कविता सुन्दा अल्छी वा दिक्क लाग्ने, नबुझिने, कुरा हो भनेर नठान्नू. कविता जस्तो निस्फिक्री आवारा जङ्गली चिडियालाई केही दिक्कलाग्दा मान्छेले छन्द र मिटरमा, नियम र कानुनमा थुन्न खोजे. आफैं पट्यारलाग्दो जिन्दगी बिताइरहेका उनीहरुले गम्भीर अनुहार लगाएर भने, “थुनिएका कुरा मात्र कविता हुन्.” पक्कै, थुनिएका मान्छेलाई उडान मन पर्दैन. यस्ता मान्छेहरु बतास, नदी, चन्द्रमा पुतलीहरुलाई आवारा भन्ठान्छन्. अनि उनीहरुको हिसाब नमानेर आफ्नै आकाशमा उड्ने कविहरुलाई उनीहरु भन्छन्, “तिमीहरु जे लेख्छौ त्यो कविता हैन..” “बाहिर खतरा छ .” पर्खालभित्र थुनिनु जीवनको उद्देश्य हो.” अनि झ्याउलाग्दा कविता मात्र देखिइन्छन्. मीठा कविता हराउँछन्. यस्तो पनि हुन्छ कहिलेकाहीं, प्रेम गर्नु आवारागर्दी हो भन्नेहरुले कागजमा चाहिँ प्रेमका कविता लेख्छन्, कुर्सीमा बसेका भ्रष्ट शासकहरु सदाचारका कविता लेख्छन्. त्यसैले कहिलेकाहीँ कविता चुट्किला जस्ता पनि लाग्न थाल्छन्.
त्यसैले वर्षौं मैले कविता झ्याउलाग्दो वा हाँस उठ्दो विधा हो भन्ठानें. धन्न भूपी भेटिए. धन्न वाल्ट व्हिटम्यान भेटिए. देवकोटा भेटिए. चार्ल्स बुकाओसकी भेटिए. रुमी र हाफिज भेटिए, गुलजार भेटिए, असरार-उल-मजाज, गालिब भेटिए. यिनीहरुलाई पनि यिनीहरुका जमानाका लोखर्केहरुले यी त कवि नै हैनन् भनिदिएका थिए. कुनै नियम कानुन नमान्ने यी त साँढे हुन् भनेका थिए.
मलाई नेपाली कविता पढ्न सुरु गर्न चाहनेले कुन किताब पढौं भनेर सोध्यो भने म भन्नेछु, भूपीको ‘घुम्ने मेच माथी अन्धो मान्छे’ पढ्नु. यी हुन् ती प्रमिथस जसले कविता यस्तो हुनुपर्छ भन्नेहरुको अनुहारमै माझी औंलो देखाइदिए र भनिदिए, “भाइ.. मेरो हृदयको पुतली जसरी उड्छ, म उड्न दिन्छु. त्यही उडान मेरो कविता हो..”
यस्तो उडानमा औषधिय गुण हुन्छ. कविता आत्माको पोषण हो. टाउको दुखाउने खालका कुरालाई कविता भनेर कविताको हुर्मत नलिनु. सन् १३१५ मा पर्सियामा जन्मिएका पर्सीयन भाषामा लेख्ने कवि प्लस सन्त थिए हाफिज. उनका कविता अहिले आएर अंग्रेजीमा अनुवाद हुँदैछ. भटाभट बिक्दैछ. उनले भनेका छन्, “तिम्रो रुखिएको आँतलाई प्यालामा भरि भरि प्रकाश जेले पिलाउँछ त्यो कविता हो.”
सपनामा देखें, वा कतै पढें. बिर्सिएँ. कहिले म सपनामा पढिरहेको हुन्छु कहिले पढ्दा सपना देखिरहेको हुन्छु, त्यसैले पढ्नु र सपना देख्नु दुवै उस्तै लाग्छन्.
प्रेमिका भन्छे प्रेमीलाई, ‘सुन किन्देउ. हिरा किन्देउ. हार किन्देउ, चुरा किन्देउ.’
कवि प्रेमी भन्छ, ‘सुन, सुन हैन कविता दिन्छु तिमीलाई. दुवै उस्तै हुन्.’
प्रेमिका रिसाउँछे, ‘खुब हुन्छ सुन र कविता उस्तै. म तिम्रो कविता लगाएर झलमल हुनु ? धपक्क हुनु ?’
प्रेमी पुराण जस्तो एउटा कथा सुनाउँछ, ‘धेरैअघि मान्छेको पुर्खा जब बाँदर थियो, जङ्गलमा जब ऊ भौंतारिएर हिँडथ्यो, खाना सजिलै पाउँथ्यो. पानी पाउन उसलाई गाह्रो थियो. कतै नदी कतै ताल कतै झरना भेटे बल्ल उसको प्यास मेटिन्थ्यो. खाना त जङ्गलभरि नै थियो. पानीको खोजका लागि ऊ त्यसैले चारै दिशामा आफ्नो समूहका सदस्यहरु पठाउँथ्यो. पानी सिकारीहरु टाढा टाढासम्म पानी खोज्दै जान्थे. कहिले अग्लो रुख चढेर चारैतिर नियाल्थे. टाढा कतै पानीको श्रोत देखा परेछ भने घामका किरणमा चढेर त्यसको चमक उसका आँखासम्म आइपुग्थ्यो. आफ्नो समूहको, प्राण रक्षा हुने भयो भनेर ऊ खुसी हुन्थ्यो. भनौं उसको मस्तिष्कले उसलाई खुसीका हर्मोनहरु पुरस्कार दिन्थे यसबापत. टल्कने कुराप्रतिको मान्छेको आकर्षणको जरो यही हो. नदीमा गएर केहीबेर पानीमा घाम टल्किएको हेर प्रिय. करोडौंका गहना लगाउँदाको खुसी त्यही हुनेछ.
जम्दा, थुप्रिदाको खुसीभन्दा बग्दाको खुसी धेरै हुन्छ. बग्दाको भन्दा उड्दाको खुसी झन् धेरै हुन्छ. आफ्नो चित्त बगाउन, उडाउन जानेकाहरु त्यसैले कविता लेख्छन्. कविता पढ्छन्. कविता बाँच्छन्. कविता बुझ्छन्.
खानु नै जीवनको उदेश्य भएका, बेच्नु नै जीवनको उदेश्य भएकाले भने सधैं सोधेका छन्, के गर्नु गीत सुनेर ? कविताले खान दिन्छ ?
कविता बिक्दैन. संवेदनशील हृदय भएको मान्छेले बुझ्छ, जीवन किन्नु, बेच्नु र खानु मात्र हैन. तालु खुइलिने गर्मीमा भोक मार्न पेटमा पटुका बाँधेर पेन्टिङ बनाएको भान गग भन्छ, “ताराहरु हुन् जो मलाई सपना देख्न सिकाउँछन्. म तिनै सपना आफ्ना चित्रमा उतार्छु.” आकाशको भाषा बुझ्ने मान्छे कविता बुझ्छ. कविता लेख्छ. किनबेचसँग उसलाई खासै मतलब हुँदैन. त्यसैले शून्यको भाषा बुझेका ऋषिहरुले पनि कविता लेखे. गीत गाए. आकाशको कविता लेख्न, बुझ्न सक्नेहरुले ऋषिहरुको जस्तो जीवन बाँचे.
धेरै सन्त छन् जसले कविता लेखे. त्यस्तै एक थिए सन्त कवि कबिर. कपडा बुन्थे. कपडाकै कविता लेखे. कपडा बुन्दा झुम्दै, गाउँदै बुन्थे रे ती. उनका ती एक एक कविता आजसम्म जिउँदा छन्. कपाल जगल्टो पालेका हिप्पीहरुसमेत गाउँछन् ड्रम र गितार बजाएर कबिरका कविता. नपत्याए कबिर क्याफे सुन्नु. अथवा सुन्नु ट्रेभर हिल. उनका कविताहरुमा प्रायः सबै बिम्ब त्यसैले कपडा बुनाईसँग सम्वद्ध हुन्छन् । कपडा बुन्दा यस्तो मस्तीमा झुम्दै बुन्थे रे….
झिनी रे झिनी चदरिया..
राम रस भिनी..
रामको रसमा डुबाएर कपडा बुन्थे. झुम्दै, गाउँदै कपडा बुन्थे. अनि बेच्न आफैं बजार जान्थे. किन्न आउने जति सबै उनका लागी ‘राम’ ग्राहकलाइ भन्थे रे, रामजी, तपाईंको लागि बुनेको. प्रेम रसमा डुबाएर. लैजानुहोस्.
घर फर्कंदा फेरि त्यसैगरी मस्तीमा झुम्दै फर्कन्थे…
चेलाहरु कहिलेकाहीं भन्थे रे, “तपाईं यत्रो सन्त किन कपडा बुन्नुपर्यो ? किन बेच्न बजार जानुपर्यो ? जे चाहिन्छ हामी दिन्छौं नि… किन दुMख गर्नुहुन्छ ?”
कबिर भन्थे रे,
रामजी आउनुहुन्छ कपडा किन्न बजारमा
मलाई नदेखेर निराश हुनुहुन्छ…भो जान्छु !!
बग्नेहरुको, उड्नेहरुको गणित नै अर्कै. देवकोटाले त्यसैले भने,
जरुर साथी म पागल
यस्तै छ मेरो हाल
म शब्दलाई देख्दछु,
दृश्यलाई सुन्दछु,
वास्नालाई स्वाद लिन्छु,
आकाशभन्दा पातला कुरालाई छुन्छु,
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
म देख्दछु ढुङ्गालाई फूल,
देवकोटाको यही कविता आफ्नो स्वरमा वाचन गरेका अर्का प्यारा कवि पनि आकाशकै कुरा गर्छन्.
एक दिन
आकाश मेरो चियाको कपमा लुक्न आयो
मैले त्यसलाई हृदयभित्र राख्न खोजेँ
र छिटोछिटो चिया पिएँ
तर कप रित्तो भयो र आकाश फेरि उडेर माथि गयो ।
फेरि मैले कपमा चिया भरें
आकाश फेरि कपमा झर्यो
कसैले भन्यो, ‘ए गोजीमा हाल,
लुकाऊ न लूकाउ !’
तर म तेजिलो घामले आफूलाई डढाउन चाहन्नथें
सघन वर्षातले आफूलाई रुझाउन चाहन्नथें
त्यतिका विघ्न ताराहरु पनि मेरा लागि आफ्नै हुन्थे
म ती जम्मैलाई सोहोरेर झोलामा बोक्न सक्दिनथें ।
कसैले भन्यो
‘ए ! आँट गर
आकाशसँग बाँच्नु भनेको ठूलो कुरा हो । ‘
तर मैले आकाशमा बिजुली चम्केको सम्झेँ
वज्र परेको सम्झेँ
एकबारको यो जुनीमा
मलाई यी अनावश्यक खतराहरु मोल्न मन लागेन
एक बट्टा सिग्रेट बोक्न नचाहने मैले
अलिकति ल्वाङ सुकुमेल बोक्न नचाहने मैले
आकाश बोक्ने किन चाह गर्नु ?
मैले भनें, ‘धर्तीलाई घाम र जून चाहिन्छ ।’
त्यसैले,
मैले आकाशलाई फेरि माथि फ्याँकिदिए ।
~मन्जुल
आफ्नै जीवन्त स्पन्दन, आफ्नै धड्कनको दौड सुन्न नसक्नेले संगीत बुझ्दैन. कारण, संगीतको ताल धड्कनको गति नै हो. सुदूर अतितमा कुनै आदिम मानवले प्रेयसी नजिक आउँदा आफ्नो धड्कनको गतिमा आएको परिवर्तन महसुस गर्यो र त्यो गति थपथपाउने क्रममा खुसीको संगीत पत्ता लगायो. अथवा हुनसक्छ उसैकी प्रेयसीले उसलाई छाडी जाँदा उसको धड्कनमा आएको फरक उसले चाल पायो र दुःखको लय भेट्टायो. आँखा बन्द गरेर आफ्नै धड्कनको कबड्डी सुन्न नसक्नेले संगीत बुझ्न सक्दैन. मानौं सङ्गीत नदी हो भने कविता त झन् बतास हो. यसको मधुरो ध्वनी सुन्न त उपनिषद्का ऋषिहरुले जानेको मौन जान्नु पर्छ. नारा लगाएर हिँडेकाहरुले जे लेख्छन् त्यो कविता हैन. आवाज र मुद्दा उठाउन कविता नलेख्नू. ईश्वरको अपमान हुन्छ. शून्यको शान्त स्वर सुन्न सक्नेहरुले जे लेखे पनि कविता हो. देवकोटाले त्यसैले भनिदिए,
खुल्दो गुलाबबीच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।
महाकवि हुन्. उनका कुरा पत्याउनू. गुलाब फक्रिँदै गर्दाको आवाज सुन्न सक्नु लाइसेन्स परीक्षा पास गर्नु हो कविताको. गुलाब फक्रेको सुन्न सक्नेले मात्र हृदयको ढुकढुक सुन्न सक्छ. चाहे क्रान्तिकै कविता किन नहोस्, धड्कन छैन त्यसमा भने त्यो मुर्दा सुनिन्छ.
सुन्दा अपत्यारिलो लाग्छ, मसँग पनि ठ्याक्कै व्याख्या छैन यो कसरी भयो अथवा यस्तो कसरी हुन्छ भनेर. एउटा गीत सुन्दै थिएँ म पहिलोपल्ट. गीत सुन्दा मलाई अगरबत्तीको बास्ना आयो. पछि गायकको अन्तर्वार्ता हेर्दा ऊ भन्दै थियो, “त्यो गीत प्रेम गीत भए पनि मैले प्रार्थना मानेर गाएको थिएँ…” पाशका कवितामा मलाई त्यसै गरी क्रान्ति बास्ना आएको थियो. पछि थाहा पाएँ, पन्जाबको माओवादी आन्दोलनको योद्धा रहेछ पाश. क्रान्ति उसले बाँचेको रहेछ. छामेको रहेछ. बारुद, जीवन र रगत एकैपल्ट मिसिएका कविता त्यसैले लेख्न सकेको. ३७ वर्षको उमेरमा खालिस्तानी उग्रवादीहरुले गोली हानी हत्या गरेका पाशका प्रेम कवितामा विद्रोह र विद्रोहका कवितामा प्रेम रक्सीमा पानी मिसिए जसरी मिसिएको हुन्छ. एउटा सुस्वादु, आग्नेय, मादक झोल.
मेहनतको कमाइ लुटिनु
पुलिसबाट कुटिनु
बरु त्यस्तो डरलाग्दो
हैन
लोभको मुठ्ठी,
धोका
पनि बरु
त्यस्तो डरलाग्दो हुँदैन
सही हुँदा हुँदै पनि आफ्नो आवाज
कपटको हो-हल्लामा दबिएर जानु
खराब त हो
जुनकिरीको उज्यालोमा पढ्नु
मुठ्ठी कसेर त्यसका लागि
जसोतसो समय निकाल्नु
खराब त हो
डरलाग्दो भने हैन
सबभन्दा डरलाग्दो हुन्छ
मुर्दा शान्तिले भरिनु
नतड्पिनु
सबथोक चुपचाप सहनु
घरबाट काम
कामबाट घर गरेर नै
सारा जिन्दगी बिताउनु
सबैभन्दा डरलाग्दो हुन्छ
हाम्रा सपना सबै
मरेर जानु
सबैभन्दा डरलाग्दो त्यो चन्द्रमा हुन्छ
जो हरेक हत्याकाण्डपछि
उजाडिएको आँगनमा चढेर उदाउँछ
तर
तिम्रा आँखामा
परेको खोर्सानी जसरी तिमीलाई पोल्दैन
सबैभन्दा डरलाग्दो
त्यो आँखा हुन्छ जसको नजरले
दुनियाँलाई प्रेमपूर्वक चुम्न
बिर्सिसकेको हुन्छ
सबैभन्दा डरलाग्दो त्यो दिशा हुन्छ
जहाँ आत्माको सूर्य अस्ताउँछ
र त्यसको मुर्दा घामको कुनै टुक्रा
तिम्रो शरीरको पूर्वमा गाडिन्छ
~पाश
यसरी लेखिएका कविताले आफैं क्रान्ति गर्छन्. तिनलाई पर्चामा छपाएर लाल रङ्ग दिइरहनै पर्दैन.
विज्ञानको जुनसुकै विधालाई सोध्नू,
सर्वशक्तिमान के हो ? उत्तर आउँछ, शून्य.
पदार्थ के हो ? परमाणु.
परमाणुको केन्द्र के हो ? शून्य.
ब्रम्हाण्ड यात्रा गर्दैछ. लगातार यो फैलँदो छ. तर आयो कहाँबाट ? खगोलविद्लाई सोध्नु. भन्छन्, शून्यबाट.
जाँदैछ यो कहाँ ? शून्यमा.
सबैभन्दा धेरै के छ ? आकाश.
कति छ आकाश ? थाहा छैन.
त्यही शून्यबाट आएको प्रसाद हो कविता. त्यसैले यसले अणुको शक्ति बोकेको हुन्छ. आकाशको फैलावट बोकेको हुन्छ. ऋषिहरुको मौन बोकेको हुन्छ. र यसरी आएको कविताले पढ्नेलाई, सुन्नेलाई त्यहीं लिएर जान्छ. शून्यमा. समाधिमा. मुक्तिको आनन्दमा.
संसारमा आनन्द प्राप्तिका दुई मार्ग छन्. एउटा, बाहिरको दौड. जसले यति धेरै माग्छ, हाम्रा सारा स्वाद चर्को बनाएर जान्छ. आज एक पाएको मान्छे भोलि हजार माग्छ. हजार पाएर ऊ कहाँ चुप लाग्छ ? लाख माग्छ. करोड माग्छ. बाहिरको दौडमा दौडेको मान्छे सधैं भिखारी. सधैं अझै कडा अम्मलको दौडमा दौडेको दुर्व्यशनी. जसले भित्र डुब्न जान्यो, उसले गुलाबका कोपिला फक्रेको सुन्छ. बतासले वेदका ऋचा गुनगुनाएको सुन्छ. चराहरुको चिरबिर सुन्छ, जीवनको क्षणभंगूरता बुझ्छ. अनि जे जति पाइयो जीवनमा, त्यसका निम्ति ऊ असीम अनुग्रहले भरिन्छ. ऊ कवि बन्छ. अरण्यको हरित नृत्यमा मग्न मस्त भएर उपनिषद् रच्न बसेको ऋषि बन्छ. त्यसैले तैत्तिरिय उपनिषद् भन्छ, “सा विद्या या विमुक्तए.”
ज्ञान त्यो हो जसले बुद्धिलाई मुक्त गर्छ. विचार शून्य, समाधिको अवस्था, परम् ज्ञानको अवस्था हो. विचारलाई बाँध्ने अनेक वादका बन्धन विद्या हैन. अविद्या हो. अज्ञान हो. यो शून्यताको स्वाद चाखेकाहरुले सधैं गीत गाए. कविता लेखे. आँखामा राख्दा नबिझाउने जस्ता कोमल एक भारतीय कवि छन्, गुलजार. आत्माको परिभाषामा उनले जे कविता लेखेका छन्, मैले आत्माको त्यस्तो बेजोड परिभाषा कुनै धर्मगुरुको मुखबाट सुनेको छैन. कवितालाई वादको फित्ताले नाप्नु मेरो घरको छतबाट देखिने जति मात्र सही आकाश हो भन्नु हो. त्यस्तो मूर्खता नगर्नू. आकाश नापिँदैन. बतास बाँधिदैन. कवितालाई शून्यमा बाँच्न दिनु. त्यसको आनन्द लिन बरु आफैं बेला बेला त्यहाँ जानू. कवितालाई भोक र सत्ताको नारा नबनाउनू. कविता पुल हो. यो लोकलाई अदृश्य अगोचर शक्तिसँग जोड्ने.
कुमार गन्धर्वका एक विद्यार्थीको साथै लागेर कुमार गन्धर्वकहाँ गएको एउटा मान्छेको संस्मरण पढ्दै थिएँ…..
“१९६९ ताका गर्मीयामको एउटा शीतल साँझ, म मेरो साथीसँगै लागेर कुमार गन्धर्वको इन्दौरस्थित घरमा गएको थिएँ ….
आँगनमा ओछ्याइएको गलैंचामा हामी बस्यौं.
गुरुजी आउनुभयो..
हाम्रो उत्साह देखेर उहाँ गाउन थाल्नुभयो….
त्यो क्षण मानौं समय नै ठप्प भयो..
ओहोरदोहोर गरिरहेका घरका कामदारहरु पनि आएर हाम्रो छेउमा बसी आँखा बन्द गरेर सुन्न थाले…
एकैछिनमा गुरुजीकी पत्नी आउनुभयो…
उहाँ पनि गुरुजीको स्वरमा स्वर मिलाउँदै गाउन थाल्नुभयो….
माहोल यस्तो भयो, पक्कै देवताहरु पनि अदृश्य भएर त्यहाँ उपस्थित थिए यो अभूतपूर्व गायकी सुन्न…..
घर फर्कने बेला उहाँ गेटसम्म हामीलाई छाड्न आउनुभयो..
जानै लाग्दै थियौं…
उहाँले भन्नुभयो, एकैछिन पर्ख !
अनि हराउनुभयो…
फर्केर आउँदा उहाँको हातमा एक अञ्जुली पारिजातका फूल थिए..
मुस्कुराउँदै हामीलाई उहाँले ती फूल दिनुभयो…
हामी रातको शीतल बतासमा पारिजातका फूलको सुगन्ध लिँदै घर फर्कियौं…
बाटोमा न साथी केही बोल्यो
न म बोल्न सकें….
हृदय आनन्दले त्यसरी भरिएको थियो.. ”
एक बिहान शिष्यहरु समक्ष प्रवचन दिन भनेर बसेका बुद्ध घन्टौं केही बोलेनन्. हातमा कमलको फूल लिएर उनी मात्र मुस्कुराइरहे सारा शिष्यलाई अलमल्लमा पार्दै. मात्र एउटा शिष्यले बुझ्यो बुद्धको इशारा. हाँस्न थाल्यो ऊ. बुद्ध उठे, उसको छेउमा गए र उसको हातमा दिए कमलको त्यो फूल दिँदै गर्दा भने, “महाकाश्यप, मेरो देशना तिमीले मात्र बुझेका रहेछौ.”
आनन्दको यही अभिव्यक्ति कविता हो. शून्यबाट आएको हरेक स्वर, जसले शून्यमा लिएर जान सक्छ, कविता हो. कसैले शब्दमा व्यक्त गर्छन् यसलाई, कसैले स्वरमा. कसैले मौनमा. अन्तसको गहिराइबाट आफैं जे आउँछ, आउन दिनू. आइतबार चर्च जानुको, एकादशीमा मन्दिर जानुको के अर्थ ? जबसम्म आफैंभित्रको ईश्वरको आराधना भएको छैन.
जुनसुकै भाषाका कालजयी भनिने गीतहरु सुन्नु, तिनका लिरिक्स ती देशका मुर्धन्य मानिएका कविले लेखेका हुन्छन्. किशोर कुमारका कालजयी गीत प्रायः सबै साहिर लुधियानवीले लेखे. नारायण गोपालले पनि संवेदनशील कविहरुका रचना मात्र गाए.
“बलिवुडमा एउटा गीत लेखेको पाँच लाख लिन्छन् आजभोलि. हाम्रोमा यस्तो छ. फिरीमा लेख्दिनुपर्छ.” पाँच लाख सुहाउने गीत लेख्दैछौं हामी ? लक्ष्मीको अपमान हुन्छ पाँच लाख दिए यता. सी ओ डब्ल्यु काउ माया रिटिङ रिटिङ र्याई ! यस्तो छ कविज्यूहरुको हाल ! कविता सुनाउँछु भन्दा त्यसैले नेपालीहरु चार हात पर भाग्छन्. एउटा कविले मात्र अर्को कविको कविता सुन्छ यहाँ. आफ्नो पालो पनि आउँछ भनेर. हामी मक्ख पर्छौं. कविले मात्र कविता बुझ्छ भनेर.
सायद आफूले बाँचेको जीवन देखिनुपर्छ कवितामा. अनि मात्र कविता स्वादिलो हुन्छ. जस्तो रामेशका वा मनु मन्जिलका वा दिनेश अधिकारीका वा रमेश क्षितिजका कविता हुन्छन्. यी फोस्रो क्रान्ति लेख्दैनन्. आफूले नदेखेका नभोगेका कुरा लेख्दैनन्. त्यसैले यिनका कविता मीठा हुन्छन्. आफ्ना सन्तानलाई विदेश पढ्न पठाएर यता देशमा अरुका सन्तानलाई किताब च्यात्न लगाउने कमरेडहरुले क्रान्तिका कविता लेखेको सुहाउँदैन. मौसमी कम्युनिष्टहरुले हुन् क्रान्तिका कविता दुषित पारेका. बरु मिडल क्लास सपनाका कविता लेखे चल्छ उनीहरुले. क्रान्तिका कविता क्रान्ति बाँचेकाहरुले लेखेको राम्रो. जसरी हरिभक्त कटुवालले, चार्ल्स बुकाओस्कीले, अशरार उल मजाजले रक्सीको कविता लेखे.
यिनै कबिरका प्रार्थना, गुलजारका कविता, साहिरका कविता बलिवुडका लिरिक्स बनेका छन्. हाम्रा थुप्रै कविहरुले लेख्ने कविताभन्दा बरु बलिउडका लिरिक्स दमदार छन्.
मलाई एकपल्ट चासो भयो, मरणउप्रान्त आफूलाई दार्शनिक हैन, एक कविका रुपमा सम्झिनु भन्ने, आफ्ना हरेक प्रवचनमा हिन्दी र ऊर्दुका दुई चार अद्भूत कविता सुनाएकै हुने ओशो गीत कस्ता सुन्थे होलान् ? सोचेको थिएँ, उनी रागहरु मात्र सुन्दा हुन्. थाहा भयो, ओशो त्यसबेलाका बलिवुडी गीतहरु नै सुन्दा रहेछन्. भारतले सधैं सुन्दर, निश्छल हृदयका कविहरु लिरिष्टका रुपमा पायो. त्यही लेगेसीमा उभिएर आज प्रसुन जोशी, इर्शाद कामील, गुल्जारहरु एउटा गीतको लाखौँ पाउँछन्. सी ओ डब्ल्यु काउ लेखेर हैन. उनीहरु आफ्ना बलिवुडी गीतका पनि किताब निकाल्छन्. ती बिक्छन् पनि. यता हाम्रा प्रकाशकहरु भन्छन्, कविता छापे आफैं पैसा हाल्नू.
हुन त बन्दुक र क्रान्तिका कविता पनि नमीठा हुने हैनन्. रगत उम्लिएर शब्दमा पोखिए पनि ती शून्यकै स्वर हुन्. पाशका कविता पढ्नू, हाम्रै गोपालप्रसाद रिमालका कविता पढ्नू. कविताको शक्ति नाराको शक्ति हैन. अणुको शक्ति हो. आकाशको शक्ति हो. बतासको अनि छालको शक्ति हो. अहम् ब्रम्हास्मीको शक्ती हो !
तुकबन्दी मिलाउँदैमा कविता हुने भए भोलि यन्त्रले कविता लेख्नेछ. भोलि किन, आजै लेख्नेछ. गर्यो, पर्यो, भर्यो. रिटिङ रिटिङ रयाई. सी ओ डब्ल्यु काउ. हृदयमा आत्माको गहिराइ चुम्न सक्ने गरी छाल नउठेसम्म कविता नलेख्नू. कविता लेख्न नबस्नू. जागिर खान बस्दा हुन्छ. कविताले त जगल्टयाएर आफैं लेखाउँछ. चार्ल्स बुकाओस्की भन्छन्, “यो नलेखे मैले पुलबाट फाल हानेर मर्नुपर्छ जस्तो नहुँदासम्म नलेख्नु.”
सायदै कुनै सन्त भए जो कवि भएनन्. कबिर, बुल्ला शाह, हाफिज, रुमी, टेगोर, देवकोटा, हरिभक्त कटुवाल, इमिली डिकिन्सन, वाल्ट व्हिटम्यान. नास्तिकता, अहंकारको घोषणा र शून्यवादको समिश्रण जस्तो सुनिने आदी शंकराचार्यको कविता निर्वाण शटकम् आज मन्त्रका रुपमा उच्चार गरिन्छ. यो कविताको शक्ति हो. संसारमा सायदै अन्त कतै यस्तो दोहोरिएको छ, भारतको राष्ट्रगान ‘जन गण मन अधिनायक’ र बंगलादेशको राष्ट्रगान ‘आमार शोनार बांग्ला.. आमि तोमाए भालोबाशी.” दुवै नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ ठाकुरले लेखेका हुन्. यो कविताको शक्ति हो. आफैंले आफैंलाई भगवान् घोषणा गरेका, सबै मुख्य उपनिषद्, गीता, बाइबल, कुरान, बुद्ध, कृष्ण, महावीर नानक आदिमा सयौं सयौं घण्टाको प्रवचन हानेका ओशोलाई जब कसैले आत्मा के हो भनेर प्रश्न गर्यो, उनले कुनै शास्त्रका श्लोक भट्याएनन्. उनले गुलजारको एउटा कविता सुनाए…. “रूह देखी है कभी” यो कविताको शक्ति हो.
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।