म हतारमा होटेलको गेटबाट बाहिर निस्किरहेको थिएँ । एक जना कालो हँसिलो वर्णको, अन्दाजी पचास वर्षको, इस्टकोट लगाएको, एउटा दाँतमा सुन लगाएको, एक जना मान्छेले सारङ्गी रेटेर गीतको एक पङ्क्ति सुनाए । अनि मुसुक्क हाँसेर टाउको निहुराए । सारङ्गी उचालेर अभिवादन गरे । उनले मलाई टुरिस्ट भन्ठानेर गीतकाे एक पङ्क्ति सुनाएको भनेर बुझ्न मलाई बेर लागेन । म अत्यन्तै हतारमा थिएँ, जान ढिलो भइसकेको थियो । ड्राइभर भाइ गाडीमा कुरिरहेको थियो । तर मलाई ती सारङ्गी रेटेर गाउने महानुभावले दश सेकेण्ड सुनाएको गीत र सारङ्गीको धुनले च्याप्प समात्यो । मैले पचास रुपैयाँको नोट निकालेर दिएँ । उनले खुसी हुँदै नोट ढोगे ।

म त्यहाँबाट हिँडेँ, तर उनको मीठो धुनले पछ्याइरह्यो । ती सायद गाइने थिए । उनलाई कति गीत आउँदो हो ? सारङ्गी रेटेर समाजका कति कथा गाउँदै सुनाउँदा होलान् ? जे जस्तो गर्ने भए तापनि मैले तिनको धुन बिर्सनै सकिनँ । उनी त कलाकार हुन् । त्यस्ता कलाकारलाई पचास रुपैयाँ दिएर ठालू पल्टिने म को हुँ ? त्यस्ता कलाकार कति होलान् हाम्रो देशमा ? त्यस्तो मीठो गाउने, सारङ्गीको धुनको अघिल्लो पुस्तासँग सिक्दै जीवनभर साधना गर्ने कलाकार होटेल होटेलमा गएर सय पचास पाइन्छ कि भनेर गाउनुपर्ने स्थिति निर्माण गर्ने हामी कस्ता ? हाम्रा सामाजिक मान्यता कस्तो ? नीति रणनीति कस्तो ? कसरी संरक्षण हुन्छ यो देशको कला, साहित्य र संस्कृति ? मलाई त्यो सारङ्गीको आवाजले के के सोच्न बाध्य बनायो बनायो ।

स्नेह सायमि

सारङ्गी बजाउनेको र गाउने मान्छे किन धनी हुँदैन ? किन समाजमा सम्मानित स्थान हुँदैन ? किन समाजका अपहेलित नै हुन्छ ? किन उनको कला र साहित्यको सम्मान हुँदैन ? हाम्रो सामाजिक संरचनामा गाइनेको स्थान कहाँ छ ? ओहो ! मैले त कहिल्यै पनि यसरी सोचेको रहेनछु । यत्ति भनिसकेपछि अन्तिममा गर्ने एउटा कुरा छ हामी जस्ता तथाकथित बुद्धिजीवीले । यो त राज्यले गर्नुपर्ने नि । फलाना सरकार , फलाना नेता , सबै एउटै ड्याङ्गका आदि आदि । राज्यका निकायहरुले आआफ्ना् स्तरमा गर्नुपर्ने त हो नै तर के हाम्रो दायित्व हुँदैन ? थाहा हुनेले बुझाउने प्रयत्न गर्नु पर्दैन ? के यो पनि सामाजिक न्यायका लागि गर्नैपर्ने एक युद्ध होइन ? मलाई यी र यस्ता प्रश्नहरुले लखेटिरहे र म निरुत्तर भइरहेँ ।
मैले सुनेको सारङ्गीको आवाज यो न पहिलो हो न अन्तिम । गाइनेले गाएका गीत पनि न पहिलो न अन्तिम । धेरैपटक बसहरुमा , सडकहरुमा भेटेको छु, कति दशक अघिदेखि । तर समयको यति ठूलो अन्तराल, राजनैतिक सामाजिक फड्को र छलाङ्गहरुले गाउने बजाउने र लेख्नेहरुले बाँच्नको लागि किन कठिन ?

एउटा अस्पतालको व्यवस्थापन सम्हालेको समय थियो । बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । दुई जना मानिस अस्पतालको प्रशासन र लेखाशाखा भएको तल्लामा आइपुगेका रहेछन् । लेखा र प्रशासन प्रमुखलाई थर्काइरहेका रहेछन् । उनीहरुसँग प्रधानमन्त्री बाबुराम भट्टराईको जीवनी नामक अंग्रेजी पुस्तक रहेछ । तिनीहरुले आफू प्रधानमन्त्री कार्यालयबाट उनको जीवनीको पुस्तक बेच्न आएको, लौ लौ किन्नपर्यो, नत्र जे पनि हुनसक्छ भनेर भनिरहेका थिए भने लेखा र प्रशासनका साथीहरु अलमलिरहेका, डराइरहेका थिए । ती मानिसहरुका अस्वाभाविक व्यवहार देखेर पक्कै पनि प्रधानमन्त्री कार्यालयको होइन भन्ने लाग्यो । तर पत्ता लगाउन त केही समय लाग्ने नै भयो ।

मैले पुस्तक मागेँ, ओल्टाइपल्टाइ हेरेँ । पुस्तकमा साधारण त्रुटि देखेपछि भने यो प्रधानमन्त्री कार्यालयको मान्छे होइन भन्ने लाग्यो र विश्वदीपजीको फोन नम्बर पत्ता लगाएर सोधें । उहाँले यस्तो पुस्तक ननिकालेको कुरा जनाउनु भयाे । मैले पनि घटना सुनाएँ । पछि थाहा भयो, जो प्रधानमन्त्री भए पनि जीवनी लेख्ने र महँगोमा बेच्ने रहेछन् ती लेखक । मैले बुझुन्जेलमा साथीहरुले दुई प्रति किनिसक्नु भएछ । यस्तो मान्छेसँग पङ्गा लिनु हुन्न भनेर । आखिर उनीहरुले थर्काएरै ठगे ।

अर्को कुनै दिन एक जना सारङ्गीवाला आइपुगे त्यही प्रशासनिक तल्लामा । उनले गीत गाए, सारङ्गी रेटे । उनको गीत सुन्ने र उनका व्यथा सुन्ने फुर्सद कसैको थिएन । सबैले ‘भो भो जाउ जाउ’ भनिरहेका थिए । उनी आफ्ना श्रीमती बिरामी भएको कारणले उपचारमा छुट माग्न आएका रहेछन् । धेरैजसो कर्मचारी दिक्क मानिरहेका थिए र भनिरहेका थिए, ‘कस्ता कस्ता मान्छे आउँछन् छुट लिन ।’ त्यहीं काम गर्ने एक जना सहृदयी डाक्टरले उपचारको केही खर्च मुस्किलले छुट गराइदिए । यस्तो छ सारङ्गी र गाइनेप्रतिको सामाजिक सोच ।

प्रिय सारङ्गीको धुन, तपाईँ पनि यो देशको एक राष्ट्रिय धुनमध्ये एक हुनुहुन्छ ।