दार्जीलिङको नेपाली साहित्य सम्मेलनको पुस्तकालयमा एउटा कविता वाचन आयोजना गरेको थियो, सन् १९८४ तिर । कार्यक्रमको मुख्य आकर्षण थिए एक मझौला कदको मोटो चस्मा लगाउने, पातलो जुँगा भएको व्यक्ति- यसो हेर्दा सबै श्रोताहरुले चिनेको तर विभिन्न रुपमा ।
कविता वाचन गर्नुअघि उहाँले कविताको रचनागर्भको वर्णन गर्नुभयो, जो सुनेर सबै स्तब्ध भए । नहुनु पनि कसरी ? कालकोठरीमा मानसिक यातना भोगेको कुरा- न पुस्तक पढ्न पाउनु, न लेखपढ गर्न पाउनु । एक लेखक/कविको निम्ति योभन्दा कष्टकर क्षण के होला ? एउटा जिजीविषाको लडाइँ । राजनैतिक बन्दीको रुप जेलमा बस्दा उहाँले केही समय आफैँले आफैँलाई बिर्सेको अनुभव गर्नुभयो । त्यही अनुभूतिलाई कवितामा उतार्नुभयो कवि गुमानसिंह चाम्लिङले । कविता थियो, हो, मलाई त अम्नेसिआ भएको छ !
यो कविता उहाँले जेलमा लेख्नु भयो । कविताले सबैलाई मन्त्र मुग्घ बनायो ।
अम्नेसिआ अर्थात् स्मृति विलोप । कविता वाचन गर्ने शैली यतिको गज्जबको थियो कि हामीलाई केहीक्षण त्यही कालकोठरीमा पुगेजस्तो अनुभूति भयो।
मलाई तिमी चिन्छ्यौ कि चिन्दिनौ, जान्दिनँ,
यी बाटाघाटा, यो देउराली भएर अघि पनि हिँडेजस्तो लाग्छ;
यो डाँडाकाँडा, यो हिमाल अघिदेखि नै देख्दै आएजस्तो लाग्छ;
यी चाँप-गुराँस, यो दृश्य पहिल्यैदेखि अनुभूत भइआएजस्तो लाग्छ;
यी चियाबारी, यो जीवन नै यहाँ उहिल्यैदेखि भोग्दै आएजस्तो लाग्छ ।
लाग्छ मलाई, केवल लाग्छ,
कति बल गरेर सम्झन खोज्दा पनि अहँ,
केही सम्झना नै आउँदैेन;
सम्झना कता-कता होला जस्तै भइदिन्छ केवल
उफः मेरो स्मृति पूर्णतया ब्ल्याकआउट छ !
स्मृति मैले आफ्नो यही कतै हराइपठाएको छु,
तर कसरी अनि कहाँनेर ? मलाई केही थाहा छैन ।
यस कविताबारे टिप्पणी गर्दै समालोचक डा. कुमार प्रधान लेख्छन्, “कवि चाम्लिङको कवितामा भावनाभन्दा बौद्धिकता हावी भएको पाउछौँ । यसको उद्धारण ‘हो, मलाई त अम्नेसिआ भएको छ!’ कवितामा पाउछौँ, जहाँ उहाँले मान्छेलाई क्यानभास बिनाको चित्र, रागबिनाको गीत, शब्दबिनाको कविताको रुपमा चित्रण गर्नुभएको छ ।”
गुमानसिंह चाम्लिङले कविता लेख्न सुरु गर्दा नेपाली साहित्यमा विशेषगरि दार्जीलिङमा स्वच्छन्दतावादी कविहरुको निकै बाहुल्यता थियो । नरेन्द्र कुमाईँ, कवि ध्रुव, तुलसीबहादुर छेत्री, अगमसिंह गिरीजस्ता कविहरुको पादचाप पछ्याउँदै गुमानसिंह चाम्लिङले आफ्नो प्रारम्भिक कविताहरु त्यही शैली लेखेको पाउँछौँ, जसको झझल्को सन् १९६२ प्रकाशित उहाँको पहिलो कवितासंग्रह ‘जीवन-परिधिभित्र’ देख्न सकिन्छ । पश्चिमी साहित्यबाट प्रभावित चाम्लिङको कविताहरुमा इलियट, पाब्लो नेरुदा, गिन्सबिर्ग, अक्टोभिया पाज, एज्रा पाउडको छनक पाउँछौँ ।
यसैगरी भारतको मुक्तिबोध, अज्ञेय, सुनिल गङ्गोपाद्धय, शक्ति चटोपाद्धय आदिले पनि चाम्लिङ लगायत दार्जीलिङका अरु कविहरु पनि प्रभाव पारेका थिए । इलियटमाथि त उहाँले लेख नै लेख्नु भयो । सन् १९६२ मा राजनीतिक बन्दीको रुपमा करिब दुईपटक जेल यात्रा गरे चाम्लिङले । कठोर मानसिक यातनासहित, लेखपढ गर्न बन्देज हुनेगरी । तर उहाँले राति राति लुकेर लेखे कविता अनि जन्मियो, ‘सूर्य उदाउनुभन्दा पहिले’ । तर यस पुस्तकले सन् १९६८ मात्र प्रकाशनको उज्यालो देख्न पाए । पुनः सन् १९७५, जुन २५ मा इन्दिरा गान्धीले लगाएको इमर्जेन्सीमा परी १८ महिनाको काराबास भोगे जसले उहाँकाे परिवार र आर्थिक स्थिति जर्जर बनाइदियो ।
जेल बस्नु केही महिना (फरवरी महिना-सन् १९७५) अगाडि गुमानसिंह चाम्लिङ पिलो आएर अस्पताल भर्ना हुनुभएकाे थियो, त्यहीबेला म पनि कुकुरले टोकेर अस्पताल भर्ना भएको थिएँ । उँहा र मेरो पलङ वल्लो पल्लो थियो । म सानै भए पनि मलाई साहित्यको झिनो चेत थियो । गुमानसिंह चाम्लिङले रमाइलो कुरा गरेर हसाँउनु हुन्थ्यो हामीलाई ।
त्यही काराबासले जन्माए ‘कारागारभित्र प्रतीक्षा र अन्य कविता’ । त्यो संग्रहको “कारागारभित्र प्रतीक्षा: त्यो अन्तिम फैसलाको” कविता निकै मनन् योग्य र दमदार छ । जसकाे केही अंश यस्तो छः
हो,
महाकालको अनन्तता पनि सम्झाउँदै
यहाँ फेरि अहिले घण्टी लाग्यो:
महाकाशको असीमता पनि बिर्साउँदै
झुण्झ्याइएको तर्लङ्ग त्यहाँ फाटकमा
विकृत भइसकेको घाइते
(आफ्नै प्रतिरूप)
त्यो पारिएको फलामे घण्टीलाई
तर नपारिएको खुकुरीले सन्तरीको
सबभन्दा धेरै प्रहार पर्यो,
अनि त सँगसँगै
यो रातको निस्तब्धता एकाएक कहाली उठ्यो –
टङ् टङ…. टङ् टङ….
बाह्र !
(यो आधारातमा)
बल्ल एक दिन काटियो।
बेस भयो!
यहाँ तर,
जीवन फाटकको त्यो पारिएको फलामे घण्टी नै हो,
— तर्लङ्ग, विकृत र कठोर घाइते अचानो;
अनि समय काटिइने यही थोक !
यो कारागार न हो,
अनि राखिएको छु म भित्र ।
यो साँधमा तेर्सिन पुर्याइएछु
कस्तरी म
हिजो र आजको!
जो छु हिजो छँदैछ, जो हुनेछु आज हुन्यैछ।
नभन्दै बाँच्नु छ यहाँ वर्तमानमा
बेह्रिएर आफ्नै तन्तुले कोया आफूलाई लार्वा तुल्याएर,
वा महाकालको यो अथाह पोखरीमा चक्राकार तरङ्ग
––साँध यो बनाएर म तैन्तलास ।
सापेक्ष्यको कुरो न जो,
मैले कहिल्यै बुझ पचाएको छैन ।
मेरो हिजो मेरो
आफ्नै थियो
(इतिहासको पहुँच भएदेखि यसो)
भए पनि पसिना, आँसु र रगतको :
यो पसीना धरतीको सीताको,
यो आँसु प्राणीको गौतम बुद्धको,
यो रगत मनुष्यको भीमसेन थापाको;
नितान्त मानवीय!
तर हो कि चरम ट्रेजेडी यो संसारको ?
कस्तै साँधले पनि छेकारो हाल्न नसकेको मेरो हिजो
तर स्वयं आज साँध बनेर म बीच भएर
(फाटकको त्यो पारिएको फलामे घण्टीमा)
यसरी तेर्सिन पुर्याइएछु ।
सन् १९६५ मा चाम्लिङको दोस्रो कवितासंग्रह ‘अन्तर्द्वन्द्व’ प्रकाशित भयो । यसबारे वरिष्ठ समालोचक डा. लक्खीदेवी सुन्दास लेख्छिन्, ‘गुमानसिंह चाम्लिङ केही कविताहरु’ (वि.स. २०४३-साझा प्रकाशन): ‘अन्तर्द्वन्द्व’ कालमै चाम्लिङका कवितामा आध्यात्मिक र दार्शनिक रङ्ग चढ्न सुरु भइसकेको देखिन्छ । अघिल्ला दुई दशकमा पुग्दा चाम्लिङको काव्य-चेतनामा रहेको केही आध्यात्मिक र दार्शनिक पक्ष वैचारिक प्रबुद्धतामा परिणत भएर कवितामा कतै दार्शनिक विचार त कही क्रान्तिका उग्रभाव, त कही व्यङ्गय देखिन्छन् ।
चाम्लिङको कविता यात्रालाई व्याख्या गर्दै लेख्छिन् समालोचक सुन्दास, ” १९७५ पछिका कवितामा चाम्लिङको कविताको अर्कै रुप, अर्कै पक्ष देखिन्छ, जँहा अघिल्ला कविताको चिन्ह देख्न सकिन्न- भाव, भाषा र शैलीमा मात्र एउटा कुरो एकनाससित (१९८४ सालसम्मैका कवितामा) देखिन्छ- कोष्ठभित्र राखिएका पंक्तिहरु, यसरी राखिनु पनि चाम्लिङको निजी विशेषता हो । यस्ता पंक्तिहरु मात्रले पनि कवि चाम्लिङको आफ्नोपनलाई चिनाउँछ ।”
सायद लक्खीदेवी सुन्दासको यी पंक्तिहरुले कवि चाम्लिङको कवि व्यक्तित्वलाई न्याय गर्न सकेको छ । डा. सुन्दास लेख्छिन्, “छोटकरीमा भन्नुपर्दा कवि गुमानसिंह चाम्लिङका कविता वैचारिक सौन्दर्यपूर्ण जीवन स्पन्दन हो । अनुभूतिको तीव्रता, भाषाको सरलता, सहज वाक्य-विन्यास, दैनिक जीवनमा व्यवह्रत शब्द-प्रयोग र गद्य शैलीले गर्दा उनका कविताले सबैलाई छुन्छ र सबैको पहुँचसम्म पुर्याउँछ । कवितामा स्थान,काल र परिवेशको सुन्दर छाप अमेट रुपले परेको छ । कविता-यात्राको तेस्रो दशक समाप्त गरी चौथो दशकतिर आइपुग्दा उनका कविता दार्शनिक र आध्यात्मिक प्रबुद्ध वैचारिकताले, कतै व्याख्यान र वार्तासुलभ अभिव्यक्तिले विदोपनिषद्का मन्त्रहरुको उद्धरणले, त कतै यन्त्रणात्मक र मन्त्रणात्मक अभिव्यंजनाले सशक्त बनेको छ ।”
उम्दा कविता लेख्ने कवि गुमानसिंह चाम्लिङ जुझारु लेखक थिए । कविबाहेक एक निर्भीक पत्रकार, कुशल वक्ता, स्वजातिक राजनीतिज्ञ र प्रबुद्ध रचनाकार पनि । स्कुल पढ्दादेखि नै आफ्ना गुरु ईश्वरवल्लभ र इन्द्रबहादुर राईले थालनी गरेको आयामिक आन्दोलनमाथि आक्रामक लेख लेखे, जुन लेख साहित्यिक पत्रिका “जनदुत” मा १९६३ मा छापिएको थियो । लेखको शीर्षक थियो “कवितामा ‘तेस्रो आयाम’ वा केवल ‘प्रचारको ढोंग ?’ “। यसकाे पृष्ठभूमिको बारेमा लेखक जीवन लावरलाई दिएको एक अन्तर्वार्तामा उनी भन्छन्, “जतिबेला आयामेली लेखन सुरु भयो, त्यतिबेला म विद्यार्थी थिएँ । स्कूल फाइनल सकेर बसेको थिएँ, कलेज गइहालेको थिइनँ । रिजल्ट पर्खिरहेको थिएँ ।…………. प्रश्न गर्ने विद्यार्थीको स्वभाव नै हो, प्रश्नकर्ताले प्रश्न गरिदिए पो शिक्षकहरूले पनि आफ्ना कुराहरू बुझाउन, प्रतिपादन गर्न पाउँछन् ,…. मैले (आयामेली साहित्यप्रतिको) जिज्ञासाले सोधेको थिएँ ।”
प्रबुद्ध समालोचक एंव कवि गुमानसिंह चाम्लिङले सिक्किममा आयोजित तेस्रो आयामको रजत जयन्ती कार्यक्रममा ‘आयामेली लेखन’ माथि बोल्दै भन्नु भएको थियो, ‘तेस्रो आयाम लेखन परम्पराले दार्जीलिङको रोमाण्टिक साहित्यधारालाई बदल्न ठूलो भूमिका खेलेको छ । त्यसबेला बौद्धिकताको पक्षमा उहाँहरुले जुन योगदान दिनु भयो त्यो स्तुत्य छ, अभिनन्दनीय छ।”
तेस्रो आयाम सुरुवाती दिनहरुमा चाम्लिङ यसको कट्टर विरोधी हुनुहुन्थ्यो । त्यही कार्यक्रममा चाम्लिङले नबुझेर आलोचना गरेकोमा गुरुहरु आईबी सर र ईश्वरवल्लभ सरसँग क्षमा माग्नु भएको थियो , ”सायद त्योबेला विद्यार्थीको रूपमा शिष्टाचारको भङ्ग पनि गरेँ होला, मर्यादाक्रम पनि उलङ्घन गरेँ होला, त्यसको लागि आज म कर जोडी क्षमा चाहन्छु ।”
धेरै अध्ययनशील व्यक्तित्वमा पर्नुहुन्छ चाम्लिङ । सुनेको थिएँ, उहाँले कलेज पढ्दा आफूभन्दा माथिल्लो कक्षाका विद्यार्थीहरुलाई ट्युसन पढाउनु हुन्थे रे । ३७ वर्षकै उमेरमा साहित्य आकादमी पुरस्कार पाउनु भएका उहाँ सायद अहिलेसम्मकै कम उमेरमा पुरस्कार पाउनेमा पर्नुहुन्छ ।
ज्ञानका विभिन्न क्षेत्रहरूमा दख्खल भएका चाम्लिङका लेखहरु बुझ्न निकै कठिन छ । सायद निकै मेहनत गरेर लेखेका लेखहरु सजिलैसँग बुझ्नु खोज्नु पनि मूर्खता नै होला । पाश्चात्य दर्शन र साहित्यमाथि उहाँको अतुलनीय दख्खल छ ।
सन् असीको दशकमा नेपाली साहित्यिक पत्रिका स्तरीय नभएको गुनासो आइरहेको बेला गुमानसिंह चाम्लिङको सम्पादकत्वमा मनन् पत्रिका निस्कियो । सन् १९८२ मा यसको विमोचन दार्जीलिङको भानु भवनमा भव्य कार्यक्रमको साथ भएको थियो । मुख्य अतिथि थिए सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी । विमोचनमा लेखकहरुलाई पत्रिका र पारिश्रमिक दिए । तर म कलिलो ठिटो विमोचनमा सरिक त भएँ तर मनन् किन्न सक्ने क्षमता मसँग थिएन । निकै मँहगो थियो । तर यो पत्रिकाको अरु अंकहरु निस्केको थाहा भएन ।
गुमानसिंह चाम्लिङको सशक्त र बलियो पक्ष हो पश्चिमेली साहित्यिक सिद्धान्तलाई जनमानस समक्ष प्रस्तुत गर्नु । ‘एरिष्टोटल र उनको काव्यशास्त्र’ चाम्लिङको प्रथम समालोचना कृति हो । तर उहाँको प्रमुख समालोचनाको कृतिचाहिँ ‘मौलो’ हो, जसले चाम्लिङलाई सन् १९७९ मा साहित्य अकादमी पुरस्कार दिलायो । उहाँ यो पुरस्कार पाउने तेस्रो व्यक्ति हुनुहुन्थ्यो भने राई समुदायबाट पनि तेस्रै । उहाँभन्दा पहिले इन्द्रबहादुर राई र शिवकुमार राईले पाउनुभएकाे थियो ।
१९ वटा वार्ताहरुको सङ्गालो मौलोमा पूर्वीय र पाश्चात्य काव्य सिद्धान्तकाे व्याख्या साथै नेपाली साहित्य सृजनाको पनि बृहत्तर चर्चा गरिएको छ । मौलोमाथि विस्तृतरुप समालोचना गर्नुभएको छ कवि एंव समालोचक जस योञ्जन ‘प्यासी’ले ‘मौलो’ एक पाठकीय दृष्टिकोणमा नामक लेखमा । यो लेख दार्जीलिङबाट प्रकाशित हुने नेपाली अकादमी पत्रिकामा प्रकाशित भएको थियो । मौलोमा समावेश भएका विषयहरु विविध छ; यसमा संस्कृत साहित्यमा गीति काव्यको परम्परादेखि साहित्यमा इलियट र उनको सिद्धान्तसम्म छ । नेपाली व्याकरणगत एकीकरण एंव मानस्तरीकरणको समस्यादेखि दार्जीलिङे कथा-साहित्यको पहिलो डेढ दशकसम्म लेख्नुभएकाे छ ।
डा.योञ्जन लेख्नु हुन्छ, ”मौलो वास्तवमा साहित्य (कृति विशेषका) समालोचना होइन । यो समालोचनाको आधारशीला राख्ने परिप्रेक्ष्यमा अथवा यसो भनौं, समालोचनामा निम्ति प्रयोग, दृष्टि, प्राविधि विविध र विस्तारीत हुनुपर्छ भन्ने प्रयादमा प्रस्तुत छ । जो परिचयन लेखकका- ‘पुस्तकको नामबाट सोझै के बुझिन्छ भने परम्परालाई वर्तमानको अचानोमा भोग दिन- भविष्यको फलिफापको निमित्त, तर काटनु नै अर्कोतिर संरक्षण गर्नु भइदिन्छ’ भन्ने भनाइबाट सुँइको पाइन्छ । हुन पनि ‘मौलो’ भित्रका वार्ताहरु हेर्दा चाम्लिङजीले नेपाली साहित्यमा चलिरहेको परम्परावादी समालोचनालाई नअप्नाएर सैद्धान्तिकदेखि लिएर व्यावहारिक अनि मानदण्डीय समालोचनाहरु लेख्ने आँट देखाएका छ । यो कुरा पुस्तकको ‘युगबोध, मनदण्ड र समालोचना’ शीर्षक वार्ताको यो लहरहरुबाट खुलस्त हुन्छ- ‘नेपाली साहित्यमा विवेचनात्मक र निर्णयात्मक समालोचना मात्रै लेखिने जमर्को बइरहेछन्- यो पनि कृति होइन तर व्यक्ति चुनेर, व्यक्तिको पनि शक्ति गनेर ।’”
गुमानसिंह चाम्लिङ सफल लेखक र कवि हुन भने असफल राजनीतिज्ञ । माछा चिन्हमा चुनाव लडे, एक्लै माछा बोकेर भोट माग्न गए, एकलै भाषण गरे अनि पराजित पनि भए । तर राजनीतिले गर्दा जेल गए, परिवारिक सुख छिनियो, आर्थिक संकटमा परे । राजनीतिले जति शिथिल तुलाए चाम्लिङलाई त्यति नै कमजोर बनाए रक्सीले । सन् २००३ मा ६१ वर्ष उमेरमा देहान्त भएको कवि चाम्लिङको पूरा नाम आदित्यविक्रम गुमानसिंह चामलिङ थियो ।
उहाँको संस्मरणमा डा. जस योञ्जन प्यासीको सम्पादनमा आदित्यविक्रम गुमानसिंह चाम्लिङ स्मृति ग्रन्थ सन् २०१० मा प्रकाशित भएको छ । चाम्लिङले राजनीति शास्त्रमा स्नातकोत्तर गरे भने हिन्दीमा साहित्य रत्न अनि संस्कृतमा शास्त्री । उहाँको सम्पादनमा साहित्य-संगम, प्रतिध्वनि, आवाज र मनन प्रकाशित भएको थियो। साहित्य अकादमी पुस्कारबाहेक चामलिङले वि.स. २०२५ मा रत्नश्री सुवर्ण पदक, रेडियो नेपाल पुरस्कार महानन्द सापकोटा पुरस्कार पाउनुभएकाे थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।