साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अनागरिक

आफूबाहेक कार्यसमितिका सबैलाई क्षणभरमै सायोनारा (बाइबाइ) गरिदिए । बरु आफू अनुकुल पूर्वमाओवादीका केही सहयोगीहरुलाई कमिटीमा मनोनयन गरे । यसै कदमबाट पनि प्रष्ट हुन्छ, बोली महाराज बिस्तारै हिटलरीय प्रवृत्तिमा प्रवेश गर्दैछन् ।

नमस्कार नमस्कार नमस्कार नमस्कार… सन्चै हुनुहुन्छ ? आउनुस्, आज म तपाईंलाई अनागरिक च्या पिलाउँछु ।

बेला बेला मलाई लाग्छ, म यो देशको नागरिक नै होइन । किनकि ममा नागरिकमा हुनुपर्ने कुनै गुण नै छैन । मलाई राज्यले आफ्ना नागरिकलाई दिनुपर्ने कुनै सेवा सुविधाहरु दिएको छैन । आजकल सेवा सुविधाहरु पाउन कार्यकर्ता हुनैपर्ने एकसूत्रीय प्रावधान छ ।

प्रत्येक दिन बिहान उठेपछि सोच्छु, आजचाहिँ राजनैतिक कुरा गर्दिनँ । दुःखको कुरा, जब च्याभट्टीमा आइपुग्छु कतै न कतै, कहीँ न कहीँ राजनीति मिस्सिइहाल्छ ।

उसो त राजनीति नमिसिएको ठाउँ पनि त कतै छैन ! शिक्षामा राजनीति । स्वास्थ्यमा राजनीति । यातायातमा राजनीति । विकास निर्माणमा राजनीति । रोजगारमा राजनीति । पर्यटनमा राजनीति । समाजसेवामा रजनीति । व्यापारमा राजनीति । खेलकुदमा राजनीति । साहित्य/कलामा राजनीति । पुरस्कारमा राजनीति । नुनमा राजनीति । सुनमा राजनीति…. ।

विकासशील देशमा परिवर्तनको सबैभन्दा ठूलो बाधक राजनीति रहेछ । पानी बसाएर ।

तपाईं आफैँ विचार गर्नुस् न, पछिल्ला दुई साता नेपालको राजनीतिमा कतिधेरै उथल पुथल भयो ! मेरा धेरै ग्राहकहरुले भन्ने गर्नुहुन्छ ‘राजनीति भनेको फोहरी खेल हो ।’ यसो विचार गर्दाखेरी मलाई पनि त्यस्तै लाग्न थालेको छ आजकल । साँच्चै राजनीति फोहोरी खेल नै हो ! जहाँ फोहोर र घिनलाग्दो तरिकाले सबैभन्दा फोहोर र घिनलाग्दा अभ्यासहरु गरिन्छ ।

अस्ति सर्वोच्चले बढो अचम्मको निर्णय गरिदियो, तीन चार वर्षदेखि एकीकृत भएको पार्टीलाई नामको बाहानामा दुई फ्याक पारिदियो । सर्वोच्चको यही निर्णयले देशलाई अर्को यौटा अस्थिर बाटोमा डोर्याएको छ । अबको लामो समय देश अस्थिर हुनेछ । कुर्सीको तानातान र मोलमोलाई हुनेछ । सत्ता समिकरणको बहानामा अनेकथरी हुनेछ । जनताको भरोसालाई कुल्चिएर मारिनेछ ।

सर्वोच्चको पछिल्लो निर्णयले बोली महाराजलाई झनै शक्तिशाली बनाएको छ । मलाई त लाग्छ, सर्वोच्चको पछिल्लो निर्णयमा कहीँ कतै ओलीको हात हुनुपर्छ । हुन त न्यायको मन्दिरमाथि यस्तो शङ्का गर्नु नहुने हो तर, पछिल्ला केही घटनाक्रमले यही सङ्केत गरे झैँ लाग्छ । चिनी नपुगेको च्याजस्तो; के तपाईंलाई लाग्दैन ?

अँ अर्को कुरा, त्यही निर्णयलाई कुरेर बसेजस्तो सर्वोच्चको निर्णय आउन नपाई लामो समय उठबस गरिरहेका माधव झलनाथहरु एकाएक उदण्डसँगको साथ छोडेर पुरानै घरमा फर्किए । तर, दुःखको कुरा, पुरानो घर पनि उनीहरुको घर भैदिएन । बोली महाराजले आफ्नो कब्जामा लिइछाडे । आफूबाहेक कार्यसमितिका सबैलाई क्षणभरमै सायोनारा (बाइबाइ) गरिदिए । बरु आफू अनुकुल पूर्वमाओवादीका केही सहयोगीहरुलाई कमिटीमा मनोनयन गरे । यसै कदमबाट पनि प्रष्ट हुन्छ, बोली महाराज बिस्तारै हिटलरीय प्रवृत्तिमा प्रवेश गर्दैछन् ।

हेर्दै जाउँ, बोली महाराजको यो हस्तक्षेपकारी राजनीति कहाँसम्म चल्ने हो ? हिटलरको प्रवृत्ति अवलम्बन गर्नु पहिले हिटलरको अवसानका बारेमा उनले पक्कै ख्याल गरेका होलान् ! हामी त ताली पिट्ने न पर्यो । कि राम राम भनिन्छ कि ताली पिटिन्छ मस्तले । राजनैतिक खिचातानी हेरेर गर्नुपर्ने यति नै रहेछ । दूध मिसाएर ।

हिजो यो भट्टीमा एकहुल युवाहरु आइपुगे । उनीहरु इपिएस पीडित युवाहरु अरे । इपिएस भनेको कोरिया लाने संस्था रे । लामो समयदेखि उनीहरुलाई इपिएसले अनिर्णयको बन्दी बनाएको रहेछ । कोही कोही त डेढ दुई वर्षदेखि कोरिया उढ्ने प्लेन टिकटको पर्खाइमा बसेका रैछन् ।

‘कति दुःख र मेहनत गरेर भाषा पास गरियो, लेबरकन्ट्र्याक पनि आयो, सिसिभिआई पनि आयो त्यसपछि फ्लाइट स्याडुअल आउनुपर्ने बेलामा कोरोना आइदियो । कोरोनासँगै हामीलाई बेबारिसे बनाइदियो । आ होस् है जान्न कोरिया सोरिया भनेर केही गर्न थालौँ पैसा जति कोरियाकै चक्करमा फसिसक्यो । फेरि सबै प्रकृया पनि त पूरा भएको छ । भिषा रहादानीमा लागेको छ । कारखानाले आइज पनि भनेको छ तर जान पाइँदैन ।’ उनीहरु भन्दै थिए ।

इपिएस पीडितको सवालमा सरोकारवालाहरुले कानमा तेल हालेर बसेका छन् रे ! उनीहरुको यौटै जवाफ हुन्छ रे ‘कोरिया सरकारले जे भन्छ हामीले त्यही गर्ने हौँ ।’ उता कोरिया चाहिँ भन्छ अरे ‘तिमीहरुको देशले कोरोना बिमा गर्न मानेन । कोरोना बिमा नभएका विदेशी मजदुरहरु हामी ल्याउँदैनौँ ।’

कोरियामा यौटा कार्यकाल सकेर नेपाल फर्किएका र पुनः जान आएका युवाहरु पनि रैछन् । उनीहरु फर्कदा उतैबाट भिषा लिएर आएका थिए रे । अरुको जस्तै उनीहरुको पनि सबै प्रकृया पूरा भैसकेको रहेछ । उनीहरु पनि पर्ख र हेरकै अवस्थामा रहेछन् ।

कोरियालाई छाडौँ अरु देश जान पनि कोरियाकै जसरी युवाहरु वर्षौँदेखि प्रतिक्षारत छन् । कतिका रहादानीमा भिषा लागेका छन् । कतिका रहादानीहरु म्यानपावर र दलालका हातमा छन् । कतिले महँगो ऋणमा पैसा खोजेर दलाललाई बुझाइसकेका छन् । साहुले ब्याजको स्याज जोडिसक्यो । विचराहरु जान पाउँदैनन् ।

काम देऊ भन्दा सरकारले काम दिन सकेन । ठिकै छ नि त, देशले दिन सकेन विदेशमै गएर गर्छु भन्दा पनि राज्य निरिह भइदिन्छ । कोरोनाको बाहाना गरेर चुपचाप निदाइदिन्छ । साँच्चै, कस्तो गैरजिम्मेवार राज्य हो हाम्रो ।

ठिकै छ, महामारीले गर्दा अन्य राष्ट्रहरुले विदेशी कामदारहरु भित्र्याउन चाहेका छैनन् भने सरकारले युवाहरुलाई देशमै केही गर्ने वातावरण बनाउनु पर्छ कि पर्दैन? लामो समयदेखि जल्दाबल्दा युवाहरुलाई अनिर्णको बन्दी बनाएर राख्दा दीर्घकालमा देशलाई नै घाटा हुन्छ भन्ने बुद्धि कहिले आउँछ हाम्रा शासकहरुको ?

हाकाहाकी युवाहरुलाई राहादानी बेच्नुभन्दा उद्यमी बनाउनतिर लाग्न खै के कुराले छेकेको छ र ? हुन त दुईगाँस जोड्न धौ धौ पर्ने गरिब परिवारको युवाले उद्यम गर्न कहाँबाट पूँजी ल्यओस् भन्नुहोला । ठिकै पनि हो, तपाईंँको सबाल । जनतासँग स्रोत, साधन, हैसियत, पूँजी छैन ठीक हो । तर, राज्यसँग त छ नि । चुनाव र यावत् खर्चका लागि अर्बौं जुटाउनसक्ने राज्य, सरकारले केही उद्योगहरु खोल्न सक्दैन र ? युवाहरुलाई उद्यमी बनाउने सिप, तालिम, सेमिनारहरु दिन सक्दैन र ? वैदेशिक रोजगारीमा जानुपूर्व देशकै उद्योगहरुमा एक वर्ष अनिवार्य काम गर्नैपर्ने प्रावधान ल्याए के बिग्रन्छ र ! चिनी हालेर ।

हजुर हजुर, कसो अरे ! देशमै बसे युवाहरु बिग्रिन्छन् अरे ?

तपाईंको कुरा गलत पनि होइन । युवाहरु बिग्रेका छैनन्  भनेर भन्न पनि सकिँदैन सकिन त । बेरोजगारीले युवाहरुलाई बेकामे बनाएकै छ । अरुको के कुरा गर्नु मेरै लठूवाले अस्ति शिवरात्रीमा भक्कुमार गाँजा र भाङ खाएर आएछ । तिन दिनसम्म कोठामै लडिबस्यो ।

पछिल्लो समय धर्मकर्मका नाममा पनि गलत प्रवृत्ति हावी हुँदैछ । वर्षौँभरि म नास्तिक हुँ । भगवान् सगवान् छैनन् । भन्ने युवाहरु शिवरात्रिका दिन किन पशुपति जान्छन् ? यदि त्यहाँ गाँजा र भाङ नपाइनु भने कोही जान्थे होला ? सोच्नुस् त सोच्नुस् ।

पछिल्लो समय जनतामा चेतनाको स्तर बढेको छ भनिन्छ । तर, सरकार/राज्यले दावा गरेजस्तो जनतामा चेतनाको स्तर बढेको खासै देखिदैन । अझै पनि बोक्सी भनेर निमुखा सोझासाझाहरू कुटिन्छन् । धामीझाँक्रीको भरमा उपचार चल्छ । छाउपडी अझै जीवित छ । सरकारले छाउपडीको अन्त्य भयो भनेर दुई चारवटा छाउघर त भत्कायो तर मान्छेको मनमा गडेको कुसंस्कार र अन्धविश्वास भत्काउन सकेन ।

अलि अस्ति यौटा समाचार छापियो ‘बाजुरा मुक्तिकोटमा बीस वर्षका अविवाहित महिला भेटिन्नन्’ । समाचारमा भनिएको छ यौटा सिङ्गो गाउँमा २० वर्षमुनि नै सबैको विवाह भैसक्छ । र, कलिला चेलीहरु उमेर नपुग्दै आमा बनिसक्छन् । गाउँमा शिशु मृत्युदर अधिक छ । प्रत्येकजसो परिवारले कुनै न कुनै सन्तान गुमाएकै छन् । बाँचेका बच्चाहरु पनि कुपोषणले ग्रसित छन् ।

माथिको समाचार जसरी सामाजिक सञ्जालहुदी आयो । मैले सोचेको थिएँ, यो विषयले यौटा भिन्न रुप लेला । दिनरात सामाजिक सञ्जालमा अधिकारका कुराहरु उठाउने सचेत अभियन्ताहरुले यो विषयमा पनि बोल्लान् । तर अहँ, त्यस्तो केही देखिएन । कुनै व्यक्तिले अलिकति दीअर्थी स्टाटस लेख्यो, ट्वीट गर्यो भने वातावरण गरमागरम बनाउनेहरु किन यस्ता विषयमा बोल्न चाहिरहेका छैनन् ? कि के कुराले छेकिरहेछ उनीहरुलाई ? अथवा म गलत पनि हुनसक्छु । धेरैले यस विषयमा पहल गरेका पनि हुन सक्छन् । तर जसरी समाचार आयो त्यसरी पहलका विषयमा समाचारहरु छापिँदैनन् । यसबाट पनि पुष्टि हुन्छ हाम्रा मिडियाहरु संवेदनशील विषयमा खासै संवेदनशील छैनन् । मिडियाको काम प्रश्न गर्नु मात्र हो ? के मिडियाको काम समस्या उजागर गर्नु मात्र हो ? यदि होइन भने त्यस्ता समाचारहरु पनि छापिउन् जसले समाजमा सकारात्मक सन्देशहरु दिन सकून् । मुक्तिकोटका महिलाहरुमा जनचेतना अभिवृद्धिको लागि यस्तो गरियो, यसो हुँदैछ भनेर समाचारहरु आउन् र पो पब्लिक इन्ट्रेस्ट बढ्छ । तितो सुनिएला तर भन्नैपर्छ, हाम्रा अभियान्ताहरु यतै कतै सामाजिक सञ्जालतिरै अल्झिरहेका छन् ।

गत फाल्गुन २४ गते दैलेखका एकै परिवारका ५ सदस्यले कर्णानीमा हाम फालेर देहत्याग गरे । लामो समयदेखि घरेलु हिँसाको सिकार भएका आमासहित एकै परिवारका ५ सदस्यले यसरी आत्महत्या गर्नुले प्रस्टै पार्छ हाम्रो राज्यसत्ता र हाम्रो चेतनास्तर कति नाजुक अवस्थामा छ भन्ने कुरा । यस विषयमा पनि खासै हाम्रा अभियन्ताहरु बोलेको देखिदैन न त सरकारनै केही बोल्छ । दूर दराजमा रहेका जनताहरुले यस्ता घरेलु हिँसा कहिलेसम्म सहनुपर्ने ? कहिलेसम्म भोग्नुपर्ने ? तपाईं एकपटक कल्पना गर्नुस् त कति दुःख सहेर जन्माएका सन्तानहरुलाई आमाले नै त्यसरी खोलामा घचेड्न बाध्य हुनुको पछाडि कति धेरै पीडा लुकेको होला ? संसारका हरेक आमाहरु आफ्नो सन्तानलाई बचाउन जे पनि गर्न तयार हुन्छन् । बरु आफू भोकै रहन्छन् तर सन्तानका इच्छाहरु पूरा गरिदिन्छन् । तर तिनै चार छोराछोरीकी आमा सुकु बडुवाललाई के कुराले बाध्य पार्यो आफ्ना सन्तानहरु मार्न ? कसरी सकिन् होला त्यसरी मार्न ? साँच्चै अब सोच्नैपर्ने बेला आएको छ । यस्ता विषयहरुमा बोल्नैपर्ने बेला आएको छ । हरेक कुरामा पितृसत्ता जोडेर माहोल गरमा गरम गराउनेहरु यस्ता घरेलु हिँसाका विषयमा किन मौन रहन्छन् ? च्यापत्ति मिसाएर ।

हजुर हजुर,  के भन्दै हुनुहुन्थ्यो ?  ‘हामी नपर्नेहरुलाई लुतो न कनाई रे !’

टैट, त्यस्तो पनि बोल्ने हो ? यसको सबैभन्दा मुख्य जिम्मेवार हामी नपर्नेहरु नै हौं । तपाईं सुकिलो मुकिलो देखिए पनि यस्तो नीच सोच कसरी राख्न सक्नुहुन्छ ? समाज भनेको हामी सबै मिलेर बनेको त हो नि । दुःख पीरमा पर्ने त परिगए नपर्नेहरुले सान्तवना दिने हो नि । आज बाजुरामा घटेको घटना भोलि तपाईं हाम्रै घरमा नघट्न सक्ला भन्न सकिन्छ र ! अब हामीले सोच बदल्नैपर्ने बेला भएको छ । नारी पुरुष, धनी गरिब, शिक्षित अशिक्षित, उँचो नीच सबै हामीले नै बनाएका सिमा स्तम्भहरु हुन् । अब हामीले नै भत्काउनुपर्छ हाम्रा खराब प्रवृत्तिहरु ।

पछिल्लो समय कोरोनाले धेरैको रोजीरोटी खोसिदिएको छ । रोजीरोटीका बाहानामा सहरमा देहव्यापार पनि बढेको समाचारहरु देख्न, सुन्न पाइन्छन् । यस्ता विषयमा पनि सरोकारवालाहरु खासै बोलेको देखिँदैन ।

फलाना, ढिस्कानाको शासनसत्ता बचाउनुपर्छ भनेर दिनरात नाराजुलुस लगाउने नागरिक समाजका अगुवा हुँ भन्नेहरु समाजका गहन र संवेदनशील विषयमा किन बोल्दैनन् होला ? कि राजनीति मात्र सामाजिक मुद्धा हो ? तपाईंलाई लाग्दैन यस्ता घटनाहरुको नजरअन्दाज गरेर तपाईं हामीले नै हिँसा बढाइरहेका छौँ ? गलत भएको देख्दादेख्दै पनि मौन बस्नु गलतलाई प्रोत्साहन गर्नु हैन र ? कि गैरराजनीति नागरिक दायित्वभित्र पर्दैन ?

पछिल्लो समय कोरोना महामारीले युवाहरुलाई अनिर्णयको बन्दी मात्र बनाएको छैन । समाजमा गलत गतिविधिहरु पनि बढ्न थालेका छन् । चोरीडकैतीका समाचारहरु पहिलेभन्दा बढी आउन थालेका छन् । अपराध, बलात्कारका घटनाहरु पनि पहिलेभन्दा बढिरहेका छन् ।

शैक्षिक बेरोजगारीलाई व्यवस्थापन गर्ने असल सम्यन्त्र नहुनाले पनि युवाहरुमा खराब आचरण मौलाउँदो छ । अनलाइन सपिङको बाहानामा नागरिकहरु दिनानुदिन ठगिइरहेका छन् । साँझ पर्न नपाउँदै घरबाट बाहिर निस्कन डराउनु पर्ने अवस्था आइसक्यो ।

पार्कहुदी स-साना स्कुले विद्यार्थीहरु चुरोट तान्दै गरेका भेटिन्छन् । खैनी पराग खानेहरुको जमात उस्तै छ । घर परिवारका सदस्यहरुले आफ्ना छोराछोरीको खासै देखभाल गरेको पाइँदैन । यसले पनि दीर्घकालमा ठूलो असर गर्ने देखिन्छ । कतिपय स्कुले विद्यार्थीहरु गाँजाले लठ्ठ हालतमा भेटिन्छन् । माथिका यावत् समस्याहरुलाई राज्यले नियन्त्रण गर्नुपर्ने हो तर हाम्रो राज्य स्वयम् भाङ खाएजस्तो छ । राज्य चलाउने/राज्य बनाउने भनाउँदाहरु सत्ता लिप्सामै व्यस्त छन् । यसरी देश कहाँ पुग्ने होला ? यसरी कस्तो समृद्धि आउने होला ? अब सोच्नैपर्ने समय आएको छ ।

हुन त हाम्रा शासकहरु बढे बढे सपना देखाउँछन् । कहिले नेपाललाई स्वीजरल्याण्ड बनाउँछन् । कहिले एसियाकै शक्तिशाली देश । चुच्चे रेल मात्र होइन स्मार्ट सहरको सपना बाँढ्छन् । यथार्थमा देख्दैनन् उनीहरु आफ्नै शरीरमा टालिएको धुलो । आफैँभित्र कुहिएको सत्तालिप्सा । फलस्वरूप युवाहरु राहादानीसँग बेचिन्छन् । बालबच्चाहरु कुपोषणले थलिन्छन् । वृद्ध/वृद्धाहरु भोकभोकै देह त्याग्छन् ।

अल्पविकशित, विकासशील देशहरुमा विकासको झूटो नारा भजाएर जनताका आँखामा छारो हाल्न एकदमै सजिलो छ । जबसम्म तपाईं हाम्रो खोपडीमा राजनीतिप्रति बितृष्णा पलाउँदैन । जबसम्म हामीले यस्ता भ्रष्टहरुलाई सत्तामा पुर्याउने आम चुनावहरु वहिष्कार गर्दैनौं, तबसम्म साँच्चै देश बन्दैन ।

तपाईं भन्न त भन्नुहोला, असल नेत्रृत्व छान्न पनि मत हाल्नै पर्छ । मताधिकार हरेक नागरिकको नैसर्गिक अधिकार हो । हो, अधिकार नै हो, म पनि त्यही भन्छु । तर, हामीले पाएको त्यही मताधिकारको बारबार दुरुपयोग मात्र हुन्छ भने त्यसको प्रयोग नै नगर्ने बुद्धिमता हुन्छ जस्तो मलाई चाहिँ लाग्छ । म चाहिँ अब आउने चुनावहरुमा यिनै पानीमरुवाहरु उठेछन् भने मत दायर नै नगर्ने निर्णयमा पुग्या छु । कसै गरे हाल्नैपर्ने अवस्था आएछ भने बदर गरिदिने हो ।

के तपाईंलाई लाग्दैन, हाम्रो राजनीतिक अभ्यासहरु सधैं यसरी नै भइराखे हामी संसारसामु मुख देखाउन लायक भैरहन्छौँ होला ? यौटा त्यस्तो उदाहरण दिनुस् त जसले पछिल्लो समय हामीलाई विश्वमाझमा गर्व गर्न लायक बनाएको हाेस् ? कहिलेसम्म हामी सगरमाथाको शिर बेचेर नाक फुल्याइरहने ? कहिलेसम्म वीर गोर्खालीको नाम बेचेर बसिरहने ? कहिलेसम्म प्रकृतिको रुप बेचेर गर्व गरिरहने ?

जबजब बसन्तपूर दरवारतिर फन्को लगाउँछु, कताकता मनमा भक्कानो फुटेर आउँछ । विदेशी दाताहरुले अर्बौँ रकम सहयोग गरिसकेका छन् । तर, दुःखको कुरा भुकम्प गएको ५ वर्ष पुग्दा पनि पुनर्निर्माणको काम सकिएको छैन । हैन हैन, कतिको त पुनर्निर्माण सुरु नै भएको छैन । यस्तो ढिलासुस्ती देख्दादेख्दै कसले चाहिँ हामीलाई असल भन्छ, भन्नूस त ?

तपाईं, तपाईं, तपाईं कसैले हाम्रा शासकहरुलाई यो गलत गर्यौ भनेर औँलो उठाउन सकेका छौं ? छैन, छैन । हामी औँलो उठाउन सक्दैनौँ । बरु शिर निउर्याएर हिँड्छौं तर औँलो उठाउन सक्दैनौं । कसैले गलत गरिरहेछ र उसले गलत गरेको देख्दादेख्दै पनि अरु कोही नजरअन्दाज गरिदिन्छ, मौन बसिदिन्छ भने अप्रत्यक्ष समर्थन नै त हो त्यो । हैन र ? जबसम्म हामी मौन बसिरहन्छौं तबसम्म हाम्रो देश जहाँको त्यहीँ भैरहन्छ । वास्तवमा अब हामीले सोच्नैपर्ने बेला भएको छ । के हामी असल नागरिक हौँ त ? के हामीलाई साँच्चै देशको माया छ त ? कहिलेसम्म गलत नेतृत्वलाई देशको बागडोर सम्हाल्न दिइरहने?

 

ला ला ला …. उम्ली त गो ।

 

फु फु फु….।

 

ढक ढक ढक….।

 

खै खै खै ग्लास …. ।

 

ल है लिइहाल्नुस् तात्तातो च्या ।

 

सुरुप्प….।

 

हस् त आजलाई यो अनागरिक च्या यत्ति नै । जिब्रो पड्काएर ।

प्रतिक्रिया
Loading...