कवि कात्यायनीको परिचय
कवि कात्यायनीको जन्म ७ मई १९६९ मा भारतको गोरखपुरमा भएको हो । हिन्दीमा एम.ए. र एम.फिल. गरेकी उनले विगत लामो समयदेखि विभिन्न पत्रपत्रिकाहरूमा राजनीतिक-सामाजिक-सांस्कृतिक विषयमा स्वतन्त्र लेखन गर्दै आएकी छिन् । उनले ‘नवभारत टाइम्स’ र ‘स्वतन्त्र भारत’ की संवाददाताका रूपमा पनि काम गरेकी छन् । उनका कविताहरू हिन्दीका अधिकांश पत्रपत्रिकाहरूमा प्रकाशित छन् । केही कविताहरू अङ्ग्रेजी, पन्जाबी, मराठी, गुजरातीमा अनूदित तथा प्रकाशित छन् । उनका आधा दर्जन कथाहरू पनि प्रकाशित छन् । चेहरों पर आँच, सात भाइयों के बीच चम्पा, इस पौरुषपूर्ण समय में, जादू नहीं कविता, फुटपाथ पर कुर्सी, राख अँधेरे की बारिश में उनका कविता सङ्कलनहरू हुन् । दुर्ग द्वार पर दस्तक (स्त्री-प्रश्न विषयक निबन्धको सङ्कलन), षडयन्त्ररत् मृतात्माओं के बीच (साम्प्रदायिक, फासीवाद, बुद्धिजीवी प्रश्न र साहित्यको सामाजिक भूमिकामा केन्द्रित निबन्धहरूको सङ्कलन), कुछ जीवन्त, कुछ ज्वलन्त (समाज, संस्कृति र साहित्यमा केन्द्रित निबन्धहरूको सङ्कलन), प्रेम, परम्परा र विद्रोह (शोधपरक निबन्ध) पनि उनका प्रकाशित पुस्तकहरू हुन् । उनी क्रान्तिकारी वामपन्थी राजनीतिबाट अनुप्रमाणित सामाजिक सक्रियता, सांस्कृतिक मोर्चा, नारी मोर्चाका साथसाथै मजदुर मोर्चामा पनि सक्रिय छिन् ।
आमाका लागि एउटा कविता
कात्यायनी
त्यहाँ
अहिले पनि गाइरहेको हुन्छ शून्यता
उदास, फिक्का धुनहरूमा
पराजित अत्माहरूको गीत ।
पहेँलो घाममा
झरिरहन्छन् पातहरू
जुठा भाँडाकुँडा पर्खिरहन्छन्
धारामुन्तिर
साँझ पर्ने
एक जोर पुराना चप्पल
थकित शिथिल प्रविष्ट हुन्छन् घरमा
दिनभरिको सम्पूर्ण थकाइ
उत्रेर शरीरबाट लम्पसार पर्छ
घरआँगनमा ।
प्रतीक्षा उत्रेर आउँछ आँखामा
आशाहरू जसरी
सानो लहरझैँ
एउटा झोला घर आउँछ उफ्रिँदै
भाँडामा छोपिएको चिसो भात
हाँस्न थाल्दछ ।
पार्श्वमा गुन्जिरहेको
उदासीको सङ्गीत मधुरो हुन्छ ।
दाहसंस्कारबाट फर्किएका खुट्टा जसरी
घरमा भित्रिन्छ आतङ्क
साँझको अँध्यारोसँग
बल्बको बिरामी उज्यालामा
कार्यालयका कागजपत्र खोलेर बस्छ ।
बसेको झोला
पाठ रट्न थाल्छ
पुनः जुन्जिन थाल्छ शून्यताको त्यही गीत-
बिस्तारै बिस्तारै चर्को घुराइमा फेरिँदै ।
थाकेको एउटा प्रतीक्षा
दलानमा निरुद्देश्य घुम्ने गर्छ
चुलोचौकाको काम सिध्याएपछि ।
गाइरहन्छ शून्यता
एउटा उदास वृद्ध भजन जसरी
पराजित अत्माहरूको गीत ।
भुइँतलामा सेता होचा राक्षसहरू
आनन्दको राग अलाप्छन्
भित्तामा झुन्डिएको तस्बिरपछाडि
गुँड लाएका परेवा
पखेटा फड्फडाउँछन् ।
दिनभरिका थकित हात
अल्छी भावले डुल्छन्
एउटा सानो शरीरमा
डरलाई धुलोजसरी पुछ्दै ।
प्रेमले लतपत निद्रित नानीगीत
गाउन थाल्छ आशाहरू ।
चल्मलाउँछ जीवन
कोल्टे फेरेर
गलामा अँगालो हालेर निश्चिन्त बन्छ ।
पार्श्वमा गुन्जिरहन्छ
पराजित आत्माको त्यही गीत
सपनाहरूमा छाइरहन्छ कालो पोतिएजसरी ।
अँगेनामा खरानीको पत्रका बिचबाट
मधुरो रातो उज्यालो छर्दै
चिहाइरहन्छन् झिल्काहरू ।
***
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।