‘जय मधेस !’
दसैँको बेला थियो । म इटहरीबाट प्रकाशित हुने जनलक्ष्य दैनिकको सम्पादक थिएँ । इनरुवामा शुभकामना कार्ड बाँड्दै थिएँ । भर्खर गोपाल कोइराला दाइलाई कार्ड दिएर निस्किँदै थिएँ । अगाडि लहरै सीताराम मेहता, सत्यनारायण मेहता, अरविन्द मेहता, रामप्रसाद मेहता, हरिलाल मेहता, एसएन मेहता, बौवालाल मेहतालगायत बसेको देखेँ । र, त्यतातिर हात उठाउँदै भनेँ – जय मधेस !
त्यसपछि मोटरसाइकलबाट ओर्लिएँ र नाम लेख्दै, कार्ड दिँदै गर्न थालेँ । जब तेस्रो कार्डमा अरविन्द मेहताको नाम लेख्दै थिएँ, त्यही बेला अचानक बौवालाल दाइले एउटा प्रश्न सोधे – ‘सुविदजी एउटा कुरा भन्नु त ?’
‘के कुरा दाइ ?’
‘अहिले तपाईंले यो जुन जय मधेस भन्नुभो नि त्यो तपाईंले साँच्चिकै आफ्नो दिलदेखि भन्नुभयो कि हामीलाई सुनाउन भन्नुभयो ?’
प्रश्न सुनेर म विस्मित भएँ । म इटहरी बस्न थालेको चार वर्ष जति भएको हुँदो हो । मैले बौवालाल दाइको मुख हेरेँ । अरूले हामीलाई हेरे ।
‘एकछिन दाइ ! पहिले म यो कार्डमा नाम लेखेर दिइसक्छु अनि तपाईको प्रश्नको उत्तर दिन्छु, एकछिन धैर्य गरेर पर्खिनु होला,’ मैले भनेँ ।
ल ठिक छ भन्ने कुरा भयो । सबै जना मेरो जवाफ पर्खिने भए । मैले कार्डमा नाम लेखेर दिइसकेँ । बाँकी कार्ड झोलामा राखेँ, र भनेँ, ‘अब सुन्नुहोस् दाइ मेरो उत्तर । … अहिले हामी जुन ठाउँलाई मधेस भनिरहेका छौँ, अर्थात् सुनसरीको बबियाको तीन नम्बर वार्डमा २०२४ साल कात्तिक ५ गते आइतबार बिहान म जन्मिएँ । अनि अहिले तपाईंहरूले जसलाई जनतान्त्रिक, ज्वालासिंहवाला, क्रिस भनेर चिन्नुहुन्छ, त्यो भाइ गजेन्द्र मेहता अर्थात् ‘गन्जाइ’लाई उसकी आमाले त्यही ठाउँको सेरोफेरोमा पन्ध्र–सोह्र वर्षपछि जन्माइन् ।’
‘२०२४ सालमा ठूलो रौदी (खरेडी) लागेको थियो रे ! आमाले भन्नुभएको । त्यतिबेला बच्चाहरू घरमै जन्माउने चलन थियो । म जन्मिएपछि मेरो सालनाल त्यही घरपछाडि कपासको बोटभन्दा अलिकति दक्षिणतिर गाडियो । गजेन्द्रको आफन्तले पनि त्यसै गरे । यो माटोमा उसको सालनाल गाडिदिए । यसरी एउटै माटोमा उही प्रक्रियाद्वारा आफन्तले रगतको नाता जोडिदिएपछि हामी स्वतः दाजु–भाइ भयौँ । गजेन्द्र, चौधरी महतोको जेठो छोरा खगेश्वर दाइको जेठो छोरा हो । चौधरी महतोलाई मेरो आमाले काका भन्नुहुन्थ्यो रे !’
‘अब अधिकारको कुरामा जाऊँ । चित्त दुखाइको कुरामा जाऊँ । जब घरभित्र सम्पत्ति बाँडफाँट, अधिकारको खोजी, विवाद र चित्त दुखाइ हुन्छ, तब हाम्रो मधेसमा के चलन छ भने, पञ्चेती बस्ने । मानौँ त्यस्तो पञ्चेतीमा म छु । गजेन्द्र मेहता छ, जसका लागि केटी हेर्न म लोहजारासम्म गएको थिएँ । साहेबगन्जभित्र दसगजासम्म गएको थिएँ ।’
‘हाम्रो सम्पत्ति बाँड्नुपर्ने भयो । पञ्चेतीमा तपाईंहरू नै पञ्च हुनुहुन्छ । त्यो परिस्थितिमा तपाईंहरू के भन्नुहुन्छ ? … पक्कै पनि हेर तिमी दाजु हौ, कुरा बुझ्छौ, सुरुमा तिमी नै भन अब के गर्ने ? भनेर सोध्नुहुन्थ्यो होला । किनकि हाम्रो चलन नै हो पहिले दाजुलाई सोध्ने, अनि भाइलाई सोध्ने । तपाईंलाई थाहा छ, त्यो बेलामा के भन्थेँ ?’
‘मलाई अहिलेसम्म कसैले सोधेको छैन त्यस्तो प्रश्न । सोधेको भए भन्ने थिएँ, तपाई पञ्चहरू हुनुहुन्छ । सबैले मानिआएकै व्यक्तिहरू हुनुहुन्छ । उसैलाई सोध्नू, उसलाई के–के चाहिन्छ । त्यहीअनुसार नरमकरम मिलाइदिनु अनि फैसला गर्नु । म के भन्नु अरू !’
‘जब तपाईहरूले मलाई राम्ररी चिन्नु नै भा’छैन । प्रश्न सोध्नु नै भा’छैन तब म जवाफ दिऊँ कसरी ? आज सोध्नुभो, मेरो जवाफ यही हो ।’
बोल्दा–बोल्दै मेरो मुख रातो भइसकेको थियो । मैले बौवालाल दाइको आँखामा प्रतिक्रिया खोजेँ । केही नबोली मलाई हेरिरहेका थिए । हरिलाल दाइले भने, ‘हे, सुविद भाइको यो कुरा हामीलाई थाहा छ ।’
मैले भनेँ, ‘माइन्ड नगर्नु है दाइ ।’
त्यसपछि, नमस्कार गरेँ । जय मधेस भनेँ । उठेँ । चोकतिर लागेँ ।
…
इनरुवामा कतिलाई अझै पनि लागिरहेको छ, उही गजेन्द्र जसले मलाई काका भन्थ्यो, केही दिन करनाल पत्रिकामा मार्केटिङ मेनेजरको काम पनि गर्यो । त्यही गजेन्द्रले ज्यान मार्ने धम्की दियो र इनरुवाबाट विस्थापित भएँ ।
तर, अहँ, त्यो सत्य होइन, त्यो त त्यतिबेलाको अधिकारकर्मी भाइ राजेन्द्र पोखरेलको फन्डा मात्र हो । उनले त त्यो बेला मलाई ‘तपाईं म द्वन्द्वपीडित हुँ भन्नु दाइ, म राज्यबाट पाइने सुविधा दिलाउँछु,’ समेत भनेका थिए । तर, अहँ मैले मानिनँ । भएको त्यो थिएन ।
भएको के थियो भने म गजेन्द्रको खेतमा बनाइएको जनकल्याण प्राविमा पढाउँथेँ । स्कुल परिसरमा काठ र टिनको एउटा पुरानो गोठजस्तो भवन थियो । मैले हेडसर बाबुनन्द यादवसँग सल्लाह गरेर त्यो बेच्ने र स्कुलमै डेस्क–बेन्च अथवा केके फर्निचर आवश्यक हुन्छ, त्यो किन्ने वातावरण सिर्जना गरिदिएँ । गाउँलेहरूसँग सल्लाह गरिएको थियो । लिलामको कागजी प्रक्रिया पनि मिलाइएको थियो । पुरानो काठ र टिन बेची सकिएको थियो । त्यही बेला गजेन्द्रको फोन आयो । मसँग त्यतिबेला नोकिया एक्काइस–सय थियो । सिम त्यही तेइस दुई सय पाँचवाला ।
‘तपाईंले स्कुलको काठ किन बेच्नुभयो ?’
कागज र दुनियाँका आँखामा त्यो काम बाबुनन्द यादवले गरेको जस्तो देखिए पनि गजेन्द्रलाई राम्ररी थाहा थियो, मैले नउक्साइकन त्यहाँ त्यो काम हुनेवाला थिएन । मैले उसको स्वर चिनिहालेँ । ‘फोनमा के कुरा गर्ने गजेन्द्र भाइ यहीँ आऊ न भेटेर कुरा गरौँ,’ भनेँ ।
‘म गजेन्द्र होइन । म क्रिस हुँ । मधेस जन–सरकार प्रमुख । तपाईंले मधेस जन–सरकारको अनुमतिबिना त्यो काठ कसरी बेच्नुभो ? सात दिनभित्र त्यो काठ सबै फिर्ता गराउनुस् । होइन भने म तपाईंलाई मारिदिन्छु । तीन गोली हान्छु ।’
अलि–अलि नेपाली, अलि–अलि मैथिली, अलि–अलि ठेठिही । यस्तै लवजहरूमा डाइलग दियो उसले मलाई । म पनि फेरि उही खालको मान्छे छु, झननन कन्पारो तातेर आइहाल्यो ।
‘अरे भाइ ! फोनबाट, पछाडि लुकेर के धम्की दिन्छौ ? म अहिले यहीँ स्कुलमा छु । मन लागेको छ भने आऊ न, हानी हाल गोली ।’
सबै स्टाफहरू छक्क । बाबुनन्द सरको अनुहार रिसले रातो–रातो भयो । हो बोलाउनु सर बोलाउनु, हेरौँ हामी पनि भन्दै थिए । तर न गजेन्द्र आए, न क्रिस आए । न काठ लिलाम फिर्ता भयो । त्यो दिन त्यत्तिकै भयो ।
खासमा गजेन्द्रलाई आफ्नो पुर्खाको नासो त्यो काठ आफैँले सस्तो–मस्तोमा किन्न मन लागेको रहेछ । त्यो कुरा सुरुमै भनेको भए, हामी दिइहाल्थ्यौँ । उसले चित्त किन दुखाइरहनु पर्थ्यो र ! क्रिस, जनसरकार प्रमुख किन भनिरहनु पर्थ्यो र !
काठ लिलाम गर्न लागेको बारेमा उसको घरमा मै गएर उसको बुबालाई सोधेको पनि थिएँ । अब बाबु–छोराकै खास ठ्याक नमिल्दो रै’छ, म क–कसलाई सोध्दै हिडूँ ! फेरि मलाई गजेन्द्रले त्यो काठ किन्न खोजिरहेको छ भन्ने के थाहा ? ऊ मधेस जनसरकार प्रमुख र भूमिगत नेता नै थियो भने पनि कुनै संवदियामार्फत् त्यो खबर मेरो कानसम्म पुर्याउनुपर्थ्यो । खैर, त्यो कुरा छोडौँ । रात गई बात गई ।
राति निकै अबेला उसले मलाई फेरि फोन गर्यो ।
भन्यो, ‘काका नरिसाउनु ! मैले के सुरमा भनेँ त्यो माइन्ड नगर्नु ।’
‘अरे यार मेरो माइन्ड नै छैन त के माइन्ड गर्नु ? म रिसाएको छैन,’ भनेँ कुरा सिद्धियो ।
यता, एउटा पत्रकारलाई मधेस जनसरकार प्रमुखबाट धम्की आएको सन्दर्भका रूपमा साथीहरूले कुरा उचालिरहे । तर मैले खासै वास्ता गरिनँ ।
…
त्यही सेरोफेरोमा एकदिन म करनालकै अफिसमा बसिरहेको थिएँ । कसैले मेरो हातमा एउटा चिठी हालिदियो । उही मधेस जनसरकारवाला । चिठी सभ्य भाषामै थियो ।
श्री सम्पादकज्यू ! तपाईंले पत्रकारिताको धर्म निर्वाह गर्नुहोला । तपाईंले सम्पादन गरेको पत्रिकामा हाम्रा साथीहरूका विरुद्धमा अनावश्यक कुराहरू आइरहे जस्तो लाग्छ । कृपया त्यसलाई सच्याउनुहोला ।’ तर, त्यो चिठीको व्यहोरा यसरी मिलाएर लेखिएको थिएन । आशय चाहिँ त्यही थियो ।
साँझसम्म चिठी मेरो गोजीमै थियो । रामदेवको चिया दोकानमा चिया खाँदै छलफल गर्दै थियौँ । अब के गर्ने ? कसो गर्ने ? यो चिठीको समाचार बनाउने कि नबनाउने ? पत्रकार महासङ्घमा यो जानकारी दिने कि नदिने ? यस्तै विषयमा भाइ–साथीहरूसँग छलफल हुँदै थियो ।
अचानक बाहिर घ्यार–घ्यार गरेको मोटरसाइकलको आवाज सुनियो । एउटा मैले नचिनेको हेन्डसम केटा सुइँसुइँ भित्र आयो र हामीभन्दा अगाडिको टेबुलमा बस्यो ।
‘तपाईहरूमध्ये सुविद गुरागाई को हो ?’ उसले सोध्यो ।
वातावरण एकछिन शान्त भयो । साथीहरूले मतिर हेरे ।
‘तपाईलाई कसैले कुनै चिठी दे’को छ ?’
‘छ ।’
‘खै, त्यो चिठी ल्याउनु त !’
उसले माग्यो मैले दिएँ । उसले त्यो चिठीमा के लेखिएको छ, त्यो हेर्दा पनि नहेरी थपक्क गोजीमा राख्यो । जुरुक्क उठ्यो । मोटरसाइकल चढ्यो, गयो ।
मैले भनेँ, ‘यो त ठिक भएन । मेरो हातमा एउटा प्रमाण थियो, त्यो पनि त्यसले लगिदियो । साथीहरूले पनि टुटुटुलु हेरिरहनुभयो फेरि ।’
‘दाइको यही बानी खराब छ,’ नवीनजी, राजेन्द्रजीलगायत साथीहरूले भने,
‘जसले चिठी दिएको थियो उसैले लिएर गयो, तपाईलाई केही फरक पर्यो ?’
‘फरक त परेन,’ मैले भनेँ र फिस्स हाँसेँ ।
…
म यही सेरोफेरोमा इटहरी गएँ । ठूलो ठाउँमा गएर ठूलो पत्रकार बन्ने रहर थियो । त्यो बेला मैले आफ्नो त्यही महत्त्वाकाङ्क्षाको भारी बोकिराखेको थिएँ । खैर यो प्रसङ्गलाई यतिमै राखुँ । कुरा गरुँ त्यही जय मधेसकै जुन सुरुमा म गर्दै थिएँ ।
मलाई रुखभन्दा गाछी भन्न सजिलो लाग्छ । म रेला, ख्याल गर्न जान्दिनँ, मजाक गर्छु । मलाई तरकारी भन्दा सब्जी मिठो लाग्छ । म किरिया होइन कसम खान्छु । आमा कसम भन्नु परे मा कसम भन्छु । बुझ्नुपर्नेले कुरा नबुझेपछि मुटु होइन दिल दुख्छ । कसैले इनरुवालाई गाली गर्यो भने रगत होइन खुन उम्लिएर आउँछ । पहिले सोलुखुम्बुतिर हुँदा शिक्षक होइन मास्टर थिएँ । मलाई सनपाट, जुट होइन, पटुवाको साग मिठो लाग्छ । मेरा लागि आँपको पात होइन पत्ता हरियो हुन्छ ।
तापनि म सोलुखुम्बुमा हुँदा, फर्पिङमा हुँदा मधेसबाट आएको सर भन्थे । देवानगन्ज, अमडुवा, घुस्की, बसन्तपुरतिर जाँदा पहडिया पत्रकार भन्छन् ।
एकदिन पाँच कक्षाको एउटा विद्यार्थी, जसको नाम रामप्रसाद थियो, उसलाई मैले म बस्ने कुर्सीमा किन काउछो (कवछ्वा) दलेको भनेर हातमा एक छडी हिर्काएँ । ‘सार, पहडिया मास्टर, हमरा मारै छी,’ भन्दै ऊ फुत्त कक्षाबाट बाहिर निस्कियो र घरतिर रन्थनिँदै गयो ।
सायद ऊ मेराविरुद्ध बुबा–काका कसैलाई उचालेर ल्याउन त्यसरी गयो । तर, कोही आएनन् । पछि त्यो भाइलाई इनरुवातिर रिक्सा चलाउँदै गरेको देखेको थिएँ । ‘सर ! नमस्कार !’ भनेको थियो पछिल्लो भेटमा ।
मलाई कसैले पहडिया भनेर लेबल लगाएको मन पर्दैन । तपाईंको पहाड कहाँ हो भनेर सोध्यो भने झर्को लाग्छ ।
त्यसैले म आज फेरि पनि भन्छु, मलाई चिन्ने नचिन्ने कसैले कतै भेट्नुभयो भने कृपया मलाई नसोध्नुहोला तेरो पहाड कहाँ हो ? म त फुल्ली मधेसी हुँ । मधेसमा जन्मिएको भूमिपुत्र । यो मन त मेरो मधेसी हो !
जय नेपाल ! जय मधेस !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।