१. विषय प्रवेश
हाइकु कविताको लघुतम रूपअन्तर्गत पर्ने सर्वाधिक चर्चित विधा हो । यसको चर्चा विश्वसाहित्यमा नै पाइन्छ । जसको प्रभाव नेपाली साहित्यमा पनि प्रत्यक्ष रूपमा परेको छ । विधागत प्रवर्तनका दृष्टिले हेर्दा यो जापानी कविताको एउटा रूप हो । छोटो संरचनामा पूर्ण सङ्कथन लिएर आउने हाइकु जापानी साहित्यका क्षेत्रमा एउटा प्रसिद्ध र सशक्त विधाकै रूपमा मान्यता प्राप्त छ । यसका जन्मदाता जापानी कवि बासो हुन् । उनको पूरा नाम मात्सुओ मोनेफोसा हो । उनको समय १६४४—१६९४ हो । जापानमा केराको थामलाई बास्जो भनिन्छ । मात्सुओ गर्मीका समयमा प्रायः सिर्जना गर्दा केराघारीमा गएर चिसो र चिल्लो केराको थाममा टाउको अड्याएर हाइकु रचना गर्ने गर्दथे । त्यही बास्जोमा हाइकुको सिर्जना भएकाले गर्दा मात्सुओ मोनेफोसाको साहित्यिक नाम नै बास्जोबाट बासो रहन गएको हो भन्ने किंवदन्ती पनि पाइन्छ । जेहोस् कविताको यस स्वरूपको प्रवर्तन, स्थापना र उन्नयनमा बासोकै नाम लिने गरिन्छ । हाइकुको संरचना नेपालीमा लेखिने कविताहरूमा छोटो मानिन्छ । जम्मा १७ अक्षरमा सिर्जना हुने हाइकुको विधागत परिचय, केही नमुना प्रस्तुति र सिर्जनात्मक प्रयोग आदि कुरालाई प्रस्तुत गर्नु यस लेखको उद्देश्य हो ।
२. हाइकुको सैद्धान्तिक परिचय
जम्मा १७ अक्षरमा सम्पूर्ण अभिव्यक्ति दिइसक्नुपर्ने कविताको सानो रूप नै हाइकु हो । यसलाई लघुतम सङ्कथनका रूपमा लिने गरिन्छ । यसको त्रिपदी संरचनामा ५ं७ं५= १७ अक्षर हुन्छन् । पहिलो हरफ ५ अक्षरको, दोस्रो हरफ ७ अक्षरको र तेस्रो हरफ ५ अक्षरको गरी जम्मा तीन हरफमा यसको रचना गरिन्छ । ‘हाइकु’ छोटो तर खँदिलो रचना हो । यसमा विशाल भाव वा विषयलाई पनि अत्यन्त सङ्क्षेपमा प्रस्तुत गरिन्छ । त्यसैले ‘हाइकु’ गहन र प्रभावकारी हुन्छ । हाइकुका लागि शीर्षक अनिवार्य छैन । हाइकुभन्दा शीर्षक लामो हुन सक्ने डरले पनि यसलाई अनिवार्य नगरिएको हो । हाइकुको संरचनालाई यसरी हेर्न सकिन्छ—
सुरुका ५ अक्षर: विषयको उठान
बिचका ७ अक्षर: विषयको विम्बात्मक विस्तार
अन्त्यका ५ अक्षर: विचारको तार्किक समापन
यस आधारमा हेर्दा हाइकुको रचनाविधानका लागि निम्नलिखित कुरा अनिवार्य मानिन्छन्—
— हाइकुमा तीन हरफको संरचना अनिवार्य हुनुपर्छ र तिनमा ५ं७ं५= १७ को बनोट स्पष्ट रूपमा देखिनुपर्छ ।
— हाइकुका तीन हरफमध्येमा कुनै एउटा हरफमा एउटा न एउटा प्राकृतिक विम्ब अनिवार्य हुनुपर्छ ।
— हाइकुमा सांस्कृतिक विम्ब, प्राचीन मिथक, ईश्वरीय सूचक वा जनविश्वासको प्रतिविम्बन हुन सक्ने कुराको सङ्केत हुनुपर्ने मान्यता पनि पाइन्छ तर त्यो प्राकृतिक विम्बजस्तो अनिवार्य मानिँदैन ।
— हाइकुमा ५+७+५= १७ को शब्दरखाइ मात्र नभएर व्यञ्जनात्मक वा ध्वन्यात्मक अर्थबोध अनिवार्य हुनुपर्छ ।
उल्लिखित कुराहरू हाइकुका संरचनात्मक चिनारीअन्तर्गत पर्दछन् । यिनको पूर्ण पालना भएमा हाइकु सुन्दर बन्दछ भने आंशिक पालना भएमा शाब्दिक परम्पराको निर्वाह मात्र हुने गर्दछ । उदाहरणका लागि जापानी हाइकुकार बासोद्वारा रचित हाइकुको शङ्कर लामिछानेबाट गरिएको नेपाली अनुवादलाई लिन सकिन्छ—
पुरानो ताल — ५ अक्षर
भ्यागुतो उफ्रिदिन्छ — ७ अक्षर
पानीको शब्द — ५ अक्षर
यहाँ प्रयोग भएका पुरानो ताल, भ्यागुतो उफ्रिनु र पानीको शब्द निस्कनु आदि प्राकृतिक विम्बका माध्यमबाट जीवन र जगत्का अनेकौँ पक्षहरूको विश्लेषण गर्ने गरिन्छ । पुरानो तालले सिङ्गो ब्रह्माण्ड वा धर्तीलाई अभिव्यञ्जित गरेको छ भने भ्यागुताको उफ्राइले मानवले जीवन भोगाइका क्रममा गर्ने अनेकौँ सङ्घर्षलाई व्यञ्जित गरेको छ र पानीको शब्दले अमूर्त मिहिनेतको मूर्त रूपलाई वा अदृश्य जीवनसङ्घर्षको दृश्य स्वरूपलाई सङ्केत गरेको छ । यी १७ अक्षरमा सिङ्गो धर्ती, सिङ्गो प्राणीजगत्, मानवले जीवनमा गर्ने अनेकौँ सङ्घर्ष र व्याख्येय वा अव्याख्येय समग्र विषयहरूको संयोजन भएको पाइन्छ । यो बासोको सर्वाधिक शक्तिशाली हाइकु मानिन्छ ।
३. हाइकु र सेन्युमा फरक
एउटा सुन्दर हाइकु निर्माण हुनका लागि एउटा न एउटा प्राकृतिक विम्ब हुनै पर्छ भन्ने मान्यताको स्थापना भइसकेको छ तर प्राकृतिक विम्ब छैन भने पनि त्यसलाई सिर्जनाबाट निष्काशन नगरेर जापानी साहित्यमा अर्को नाम दिइएको पाइन्छ । ५ं७ं५= १७ कै संरचनामा लेखिएको तर प्राकृतिक विम्ब नभएको सिर्जनालाई ‘सेन्यु’ भन्ने गरिन्छ । सेन्युका लागि छुट्टै सिद्धान्तको आवश्यकता पर्दैन । केवल हाइकुलाई विषयगत घेराबाट अलि फराकिलो बनाउने प्रयासमा यसको जन्म भएको मानिन्छ । यसमा विषयवस्तुको सूत्रात्मक प्रस्तुति हाइकुमा जस्तै हुन्छ तर व्यङ्ग्यको मात्रा बढी हुन्छ । कतिपय स्रष्टाहरूले प्रकाशन गरेका हाइकुसङ्ग्रहमा सेन्युको पनि प्रशस्त उपस्थिति रहने गरेको देखिन्छ । उदाहरणका लागि तत्कालीन राजाले धारा १२७ को दुरुपयोग गरेको सन्दर्भप्रति लक्षित प्रस्तुत रचनालाई लिन सकिन्छ—
नचला भन्या
हल्लाई जथाभावी
भाँडै घोप्ट्यायो । —डा. विजय सुब्बा
प्रस्तुत रचनामा ५ं७ं५= १७ को संरचना पनि मिलेको छ र शक्तिशाली भाव पनि समेटिएको छ तर यसमा प्राकृतिक विम्ब छैन । भाँडो घोप्ट्याएको सन्दर्भमा लोकविम्बचाहिँ सशक्त पाइन्छ । यसको व्याख्या जुनसुकै सन्दर्भमा पनि गर्न सकिन्छ । अति हुँदाहुँदै क्षति भयो भने प्रस्तुत रचना त्यसको दृष्टान्त बन्न सक्छ । हाइकुले खोजेको ध्वन्यात्मक अर्थ त्यही नै हो तर प्राकृतिक विम्बको अभावले गर्दा यस प्रकृतिका रचनाहरूलाई हाइकुभित्र नराखेर सेन्युभित्र राख्ने गरिन्छ ।
राजधानीमा
आलिसान महल
फाप्यो व्यवस्था । — तेजविलास अधिकारी
प्रस्तुत रचनाभित्र लुकेको व्यङ्ग्यचेत निकै शक्तिशाली देखिन्छ । व्यवस्था परिवर्तनको अपेक्षा र परिणामबिचको विरोधाभास नै यसको व्यञ्जनात्मक सङ्केत हो । यसमा पनि प्राकृतिक विम्ब छैन तर शक्तिशाली भावविधान छ । त्यसैले यो पनि हाइकु नभएर सेन्यु हो । यसलाई यसरी प्रस्तुत गरिएको भए त्यो हाइकु बन्ने थियो—
राजधानीमा
रिट्ठाबोटमा अम्बा
फाप्यो व्यवस्था ।
यहाँ प्रस्तुत भएको रिट्ठाको बोटमा फलेको अम्बाले कमाइ नभएकाहरूले राजधानीमा बनाएको आलिसान महललाई ध्वनित गरेको छ । यहाँ असम्भव कुरालाई सङ्केत गर्न छनोट गरिएका रिट्ठाको बोट र अम्बा प्राकृतिक विम्बहरूले अत्यन्त ध्वन्यात्मक र शक्तिशाली अर्थ निर्माण गरेका छन् । अब भने यो हाइकु बनेको छ ।
४. नेपालीमा हाइकुको सिर्जना
हाइकु जापानी साहित्यको देन हो त्यसैले यसलाई नेपाली साहित्यसम्म आइपुग्न निकै लामो समय लागेको देखिन्छ । जापानमा एघारौँ शताब्दीदेखि नै दोहोरी वा समस्यापूर्तिका रूपमा यस प्रकृतिका रचनाहरू प्रयोग हुँदै आए पनि साहित्यिक सिर्जनाका रूपमा भने हाइकुको प्रवर्तन सत्रौँ शताब्दीमा भएको पाइन्छ । त्यही रचना नेपाली साहित्यमा भने वि.सं. २०२० को दशकमा मात्र देखापरेको पाइन्छ । हुन त, सन् १८९९ मा जापानी भिक्षु इकाइ कावागुचीले नेपाल भ्रमण गरेको र सन् १९०२ मा नेपाली विद्यार्थीको टोली जापान भ्रमणमा गएको इतिहास पाइन्छ तर भ्रमण र साहित्यिक प्रभाव फरक फरक कुरा हुन् । यस प्रकारको आवागमनले नेपाली साहित्यमा हाइकुलाई प्रवेश गराउन कुनै भूमिका खेलेको देखिँदैन ।
पूर्वीय जगत्मा हाइकु नै भनेर रचना नगरिए पनि वैदिक संस्कृत कालदेखि नै त्रिपदीय संरचनाको प्रयोग प्रशस्त हुँदै आएको देखिन्छ । त्यसपछिका लौकिक संस्कृतका पौराणिक ग्रन्थहरूमा, भजनमा र धर्मशास्त्रहरूमा पनि त्रिपदीय संरचनाको बलियो उपस्थिति देखिन्छ । लिखित साहित्यको आगमन हुनुभन्दा अगाडिदेखि आजसम्म पनि नेपाली लोकजीवनमा प्रचलित लोकगीतहरूमा यस प्रकारका सिर्जनाहरू प्रशस्त पाइन्छन् । जस्तैः
ऐना हेरेर
लाऊ माया लाउनेले
धोको फेरेर । (प्रसिद्ध लोकगीत)
काँचो कटर
जाऔँ हामी पोखरा
रोक मोटर । (प्रसिद्ध लोकगीत)
प्रस्तुत उद्धरणहरूमा हाइकुको संरचना स्पष्ट देखिन्छ । लोकलय हुनाले कतै कतै उच्चारणले मिलाउँदै जुनसुकै भाकामा गाउन मिल्ने गरी नेपाली लोकजीवनले हाइकु संरचनालाई कविता काव्यका क्षेत्रमा स्विकारिसकेको देखिन्छ । यस्तो पृष्ठभूमि भए पनि नेपाली साहित्यमा हाइकुको रचना गर्ने प्रथम हाइकुकार शङ्कर लामिछाने मानिन्छन् । लामिछानेले वि.सं. २०१८ सालतिर हाइकुको पहिलो प्रयोग गरेका भए पनि पारिजातको ‘शिरीषको फूल’ (२०२२) उपन्यासको भूमिकामा उनले लेखेको हाइकुको विशेष चर्चा हुने गरेको छ । त्यस हाइकुले उक्त कृतिको समग्र भावको प्रतिनिधित्व गरेको छ । जो यसप्रकार छ—
शिरीष फूल
भ्रमर चुम्बनमै
ओइली झर्छ । (शिरीषको फूलको भूमिका)
यसरी सुरु भएको नेपाली हाइकु लेखनले अहिले आएर निकै लोकप्रियता हासिल गरेको छ । नेपाली काव्यजगत्मा हाइकुका सयौँ कृतिहरू प्रकाशन भइसकेका छन् । केही नेपाली हाइकुकारहरूबाट सिर्जित हाइकुहरूलाई यहाँ उदाहरणका रूपमा लिन सकिन्छ—
घाम हाम्फाल्छ
पोखरीमा तरङ्ग
तिर्खालु आँखा ।
— राम विनय (केही हाइकु, मधुपर्क, २०६४, असोज)
कालो छायामा
आन्दोलित पालुवा
ताक्छ मुकुट ।
— चेतनाथ धमला (जनआन्दोलन २०६२ प्रति लक्षित)
बादलसँगै
वायुपङ्खी उडान
बन्धनमुक्त ।
— सोनु गुरुङ (हाइ हाइकु हाइकुसङ्ग्रह)
यसरी अहिले हाइकु नेपाली स्रष्टाहरूको विशेष रोजाइमा नै परेको देखिन्छ । हाइकु जुनसुकै विषयमा पनि लेख्न सकिन्छ । हाइकुमा राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक आदि जुनसुकै भावलाई पनि सूत्रात्मक र सूक्तिपूर्ण तरिकाले प्रस्तुत गर्न सकिन्छ तर तिनलाई सोझो रूपमा नभएर एउटा प्राकृतिक विम्बसँग उनेर प्रस्तुत गर्नुपर्छ ।
५. हाइकु कसरी लेखिन्छ ?
उल्लिखित सिद्धान्त र संरचनागत जानकारी प्राप्त भइसकेपछि हाइकु लेख्न सजिलो छ । सुरुमा कुनै एउटा विषयवस्तु सोचेपछि त्यसलाई ५ं७ं५= १७ को संरचनामा ढाल्नका लागि शब्दहरूको छनोट गर्नुपर्छ । यसको रचना गर्दा सुरु सुरुमा तीनओटा चरण पूरा गर्नुपर्छ । जस्तैः
विषयवस्तु: एउटा बुढो मान्छेको उमेर र चाहनाको चित्रण
पहिलो चरण: शब्दसंयोजन— यस चरणमा हाइकुका लागि आवश्यक पर्ने १७ अक्षरमा समेटिने गरी शब्दहरूको चयन गर्नुपर्छ । जस्तैः
एउटा बूढो
एउटा जीवन हो
मान्छे उमेर ।
यस संरचनामा ५+७+५= १७ को नियम मिलेको छ तर त्यहाँ शब्द मात्र छन् । अर्थको कुनै तालमेल नै छैन । अब यसलाई अर्थसँग जोड्न दोस्रो चरणमा जानुपर्छ ।
दोस्रो चरण: अर्थसंयोजन— यस चरणमा हाइकुका लागि आवश्यक पर्ने १७ अक्षरमा अर्थलाई समेत समेटेर प्रस्तुत गर्नुपर्छ । जस्तैः
हजुरबुबा
उमेर ढल्किँदै छ
बाँच्ने छ इच्छा ।
यस संरचनामा ५+७+५= १७ को नियम पनि मिलेको छ र स्रष्टाको आशय पनि अभिव्यक्त हुन थालेको छ । यहाँ प्रयोग भएका शब्द र अर्थका बिचमा तालमेल मिल्दै गएको छ । यसले मान्छे बुढो हुँदै गएपछि मृत्युको त्रास र जीवनको आश दुवै देखापर्छन् भन्ने अर्थ प्रदान गरेको छ तर त्यसलाई कुनै विम्ब वा प्रतीकले नभनेर सोझै भनिएको छ । अब यसमा सशक्त भावसंयोजन गर्नका लागि तेस्रो चरणमा जानुपर्छ ।
तेस्रो चरणः भावसंयोजन— यस चरणमा हाइकुका लागि आवश्यक पर्ने १७ अक्षरमा एउटा न एउटा प्राकृतिक विम्ब प्रवेश गराई शब्द, अर्थ र भावको संयोजन गर्नुपर्छ । जस्तैः
हजुरबुबा
डाँडामाथिको घाम
प्रभात मोह ।
यस संरचनामा ५+७+५= १७ को नियम पनि मिलेको छ, अर्थको निरन्तरता पनि छ, प्राकृतिक विम्बहरू पनि छन् र गम्भीर भावसंयोजन पनि भएको छ । यहाँका हजुरबुबा विषयवस्तु हुन् । डाँडामाथिको घाम प्राकृतिक विम्बले उनको उमेरलाई सङ्केत गरेको छ भने प्रभात प्राकृतिक विम्बप्रति देखाइएको मोहले अझै बाँच्ने इच्छा छ भन्ने कुरालाई ध्वनित गरेको छ । यसरी भन्नुपर्ने कुरालाई प्राकृतिक विम्बहरूका माध्यमबाट घुमाउरो तरिकाले व्यक्त गर्न सकियो भने त्यसले दिने अर्थ पनि अभिधामा नभएर लक्षणामा अथवा व्यञ्जनामा आउने गर्छ ।
प्रस्तुत चरणहरू हाइकु सिर्जनाका लागि न्यूनतम आधारहरू हुन् । सुरु सुरुमा लेख्न सिक्दा यस प्रकारको चरणगत सिर्जना आवश्यक हुन्छ तर बिस्तारै अभ्यस्त हुँदै गएपछि कुनै सूत्र वा चरणको आवश्यकता नै पर्दैन । स्रष्टाका मनमा शक्तिशाली भाव उत्पन्न हुनासाथ तिनको प्रतिनिधित्व गर्न सक्ने शब्दार्थ र विम्ब एकैपटक आइहाल्छन् । हरेक स्रष्टाको प्रत्येक वस्तुलाई हेर्ने दृष्टिकोण फरक फरक हुन्छ, शब्दसंयोजन कला र विम्बछनोट कला पनि फरक फरक हुने गर्छ त्यसैले एउटै विषयमा दश जनाले हाइकु लेख्ने हो भने एउटाको सिर्जना वर्णनात्मक हुन सक्छ, एउटाको सिर्जना विश्लेषणात्मक हुन सक्छ र एउटा सिर्जना अत्यन्त ध्वन्यात्मक वा सूक्तिपूर्ण हुन सक्छ । कुनै रचना सुन्दा पाठकका मुखबाट अप्रत्यासित रूपमा ‘आहा’ भन्ने शब्द निस्कियो भने अथवा त्यस सिर्जनाले पाठकको मस्तिष्कमा निकै लामो समयसम्म तरङ्ग प्रदान गर्न सक्यो भने त्यो हाइकु सफल भएको मान्नुपर्दछ ।
६. निष्कर्ष
हाइकु थोरैमा धेरै कुरा दिन सक्ने कविताको लघुतम रूप हो । यसमा विद्युतीय शक्ति हुन्छ । अनुभूतिको मितव्ययी अभिव्यक्ति हुन्छ र विचारको खँदिलो प्रस्तुति हुन्छ । यति हुँदाहुँदै पनि हाइकु लेखनलाई गम्भीरताका साथ नलिने परम्परा पनि नेपाली साहित्य जगत्मा पाइन्छ । यसलाई एकातिर लिपिगत प्रश्न उठाएर नेपाली भाषाअनुकूल हुन नसक्ने तर्क राखिने गरेको छ भने अर्कातिर अत्यधिक छोटो संरचनाका कारण एउटा सङ्कथनले प्रदान गर्नुपर्ने भाव वा सन्देशको वहन गर्न नसक्ने प्रश्न पनि उठाइने गरेको छ । हाइकुका लागि जापानी भाषिक लिपि जति सहज मानिन्छ देवनागरी लिपि त्यति हाइकुमैत्री छैन त्यसैले नेपाली भाषामा हाइकु लेखन रहरको सिर्जना मात्र हो भन्ने संरचना लक्षित तर्कहरू पनि आउने गरेका छन् । यसरी नै एउटा सङ्कथनले एउटा समग्र भाव वा विचारलाई बोक्न सक्नुपर्छ र स्रष्टाले दिन खोजेको सन्देश विनाव्यवधान सम्प्रेषित हुनुपर्छ, यस कुराका लागि हाइकुका लागि आवश्यक १७ अक्षर नै त्यसका बाधक हुन् भन्ने भावलक्षित तर्कहरू पनि प्रशस्त सुनिने गरेका छन् । यी कुराहरू १७ अक्षरको परिपूर्ति गर्ने वा बाह्यसंरचनालाई मात्र पूर्ण सिर्जना ठान्नेहरूका लागि लागु हुन्छन् तर सूक्तिपूर्ण सिर्जना गर्नेहरूका लागि लागु हुँदैनन् । यसले पनि अथक साधना, दृढ सङ्कल्प, निरन्तर समर्पण, जिम्मेवारीपूर्ण लेखन, सूक्तिपूर्ण भावनिर्माण र खँदिलो सन्देशको अपेक्षा गरेको छ भन्ने कुरालाई व्यञ्जनात्मक रूपमा बुझ्ने हो भने हाइकुले सिर्जना कर्मबाट नै उल्लिखित आशङ्काहरूको घतलाग्दो जवाफ दिने कुरा निश्चित छ ।
क्रमशः अर्को हप्ता….
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।