नमस्कार, नमस्कार, नमस्कार …
सन्चै हुनुहुन्छ ? चिसो छ हगि ! कि राजनीतिले माहोल ततायो पो ? यतिबेलाको राजनैतिक माहोलमा लाग्नु र खरानी ताप्नु उस्तै हो । जोगिनु है जोगिनु । क्षणिक न्यानोको लागि लुगामै मुत्नु हुन्न ।
बढ खराब समय आयो बा देशमा । गरिखाने वातावरण त पहिल्यैदेखि थिएन अब त मरिजान पनि सहज नहोला जस्तो छ । कसैको हालखबर सोध्न पनि डर लागेर आम्च भनेको । फ्याट्ट तँलाई किन चाहियो भन्दिए भने क्यार्नि हो ?
हाम्रा बोली महाराजउर्फ खड्गप्रसाद कम्पनीले संविधानमा हुँदै नभाको धारामा संसदलाई नुहाइदिएपछि ठग फटाहा लुटेराहरुको रुवाबासी सुरु भैच यतिबेला । सडकमा पक्ष विपक्षका मार्चपासहरु दिनदिनै देखिन थालेका छन् । कसको शक्ति ठूलो भनेर जुँगाको लडाइँ सुरु भैच ।
यौटा समूह वर्तमान खड्गप्रसादलाई फालेर आफैं खड्गप्रसाद हुने दाउमा छ भने पुरानो खड्गप्रसाद उसै महाराज भैगए । दुई साँढे आपसमा लढ्दा चेपुवामा पर्ने चैं हामी जनता परिम् । असलमा जहाँ पनि थिचिने, मिचिने, किच्चिने भनेको जनता नै हैछ । पानी बसाएर ।
आन्दोलन, धर्ना जुलुसले कसैको पनि भलो हुँदैन भनेर भन्छु म । हुन पनि त हो के रे ! कसको चैं भलो हुन्छ, तपाईं नै भन्नुस् तो ? सत्ताको आडमा मात्तिएकाहरुको थोरै अधिकार खोसिदा यत्रोविधि रुवाई कराई हुँदोरैछ । गाउँ गाउँबाट, बस्ती बस्तीबाट सोझासाझा जनताहरुलाई राजखानीमा उतारेर मार्चपास गर्दा हैछन् । न्वारानदेखिको बल निकालेर गर्जिदा हैछन् । तर, विपत्ति, भोकमारी, बलात्कार, हत्या हिंसाको विरुद्धमा खै कुन माइकललालले बोल्यो ? अहँ बोलेन । बोल्दैनन् कोही । देख्दैनन् जनताका समस्याहरु । साँच्चै भनम् यिनीहरुको नजराँ जनतामा छँदै छैनन् । हामी त भोटबैंक मात्र हौं । यौटा छाप मात्र हौं ।
कुरो के भनदेखुन् सत्ताको लगौंटीभित्र लुकेकाहरुले नै हो हत्या, हिंसा, बलात्कारजस्ता अपराधहरु गर्नी । तपाईंलाई थाहै होला त हाम्रा सरकारी क्याम्पसहरु राजनैतिक दलका भर्तिकेन्द्रहरु हुन् भन्ने । गाउँ गाउँबाट उच्च शिक्षाको कतिधेरै सपना देखेर सहर छिरेका विद्यार्थीहरुलाई शिक्षाको उज्यालो चेत होइन राजनीतिको अँध्यारो भड्खालोभित्र हालिन्छ । तपाईंले देख्नु, भोग्नु भएकै छ क्यारे प्रत्येकजसो सरकारी क्याम्पस अगाडि दिनहुँजसो टायर बालिन्छ । पुत्ला जलाइन्छ । ढुङ्गामुढा हानाहान हुन्च । तालपरो भने भौतिक सम्रचनाहरु पनि जलाइन्छ । बन्द हड्ताल, आन्दोलनको नाममा नागरिकका सवारी साधनहुँदी धावा बोलिन्छ । यो कुसंस्कार नै त हो नि । यसैको जगेर्ना बर्सौंदेखि खुलेआम भैरहेछ कसले रोक्नी र ! दिनदिनै टायर बाल्नी, हल्ला खल्ला गर्नी, बेरोजगार युवाहरुले खान पनि परो के रे ! अब इलम नभएसी पेट पाल्न चोर्नी, लुट्नी त हो नि, पानी बसाएर ।
हजुर, कसो अरे कसो ? अन्यायको विरुद्धमा आवाज उठाउनुपर्छ रे !
पर्छ, पर्छ । जरुर पर्छ । अन्यायको विरुद्धमा बोल्नी नै हो । अन्यायको एकमात्र सामाधान आवाज हो । औंला उठाउने नै हो । तर यहाँ अन्यायको विरुद्धमा कहिल्यै आवाज उठ्दैन । उठेको छैन । कसले उठाएको छ भन्नुस तो ? छैन, छैन कसैले छैन । यहाँ आवाजहरु आफ्नै लागि उठ्ने हुन् । आफ्नै स्वार्थका लागि उठाइने हुन् । र, स्वार्थ पूरा भएसी हराउनी हुन् ।
सडकमा उर्लिएर कुर्लनी सबै नौटंकी हो । नाटक हो । बोल्ने नै भए भागिरथी भट्टको पक्षमा खै कसले बोल्यो ? निर्मला पन्तको हत्यारा वर्षौँ बित्ता पनि किन भेटिदैन ?
तपाईं यौटा कुरा मान्नुस्, अपराधलाई सधैं राजनीतिले संरक्षण गर्छ । ढाकछोप गर्छ । लुकाउँछ । हाम्रो देशमा त यस्तो संस्कृति बनेको छ कि अपराध फटाईं गर्न, लुकाउनकै लागि मुन्छेहरु राजनीतिमा लाग्छन् । बोली महाराजले भनेछन्, बलात्कारीलाई पानीमुनि गए पनि छाड्दिनँ भनेर, भर नपर्नु है । उनले नछाड्नी भनेको पानीमुनि गए मात्र हो । पानीमाथि त संरक्षण दिन्छन् क्यारे ।
बिचरी भगिरथी ! जन्मदै छोरी भएर जन्मनु उनको दोष हो ? शरीरको एक अङ्ग योनी हुनु नै छोरीको कमजोरी हो त ? स्तन, लामोलामो कपाल हुनु नै कमजोरी हो नारीको ? लिङ्ग, शारिरिक बनावट बाँच्न पाउने अधिकारका बाधक हुन् त ? नत्र यौटा कलिलो यौनीको लागि भागिरथीको घाँटी किन निमोठियो ?
साँच्चै छोरी भएर जन्मनु अभिसाप हो त ? नारी भन्नु यौन साधन मात्र हुन् त ? नत्र किन कापी कलम लिएर विद्यालय जाँदै गरेका भागिरथीहरुले अकालमा ज्यान गुमाउनु पर्छ ? दाइजोको निउँमा जिउँदै जल्नु पर्छ ? साँझमा पिसाब फेर्न घरबाट बाहिर निस्किएकाहरु छिमेकीहरुकै सहयोगमा अपहरणमा पर्छन् र मकैबारीमा बलत्कृत हुन्छन् । बाउ भनाउँदाले नै छोरीको लिङ्ग चिन्दैन । बन्धक भएर किन छोरीचेलीले बारबार यौनहिंसा सहनु पर्छ ? लुवाईफकाई गरेर विवाह गरिन्छ र बम्बैका कोठीमा पुर्याइन्छ । खुलेआम बेचिन्छ । त्यतिमात्र कहाँ, कति छोरीलाई त गर्भमै तुहाइन्छ ।
किन ? किन ? किन ?
खै किन मौन छ राज्य ? कानुन कहिले बोल्छ ? राजनीति कहिले बोल्छ ? बोल्दैन । अँह बोल्दैन । बोल्दै बोल्दैन । हाम्रो राज्य अपराध, हत्या हिंसा, बलातकार, अपहरणका विषयमा कहिल्यै बोल्दैन । राजनीतिले यी विषयमा कहिल्यै चासो राख्दैन ।
बरु यो संसारमा कुनै मानव अवशेष नरहोस् तर कुनै आमाका गर्भबाट छोरी नजमिउन् ।
हाम्रो राज्य अन्धो छ । लंगडो छ । निर्लज्जा छ । लाचार छ । नारीलाई दोश्रो नागरिक मान्छ । त्यसैले म भन्छु, बरु यो संसारमा कुनै मानव अवशेष नरहोस् तर कुनै आमाका गर्भबाट छोरी नजमिउन् ।
हुन त हाम्रो सोच पनि उस्तै छ । छोरी मान्छे देख्नै हुन्न पछि लागिहाल्छौं । भर्खरै कखरा सिकेका बच्चादेखि चौरासी गरिसकेका वृद्धहरु पनि नारी भनेसी कान ठाडा ठाडा पार्छन् । उसो त विपरीत लिंगीप्रति आकर्षण हुनु जरुरी छ । विपरीत लिङ्गीप्रति आकर्षण हुनु प्रकृतिक कुरा हो, हुनु पनि पर्च तर हामी आकर्षण मात्र हुन्नौँ । भेटे जे पनि गरिदिन्छौँ, जे पनि भनिदिन्छौं । यहाँ नारी भएकै कारण धेरैले ज्यान गुमाम्चन् ।
कसो अरे कसो, ‘आइ लभ यु केपी बा’ रे ? के भन्छ यो अरिङ्गाल ? दूध मिसाएर ।
खुबै खुत्यायो तेरो केपी बाले । केही नाप्नेवाला छैन । देखेको छैनस् आफ्नो कुर्सी बचाउनलाई कहाँसम्म गिरिसक्यो ? तिमीहरु देउता देख कि महाराज, मैले देख्ने त त्यही खड्गप्रसाद हो । आठ कक्षा पास गरेको खड्गप्रसाद । हावा फ्याक्ट्रीको मालिक खड्गप्रसाद ।
भन तो भन अरिङ्गाल के नाप्यो तेरो काका बाले ?
कसो अरे ? धरहरा बन्दै छ रे ?
हा हा हा, बन्न त धेरैथोक बन्दै छन् नि । रानीपोखरी बनिसक्यो । कमलपोखरीमा सिमेन्टीको कमल फुल्न लागिसक्यो । गाउँ गाउँमा भ्युटावरहरु ठडिइरहेका छन् । अँ, नेताहरुको परिवार बन्यो । पहुँचवालाहरुको जीवनशैली बन्यो । हुनेखानेहरुको मानमर्यादा र सान सबै बन्यो । तर, दुःखको कुरा बन्नुपर्ने चैं बनेन् । स्वास्थ्य छेत्र हेरौं न कति डामाडोल छ । कर्नालीको बिकट भेगमा जन्मिएको नागरिकले सिटामोल नपाएर अकालमा ज्यान गुमाइरहेको छ । लालाबालाले कखरा सिक्न घन्टौं हिँड्नुपर्ने समस्या छ । कति बालबालिकाहरु त विद्यालय जाँदा आउँदा बाटोको अभावले भीर पहराबाटै गुल्टी मर्चन् । छुवाछुत र जातिवाद जहाँको त्यहीँ छ । महिलाहरुले छाउगोठमै ज्यान गुमाइरहनु परेको छ । सुकुम्बासीहरु एक चोक्टा जमिनको लागि रोइकराई गरिरहेका छन् । किसानहरु उन्नत बिउबिजन, मलबिषादी नपाएर तड्पिरहेका छन् । एक मुठ्ठी चामल र एक ढिक्को नुन लिन हप्तौ हिँड्नपर्नी तीतो यथार्थ छ । नवजात शिशुहरु कुपोषणले थला परिरहेका छन् । युवाहरु आफ्नो उर्जाशील समय राहधानीसँग साटिरहेका छन् । विदेशी दलालहरुसँग आफूलाई बेचिरहेका छन् । शिक्षित वर्ग पनि पलायन भएका भएकै छन् । तर, हाम्रो शाषक, हाम्रो सत्ता चैं भ्युटावर ठड्याउनमै व्यस्त छ ।
साँच्चै, ती भ्युटावरहरुमा चढेर के हेर्नि होला ? यिनै भोकमारी, बलात्कार, हत्याहिंसा, गरिबी, कष्टकर जीवनशैली नै त हेर्ने होला नि । कि चुनावका बेला हाम्रा मतदाताहरु कहाँ कहाँ छन् भनेर दूरपिन लगाएर हेर्नि हो ? कसो पो हाउ लुङ्गाहर चिनी लगाएर ।
नारायणहिटी अगाडि कुहिएको सत्ताको सिनो सुघ्न पक्कै आएका थिएनन् उनीहरु । पक्कै आएका थिएनन् उनीहरु सर्पलाई दूध पिलाउन ।
अस्ति आन्दोलनमा आएकी पश्चिमतिरकी एक जना आमैको भिडियो मुइले पनि हेर्या हुम् । उनी भन्दैथिन्, एक हजार र पुलाउ खानका लागि आया हुँ भनेर । उनीहरुलाई राज्य र शासकले के बोलिरहेको छ ? उनीहरुको नाम बेचेर कसले के गरिरहेको छ भन्ने पत्तै थिएन/छैन । तराइबाट एकसरो लुगा लगाएर आएका प्रदर्शनकारीहरु जाडो भयो कम्मल देउ भनिरहेका थिए । साँच्चै कुन आँखाले हेर्दा उनीहरुलाई प्रदर्शनकारी देखिन्छ र ! कुन राजनैतिक चेतले उनीहरुलाई राजखानीसम्म ल्याएको होला ? विचार गर्नुस् तो ? तपाईंलाई लाग्दैन उनीहरु राजनैतिक चेतले राजखानीमा आएका हैनन् भनेर ? तपाईंलाई लाग्दैन उनीहरु थोरै दाम र एक गाँस मीठो मामकै खातिर यहाँसम्म खालिखुट्टा आएका हुन् भन्नी ? उनीहरुको हातमा भोकले राखिदिएको हैन र झन्डा ? उनीहरुको मुखबाट नारा होइन भोक निस्किरहेको थियो । गरिबी निस्किरहेको थियो । बेरोजगार निस्किरहेको थियो । मलाई लाग्दैन उनीहरुले हाम्रो फोहरी शासन पद्धतिको जयजयकार गरिरहेका थिए । नारायणहिटी अगाडि कुहिएको सत्ताको सिनो सुघ्न पक्कै आएका थिएनन् उनीहरु । पक्कै आएका थिएनन् उनीहरु सर्पलाई दुध पिलाउन ।
राजनीति गर्नु भनेको अरु कसैको कमजोरीमाथि अधिपत्थ्य जमाउनु हुँदै होइन । हाम्रा नेताहरु हाम्रो कमजोरी देखाएर यश गरिरहेछन् । हाम्रो गरिबी बेचेर मस्ती गरिरहेछन् । र, यो राजनीति होइन । खासमा यो रासनीति हो । रास बनाएर थुपार्ने नीति हो । गरिबको भोक बेचेर, गरिबको गाँस खोसेर गरिने राजनीति कहिल्यै राजनीति हुन सक्दैन । निमुखाको गला दबाएर गरिने राजनीति राजनीति हुँदै होइन । यो त सामन्तवाद हो । कुसंस्कार हो । कुप्रथा हो ।
आउनुस्, आउनुस्, चिसचिसो मौसममा तात्तातो खानदानी च्या पिएर जानुस् ।
बस्नुस्, बस्नुस् । त्यही कुर्सी तानेर बस्नुस् है ।
अँ त ।
हो त ।
सही हो सही, तपाईंको कुरा सोह्रैआना सही हो ।
विदेशी पर्यटकहरु देशमा भित्र्याउन उनीहरुकै नक्कल गरेर हुन्न नि । मुन्छेले हर समय फरक अनुभूत गर्न चहान्छ । फरक देख्न चहान्छ । फरक भोग्न चहान्छ । विदेशीहरु यसै कारण नेपाल घुम्न आम्छन् किनकि नेपाल उनीहरुको भन्दा फरक छ । उनीहरुको भन्दा हाम्रो संस्कृति, रहनसहन, रितिरिवाज फरक छ । हाम्रा प्रकृतिक सम्पदाहरु, मठमन्दिरहरु किन विश्व सम्पदा सुचिमा परे ? कारण अरुभन्दा भिन्न छन् । अरुभन्दा फरक छन् । अरुभन्दा पृथक छन् । अरुभन्दा नवीन छन् ।
फरक फरक नाम गरेका फरक फरक परिकारको स्वाद यौटै भए के मजा त ! खाना खानु भन्नु भोक मेटाउन मात्र होइन स्वाद/सन्तुष्टि पनि हो नि । मेरै च्याभट्टी हेर्नुस् तो, परिपरिका च्या छन् । जहानियाँ च्या, पन्चायत च्या, प्रजातान्त्रिक च्या, लोकतान्त्रिक च्या, गणतान्त्रिक च्या, क्रान्तिकारी च्या, सबैको फरक फरक स्वाद र विशेषता छ ।
यही राजखानीका मठमन्दिरहरु लिच्छवीकालीन प्यागोडा शैलीमा नबनाई विदेशी नक्कल गरेर बनाइएका भए कसले हेर्तो भन्नुस् तो ? मन्दिरहरु हटाएर चर्च बनाए कसैले पार्थना गर्थे होला त ? प्रार्थना गर्नकै लागि यहाँ आउँथे होला त ?
धरहरा अब धरहरा नरहने पक्का भैसकेको छ । हिजोको भिमसेन स्तम्भ अब यौटा टावरसिवाय अरु केही हुनेवाला छैन । हिजो धरहरा देख्दा क्यामेराको लेन्स तेर्स्याउने पर्यटकहरु अबको धरहरा देखेर मुख खुम्च्याउने छन् । हिजो कमलपोखरीमा माछाहरुलाई चारो खुवाएर मजा लिएका पर्यटकहरुले भोलि कमलपोखरीको सिमेन्टीवाला कमलमा बसेर पक्कै फोटो खिचाउने छैनन् । बरु उल्टै उनीहरुको कला चोरिएकोमा मुसुमुसु हाँस्नी छन् । भाँति नपुर्याएकोमा गिज्जाउनी छन् ।
आधुनिकको नक्कलमा हामीले हाम्रो संस्कृति बिर्सिरहेछौं । यसरी भनौं हामीले आफैंलाई बिर्सिरहेछौं ।
हुन त औंरिकालगायत युरोपियन राष्ट्रहरुले उत्तरआधुनिक सभ्यताको बहानामा संसारभर नै आफ्नो अधिपत्य जमाइरहेछन् । विश्वव्यापीकरणको बहानामा आफ्नो पूरातन धर्म संस्कृति र रहनसहन बेचिरहेछन् । हामीले हाम्रै संस्कतिले हामीलाई नै बन्धन बनायो भन्दै हाम्रा पुराना धर्म संस्कृतिहरु भुल्न खोजिरहँदा उनीहरु आफ्नो संस्कार विश्वव्यापीकरण गरिरहेछन् । मलाई लाग्छ, अबको पाँच सात दशकपछि संसारका धेरैवटा पुरातन संस्कृतिहरु हराइसकेका हुनेछन् । उत्तरआधुनिक सभ्यताले खाइसकेको हुनेछ । निलिसकेको हुनेछ ।
दुई चार बर्खपछि मुइले यो च्याभट्टी पनि बन्द गर्नुपर्ने दिन नआउला भन्न सकिदैन । कुरो के भनदेखुन्, शहरमा आजकल कफीको संस्कार यति बढ्यो कि च्या विस्थापनमा परिसक्यो । कतैकतै सुन्छु, च्या पिउनु भयो भन्दा मुन्छेहरु नाक खुम्च्याउन थालिसके । कतिले त मुखै फोर्छन् — च्या पनि कसैले पिउँछ ? च्या त हाम्रा बाजेबराजुको लागि हो । हामी कफी पिउँछौं । यसो भन्नु पनि पश्चिमेली संस्कृतिकै नक्कल त हो क्यारी !
हजुर हजुर, कसो अरे ?
अँ हो हो । मैले पनि सुनेथें । निजगढको भव्य विमानस्थलपछि अब झापामा बोली महाराजले जंगल फडानी गरेर रंगशाला बनाउनी अरे । विकासका नाममा किन विनासको बाटो अवलम्बन गर्दाहुन् कुन्नि हाम्रा शासकहरु ? के विकास गर्नलाई विनास गर्नै पर्छ र ? सयौं हजारौं वर्ष पुरानो वन फडानी गरेर रंगशाला निर्माण गर्नुको के अर्थ ? रंगशालाभन्दा धेरै महत्व त हाम्लाई वनकै छ नि । वन नै नरहे कहाँबाट श्वास फेर्नी होला र हाम्ले ? अक्सिजन त चाहियो के रे । पर्यावरण त बचाउन पर्छ नि । के लाग्छ तपाईंलाई ? पर्यावरण नै नरहे हामी कहाँ रहन्छौं र ? पर्यावरण जोगाउने जिम्मा हाम्रै त हो ।
अँ अँ, कसो अरे कसो? जनयुद्ध दिवस रे ?
नहसाम्नुन यार, जनयुद्ध भनेको ‘कुन चरीको नाम हो’ भैसक्यो अहिले त । देख्नुभएन जनयुद्धका नायकहरुले भुलेर खलनायकहरुले जनयुद्ध दिवस मनाइरहेछन् त ! लालझन्डे उदण्ड कामरेड र डाउटर कामरेडले जनमुक्ति सेनाले पाउने राहात डकारीभ्याएसी बिर्सिपठाए । पार्टी पनि फुटाइपठाए ।
त्यही जनयुद्ध दिवसको बहानामा बोली महाराजले बटौलीमा त्यत्रो मार्चपास गरे । जनयुद्ध दिवशको नाममा खै के के फलाके । हिजो त्यही ओली नै त हो माबादीका गुरिल्लाहरुलाई गोली ठोक्नुपर्छ भन्नी । आज उही जनमुक्ति सेना उसका हुन् भनी दावा गरिरहेछन् । यो नाटक नभएर के हो त ? देश भनेको रंगमञ्च हो यिनीहरुका लागि । फरक फरक प्रयोगको बहानामन अभिनय गरिरहेछन् ।
सत्ताको मातले साह्रै मत्ताउँदो रहेछ मुन्छेलाई । यहाँ कहिलेकहीँ साँझमा क्रान्तिकारी च्या पिम्न आम्नेहरु मातेभन्दा पनि मातिदो हैछ राजनीतिले ।
कोरोनाले त्यसै पनि थलिएको अर्थतन्त्र यिनार्ले स्वाहा बनाउने भए । आन्दोलन भन्या छ । शक्ती प्रदर्शन भन्या छ । हुने नाप्नेचैँ केही हैन, खाली जनतालाई भेडा बनाको छ ।
बालबालिकालाई पार्टीगत झन्डा बोकाउनु कहाँसम्मको नालायकपन हो ? कुनै नेता अथवा कुनै पार्टीको पदाधिकारी आए विद्यालयका छात्र/छात्राहरुले नै माल्यार्पण गर्नुपर्ने संस्कारले हामीलाई कहाँ पुर्याउनी होला !
तपाईंलाई थाहै छ त । तपाईंका लालाबालाको भविष्य कहाँ पुगिसक्यो ! न विद्यालय खुल्छन्, न पठनपाठन हुन्छ, यसरी कहिलेसम्म चल्छ ? चेतनामाथि नै यसरी बेवास्ता गरे भोलिको पुस्ता कस्तो निस्किएला ? स्वास्थ्य शिक्षा जस्ता कुरामा यसरी नै राज्यसत्ता र राजनैतिक शक्तिहरु अंकुस बनेपछि हामीले के आस राख्नी ? बालबालिकालाई पार्टीगत झन्डा बोकाउनु कहाँसम्मको नालायकपन हो ? कुनै नेता अथवा कुनै पार्टीको पदाधिकारी आए विद्यालयका छात्र/छात्राहरुले नै माल्यार्पण गर्नुपर्ने संस्कारले हामीलाई कहाँ पुर्याउनी होला !
अस्ति फ्यासबुक कि खै के जातिमा जनैवादी विवाद पनि खुबै चर्कियो । खै कुनचाहिँ बुद्धिजीवी भनाउँदाले जनै लगाउनु बाहुनवाद हो भनिदिएछन् । त्यसपछि त माहोल ताती गयो नि ।
हजुर, बुझ्नुभएन ? पख्नुस्, सविस्तार नै भन्चु है त ।
प्रसंग कहाँबाट सुरु भयो भने हत्याहिंसा विरुद्ध नागरिक समाजले नेतृत्व गरेको आन्दोलनमा केही युवाहरुले सेतो पहिरनमा शव यात्रा गरेछन् । भागिरथी भट्टको सामूहिक मृत्युसंस्कार भन्दै सांकेतिक विरोध गरेछन् । बलात्कारी र अपराधीहरुलाई कुरीकुरी भनेछन् । हो त्यही प्रसंगलाई लिएर एक जना गनिनेमानिनेले कम्युनिष्टले जनै लगाउनेहरु नागरिक समाजको आन्दोलनमा आउनु भन्या बाहुनवाद गन्हाउनु हो भनेछन् । हो यहीँबाट कुरो उब्झिएको हो ।
खासमा मलाई पनि तिनको कुरा त्यति युक्तिसंवत लागेन । अग्रगमनको लागि भन्दै समाजभित्रकै यौटा संस्कारको व्यक्तिले अर्को संस्कारमाथि लाल्छाना लगाउनु आफैँमा गलत च । कसैको पहिरन, लुवाईखुवाई, रितिरिवाज, चाल चलन, धर्म संस्कृतिमाथि धावा बोल्दैमा अग्रगमन हुँदैन । ‘जनै लगाउनु भनेको निरंकुश हुनु हो । पश्चगामी हुनु हो । प्रतिक्रान्ति अंगाल्नु हो’ भन्नेहरु आफैँमा संकुचित मानसिक्ताका उपचहरु हुन् । लोकतन्त्रमा सबै समान हुनुपर्ने हैन र ? एकको संस्कार अर्कोले स्वीकार्न सक्नु नै सर्वमान्य हुनुहैन र ? त्यसैलाई समानता भनिन्छ हैन र ? कि समाजमा कठित बाहुनको परिवारमा जन्मिएर ब्राह्मणको भेष धारण गरेपछि ऊ समाजको खलपात्र नै हुन्छ भन्ने कस्तो सोच होला ? उसले अवलम्वन गर्ने संस्कृति गलत नै छ भन्नी कसरी हुन्छ र ?
विवाद कहाँसम्म फैलिएको देखियो भने कत्तिले त बाहुनवादले, जनैधारीले अब सतिप्रथा पनि बिउँताउन बेर लाउन्नन् भन्न भ्याए ।
देश धर्म निरपेक्ष भयो भन्दैमा आफ्नो आस्थालाई नै लत्याउनु पर्ने हो र ? खैर, म साह्रै बुज्रुक भा’छु आजकल यस्ता कुराहरु मरिगए बुझ्दिनँ । तपाईंलाई के लाग्छ जनै लगाउनु गलत नै हो त ?
हत्तेरिका झन्नै बिर्सेचु, तपाईंले भान्टाङभुन्टुङ डे मनाम्नुभयो तो ! मैले त मेरी बुरीलाई आई लप यु भन्दिएँ यत्रैसिति, तपाईंचैं आई लप यु ओली बा भन्दै बस्नुस् खित खित खित …
ला ला ला…. उम्लित गयो ।
फु फु फु….
ठक ठक ठक….
खै खै खै गिलास लेउ….
ल है ल तयार भयो लोकतान्त्रिक समाजवादी च्या ।
हस त अहिलेलाई खानदानी च्या यत्ति नै जिब्रो पड्काएर । साँझमा क्रान्तिकारी च्या पिउन पाल्नुहोला । धन्यवाद ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।