आज कसैले बाहिरी मूल ढोका ढकढकायो, धेरै समयपछि । साधारणतया घरमा आउने परिचित मानिसहरूले फोन गर्छन् र म ढोका खोल्न जान्छु । ढोका त पहिले खुल्लै राख्थेँ । हिजोआज भने सानो चुकुल राख्छु । खोल्न जान र आउन झर्को मान्दिनँ, त्यसलाई शारिरीक व्यायाम सम्झन्छु । हो, आज कसैले अनौठो पारामा ढोका ढकढकायो । म गएँ ढोका खोल्न । हुलाकी पो रहेछन् । तिनले मलाई एउटा खाम हातमा दिए । सही गराए । पत्र रहेछ मेरो सङ्गतले मित्र, उमेरले दाजु अग्निज्योतिको ।

उहाँसँग लामो समय सँगै काम गरेको थिएँ, र हामी एकअर्कासँग कामकै कारणले प्रभावित भएका थियौँ । सञ्चारको यति धेरै माध्यम हुँदाहुँदै पनि रजिष्ट्री गरेर पत्र पठाउनुभएको रहेछ, ललितपुरबाट काठमाडौंमा । म अचम्मित भएँ । उहाँले फोन गरेर मलाई बोलाएकै भए पनि जान्थेँ । पहिले त धेरैपटक खाना खानेगरी बोलाउनु भएको पनि थियो ।

उहाँ मभन्दा कमसेकम तीस वर्षले जेठो, आर्थिकरूपमा सम्पन्न र मलाई विषेशत केही न केही व्यवसाय थप्न उत्प्रेरणा दिइरहने अभिभावक नै हुनुहुन्थ्यो । उहाँसँगका धेरै संस्मरणहरू छन् । सबैभन्दा स्मरणीय भनेको इमान्दारिता र सफा कारोबार नै थियो । उहाँको घर, परिवार, व्यवसाय, संगत कुनै पनि मसँग तुलना गर्ने कुरा थिएन । तर एउटा कुरा मिल्थ्यो, त्यो हो सोच ।

म आदरपूर्वक दाइ नै भन्थेँ । उहाँले कहिल्यै मलाई भाइ भन्नुभएन । जहिले पनि फलानाजी नै भन्नुभयो । उहाँले चाहेको भए एक जना कर्मचारी वा ड्राइभर नै पठाउन सक्नुहुन्थ्यो । झन् अहिले सम्पर्कका लागि यति धेरै सामाजिक सञ्जाल र हातेफोन नै भएको बेला त कति सजिलो छ । तर पठाउनुभयो रजिष्ट्री पत्र हुलाकबाट । पत्रले मेरो कौतुहलता बढायो । भित्र के होला ? भन्ने भइरह्यो , हतारहतार हुलाकीलाई बिदा गरेर कोठामा आएर पत्र खोलेँ । त्यस्तो कुनै विशेष कागजपत्र होइन रहेछ । पत्र नै रहेछ, दाजु अग्निज्योतिले आफ्नै हातले लेख्नुभएको ।

प्रिय पाठकवृन्द ! म मेरो बासमानको मित्रले पठाउनुभएको गोप्य पत्र कसरी सार्वजनिक गर्न सक्छु र ? तर मन यति विह्वल भयो कि यो कुरा नलेखी रहन पनि सकिनँ । म सबै कुरा त भन्दिनँ । केही कुरा यस्तो छ:

स्नेहजी ! आज म नब्बे वर्षको भएँ । म मेरो कोठामा जन्मदिन मनाइरहेको छु । तपाईंलाई सम्झना छ कि छैन ! मेरो जन्मदिन र विवाह दिन एउटै हो तिथिअनुसार । यो उपलक्ष्यमा सम्झना गर्ने मेरा कोही छैनन् । मेरा छोराछोरी, नातिनातिना, पनाति आदि कोही पनि मसँग छैनन् । मेरी जीवनसंगिनी जसलाई लिएर म घरबाट खालि हात निस्केको थिएँ, उसले छोडेर गएको पनि एक दशक भयो । मेरो कोठाको भित्तामा म कलिलै छँदा संसार छोडिसक्नुभएको मेरो आमाबा र मेरी श्रीमतीका तस्बिरहरू छन् । म पालो पालो कुरा गर्छु ती तस्बिरहरूसँग । मेरी श्रीमतीले धेरै कुरा दिएर गइन् । घर छोडेर डेरामा बस्न आएको म जस्तो मान्छेलाई दुई छोरा एक छोरी, धार्मिक र सामाजिक प्रतिष्ठा अनि सम्बन्ध, आजको मूल्यअनुसार भन्ने हो भने त दश अर्बभन्दा माथिको मूल्य पर्ने सम्पत्ति, साथीभाइ, धेरै धेरै दिएर आफूले भने छोडेर गइन् । म बाआमाको वात्सल्यता अनुभव गर्न नपाएको टुहुरो, सम्पत्तिको नाममा सात रुपैयाँ नभएको गरिबलाई यति धेरै सम्पन्न किन बनाइन् तिनले ? आफूले चैं छोडेर जानलाई ? ऊ नभइकन म कसरी सम्पन्न हुनसक्छु ?

तपाईंलाइ थाहै छ, जुनबेला मैले तपाईंसँग भेटेको थिएँ ,त्यतिखेरै मेरो व्यवसाय राम्रो थियो । मेरा छोराछोरीहरू ठूलै भइसकेका थिए । व्यापारमा धेरथोर सहयोग गर्थे । समय राम्रै बितेको थियो । म प्रत्येक छ महिनामा कि सुन कि जमिन किन्थेँ । कुनै नराम्रो काम गर्नु परेको थिएन । सम्पत्ति बढ्दै गयो । मैले सबै सम्पत्ति छोराहरू र छोरीको नाममा पास गरिदिएँ ।

समय बित्दै गयो । हामी बूढाबूढीलाई घरबाट छोराहरूले निकालिदिए । त्यो सहन नसकेर मेरी श्रीमतीको मृत्यु भयो । म पागलजस्तै भएँ । मैले काम गर्न नै सकिनँ । छोरीले पनि बोल्न छोडी । मैले केही रकम सापटी लिएर नयाँ ठाउँमा व्यवसाय गरेँ । सानो घर बनाएँ । एउटा कार पनि किनेँ । एक जना ड्राइभर र केही कर्मचारी पालेँ । यो पनि पन्ध्र वर्षअघिको कुरा भइसक्यो ।

दुई महिना जति अघि मेरो नाति घरमा आयो । मेरो कोठा लथालिंग बनायो । दराज र टीभी फुटायो र मलाई थर्कायो, यो “कुरा कसैलाई भन्ने होइन । भनिस कि मार्दिन्छु ।”, मैले भगवानसँग सोधेँ– यो जुनीमा त मैले कसैलाई केही गरेको छैन । आफ्नै छोराबुहारी छोरी नातिह?बाट अपमानित भएसम्म सहकै थिएँ । आज उनीहरूबाट नै ज्यान जोखिममा छ । हुन त म नब्बे वर्षको मान्छेको ज्यानको के महत्त्व होला र ? तैपनि कोही साहारा नभएको बेलामा एकपटक भेट्ने मन छ, स्नेहजी । के तपाईँ मलाई भेट्न आउनु हुन्छ ?

– उही अग्निज्योति ।

पाठकवृन्द ! म आजको समयलाई सोध्न चाहन्छु, के तिमी यति अपराधी भइसक्यौ ? के सबैतिर यस्तै हुन्छ ? के यो घटना सबै बाआमाहरूले आफ्ना इज्जतको खातिर लुकाइराख्छन् ? के यस्तो घटना आमरूपमा भइरहन्छ ?