अहिलेको निकै परिवर्तनशील र प्रतिस्पर्धी संसारमा अभ्यस्त हुन, सफल हुन चाहिने अपरिहार्य चीज मध्ये एक हो, नयाँ सीप अथवा कौशलको विकास। जुन व्यक्तिले समय र परिस्थितिको माग अनुसार नयाँ सीप विकास गर्दै जान सक्छ, उसले परिवर्तित वा नयाँ वातावरणमा आफूलाई अभ्यस्त गराउन सक्छ, सफलता प्राप्त गर्न सक्छ। अन्यथा उसलाई कुनैपनि क्षण कोही एक योग्य व्यक्तिले विस्थापित गरिदिन सक्छ। भनाइको तात्पर्य, उसले आफ्नो अस्तित्व जोगाउन ठूलो संघर्ष गर्नुपर्छ। त्यसमाथि उसलाई पर्याप्त अवसरहरू उपलब्ध हुँदैनन्। र, अन्ततः असफलता भोग्न पुग्छ। यस्तोमा नयाँ सीप कसरी विकास गर्ने? नयाँ सीप विकास कार्यमा कसरी महारत प्राप्त गर्ने?

नयाँ सीप विकास गर्न, नयाँ सीप विकास कार्यमा महारत प्राप्त गर्न हाइडी ग्रान्ट हालभरसन (सामाजिक मनोवैज्ञानिक एवं लेखिका), जोसेफ वाइनट्रव (व्यवस्थापन एवं संगठनात्मक व्यवहार विषयका प्राध्यापक) लगायतका विशेषज्ञहरुअनुसार साधारणतया निम्न सिद्धान्तहरु अवलम्बन गर्न सकिन्छ:

व्यक्तिगत तत्परता जाँच्नेः

नयाँ सीप, योग्यता विकास कार्यमा संलग्न हुनुपूर्व व्यक्तिगत तत्परता जाँच्ने गर्नोस्। यसको लागि आफूलाई दुईवटा प्रश्न गर्नोस्। पहिलो प्रश्न, ‘के यो सीप विकास गर्न सकिन्छ?’ हरेक व्यक्तिको केही सीमितता हुन्छन्। त्यही अनुसार सिकाइ निर्देशित हुन्छ। मानौँ तपाईं न्युरोसर्जन बन्न चाहनुहुन्छ। तर तपाईंको आँखा र हातको समन्वय मिल्दैन भने? तपाईंको न्युरोसर्जन बन्ने सपना कल्पनामा मात्र सीमित रहन्छ। दोस्रो प्रश्न, ‘यो सीप विकास गर्न कति समय र उर्जा लाग्छ? के म त्यति समय र उर्जा दिन सक्छु?’ मानौँ तपाईं लेखक बन्न चाहनुहुन्छ। तर तपाईंले पूर्णकालीन जागिर खानु भएको छ भने? तपाईंलाई लेखनकला सिक्ने फुर्सद हुँदैन। केही समय उपलब्ध भएपनि तपाईंमा लेख्ने इच्छाशक्ति नै हुँदैन। फलस्वरुप तपाईंको लेखक बन्ने सपना यथार्थमा परिणत हुन सक्दैन।

आवश्यकताबारे प्रस्ट रहनेः

नयाँ सीप विकास गर्नु समय, उर्जा र पैसाको लगानी हो। त्यसबाट कस्तो परिणाम प्राप्त हुन्छ भन्ने कुरामा प्रस्ट रहनोस्। त्यसैगरी तपाईंले विकास गर्न चाहेको नयाँ सीप तपाईंको करिअर, संस्था वा दुवैको लागि प्रासंगिक, आवश्यकता रहेको नरहेको यकिन गर्नोस्। मानौँ तपाईं सैनिकमा भर्ती हुनुभयो। अब तपाईं नयाँ सीप विकास गर्ने भन्दैमा संगीत सिक्ने उद्देश्य लिनु भयो भने? तपाईंको उद्देश्य परिणाममुखी हुन सक्दैन। कारण? सेनाले हतियार चलाउने सीप विकास गर्ने हो न कि बाद्ध्ययन्त्र। यसको अर्थ सेनाले संगीत सिक्नै हुँदैन भन्ने नलागोस्।

सिक्ने शैली पत्ता लगाउनेः

नयाँ सीप त्यसै सिक्न सकिँदैन। मूख्यतः शैली मिल्नुपर्छ। मल्टिपल इन्टेलिजेन्स अर्थात् बहु बुद्धिमत्ताको अध्ययनअनुसार सिकाइका तीन शैलीहरु छन्। पहिलो, सुनेर सिक्ने। यस शैलीमा व्याख्यान सुनेकै भरमा सिक्न सकिन्छ। दोस्रो, देखेर सिक्ने। यस शैलीमा चित्र हेरेर, भिडियो हेरेर सिक्न सकिन्छ। तेस्रो, गरेर सिक्ने। यस शैलीमा हात खुट्टा प्रयोग गरेर, स्वयं अभ्यास गरेर सिक्न सकिन्छ। यदि तपाईं कुनै नयाँ सीप सिक्दै हुनुहुन्छ भने, आफ्नो प्रमुख सिक्ने शैली पत्ता लगाउने कोसिस गर्नोस्। तपाईंले सुनेर बढी सिक्नु हुन्छ या देखेर या गरेर, त्यसबारे स्पष्ट रहनोस्। यसको लागि तपाईंले विगतमा कसरी सिक्नु भएको थियो, त्यसमाथि मनन गर्नोस्। यदि तपाईंले विगतमा गरेर बढी सिक्नु भएको प्रमाण पाउनुभयो भने, नयाँ सीप विकास गर्दा शारीरिक रुपमा क्रियाशील रहनोस्। लगनशीलता साथ विभिन्न अभ्यास र परीक्षण गर्नमा तल्लिन रहनोस्।

विशेषज्ञको सहयोग लिनेः

एकल प्रयासमा नयाँ सीपको विकास गर्न खोज्नु निकै कष्टपूर्ण कार्य हो। सहजीकरणको लागि विशेषज्ञको सहयोग लिनैपर्छ। मानौँ तपाईं कुनै एक प्रतिष्ठित संस्थामा कार्यरत हुनुहुन्छ। मानौँ तपाईंले एउटा समूह नेतृत्व गर्ने जिम्मेवारी पाउनु भयो तर तपाईंमा नेतृत्वकला विकास भइसकेको छैन र तपाईं नेतृत्वकला विकास गर्न प्रतिबद्ध हुनुहुन्छ। यस्तो परिस्थितिमा तपाईं संस्था भित्र एउटा विश्वासिलो विशेषज्ञको खोजी गर्नोस्। आफैँलाई प्रश्न गर्नोस्, ‘यो संस्थामा कार्यकारी निर्देशक बाहेक मलाई उचित प्रतिक्रिया र सल्लाह दिन सक्ने को व्यक्ति छन्?’ त्यो स्तरको व्यक्ति पहिचान गरे लगत्तै आफ्नो कुराहरू यसरी राख्नोस्:

‘तपाईंको नेतृत्व गर्ने क्षमता देखेर म निकै प्रभावित छु। हाल म पनि एउटा नेतृत्वदायी भूमिकामा छु। त्यो भूमिका सफलताका साथ निर्वाह गर्न नेतृत्वकला विकास कार्यमा सक्रिय छु। यस कार्यलाई थप सशक्त बनाउन तपाईंसँग केही समय व्यतित गर्न चाहन्छु। तपाईंबाट धेरै कुराहरु सिक्न, ज्ञान लिन, सल्लाह, सुझाव र प्रतिकृया लिन लालायित छु।’

यदि ती व्यक्तिले तपाईंलाई सहयोग गर्न तयार भए भने राम्रो। नत्र तपाईंले गुणवत्ता विशेषज्ञ संस्था बाहिर खोज्नुपर्ने हुन्छ।

सानोबाट सुरुवात गर्नेः

नयाँ सीपको विकास एकैपटक गर्न सकिँदैन। यति मात्र होइन, एकैपटक धेरै सीपहरु विकास गर्न सकिँदैन। सानोबाट सुरुवात गर्नुको विकल्प छैन। यसको अर्थ हो, एकपटकमा एउटा वा दुईवटा सीप मात्र विकास गर्ने। दुईभन्दा बढी सीप विकास कार्यमा आवद्ध हुनु बुद्धिमानी होइन। मानौँ तपाईंले चित्रकला सिक्ने लक्ष्य लिनुभयो। चित्रकला धेरै प्रकारका छन्। जस्तैः तेल चित्रकला, बालुवा चित्रकला, वाटरकलर चित्रकला, डिजिटल चित्रकला आदि। यस्तोमा तपाईंले कुनै एक प्रकारको चित्रकला छनोट गर्नोस्। एउटा प्रकारको चित्रकला बनाउन सीप विकास गरेपछि, महारत प्राप्त गरेपछि मात्र अर्को प्रकारको चित्रकलामा हात हाल्नोस्। त्यसैगरी मानौँ तपाईंले चित्रकला सँगै नृत्यकला सिक्ने लक्ष्य लिनुभयो भने? त्यो व्यवहारिक हुन सक्दैन। त्यो प्रकृतिको सिकाइले कुनै सकारात्मक प्रतिफल दिँदैन। त्यसैले नयाँ सीप विकास गर्दैगर्दा सानोबाट सुरुवात गर्नोस्। एकैपटक धेरै सीपहरु विकास गरेर अरुलाई आफ्नो क्षमता प्रदर्शन गर्ने लोभमा लिप्त नहुनुहोस्।

चिन्तन गर्नेः

अन्धाधुन्ध सिकाइबाट नयाँ सीपको विकास हुन सक्दैन। सिकेको कुरा दीर्घकालीन हुँदैन। नयाँ सीप विकास कार्यलाई परीक्षणकालदेखि महारत चरणमा प्रवेश गराउन चिन्तनशील रहनु अत्यावश्यक छ। भनाइको मतलब, आफूले कुन सीप सिक्दै हो? कत्तिको जटिल सीप सिक्दै हो? त्यसबारे सचेत रहनुपर्छ। सूक्ष्म चिन्तन गर्नुपर्छ। यदि तपाईं कुनै नयाँ सीप सिक्दै हुनुहुन्छ भने जानकारीमूलक र भावनात्मक सहायता दिन सक्ने व्यक्तिसँग संवाद गर्नोस्। ती व्यक्तिले अपेक्षित सहायता दिन नसके पनि इमान्दारीपूर्वक प्रतिक्रिया दिन सक्छ। तपाईंको प्रगति विवरण केलाउन सक्छ। त्यसपछि प्राप्त प्रतिक्रिया र प्रगति विवरण माथि सोचमग्न हुनोस्। यसले तपाईंलाई नयाँ सीप विकास कार्यमा उत्तरदायी हुन र तपाईंमा आएको परिवर्तन यथावत् राख्न महत्वपूर्ण भूमिका खेल्छ। यसर्थ नयाँ सीप विकास कार्यमा संलग्न हुँदा नियमित रुपमा चिन्तन गर्नोस्।

अरुलाई सिकाउनेः

छोटो समयमै नयाँ सीप सिक्न, विकास गर्न विशेष सहयोग गर्ने धेरै तरिकाहरु छन्। ती मध्ये एक हो, अरुलाई जानेको कुरा सिकाउने। मानौँ तपाईंले भिडियो संपादन सीप सिक्दै हुनुहुन्छ। आफ्नो यो सिकाइको गति बढाउन भिडियो संपादन सम्बन्धी इच्छुक व्यक्तिहरुलाई सिकाउने गर्नोस्। त्यसैगरी मानौँ तपाईंले प्रभावकारी संवाद कौशलबारे सीप सिक्दै र विकास गर्दै हुनुहुन्छ। अब तपाईं यो सिकाइको गति बढाउन आफूले जानेका, बुझेका सम्पूर्ण कुराहरू आफ्नो समूहमा बृहत् रुपमा सेयर गर्नोस्। उपयुक्त समयमा सहकर्मी साथीहरुसँग गहन अन्तरक्रिया गर्नोस्। आवश्यक परे तालिम सञ्चालन गर्नोस्। जब तपाईं अरुलाई सिकाउने रणनीति लिएर अगाडि बढ्नु हुन्छ, तपाईंलाई अभ्यास गर्ने अवसर मिल्छ। परिणामस्वरूप तपाईं छोटो समयावधिमा नयाँ सीप विकास गर्न सक्नुहुन्छ। त्यसकारण अरुलाई सिकाउने, ज्ञान दिने कार्यलाई प्रमुख प्राथमिकतामा राख्नोस्। सो कार्यलाई गम्भीरतापूर्वक लागू गर्नोस्।

धीरता कायम राख्नेः

हतारमा सीप विकास हुन सक्दैन। यसो गर्न खोज्नु अज्ञानता हो, मूर्खताको पराकाष्ठा पनि हो। कुनैपनि नयाँ सीप विकास गर्न समय लाग्छ। त्यो समय भनेको कम्तीमा ६ महिना वा सो भन्दा बढी हुन सक्छ। कतिपय अवस्थामा कम पनि हुन सक्छ। यसमा व्यक्तिगत क्षमता र कुन सीप विकास गरिँदै छ भन्ने कुराले महत्व राख्छ। केही उदाहरणहरू चर्चा गरौँ। कसैलाई गाडी हाँक्ने सीप विकास गर्न तीन महिना लाग्छ भने कसैलाई गाडीको लाइसेन्स बनाउन ६ महिना समेत पर्याप्त हुँदैन। त्यसैगरी अर्को उदाहरण, कसैलाई वक्तित्वकला सीप विकास गर्न ६ महिना लाग्छ भने कसैलाई दुईतीन वर्षसम्म पनि सम्भव हुँदैन। त्यसैले नयाँ सीप विकास गर्ने भनेको आज सुरुवात गरेर भोलि नै सम्पन्न गरिने खालको कार्य होइन। यसबारे अर्को रोचक तथ्य- नयाँ सीप विकास गर्ने क्रममा हामीमा जति परिवर्तन आएको हुन्छ, त्यसको १० प्रतिशत मात्र हाम्रा वरिपरिका मानिसहरूले देख्ने गर्छन्। यीनै कारणहरूले गर्दा नयाँ सीप विकास गर्ने अभियानमा धैर्यता कायम राख्ने गर्नोस्। हतार नगर्नोस्। अधिक समय र उर्जा लगानी गर्नोस्।