जसरी मान्छे ‘म’ भनेर आफू एउटा मात्र मान्छे हुँ झैँ गर्छ, झूट बोल्छ. तपाईँको एउटा जिउभित्र अनेक अनेक मान्छेको बास छ. जसका फरक फरक र विरोधाभाषी चाहना छन्. जिन्दगीमा दुःख त्यसैले छ. दिमागभित्रका पचास ‘म’हरूले तपाईंलाई कपालमा तानेर भुत्ल्याउँछन्. तपाईँभित्रको एउटा मान्छेले सेक्स चाहन्छ अर्कोले भर्जिनिटी. के गर्नुहुन्छ ? दुबै त केही गरे नि पाइँदैन नि. अब के गर्ने ?

साधना गरेर एउटा यस्तो अविचलित र अखण्ड ‘म’तत्त्वको निर्माण गर्ने आफूभित्र जो सधैँ उस्तै र उही रहन्छ. अब तपाईँको जिन्दगी सर्टेड आउट हुन्छ. सारा समस्या, दुःख र कन्फ्युजन स्रोतमै डिस्ट्रोइड हुन्छन्. मानौं एउटा घर छ. सयवटा कोठा छन्, तर एउटा सानो कोठाको ढोका मात्र खुल्लै छ. आलिशान अरु कोठाका ढोका बन्द छन्. साँचो लागेको छैन, ढोका हल्का ढप्क्याइएको मात्र छ. तपाईँको शरीर र सिस्टम त्यो घर हो. तपाईँले हल्का एफोर्ट लगाए ती सबै ढोका खुल्छन्. अनन्त सम्भावना र आनन्दका ढोका खुल्छन् जिन्दगीमा. सर्वप्रथम त यो बुझ्नुहोस्,”मैले गरेँ.”  ‘मेरो’ “मलाई मन पर्ने\नपर्ने” जस्ता झूटा स्टेटमेन्ट बिर्सिनुहोस्. तपाईँ ‘एक’ हुनुहुन्न, सोच्नुहोस् तपाईं हुँदै हुनुहुन्न. एक एक छिनमा त्यसैले तपाईँका मन पराइ र नपराइ फेरिन्छन्. ती फेरिने पनि तपाईंले चाहेर वा नचाहेर फेरिने हैन. एक्स्टरनल सर्कम्स्टान्सेजले तपाईँको रिमोटका विभिन्न बटन थिचेर तपाईँलाई नचाइरहेका हुन्छन्, तपाईं भन्नुहुन्छ म नाचेँ. गुर्जियफ भन्छन्, मान्छेले पटक्कै स्वीकार गर्न नचाहने फ्याक्ट नै यही हो कि उसले केही गरेकै हैन. ऊ केही गर्नै सक्दैन. तपाईँ जब हुनु नै हुन्न गर्न कसरी सक्नुहुन्छ ?

गर्न सक्ने हुनलाई पहिला ‘हुनु’पर्छ. ’हुन’लाई सर्वप्रथम सारा ध्यान बाहिरबाट हटाएर आफैँलाई निरीक्षण र परीक्षण गर्न थाल्नु पर्छ. अब अघि बढौं निरीक्षण र परीक्षण गर्ने प्रक्रियातर्फ. आत्म निरीक्षण गर्ने क्रममा मान्छेले देख्छ, ऊभित्र मुख्यतया चारवटा केन्द्र छन्. इमोसनल, इन्टेलेक्चुवल, मुभिङ् र इन्स्टिङ्टिभ. सोचाइ, बहस, विवाद र व्याख्या इन्टेलेक्चुवल सेन्टरले गर्छ भने प्रेम, घृणा, डर, शङ्का जस्ता भावहरू इमोसनल सेन्टरले पैदा गर्छ. शरीरको भित्री फङ्सनहरु जस्तै पाचन, धड्कन आदि र बाहिरका इन्द्रियहरुका फङ्सन जस्तै दृष्टि, घ्राणशक्ति, स्पर्श आदि इन्स्टिङ्कटिभ फङ्सनमा पर्छन्. इन्स्टिङ्टिभ सेन्टरले आफैँ काम गर्छ. यसलाई सिकाइरहनु पर्दैन. मुभिङ् सेन्टरलाई भने तालिम दिनुपर्छ. हिँड्न, लेख्न, गाडी चलाउन इटिसी चाहिँ हामी मुभिङ् सेन्टरको प्रयोग गर्छौंँ. समस्या कहाँ आउँछ भने, सोच्न इन्टेलेक्चुवल सेन्टरको प्रयोग गर्नुपर्ने र भावनाहरु महसुस गर्न इमोसनल सेन्टरको प्रयोग गर्नुपर्ने, हामी कहिलेकाहीँ दिमागले भावनालाई छाम्न खोज्छौँ र कहिलेकाहीँ हृदयले सोच्न खोज्छौं. साधनको पहिलो चरण यसैप्रतिको जागरुकता हो.

गुर्जियफले भने झैँ दिमागले सोचेरै याक मार्न सक्ने बन्न चाहने साधकले सुरुमा आफ्नो सिस्टममा उठ्ने हरेक तरङ्गप्रति जागरुक भएर ती तरङ्ग कुन सेन्टरबाट आएका तरङ्ग हुन् भनेर छुट्याउन सक्ने हुनुपर्छ. सेल्फ अब्जरभेसनको साधना. यो साधना गर्न सुरु गरेलगत्तै तपाईंँ छक्क पर्नुहुन्छ. थाहा हुन्छ, तपाईँलाई आफ्नो स्मरण नै छैन. तपाईँ सधैँ एक द्रष्टा भएर बस्नै सक्नुहुन्न. सुरुसुरुमा सक्नुहुन्न. विस्तारै अभ्यास हुँदै जान्छ र तपाईँ आफूलाई चौबीस घण्टा सम्झन सक्ने बन्नुहुन्छ. जुन दिन तपाईँ आफूलाई चौबीस घण्टा सम्झन सक्ने बन्नुहुन्छ, साधनाको अर्को अध्याय सुरु हुन्छ.