छोराछोरी हरिनगरा पुगेर सकुसल फर्केलान् कि नफर्केलान् भन्न गाह्रो थियो । प्रतिक्रियामा देवानगञ्ज, घुस्की, नरसिंहतिरका मेहता, यादव र पालहरू बराहक्षेत्र दर्शन गरेर फर्केलान्, नफर्केलान् भन्ने शङ्काको बीउ रोपिएको थियो ।
कुराको उठान यसरी भयो । २०६४ माघ ५ गते लहान राजमार्गमा गोली चल्यो । रमेश महतो सहिद भए । त्यसपछि मधेस आन्दोलन चर्कियो । राजनीतिक उद्देश्यको आन्दोलनमा साम्प्रदायिक उग्रता यसरी थपियो कि सनातनदेखि मिलेर बसेका मधेसी र पहाडे मूलका भनिएका दाजुभाइ, दिदीबहिनी, मितबा–मितआमा र छोराछोरीबीच स्पष्ट फाटो देखियो । सडकमा रूख ढालेर, टायर बालेर अधिकार माग्ने क्रममा जातीय द्वन्द्वको आगो पनि सल्काइयो ।
स्थिति काबुबाहिर जान उद्यत हुँदै थियो ।
कहिलेकाहीं प्रकृतिले पनि मनको कुरा बुझ्छ जस्तो लाग्छ । त्यही–बेला मधेस आन्दोलनले बाटो बिराउनुअघि कोसीको पानीले आफ्नो बाटो परिवर्तन ग¥यो । तिनै दिनमा मधेसतिरका भूमिपुत्र, पीडितहरूले बुझे मधेस आन्दोलनलाई जातीय विद्रोह वा काठमाडौँमा हुने भनिएको ‘भैया’ मार्का व्यवहारगत असन्तुष्टिसँग जोड्नु गल्ती भइरहेको रहेछ ।
बिस्तारै जलकुम्भी झारझैँ मधेसमा फैलिन लागेको जातीय घृणा र द्वन्द्व घट्दै गयो । पहाडे समुदायका छिमेकीलाई भाग्न बाध्य पारेपछि समाज ‘एक्लो’ र ‘खल्लो’ भएको, विकासको पारो निकै तल झरेको अनुभव राजविराजलाई भयो । फर्केर आउने पहाडे समुदायका मान्छेलाई फूलमाला लगाएर स्वागत गरिने अभिव्यक्तिहरू सार्वजनिक भए । हार्दिक निम्तो पाएपछि कतिपय छिमेकीहरू बाबु–बाजेले तराईको जङ्गल फाँडेर आर्जिएको पुरानो थातथलो फर्किए ।
भन्नु उसो होइन, कोसी तटबन्ध भत्किँदा नेपाल र भारतको बिहारमा अपुरणीय धनजनको क्षति भयो । तर मलाई अझ पनि लागिरहेकै छ, अकल्पनीय त्यही दुर्घटनापछि हो मधेसमा मर्दाका मलामी र ज्युँदाका जन्ती फेरि सँगसँगै हुनथालेको ।
त्योभन्दा १० वर्षअघि च्छो–रोल्पा ताल फुट्ने व्यापक हल्ला चल्यो । सबैथोक लुकाउने ठाउँ हुन्छ, डर लुकाउने ठाउँ हुँदैन । हल्लाको प्रभाव यति तीव्र प¥यो कि तल कोसी किनार प्रकाशपुर, राजाबासतिरका बासिन्दा धमाधम सस्तोमा जग्गा बेच्दै विराटनगर, इटहरीतिर बसाइँ सर्दै गरे । केहीले मरे पनि यहीँ मर्ने हो भन्दै खसी–बोका, सुँगुर, पाडा काटेर ‘अन्तिम’ भोज खाए–खुवाए ।
म समाचारपत्रको जल्दोबल्दो रिपोर्टर थिएँ । स्थलगत रिपोर्टिङ गर्दागर्दै यति त्रस्त भइसकेको थिएँ कि कथम्कदाचित् राजाबासमा तटबन्ध फुटेर पानी इनरुवासम्म आइहाल्यो भने कम्मर–कम्मरसम्म होला, त्यो बेला जोगाउनुपर्छ भनेर दराजको तल्लो खण्डमा राखिएका महत्त्वपूर्ण फायल, कागज र फोटोहरू माथिल्लो खण्डमा सारेको थिएँ ।
धन्न ! दुई सातापछि विदेशबाट आएका विशेषज्ञले तालमा तल दुलो पार्न सफलता प्राप्त गरेको अर्को समाचार सुन्न पाइयो ।
अकल्पनीय खतरा तत्काललाई ट¥यो । तर अझै पनि बिबिसिले सम्झाउँदै छ, च्छो–रोल्पा ताल कुनै पनि बेला फुट्न सक्ने डर पूर्णतया हटिसकेको छैन ।

दृश्य सामाजिक सद्भाव बिगारिएको–बिग्रिएको स्थिति सामान्य हुँदै गएको यथार्थ झल्काउने एउटा कोसेढुङ्गा थियो ।
तर सामाजिक यथार्थ र आवश्यकताविरुद्ध उचालिएका छन् मान्छे । अनेकखाले डर र चिन्ता थपिएका छन् । बीचमा पानी धमिलो बनाएर माछा मार्न पल्केकाहरू निकै सक्रिय छन् । निकै लामो समयसम्म तुस रहने द्वन्द्वमा धकेलेर, मिलेर बस्न चाहिरहेको समाजलाई डुबाउन खोजिँदै छ । समाजमा वस्तुगत विश्लेषण र चिन्तनको खडेरी बढ्दै छ । परिस्थितिमा फुकाउन निकै समयलाग्ने गाँठो पारिँदै छ । नानीहरूको दिमागमा जातीय द्वन्द्वको बीउ रोप्नेहरूको सङ्ख्या थपिँदो छ ।
उत्सुकतावश आँखीझ्यालबाट म एकमुठी बालकका अनुहारहरू देखिरहेको छु । बालक भगवान्को रूप हो भन्छन् । तीमध्ये कोही मन्दिर जाने छन् । कोही मस्जिद जाने छन् । कोही चर्च जाने छन् । कोही गुम्बा जाने छन् । तर तपाई–हामीलाई थाहै छ, उनीहरूमध्ये कोही पनि आफ्नो रहरले, विवेकले ती ठाउँमा जान थालेका होइनन् । हामी नै उनीहरूलाई त्यसो गर्न बाध्य बनाइरहेका छौँ ।
बकरिदका दिन जलेबिया मितबाकोमा हलाल गरेको खसीको मासु खाएको र मितभाइ सिकिया मियाँलाई सप्तमीका दिन नौला पूजा गरेको बोकाको मासु खान दिएको हिजो जस्तो लाग्छ । ४८ वर्ष नाघ्यो ।
होलीको दिन बिहानै मजाले भाङ लागेको थियो । होली खेल्ने साथी खोज्लै जाँदा अजय मण्डल भात खाँदै रहेछ ।
‘मूला एक्लै खान्छस्,’ भन्दै मैले उसको जुठोभात कपाकप खान थालेँ । लौ ! विद्याधरलाई बिहानै भाङ लागिसकेछ भनेर घरमा खैलाबैला भयो । मलाई अरू कुराको मतलब थिएन । भाउजूहरू खोजीखोजी अबिर दल्न थालेँ । घरमा देबर नहुनु बेग्लै कुरा हो, देबर हुँदाहुँदै होलीमा उसले रङ नलगाइदिनुलाई भाउजूले आफ्नो अपमान ठान्ने मिथिला समाजको परम्परा छ । यस मामलामा अजय लाज मान्थ्यो, उसको कमी पूरा गर्ने दायित्व मेरो हातमा हुन्थ्यो ।
अर्को एकदिन मित्र दिवाकर सापकोटाको घरपछाडि घारीमा हामी केही साथीहरू भाँडाकुटी खेल्दै थियौँ । त्यहीँ एउटा अँठिया केराको बोट ढलेको रहेछ । हामी त्यसमा हात्ती–सवार खेल खेल्ने भयौँ । ढलेको केराको बोटमा माथिसम्म चढ्नु र हात्तीमा चढेझैँ लच्किनु अप्ठेरो थियो ।
मेरो दिमागमा एकाएक एउटा आइडिया आयो । आइडिया फुराउनमा म सानैदेखि माहिर मान्छे हुँ ।
खुर्रर कुदेर कोठाबाट दबिया लिएर आएँ । केराको थाममा तलबाट खोपेर खुड्किला बनाउन थालेँ । जब तेस्रो खुड्किला बनाउन दोस्रो छ्याक हान्दै थिएँ, एकाएक ‘हे गो बाबु गो, मार देल के !,’ भन्दै रुँदै, रगत चुहाउँदै बालसखा पप्पु साह कोठातिर दौडियो । सबै अक्क न बक्क भयौँ । भुइँमा पप्पुको आधा चोरऔँलो फुत्रुक–फुत्रुक उफ्रिरहेको देखेर डरले मेरो सातोपुत्लो उड्यो । खेल्ने, खुट्किला बनाउने क्रममा कसो–कसो उसको औँला काटिन पुगेछ ।
दिवाकरको घरमा ओल्लो कोठामा हाम्रो र पल्लो कोठामा पप्पुहरूको डेरा थियो । त्यो दिन म राति अबेलासम्म कोठा गइनँ । गाङ्गा दाइको घरपछाडिको त्रित्रीगाछीको टुप्पोमा लुकेर बसेँ । कसैले थाहा पाएन ।
भोलिपल्ट पप्पुको आमाले, ‘ए विद्याधर ! तैँले मेरो छोराको औँलो काटिस्, पर्खी म पनि तेरो औँलो काट्छु,’ भन्नुभयो । मेरो आमाले उपचार खर्च दिने कुरा भएछ । कुरा त्यत्तिकै मिल्यो । पप्पुले पनि टेक लिएन, पहाडे–मधेसीको फिलिङ मिसाएन ।
सुन्नेलाई सुनको माला । भन्नेलाई फूलको माला । यो कथा तपाईँको मनमा बसिरहला !