प्रियजन ! लामो समयदेखि मैले खाएको कुरामा म सचेत रहेकाे छु । तपाईँ के खाइरहनु भएको छ ? आफूले खाएकाे पिएकाे कुरामा सचेत हुनुहुन्छ ?

सम्भवतः अधिकांश हामीहरु ‘के खाइरहेका छौँ ?’ भन्ने कुरा थाहै नपाई बस् खाइरहेका छौँ । हो, खाने कुरा एउटा परम्परा हो । संस्कृति हो । हाम्रा पुर्खाहरुले सिकाए र गक्षअनुसार हाम्रो खानपान चलेको छ । तर हामीले यी सबै खाने कुराका परम्परा र संस्कृतिलाई धेरै पर छोडिसकेका छौँ । हामीले हाम्रो खानपानलाई, खाने परम्परालाई विश्वव्यापिकरणको कारण अर्कै संस्कार आयातित गरिसक्यौँ । बजार छ, हाम्रो खानपान अब बजारले निर्धारण गर्छ ।

सर्वप्रथम हामीहरु विज्ञापन खान्छौं । सुन्दर र आकर्षक विज्ञापनहरुले लखेटी लखेटी, बाटो रोकी रोकी , पछ्याइ पछ्याइ हामीलाइ खाऊँ खाऊँ बनाउँछ । हाम्रा बालबच्चाहरुको कलिलो मन र मस्तिष्क कब्जा गर्छ यसले । जताततै विज्ञापनको प्रचारले छोपेपछि हामीलाई लाग्छ, खानु पर्ने वा पिउनु पर्ने कुरा त्यही हो ।

विज्ञापन आफैँ एउटा प्याकेज हो । बनाउनेहरुले मानिसको रहर, सपना, सेन्टिमेन्ट जोडेर यसरी बनाइदिन्छ कि त्यो विज्ञापनमा उल्लेखित कुरा खाइपिई गरेन भने जीवनमा महत्त्वपुर्ण कुरा छुट्नेछ भन्ने महसुस गराइदिन्छ । हामीले यो कुरा सोच्न भ्याउँदैनौँ कि बनाउनेले किन त्यो विज्ञापन बनाइरहेछ ? त्यो आकर्षक विज्ञापन र त्यसमा प्रयोग गरिएका पात्रहरु खरिद गर्न कति धेरै लगानी गरेको होला ? कति बढाइचढाई गरेको होला ? बस्, हामी बग्छौँ विज्ञापनसँगै । अर्थात् हामी विज्ञापनलाई पत्याउँछौँ । अझ विज्ञापन सुन्दासुन्दा, हेर्दाहेर्दा हामी विज्ञापनको पछाडि कुद्न थाल्छौँ । त्यो कुरा खान पाए वा पिउन पाए ? यसरी हाम्रो दिमागले खान्छ अर्थात् विज्ञापनले हाम्रो दिमाग खान्छ ।

स्नेह सायमि

अब खाने कुराको कुरा गरौँ । खाने कुरा के हो ? त्यसमा के के खाद्य अखाद्य पदार्थ छन् र के के मसला मिसिएका छन् ? त्यो प्राथमिकताको कुरा रहेन । अब अर्कै कुरा हाम्रो प्राथमिकतामा पर्छ । पहिलो कुरो हो त्यसको प्याकाजिङ । कस्तो कागज वा प्लास्टिकमा प्याकिङ गरिएको छ र त्यो कति आकर्षक छ ? त्यसले तान्छ हामीलाई । विज्ञापनले ग्राहकलाई सामान किन्ने पसलसम्म लैजान्छ । पसलमा पुगेपछि उसले हेर्ने भनेको बाहिरी आवरण नै हो । बाहिरी आवरण नै प्रतिस्पर्धात्मक छ भने भइरहेका वस्तुमध्ये आवरणका कारण हामी तानिन्छौँ । हाम्रो खरिद प्रक्रिया साधारणतया त्यहीँ टुङ्गिन्छ ।

विज्ञापनले हुनेसम्मको प्रचार गरिसक्यो, आफ्ना सबै कुरा बताइसक्यो, अब हामीले त्यो सामान भेटेपछि अरुको तुलनामा राम्रो छ कि छैन भनेर आवरणको तुलना गर्ने हो र बजारमा भएको धेरै वस्तुमध्ये एक खरिद गर्ने हो । प्रियजन्, यो हामी सबैको नियति हो । अब हामीले पुर्खाहरुले झैँ आफैँ उत्पादन गर्न छोडिसक्यौँ । हामीले बजारमा भएका प्रचारित सामग्रीहरुमध्ये किन्ने हो ।

हामीमध्ये धेरैले प्याकेटमा लेखिएका कुरा पढ्दैनौँ । पढेर किन्दैनौँ । विज्ञापनमा जे भनिएको छ, त्यतिमात्र सुनेर धारणा बनाउँछौँ । धारणा बनाउने काम सबैभन्दा महत्वपूर्ण र खतरनाक काम हो । तर हामी सजिलै बनाउँछौँ आफ्नो धारणा । सामानको बारेमा त के, कसैले कानेखुसी गरेकै भरमा हामी अर्को मान्छेको बारेमा धारणा बनाउँछौँ र धेरैपछि सच्याउन नमिल्ने बेला थाहा पाउँछौँ । विज्ञापन र उत्पादकले आफ्नै उत्पादनको प्याकेटमा लेखिएका कुरा बीच कति फरक हुन्छ ? सायद हामी थोरैले अनुभव गरेका छौँ । प्याकेटमा कति दिन कति परिमाण, कति उमेरकालेसम्म खान मिल्छ, कस्ताले खान मिल्दैन लेखिएको हुन्छ । जुन पढेपछि हामीलाई सचेत हुन मद्दत मिल्छ तर हामी आफैँ पढ्दैनौँ । विज्ञापनले पहिल्यै हामीमाथि मानसिक विजय प्राप्त गरिसकेको हुन्छ ।

अब प्याकेट खोलौँ । खोल्ने तरिका र खोलेपछि देखिने सुन्दरता उत्पादक र उपभोक्ताको लागि महत्त्वपूर्ण छ । किनभने आधुनिक समाजमा खानाको सजावट राम्रो देखिनु पहिलो प्राथमिकता हो । राम्रो देखिएपछि हामी खान्छौँ । अर्थात् फेरि पनि आँखाले खान्छ । अनि जिब्रोले । स्वादको कुरा आयो अब । तपाईँलाई मीठो लाग्ने स्वाद भयो भने अरु सबै अवगुणहरु बिर्सनु हुन्छ । त्यो खानेकुरा खाएपछि स्वास्थ्यमा के असर पर्छ । अमृतको काम गर्छ कि मन्द विष । त्यो कुरा त अन्दाजै गर्दैनौँ हामी । बस हामी खान्छौँ । बजारका खाद्यान्न भनिएका अधिकांश प्याकेटहरु केही न केही प्रतिशत अखाद्य छन् । कति भन्नेसम्म मात्र हो, कति त मन्द विष नै हो । कति खाद्य र पेय पदार्थले त हाम्रो शरीरलाई तत्काल नकारात्मक असर पार्छ । तर पनि हामीलाई विज्ञापनमा र अखाद्य मन्द विष खानुमा बानी परिसकेको छ । हामी हेर्न नहुने कुरा हेरिरहेछौँ । पत्याउन नहुने कुरा पत्याइरहेछौंँ । खान नहुने कुरा खाइरहेछौँ ।

जे अमृत खाद्य हो, उसले विज्ञापन गर्दैन । किनभने ऊ बजारमा बिक्न पनि चाहँदैन । ऊ प्रकृतिमा विश्वास गर्छ र प्रकृतिको उत्पादन बेचेर पैसा थुपार्नुको प्रयोजन देख्दैन । ऊ हराइरहेको हुन्छ बजारबाट । प्रियजन्, हामी बजारमा छौँ । बजारमात्र देख्छौँ । विज्ञापन मात्र पत्याउँछौँ । सामाजिक सञ्जाल त झन विज्ञापनको सशक्त माध्यम हो । त्यहीँ जन्मन्छौँ, त्यहीँ हुर्कन्छौँ र त्यहीँ मुत्यु कुर्छौँ ।