एउटा सानो बच्चालाई आमाले सिकाउनु हुन्छ ए फर एप्पल । बीस वर्षअघिसम्म सिकाइन्थ्यो कपुरी क । अब त्यो क प्राथमिकतामा परेन, ‘ए’ले प्राथमिकता पायो । आमा बाहरूलाई लागेको छ, कपुरी क महत्वपूर्ण छैन । सिक्न त ए फर एप्पल नै सिक्नुपर्छ । संसार ए फर एप्पलले चलेको छ । अब बच्चाहरू अङ्ग्रेजी भाषाका ज्ञाता भए, जन्म दिनको सट्टा बर्थडे मनाउने भए । दौरा भोटोको सट्टा बर्थडे कस्टम लगाउने भए । स्कूलहरुले यिनै कुरालाई प्राथमिकतामा राखे । हो नयाँ पुस्ता अङ्ग्रेजीमा लेख्न पढ्न सक्ने भए ।
काठमाडौँमा अङ्ग्रेजी स्कूल भर्खर भर्खर खुलेको थियो, घरका छिँडीहरुमा । थोरै विद्यार्थी चार कोठे स्कूल । तर त्यसलाई किन हो कुन्नि बच्चाका आमाहरु बोर्डिङ स्कूल भन्थे । पँधेरामा, धारामा, कुवामा, खेतमा आमाहरू आफ्ना कलिला बच्चाहरु बोर्डिङ स्कूल अर्थात् अङ्ग्रेजी स्कूलमा पढ्न पठाएकोमा गौरव मान्थे । बच्चाहरू चार पाँच वर्ष नभई स्कूल पठाउने चलन थिएन । तर निजी स्कूलहरुले नर्सरी, केजी वान, केजी टु जस्ता कक्षा एक वर्षअघि नै पढ्नुपर्ने कक्षा सञ्चालन गरेका थिए । सरकारी र सामुदायिक स्कूलमा धेरै कुरा निःशुल्क हुन्थ्यो , तर नीजीमा महँगाे रकम स्कूल फीको रुपमा तिर्नु पथ्र्यो । महँगो रकम तिरेर घरका छिँडीहरुमा सञ्चालन गरिएका नर्सरी स्कूलमा बच्चाहरु पढाउँदा पनि अभिभावक दङ्ग पर्थे ।
स्कूलमा जाँदा टाई लगाउनु पर्दैनथ्यो । तर पछि टाई नलगाइकन स्कूल जानै नसकिने भयो । स्कूलका युनिफर्म बन्यो शिरदेखि पाउसम्म । टोपीदेखि जुत्ता मोजासमेत स्कूलले भनेअनुसार स्कूलले तोकेको पसलमा किन्नुपर्ने भयो । पुस्तक पनि बच्चाको ढाडले धान्नै नसक्ने गरी दिनदिनै बोक्नुपर्ने भयो । आमाबा र अभिभावकहरु त्यसैमा गौरव मानिरहे । के पाठ्यक्रम पढायो ? के सिक्यो ? सिक्ने कुरा त किताब घोकाएर मात्र होइन रहेछ नि । स्कूलमा शिक्षकले गर्ने व्यवहार, संस्थागतरूपमा विद्यालयहरुले विद्यार्थीहरुसँग गर्ने कारोबारले नयाँ पुस्तालाई के बनायो ?
सर्वप्रथम आफ्नो देशको मूल भाषा खस नेपाली भाषा नै पनि बोल्न लेख्न नजान्ने बनायो । बिचरा ती अबोध बालकहरुलाई के थाहा कि उनीहरुलाई आफ्नै भाषाबाट बञ्चित गरिएको छ भनेर । ऊ आफ्नै देशको भाषाबाट लेखपढ गर्न कमजोर भयो । त्यतिमात्र होइन आफ्नो मातृभाषा त पटक्कै नजान्ने भयो । नेपाललाई चिनाउने सयौँ मातृभाषा जुन सिकेर बालक बालिकाहरुले थप ज्ञान, संस्कार सिक्थे त्यसबाट त ऊ पूरै बञ्चित भयो । सबै अङ्ग्रेजी । हेल्लो, हाउ आर यु, हाई आदि आदि । अङ्ग्रेजी भाषा सिक्दै नसिक्नु भन्ने होइन । अङ्ग्रेजी भाषा पनि सिकाउनु पर्छ नै । त्यति मात्र होइन विश्वका महत्त्वपूर्ण भाषाहरु आवश्यकता अनुसार सिक्नुपर्छ । तर आफ्नो मातृभाषा ,देशको मूल भाषा हामीले सिकाउनु नै पथ्र्यो । शिक्षामा विदेशी भाषा मात्र प्राथमिकता दिने नीति निर्मातादेखि स्कूल चलाउने स्कूल सञ्चालक र हामी बाआमा र अभिभावकहरु यो मानेमा साँच्चै अपराधीहरु हौँ । इतिहासले हामीलाई माफ गर्ने छैन ।
दशकौँ दशक, पुस्तौँ पुस्ता आफ्नो भाषा, अनि भाषासँगै सिकिने सयौँ वर्ष पुरानो परम्परा, ज्ञान, सीप सबैबाट छुटाउनु के ऐतिहासिक गल्ती होइन । जब जब हाम्रा नयाँ पुस्ताले भाषाको महत्त्व र गौरव बुझ्दै आउनेछन्, त्यतिबेला सहजरुपमा खेलीखेली सिकिने भाषासँगै आफ्नो परम्परागत ज्ञानबाट पन्छिएको पन्छाइएको महसुस गर्छन् । अवश्य पनि हामीले गरेको यो गल्तीबाट उनीहरुले पाएको सजायले दुखित हुनेछन् ।
अरु त अरु आमाहरुले घरको रोटी, दालभातभन्दा पनि चिज बल्स, चाउचाउ , दालमोठ , पानीपुरी, चकलेट, पिज्जा, बर्गर जस्ता तयारी खाना खाजाको रुपमा बढी पैसा खर्च गरेर पठाउनुमा गौरव गरिरहेका छाैँ हामी । यो भाषापछि हाम्रो खानपान, जीवन संस्कारमा हस्तक्षेप हो । अब त स्कूल प्रशासनले पैसाको लागि विद्यार्थीलाई गर्ने व्यवहारले पाठ्क्रममा जेसुकै नैतिक पढाइएको भए तापनि स्कूल र शिक्षकप्रति विद्यार्थीहरुको विश्वास गुमेको छ भने जे पनि पैसा मात्र रहेछ भन्ने मनोविज्ञानले काम गरेको छ ।
पाठ्यक्रममा नभएका यस्ता थुप्रै विषय छन्, जुन बहसको लागि अपरिहार्य भइसकेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।