जिन्दगीमा धेरैले धेरैलाई धेरै किसिमका पत्र लेखे होलान् । तर, चालिसको दशकमा मलाई सम्बोधन गर्दै लेखिएका दुईवटा पत्र यस्ता छन्, जुन नसोचेको संवेदनाले लबालब भरिएका छन् । जिन्दगीभर मेरो मुटु चिसो बनाइराख्न पर्याप्त छन् । सम्झिनासाथै आङ सिरिङ्ङ हुन्छ ।
स्नेही मित्र दलित !
त्यो बेला म ‘दलित’ उपनाम प्रयोग गर्थेँ ।
मिति २०४५/०२/२० गते साँझ आठ बजे । स्थानः सुनसान कोठा । सहाराः टेबुल–कुर्सी ।
मिलनदेखि बिछोडसम्मका अतीतका स्मृतिहरू साथै लाखौँ–लाख सम्झनाका सौगातहरू । अनि यो कहालीलाग्दो वातावरणमा तिमीप्रति दुई–चार शब्द ।
यस गतिशील एवम् मरणशील संसारमा पाइला टेकेपछि आफू पनि मिलन र बिछोडसँग क्रमशः सङ्घर्षमा आफ्नो जीवन–यापन गर्नुपर्दो रहेछ । र, यो समस्यासँग जुध्नु नै मानिसको जीवनको प्रतीक रहेछ ।
त दलित !
साँच्चै नै हाम्रो समाज कुण्ठित एवम् रुढीग्रस्त समाज छ । यसलाई अगाडि बढाउन तिमी–हामी सबै एकजुट हुनुपर्छ । आधारभूत आवश्यकताको परिपूर्ति गरी २०५७ सम्ममा एसियाली मापदण्डमा पुर्याउन एक जनाको मात्र प्रयासले हुँदैन । तिमी–हामी सबै मिली यसमा सफल हुनुपरेको छ, नत्र भने देश विकासको कल्पना साकार हुन सक्दैन । सम्झ त्यही माथिको चित्रलाई । एकातिर ‘शान्ति क्षेत्र नेपाल’ भनेर शान्तिको बिगुल फिँजाई अन्तर्राष्ट्रिय जगतमा चिनिन पुगेको हाम्रो देश छ भने यहीँ साना–ठूला, धनी–गरिब र छुवाछुतको भेदभाव पनि चलिरहेको छ । आखिर रगत सबैको रातो भए कुन ठूलो, कुन सानो ? कुन धनी, कुन गरिब ? आजको युगमा पढेलेखेका ठूलाठालु भनाउँदा व्यक्तिहरू आफूलाई बाहिरी रूपमा आडम्बरी र धेरै गहकिलो ठान्छन् । तिनै व्यक्तिहरू गरिबबाट घुस खाएर उनीहरूलाई शोषण गरेर धन कमाउँछन् । यस्ता दानव प्रवृत्तिका मानिसहरूको घोर भत्सर्ना गर । यस्तो कुकार्य निर्मूल पार्न तिमीजस्ता योग्य, कर्मठ व्यक्ति देशलाई खाँचो छ । अनि नारीत्व विकासमा पनि ।
त्यसैले दलित –
सङ्घर्षमय जीवनमा महान् उद्देश्य लेऊ ।
सफलता प्राप्तिको लागि दरिलो विश्वास लेऊ ।
कर्तव्यको यस संसारमा हतोत्साह कहिल्यै नबन,
दृढतापूर्वक अगाडि बढ, असम्भव छ नभन ।
तिमी यसै गरी ठूला कामहरू चिताऊ
बाधा र अड्चनलाई टाढा–टाढा हटाऊ ।
निराशाको रेखा तिम्रो क्षेत्रको क्षितिजमा देखा परे पनि आफ्नो लक्ष्यमा जिल्ल नपरी अग्नि–परीक्षाको घडीबाट स्वर्णिम आशा लिँदै रङ्गीन भविष्य बोकेर देखा पर । तिम्रा ठूला मनोवृत्ति र साकार कल्पनाहरू विक्षिप्त भित्र नपरुन् । केवल उच्च मनोबल र दृढ संकल्प बोकेर सुनौलो भविष्यका किरणहरूका साथ अदम्य साहस बोकेर भिड्न र जुध्न सक । अनि जोस, उत्साह बोकेर ल्याएको क्याम्पसको शैक्षिक पर्यावरणमा झुल्कन पुगेको तिम्रो जीवन रक्तिम क्षितिजमा किञ्जल्क रेखाहरू झैँ सुनौलो संसारमा रमाउन सकोस् ।
अन्तमा दलित ! मबाट तिमीप्रति अञ्जानमा केही अपशब्द प्रयोग गरेको भए पनि क्षमा देऊ ल ।
ल त पत्र पनि टुङ्गिनै लाग्यो तसर्थ यी मेरा दुई कुरा –
हाँसेर के भो ? आँसु नै चुँडिएपछि ।
बाँचेर नै के भो ? आपसमा भेट नभएपछि ।
अन्धकारको दिनमा पनि सूर्य उदाएकै हुन्छ ।
टाढा–टाढा भए पनि अतीतको सम्झना आइरहेको हुन्छ ।
बस्, आत्मीय क्रोधको वेगलाई रोकी लक्ष्य सफलतातिर अग्रसर भएर सफलता प्राप्त गर ।
उही तिम्रो उज्जवल भविष्य हेर्न चाहने, गीता ।
…
नाम गीता नेपाल ।
महेन्द्रनगर गाउँ पञ्चायत –२, चक्रघट्टी, सुनसरी । मानविकी, प्रमाण–पत्र तह द्वितीय वर्ष । उमेर करिब १८ वर्ष । जन्म – २०२६ साल चैत १० गते भोजपुर । रुचि – आधुनिक गीत गजल सुन्ने, भलिबल, चेस र रिङ खेल्ने । भविष्यका बारेमा पछि सोचौँला । जीवन खहरेको भेल हो ।
जम्मा–जम्मी यतिमात्र लिखित प्रमाण बाँकी छ मसँग उनको सम्झनाको ।
क्याम्पसका स्वतन्त्र दिन सकिएको केही समयपछि उनी विवाह–बन्धनमा बाँधिइन् । अदालतमा काम गर्ने इनरुवा पूर्व टोलका कर्मचारी ध्रुवविनोद पोखरेलसँग उनको बिहे भएको थियो ।
‘सङ्घर्षमय जीवनमा महान् उद्देश्य लेऊ । सफलता प्राप्तिको लागि दरिलो विश्वास लेऊ । कर्तव्यको यस संसारमा हतोत्साह कहिल्यै नबन,’ भनेर मलाई सम्झाउने, अप्ठेरो परिस्थितिमा मुटु दह्रो पार्न सिकाउने गीता आफूले भने २०५४ सालमा आत्महत्या गरिन् ।
एउटी साहित्यिक भावना भएकी, मन मिल्ने साथीको यो अप्रत्यासित परिनिर्वाणको दुखान्त म शब्दमा व्यक्त गर्न सक्दिनँ ।
शिवको लीला पनि बुझी नसक्नुको छ । जो मेरा लागि प्रेरक थियो, उसैले बाटो बिरायो ।
त्यो दिन तले घरको बरन्डामा बराम लागेका थिए, साक्षी किनाराका सदरहरू । कोही देखी जान्ने । केही सुनी जान्ने ।
आत्महत्याको कारण के थियो ?
विस्मित हरेक आँखामा एउटै प्रश्न थियो । जवाफदेही कोही थिएन । उकुसमुकुस हुँदै मैले उत्तरतिरको झ्यालबाट जसोतसो एकपल्ट भित्र हेरेँ । दोहोर्याएर हेर्न सकिनँ ।
पङ्खामा झुन्डिएको उनको लास मेरो आँखामा अझ पनि झुन्डिरहेकै छ ।
…
अपरिचित दलितजी !
अपरिचय नै परिचयको मार्ग हो, जुन भावुकताले लेखेको शैलीले परिचित भएँ ।
दलितजी, तपाईंको जुन अग्रसर लक्ष्य छ सोप्रति म आत्मादेखि नै आभारी छु । तपाईंले चालेको पाइलो लक्षित मार्गमा अग्रसर भएको देख्नमा विश्वास राख्दछु ।
मानिस आफ्नो लागि हैन अरूको लागि हुँ भन्ने व्यक्ति नै समाजको व्यक्तित्व बोकेका मानिस हुन् भन्ने कुरामा म विश्वास राख्दछु । घटित घटना व्यतित हुँदा जसरी इतिहासमा परिणत हुन्छ त्यसरी नै अन्याय र अत्याचारको विरोधमा एकताको ज्वलन्त आवाज दन्किन्छ, त्यही नै हो सहिद । ऊ मरेर वर्तमानमा अन्याय–अत्याचार हुन नदिई क्रमशः तलका ती व्यक्तिहरूको बौद्धिक जीवनस्तर उठाई परिवर्तनमा उतार्न पुग्छ । त्यही सहिदमा मेरो सदा मौन–धारण छ ।
दलितजी !
विकास वन, जङ्गल, कृषि इत्यादिको विकासलाई म विकास हो भन्ने मान्दिनँ । विकास मानिसको स्तर हो । विज्ञानले जुन देशमा विकास गरेको छ, सो देशका मानिसको स्तर धेरै उच्च र स्वावलम्बी छ । त्यसैले विकास मानिसको बौद्धिक शिक्षा हो । शिक्षामा जबसम्म मानिसको स्तर उठ्दैन तबसम्म विकास भएको भन्न सक्दिनँ । किनकि स्वर्ग र नर्क भन्ने कुरा शास्त्रीहरूले उठान गरेकोबाट पनि बुझिन्छ । जस्तै पितृ–कार्यमा दान–दक्षिणा नदिए पितृ नर्कमा जान्छन् भन्ने भ्रामकलाई फैलाउँदै सम्पत्ति आर्जन गरेका मानिसहरू पाइन्छन् । त्यस्तालाई तपाई–हामीले पनि देखेका छौँ । ती रीति–रिवाज तोड्नलाई केवल शिक्षाकै आवश्यकता पर्दछ भन्ने कुरामा म विश्वास गर्दछु ।
दलितजी !
समाजको दायित्व बोकेका व्यक्तिले सदा चरित्रवान् र निःस्वार्थीपनको भावना लिए देश र समाजको स्तर उठ्नुका साथै मानव अधिकारमा बाँच्न प्रेरणा पाउँछ नत्र कदाचित पाउँदैन । समाजको कुतत्त्व नै स्वार्थी पुँजीवादी तत्त्व हो । जबसम्म त्यो मासिदैन तबसम्म समाज बन्न सक्दैन । त्यसैले आज त्यो दिन आएको छ । युवा वर्तमान परिवर्तनको महान् शक्ति हो, जसले राष्ट्र र समाजलाई उजाड र टुक्रिनबाट बचाउँछ । त्यही युवा शक्ति नैतिकता र साहसिला गर्जन हुन् । केन्द्र, अञ्चल, जिल्ला गाउँ चारमध्ये सर्वसधारण हुर्किने, उर्लिने गाउँ हो । गाउँको विकास गर्न शिक्षाको आवश्यक पर्दछ । शिक्षा भएमा नै विकासको फूल फुल्छ । यी गर्ने निकै साहस र जिम्मेवारी समाजसेवी युवामा निरन्तर हुन्छ । त्यही अविकसित समाज शिक्षाको प्रतिफलले बौद्धिक शक्तिसँगै क्रान्ति गर्न आ–आफू निक्लिन्छ । र, सहिदको यथार्थ सपनालाई पूरा गर्दछ भन्ने कुरामा म विश्वस्त छु । जुन कुरा आज स्पष्ट छ । ३० वर्षको पञ्चायती ताना–शासकलाई बौद्धिक वर्गहरू समेतको संयुक्त क्रान्तिले आज देशमा आमूल बहुदलीय प्रजातन्त्र व्यवस्थाको परिवर्तन ल्यायो । जुन शक्ति देशको सारा जनता हुन् भन्ने कुरा आज सबैमा स्पष्ट छ ।
दलितजी लेख्न र दर्शाउन धेरै थियो । भूलप्रति क्षमा ।
…
ललितबहादुर गुरुङ । बेलबारी–२, मोरङ । वर्ष ३५ । रुचि – सेवा । जीवन – अरूका लागि बाँच्नु । भविष्यमा – परिश्रम आफ्नो । पेसा – नोकरी ।
जम्माजम्मी यति विवरण मसँग सञ्चयित छ । मिति लेखिएको छैन । जतिखेर यो पत्र मेरो हातमा पर्यो, त्यतिखेर उनको मृत्यु भएको चार वर्ष भइसकेको थियो । २०५३ सालमा ओखलढुङ्गामा भएको माओवादी सशस्त्र आक्रमणमा परी उनको मृत्यु भएको रहेछ ।
त्यो बेला म मेरा आत्मीय मित्रहरूलाई भविष्यमा सम्झनाका लागि पत्र लेख्न लगाउँथेँ । त्यस्ता पत्रहरू एउटा डायरीमा सङ्कलित हुन्थे । गुरुङजीले मित्र ललितचन्द्र थेगिममार्फत् सुविद (दलित)लाई पत्र लेखिएको त्यो डायरी फेला पारेका रहेछन् ।
प्रहरी सेवामा रहेका गुरुङ मेरा लागि सदैव अपरिचित रहे । मैले देख्नै नपाएका यी मित्रले मलाई थाहै नदिई सेलिब्रिटी बनाइदिए । उनका शब्दमा भन्दा, घटित घटना व्यतित हुँदा जसरी इतिहासमा परिणत हुन्छ त्यसरी नै अन्याय र अत्याचारको विरोधमा एकताको ज्वलन्त आवाज दन्किन्छ ।
अरूका लागि बाँच्नुमा जीवनको सार्थकता देख्ने अपरिचित मित्र ललितबहादुर गुरुङको सदा स्वर्गमा बास होस् । मरणोपरान्त जय नेपालको न्यानो लाल अभिवादन !
…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।