सन् चालीसको दशकमा बामपन्थीहरूको प्रभाव पहाडमा परे पनि सन् साठीको दशकमा बङ्गालमा आएको बामपन्थी लहरबाट दार्जीलिङ पनि अछुतो रहन सकेन । मार्गेटहोप्स चिया कमानमा सन् १९५५ मा भएको नाबालिक एवम् निहत्यहरूको बर्बरतापूर्वक पुलिसबाट हत्या भएको काण्डले दार्जीलिङमा नयाँ राजनीतिक तरङ्ग ल्यायो । फलस्वरूप यसलाई अवसरको रूपमा लिएर विस्तारै बामपन्थीहरू गरिबको पक्षमा लड्ने दलको रूपमा स्थापित हुँदै गए । चारु मजुमदार र कानु सन्यालले नेतृत्व गरे नक्सलवादीको उदय दार्जीलिङको छिमेको जिल्लामा भयो । जसको बाछिटाले दार्जीलिङ र नेपाललाई पनि छोयो । बामपन्थी विचारधारा भएका बौद्धिक जमातले, जो पहिले खुलेर आएका थिएनन् क्रमशः आफ्नो लेखहरू प्रकाशित गर्न थाले । सन् चालीसको दशकबाटै सक्रिय लेखक गणेशलाल सुब्बा, बद्रीनारायण प्रधानलगायत अरू केही लेखकहरू आफ्नो लेखबाट असन्तुष्टि व्यक्त गर्न थाले । वर्ग सङ्घर्ष र पीडितको पक्षमा लेख्न थाले । तर त्यो समयमा प्रगतिशील कविहरूको उपस्थिति भने न्यून थियो । कवि वीरेन्द्र, दान खालिङ, अगमसिंह गिरीले सुरु सुरुमा प्रगतिशील साहित्यमा आबद्धता देखाए पनि पछि गएर नयाँ मोड लिएको देखिन्छ उनीहरुको कविताले ।
तर एक दशकपछि एउटा उर्जावान् उम्दा कविको उदय भयो मङ्गपुमा, जसलाई दार्जीलिङको मोफसल भन्न रुचाउँछु म । मङ्गपुले धेरै राम्रा कवि र लेखकहरु दिएकाे छ दार्जीलिङलाई । जस्मध्ये मोहन ठकुरी एक हुन् भने ४० वर्षमै बितेका कवि विकास गोतामे अर्का हुन् । दार्जीलिङमा त्यस बखत सहरको भन्दा मोफसलका कवि र लेखकहरुको बाक्लो उपस्थिति थियो साहित्यवृत्तमा । मोफसलका कविहरुमा निकै सशक्त र चर्चित कविहरूमा मोहन ठकुरी, मनप्रसाद सुब्बा, जस योञ्जन प्यासी, जीवन नामदुङ, खकडसिंह राई ‘काँडा’, टेकध्वज जिम्बा ‘आशा’ आदि मुख्य हुन् । कवि गोतामेका समकालीन साहित्यकार जसले प्रगतिशील लेखनलाई निरन्तरता दिए उनीहरुमा रत्न बान्तवा, एम. बी. राई, र भीम योञ्जन प्रमुख मानिन्छ ।
सन् १९६५ देखि कविता र नाटक लेख्दै आए तापनि विकास गोतामे कृतिकारको रूपमा भने सन् १९८० मा कवितासङ्ग्रह ‘अनास्था पहाडका गीतहरू’ लिएर प्रस्तुत भए । यो कृति निस्केको केही वर्षपछि दार्जीलिङको भानु भवनमा गुमानसिंह चाम्लिङद्वारा सम्पादित ‘मनन्’ पत्रिकाको विमोचनमा मेरो अनौठो भेट भयो कवि गोतामेसँग । म एक जना मित्रसँग ‘अनास्था पहाडका गीतहरू’मा सङ्ग्रहित कविताहरु राजनीतिक दस्तावेज जस्तो भयो, सडकमा लगाउने नारा जस्तो भयो भन्दै थिए । त्यहीबेला एक जना सज्जनले कवि गोतामे तपाईँको पछि छ भनेर मलाई सम्बोधन गरे । मलाई आत्माग्लानी भयो, माफ माग्दै आफूलाई लागेको विचार व्यक्त गरेको भनिदिए उनलाई । उनले कुनै प्रतिक्रिया दिएनन्, म ढुक्क भएर कार्यक्रममा सहभागी भए ।
प्रगतिशील धारमा कविता धेरै लेखे कवि गोतामेले । कहिलेकाहीँ आफ्नो आस्था सृजनाभन्दा गहिरो भए भने कविता एउटा मेनिफ्यास्टो जस्तो हुन्छ । यो कुराको छनक गोतामेको सुरुको कविताहरुमा पाउन सकिन्छ । ‘मेरो आमा मेरो देश’ कवितामा गोतामेमा प्रगतिशील विचार प्रस्फुटन भएको पाउँछौँः
म कुटे कोदालोमा यो देश देख्छु
म हँसिया र हलोमा यो देश देख्छु
छातीमा हात राख्छु- धुकधुकीमा देश भेट्छु
निधारमा हात राख्छु- भाग्यमा म यही देश देख्छु।
‘अनास्था पहाडका गीतहरू’को शीर्ष कवितामा उनको क्रन्तिकारी विचारहरू उम्लिएर पोखिएका छन् –
कविता क्रान्ति हुनपर्छ, भोकाहरूलाई भोजन दिलाउनका निम्ति
कविता आगो हुनपर्छ, नाङ्गाहरूलाई तताउनका निम्ति
कविता औषधी हुनपर्छ, शोषणको घाउ जाती पार्नका निम्ति
कविता आँखा हुनपर्छ, अक्षरहरू पढाउनका निम्ति
कविता क्रान्ति हुनपर्छ
कविता सङ्घर्ष हुनपर्छ
कविता प्रतिवाद हुनपर्छ
कविता प्रतिरोध हुनपर्छ।
वरिष्ठ समालोचक एवम् इतिहासकार डा. कुमार प्रधानले अङ्ग्रेजीमा लेखेको नेपाली साहित्यको इतिहासमा विकास गोतामेको कविताबारेमा संक्षिप्त टिप्पणी गरेका छन् । डा. प्रधान लेख्छन्, “प्रचलित संरचना, विभाजित समाज र समयप्रति असन्तुष्ट व्यक्त गर्छन् विकास गोतामे आफ्ना कवितासङ्ग्रह ‘सेलको मेला’ ( सन् १९७५) र ‘अनास्था पहाडका गीतहरू’( सन् १९८०) मा । ‘अनास्था पहाडका गीतहरू’को पहिलो र अन्तिम कवितामा नेपाली भाषाले संविधानिक मान्यताको आन्दोलन विषय बनाएर लेखिएको छ । गोातमेले देशको निम्ति नेपालीहरूले दिएको रगत, पसिना र आँसुलाई कसरी सजिलैसँग बिर्सिन सक्छ भन्नेमा आफ्नो आवाज बुलन्द गरेका छन् । उनी स्पष्टरूपमा समाजलाई ठीक ठाउँमा ल्याउने लडाइँको वकालत गर्छन् ।”
त्यसै कवितासङ्ग्रहको आफ्नोकुरामा गोतामे लेख्छन्, “तर कविताले शोषितहरूका निम्ति रोटी र लुगा तत्काल दिन नसक्दा, कविताले मध्यमवर्गीय र निम्न मध्यमवर्गीय हुकुमशाहहरूका भ्रष्टाचार यथाशीघ्र निषेध गर्न नसक्दा, निर्बल र निराश्रितहरूलाई कविताले सङ्ग्रामका निम्ति प्रथम हतियार दिन नसक्दा मैले आफूलाई अर्कै बाटोमा हिँडाए – फलतः कविता लेख्न उचालेको कलमले दाबीहरू लेख्न लागे– लागिरहेछु । तर आफूले कहिल्यै साहित्यलाई पिठ्यूँ देखाएको छैन, विनाअध्ययन र बेला बेलाको उकुसमुकुस नलेखी मेरो जिउनु सम्भव छैन ।”
धेरै नेपाली स्रष्टाहरूलाई आफ्नो कृतिमाथि ईन्द्रबहादुर राईको भूमिका र समालोचनाको अधिक लोभ लाग्छ, विकास गोतामेलाई नहुने कुरै थिएन । तर धेरै लेखक र कविहरूजस्तो गोतामेलाई पनि यो साइत जुरेन । केवल एउटा पत्र पाए मृत्यशैय्यामा ईन्द्रबहादुरबाट । पत्रमा इन्द्रबहादुर लेख्छन्, “कति थोक छाड्दा पनि तर तिम्रो कविताहरूमा अनेक थोक लिनुपर्ने पाउँछन् सैद्धान्तिक पाठकहरुले समते । सैद्धान्तिकबद्धतामा तिम्रो सीमा छ तर शक्ति पनि छ । लघुतर कविमा त्यो अशक्ति र अभिभारामा हुन सक्थौ । सैद्धान्तिक शक्तिबाहेकै पनि तिम्रो कविताहरूमा धेरैवटा अरू सामर्थ्य छ जसहरूसँग कसैको पनि कुनै वैर हुन सक्दैन, सबले ग्रहण गर्छन, ग्रहण नगरी सक्तैनन् । तिम्रो कविता छाड्नै नसकिने थोकहरू र छाड्न पर्नेजस्तो थोकहरुको वैरोध्यले हामीलाई पिरोल्छ ।”
युवा समालोचक सुकराज दियालीले कवि गोतामेमाथि निकै लामो लेख लेखेका छन् । उनी आफ्नाे लेखमा लेख्छन्, “उनको कवितामा समाजप्रति परिमार्जित, उद्गार, समाजको विकास एवम् परिमयकरण भावहरू प्रशस्तै पाइन्छ । समाजको स-साना कुरा जसले जीवनमा ठूलो महत्त्व बोकेका हुन्छन्, त्यस्तो कुरालाई कवितामा विषयवस्तु बनाएको पाइन्छ । कम्ति उमेरमा धेरै काम गर्ने साहित्यकारहरूमा गोतामेको पनि नाम लिन सकिन्छ । अच्छा राई रसिक, जीवन थिङजस्तै अर्का कवि गोतामे । कम्ति बाँचे सशरीरको रूपमा तर उनी हामीमाझ बाँचिरहन्छन् उनकै (सिर्जनाहरूबाट) सिर्जनात्मक कर्मबाट ।”
कवि गोतामेको कवितामा एउटा विरोधाभाष थियो । जुन विचार-धारा लिएर उनी हिँडेका थिए, तत्कालीन पश्चिम बङ्गालमा सरकारको सत्तामा पनि त्यही दल आसिन थियो, जसले गरिब र शोषितको पक्षमा उभिएको अभिनय गर्थ्यो । दल र जातिको बीच द्वन्दमा उभिएको गोतामे पक्कै पनि मझधारमा परेको हुनपर्छ ।
२८ जुन १९९२ मा चालीस वर्षको कलिलो उमेरमा रोगले थलिएर मृत्य भएको गोतामेको कृष्णचुडा, लालीगुराँस, तालगाछ र धुप्पीका रूखहरू कवितासङ्ग्रह सन् १९९२ मा प्रकाशित भयो । जसमा २२ वटा महत्वपूर्ण कविताहरू समावेश छन् । यस कवितासङ्ग्रहबारेमा समकालीन साहित्यकार रत्न बान्तवा सिक्किमबाट प्रकाशित प्रक्रिया पत्रिकामा लेख्छन्, “कृष्णचुडा, लालीगुराँस, तालगाछ र धुप्पीका रूखहरूमा विद्रोह र शान्तिको राता-झरिला आग्नेय ज्वाला सल्काउन खोज्ने विकासजीले यसरी धूप्पीका रूख झैँ आफ्ना आदर्श र सङ्घर्षको चिरहरित योवनपन सुम्पिराखेर गए । धुप्पीका रूखमा आफ्नो प्रतीक खोज्ने कवि त्यसैको फेदमा समाहित हुन पुगे ।”
छोटो जीवन लिएर आएका विकास गोतामेले करिब दुई सय सोह्रवटा कविता, सातवटा कवितासङ्ग्रह तथा गीत, अनुवाद, कथा, नाटक, एकाङ्की र समीक्षात्मक लेखहरू लेखेर नेपाली साहित्यलाई धनी बनाए । ‘लड बीरबहादुर ! तिमी लड !’ (सन् १९८८) गोतामेको निकै चर्चित कवितासङ्ग्रह हो । यसको भूमिकामा प्रसिद्ध साहित्यकार एवम् साहित्य अकादमी पुस्कार विजेता श्री एम.एम. गुरूङ लेख्छन्न्, “विकासमा साहित्यिक इमान्दारी छ । दुनियाँभरका किताबहरू थुपारेर उनी कविता लेख्दैनन्, विदेशी निम्न प्रतीक र नबुझ्ने शब्दहरू थुपारेर कविता लेखेनन् तर आफ्नै ठाउँको माटो र हावाको गन्ध बोकी त्यहाँभित्रका आक्रोश, चित्कार र अभावहरू बोकी कविता लेखेका छन् । अनि यिनीहरूबाट उन्मुक्ति कसरी पाइनेका उपायहरू पनि देखाएका छन् ।”
यो सङ्ग्रहका केही कविताहरु मूलतः हिन्दीमा लेखिएको र पछि नेपालीमा अनुवाद भएको जानकारहरु बताउँछन् ।
‘रगतको रेखाहरू’ (सन् १९९०) र ‘ केही नवीनतम् कविताहरू’( सन् १९९२) कवितासङ्ग्रहहरूमा गोतामे निकै परिपक्क र सन्तुलित देखापर्छन् । उनले सुरुमा कविता लेख्दा बुर्जुवा दलले दमन गरेको शासन अनुभूत गरेको थिए । तर कालान्तरमा बामपन्थी सरकार आए पनि पहाडको जीवनमा कुनै आमुल परिवर्तन नआएको अरू जस्तै उनले पनि महसुस गरे । बरु आफ्नै जातिमाथि अत्यचार भएको र गोलीसमेत खाएको उनले पनि भोगे । तर राजनैतिक कित्ताकाटमा उभिएको समाजले छोडेन उनलाई । गोर्खाल्याड आन्दोलनले ल्याएको राजनैतिक र सामाजिक आमुल परिवर्तनबाट गोतामे अछुतो रहन सकेन । राजनीतिले जातिमा फाटो त ल्यायो नै, धेरैको सृजनामा यो समयमा आएको विचलन प्रतिबिम्बित हुन्छ । गोतामे पनि बामपन्थी राजनीति समर्थन गर्ने भएकोले पहाडमा टिक्न सकेनन् र अरु जस्तै मधेस झरेर कविता कोर्न थाले । आफ्नै ठाउँबाट निर्वासित जीवन बिताउनुको पीडा सायद गोतामेलाई भन्दा बढी अरू कसैलाई थाहा होला ।
लेखक निमा ‘निची’ शेर्पाले गोतामेको यो समयमा सृजना भएको कविताहरुलाई ‘विकास गोतामेका कविताहरूको पोट्रेट’ लेखमा यसरी मुल्याङ्कन गरेका छन्, “रगतका रेखाहरू सङ्ग्रहका कविताहरूमा वैचारिक उच्चता दृष्टिपात भए तापनि कलागत मूल्यमा भने ह्वास देखापरेको छ । त्यस समयको राजनीतिक परिवेश, कविको पहाडबाट निर्वासन, राजनीतिक उत्ताप र द्वन्द्व तथा जनतासँग सोझोसम्वाद गर्ने उत्कट इच्छा आदि कारणहरूको सापेक्षतामा कलागत मूल्यमा देखापरेको ह्वासलाई हामीले साधरणीकरण गरेर हेर्नुपर्ने हुन्छ ।”
मार्च १, १९६९ मा मङ्गपुको हिमाली साहित्य समितिद्वारा आयोजित गोष्टीमा विकास गोतामेको कथा ‘एउटा सेतो गुलाब’ दोस्रो भयो जुन छहारी पत्रिकामा प्रकाशित भएको थियो । त्यहीँबाटै सुरु भयो गोतामेको साहित्यिक जीवन । आजीवन शिक्षण पेसामा लागेको गोतामेले जन्मभूमि र नयाँ समाज जस्ता पाक्षिक समाचार पत्रहरू सम्पादन गरे ।
विकास गोतामेलाई प्रगतिशील कविको रूपमा मात्रै प्रस्तुत गर्दा उनको उर्वर कविता क्षमतामाथि पक्कै अन्याय हुने छ । मैले लिएको एउटा अन्तर्वार्तामा सुप्रसिद्ध साहित्यकार पारिजातले सृजना गर्दा वाद वा सिद्धान्त अघिलोतिर राखेर लेख्नु हुन्न भनेकी थिइन् । सायद गोतामेको सुरुको कविताहरूमा माक्सवादी सिद्धान्त निकै हावी भएको देख्छौँ तर पछिल्ला कविताहरूमा उनले फराकिलो विचार लिएको अनुभूत हुन्छ । कवि मोहन ठकुरीले सम्पादन गरेको ‘स्वतन्रतोत्तर नेपाली कविता’मा गोतामेको दुईवटा फरक फरक धारको कविता समावेश भएको छ । तीमध्ये ‘मेरो बेचैनी’ मलाई निकै राम्रो लागेको कविता हो, त्यो कविता यहाँ प्रस्तुत गर्न चाहन्छुः
जिन्दगी कठोर गद्य जस्तो भएर
कविता मबाट टाढा टाढा भाग्न खोज्छ
यौवनका सप्पै सुखहरू
जीवनका सप्पै आनन्दहरू
आज किन पहाडी झरना जस्तो कलकल नबगेर
एउटा धमिलो दह भई जम्न खोज्छ ?
कविताका मीठा मीठा शब्दहरू तरल तरल भएर
आज प्रतिदिन जस्तो आँखाको कचौराबाट जम्न खोज्छ ।
गालाबाट बगेको आँसुको स्वाद
नुनिलो हुन्छ भनेर जानेँ
सपनाहरु यथार्थमा परिवर्तन हुँदै जाँदा
काँचका टुक्रा टुक्रा हुन्चन् फुटेर भनी जानेँ ।
जीवनको दौडमा कति पछि परेछु भने
पछि फर्केर हेर्दा कोही छैनन् मभन्दा पछि
शून्य जिन्दगी जिएछु
निस्सार जिन्दगी जिएछु ।
आज बेस्सरी गाली गर्न मन लाग्छ
जिन्दगीका ३९ वर्षहरुलाई ।
आज मोहभङ्ग भएको छ मेरो
आज भयानक छटपटी व्याप्त छ मेरो छातीमा
म बेचैन छु आज
जिन्दगीमा अब दुई पल उब्रेको घडी
कि त अब दुई दिन उब्रे समय
यो पनि त्यस्सै निस्सार बित्छ कि भनेर
यो पनि त्यस्सै बेअर्थ बित्छ कि भनेर
यसैर बेचैन छु म अचेल
यसैर छट्पटाइरहेछु म अचेल।
यो कविता उनको जीवनकालको अन्तिम क्षणमा लेखिएको जस्तो प्रतित हुन्छ । जीवनदेखि निकै निराश देखिन्छन् विकास । जोसिला र पेचिला कविता लेख्ने गोतामे रोग र परिस्थितिले थलिएर जीवनको अन्तिम कालखण्डमा निकै भावुक र संवेदनशील देखिनु स्वभाविक पनि हो ।
विकास गोतामेलाई बुझ्न त्यसबेलाको राजनीति, समाजिक परिवेश र साहित्यिक वातावरणको सिंहावलोकन गर्न जरुरी छ । जय ‘क्याकटस’द्वारा लिखित विकास गोतामेको जीवनी र कृतिमाथिको समिक्षा साहित्य अकादमी, नयाँ दिल्लीले छापेर उनलाई अमर बनाउने काम गरेको छ । उनका कृतिहरुमाथि अझै बृहत्तररूपमा पूर्वाग्रह नराखी स्वतन्त्र समालोचना हुन जरुरी छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।