आजको पुस्ता पुस्तकभन्दा अनावश्यक ‘मिम्स’ पढ्छ, बहसभन्दा अनुत्पादक ‘रिल्स’ बनाउँछ, र विद्यालयभन्दा युट्युबमा बढी समय खर्च गर्छ । यस्तो प्राथमिकताले राजनीतिक दर्शनको आधार कमजोर बनाउँछ ।

राजनीति केवल शक्तिखेल होइन- यो राष्ट्र निर्माणको कला र समाज बुझ्ने विज्ञान हो । तथापि नेपालमा, राजनीति न कला बनेको छ न विज्ञान । यहाँ राजनीतिको मैदान ‘ट्रायल एन्ड एरर’को अनन्त प्रयोगशालामा परिणत भएको छ- जहाँ नेताका अनुहार हरेक चुनावमा फेरिन्छन् तर जनताको निराशा स्थिर रहन्छ । यस विकराल परिस्थितिबाट बाहिर निस्किन अझै कठिन देखिन्छ ।

जहाँ-जहाँ जनविश्वास खस्किँदै जान्छ, त्यहीँ-त्यहीँ ‘च्याउझैँ उम्रने’ नेता तथा पार्टीहरू जुकासरी फड्किन थाल्दछन् । पार्टीको नाम, झण्डा र लोगो भव्य हुन्छ; तर दर्शन ? दिशाबोध ? ऐतिहासिक स्पष्टीकरण ? समाजलाई लैजाने यात्राको नक्सा ? यी कुनै पनि कुरा प्रष्ट हुँदैनन् ।

पार्टी: चुनाव जित्ने उपकरण 

पार्टी खुलेको भोलिपल्टै केन्द्रीय समिति गठन हुने, पर्सिपल्टै घोषणा-पत्र सार्वजनिक हुने, तेस्रो दिन क्षेत्रीय संरचना बन्ने तथा चौथो दिन त चुनावी टिकटका बोली-कथा नै सुन्नमा आउँछन् । वास्तवमा ती सबैको मूल भने चुनाव जित्ने आकांक्षामा पुगेर ठोकिन्छ । अर्थात् , पार्टी एक ‘इलेक्शन प्रोेजेक्ट’मा रूपान्तरित हुन्छ जसको कुनै सामाजिक सिद्धान्त हुँदैन ।

लोकतान्त्रिक समाजमा पार्टी भनेको एउटा बौद्धिक संरचना हो जसले वर्ग, समुदाय, असमानता, आधुनिकता, संस्कार, राज्यशक्ति तथा अधिकारको सम्बन्ध बुझेर आफ्नो बाटो बनाउँछ । यद्यपि, नेपालमा भने पार्टी केवल कुर्सी-प्राप्ति मिसनमा सीमित रहन्छ ।

यस्तो मिसनमा न वर्ग चेतना र राज्यको परिकल्पना न त राष्ट्रिय संरचनाको दीर्घ-दृष्टि नै रहन्छ।

यही दर्शन-विहीनताका कारण नेपालका पार्टीहरू टिक्दैनन्, फुट्छन्, गल्छन् र पुनः जन्मिन्छन् । एकातिर, जनता दिगो योजना खोज्छन् । अर्कोतिर, नेताहरू ‘ट्रेन चलाइदिन्छु’ प्रकारको भाषणको अन्तरंगमा रमाउँछन् । निर्वाचनको बेलामा राजनीतिक लोला बजार खुल्छ । घोषणा पनि ‘ए आई’को जस्तो देखिन्छ- भोलिपल्ट उनीहरू आफैँ समेत सम्झिन सक्दैनन्- हिजो के बोलेको थिएँ र कसरी कार्यान्वयन गर्ने !

पार्टीहरू च्याउझैँ किन उम्रन्छन् ?

नेपाल लोकतन्त्रमा प्रवेश गरेपछि, विशेषतः वि.सं.२०६२/६३ पछि राजनीतिक स्पेस विस्तार भयो । स्पेस विस्तार हुनु सकारात्मक पाटो हो । यद्यपि, स्पेसमा प्रवेश गर्ने पात्रको गुणस्तर भने वृद्धि हुन सकेन । किन त ?

१. नेतृत्व संकट र पुरानो व्यवस्थाप्रति निराशा 

परम्परागत नेताहरूले देशलाई सम्हाल्न सकेनन् भन्ने बुझाइले नयाँ पार्टीलाई अवसर दियो, जनता निराश हुँदा जुनसुकै नयाँ अनुहार ‘उम्मेदवार’ बन्ने वातावरण तयार हुन्छ ।

२. ‘करिस्मा’मा आधारित राजनीति

हामीकहाँ विचारभन्दा अनुहार ठूलो हुन्छ । कसैको भाषा मीठो भयो भने ‘दर्शन’ अप्रासंगिक ठानिन्छ । कसैले आफ्नो सफलताका केही भिडियो टिकटकमा राखिदियो भने समाज सुधार्ने चाबी पनि उसैलाई बुझाइन्छ ।

३. वैचारिक अल्पता बोकेका ‘फ्यान क्लब’ पक्षधरता

अनुहारका फ्यान, टिकटकका फलोअर, यूट्युबरका दर्शक, यी पनि आज ‘मतदाता आधार’ बन्न थाले तर सशक्त मतदाता-चेतना भने शून्य बराबर हुन्छ ।

४. लोकतान्त्रिक संस्थाहरूको कमजोरी

नेपालमा पार्टी दर्ता कानुन निकै सरल छ । ‘दर्शन परीक्षण’ गर्ने कुनै व्यवस्था छैन । दर्शनविहीन पार्टी दर्ता गराउन सहज छ तर देश चलाउने काम ज्यादै कठिन छ । यो बुझेर पनि कुर्सी मोह र सस्तो लोकप्रियताको भोकले क्लान्त बनेकाहरू देशको हुर्मत लिएर मात्र सन्तुष्ट हुने देखिन्छन् । फलस्वरूप, आज हरेक युवाले आफूलाई ‘नेता’ ठान्न सक्छ । तीन-चार जना मिलेर लोगो बनाउन सक्छन् । एकातिर ‘नयाँ नेपाल’को नारामा, अर्कोतिर ‘पुराना नेताको गाली’मा पार्टी सफल भएको उद्घोष हुन्छ । “१ वर्षपछि तिमीहरूको नीति कस्तो हुन्छ?” भनी सोधिएमा ठोस जवाफ भने हुँदैन ।

जेनेरेशन जेड उर्फ जेनजीको राजनीति: ऊर्जा छ, तर नक्सा छैन

जेनजीको ऊर्जा, असन्तुष्टि र परिवर्तन चाहना अत्यन्त सकारात्मक गुण हुन् । परिवर्तन चाहनु गलत होइन । यद्यपि, परिवर्तन कसरी गर्ने भन्ने आधारभूत रणनीति नबुझी गरिएको परिवर्तन केवल भुँएए-लडाइँ भन्दा बेसी आत्मविनाशमा परिणत हुन्छ । जेन्जीको राजनीति प्रायः प्रतिक्रियामा आधारित छ । कुनै मुद्धा भाइरल भएपछि सम्पूर्ण ध्यान त्यतै केन्द्रित हुन्छ, र भोलिपल्ट अर्को मुद्धा आउँदा उनीहरू सहजै त्यसतर्फ सर्ने गर्छन् । यो स्थिर राजनीतिक चेतनाको अभाव हो र यसले देशको दीर्घकालीन विकासका लागि घातक असर पार्दछ ।

पुस्तान्तरणको नाममा उनीहरूले आक्रोश छिटो व्यक्त गर्छन् र तत्काल परिवर्तन चाहन्छन् । तर, “किन बदल्ने?” भन्ने आधारभूत प्रश्नको उत्तर खोज्न उनीहरू प्रायः अस्वीकार गर्छन् । यस विरोधाभासले नेपालमा दिगो राजनीतिक संस्कृति निर्माण गर्ने सम्भावना कमजोर छ भन्ने कुरा प्रष्ट पार्दछ । कसरी ?

१. ‘इन्स्ट्यान्ट रिजल्ट’ को संस्कृति

जेनजीको राजनीति प्रायः टिकटके शैलीमा सीमित भएको छ । उनीहरूले ‘अहिले नै परिवर्तन चाहिन्छ’, ‘पहिले किन भएन ?’, ‘सबै पुराना खराब, सबै नयाँ राम्रा’ जस्ता सरल नारा प्रायः मान्छन् । यस्तो दृष्टिकोणले राजनीतिक प्रक्रियालाई शान्त, बौद्धिक र तार्किक छलफलको सट्टा आक्रामक, भावनात्मक र छोटो अवधिको प्रतिक्रियामा सीमित बनाइदिन्छ । दीर्घकालीन लक्ष्यका लागि आवश्यक धैर्य र विवेक प्रायः गुम्छ ।

२. राजनीतिक-दर्शन अध्ययनको कमी

आजको पुस्ता पुस्तकभन्दा अनावश्यक ‘मिम्स’ पढ्छ, बहसभन्दा अनुत्पादक ‘रिल्स’ बनाउँछ र विद्यालयभन्दा युट्युबमा बढी समय खर्च गर्छ । यस्तो प्राथमिकताले राजनीतिक दर्शनको आधार कमजोर बनाउँछ ।

वामपन्थ, दक्षिणपन्थ, उदारवाद, सामाजिक-लोकतन्त्र, संघीयता, समावेशीकरण, राष्ट्रवाद जस्ता अवधारणाको सैद्धान्तिक समझ हुँदैन तर निकै प्रयोग गरिन्छ । यसरी, दर्शनको बिना राजनीति, केवल आक्रोशको प्रोजेक्ट बन्न पुग्छ । फलस्वरूप, देश निर्माणका लागि आवश्यक संरचनात्मक सुधार र रणनीति केवल तत्काल आक्रोश र प्रतिक्रियामा सीमित रहन्छन् ।

पार्टी परित्याग : अवसरवाद कि आत्मबोध ?

पछिल्लो समय रास्वपाका सन्तोष परियारले पार्टी त्याग गरेको विषयले चर्चा पायो । उनले जाँदाजाँदै,” राजनीतिक पार्टीमा निश्चित दर्शन आवश्यक हुन्छ” भन्ने सार्वजनिक वक्तव्य दिए । अवसरवादबाट ग्रसित नेपाली राजनीतिमा पार्टी त्याग्नु तथा परिवर्तन गर्नु सामान्य हो । त्यसो हुँदाहुँदै पनि, एउटा पार्टी छोड्दा ‘दर्शन’को कुरा उठाउने व्यक्ति कमै भेटिन्छन् । किनभने नेपाली राजनीतिमा दर्शन ‘पढ्नुपर्ने विषय ’ होइन बरु ‘लुकाउनुपर्ने कमजोरी’ जस्तो व्यवहार हुन्छ ।

पुराना पार्टीसँग जनताको असन्तुष्टिको परिणाम स्वरूप बनेका पार्टीमा राजनीतिक दर्शनको अभाव हुनु स्वभाविक हो । जुन कुरा सन्तोष परियारजस्ता बौद्धिक व्यक्तिहरूलाई त बुझ्न समय लाग्यो भने सामान्य नागरिकले बुझ्न नसक्नु साधारण हो । तत्कालीन लोकप्रियता, बिहानीको कफी, साँझको यूट्युब शो र बीचमा चलाइने भाषण ! यी नै हाम्रा राजनीतिक आधार बनेका छन् । तर, दर्शन ? सम्भवतः राजनीतिक पार्टी ‘गणेशस्थान’ जस्तै छन्- नौ दिन छामिन्छ, बाँकी वर्ष भुलिन्छ ।

पार्टी छोड्दै गर्दा उनलाई अवसरवादी देखिए तापनि उनले पार्टी परित्यागको स्पष्ट कारणमा दर्शनविहीनतालाई उद्धृत गर्दै, “यदि पार्टीसँग दर्शन छैन भने कार्यकर्ता दिशाहीन हुन्छन् ।” भन्ने आत्मबोध गरेका छ्न् । वास्तवमा, हामी सबैले गम्भीरतापूर्वक मनन गर्न आवश्यक छ कि बिना सिद्धान्त हल्लाले बनेको पार्टी छिट्टै भाइरल हुने मात्र होइन अस्थिर राजनीतिको भाइरसमा पनि परिणत हुन सक्दछ ।

वास्तवमा, बिना सिद्धान्त, पार्टीगत निर्णय भावना र अवसरवादमा बग्छ जसबाट जवाफदेहिता गुम्छ । साथै, नीतिगत निरन्तरता ध्वस्त हुन्छ  र, सबैभन्दा महत्वपूर्ण कुरा, पार्टीले कुनै मूल्य प्रतिनिधित्व गर्दैन । मूल्यविहीन पार्टी भनेको ‘सुई नचल्ने घडी’ जस्तै सुन्दर तर निष्प्रयोजन हुन्छ ।

नेपालमा दर्शन-आधारित पार्टी सम्भव छैन ?

नेपालमा दर्शन बुझ्ने, व्याख्या गर्ने र त्यसलाई कार्यनीति बनाउने नेताहरू कम छन् तर यसको अर्थ दर्शन-आधारित पार्टी सम्भव छैन भन्ने होइन । समस्या यो हो कि दर्शनलाई ‘पुरानो किताब’ वा थोरै लेखाइको कुरा मात्रै ठान्ने प्रवृत्ति हावी छ । वास्तवमा, दर्शन भनेको ‘नयाँ भविष्य’ सिर्जना गर्ने आधार हो र त्यसका लागि नयाँ पुस्ता आवश्यक छ- जसले दर्शनलाई जीवन्त बनाइ, नीतिमा रूपान्तरण गर्न सक्छ ।

धेरैले दर्शन-आधारित राजनीति भन्नेबित्तिकै चिनियाँ साम्यवाद, विश्वव्यापी पूँजीवाद वा पश्चिमी उदारवादका जटिल शब्द सम्झन्छन् तर नेपालको सन्दर्भमा दर्शनको अर्थ फरक छ । यो भनेको:

  • सामाजिक संरचना र जातीय विविधता बुझ्नु,
  • वर्गीय भिन्नता र क्षेत्रीय असन्तुलनको अवलोकन गर्नु,
  • आर्थिक असमानता र भूगोलको प्रभावलाई ध्यानमा राख्नु,
  • परम्परा र आधुनिकताको समायोजन गर्नु,
  • समावेशीकरण र न्यायको आधारभूत समझ राख्नु । 

वास्तवमा, नेपालमा दर्शनबिनाको राजनीति हावी भएकै कारण विकास नीति ‘जनताको गुनासो’ अनुसार बदलिन्छ, वैदेशिक नीति ‘ट्रेंडिङ ह्यासट्याग’ अनुसार निर्धारण हुन्छ र सामाजिक नीति ‘भावनात्मक भाषण’ अनुसार तयार पारिन्छ । साथै, सरकार प्रायः ‘कुर्सी जोगाउने’ ध्याउन्नमा चल्दछ । यस्तो अवस्था, दीर्घकालीन रूपमा कुनै पनि राष्ट्रका लागि स्वस्थकर हुँदैन ।

यदि नेपालमा दर्शन-आधारित पार्टी निर्माण गर्न सकिन्छ भने, यसले केवल सत्ता जित्ने रणनीति नभई राष्ट्र निर्माणको स्थायी नक्सा तयार गर्नेछ । यस्तो पार्टीले नीति, सामाजिक न्याय र विकासका निर्णयहरू दीर्घकालीन दृष्टिकोण र बौद्धिक आधारमा लिने सम्भावना राख्छ ।

‘नयाँ पुस्ताले’ के सिक्नुपर्ने थियो ?

सन्तोष परियारले भनेझैँ जेन्जीले राजनीतिक दलको धड्कन ‘दर्शन’ हो भन्ने बुझ्न आवश्यक छ । दर्शन बिना पार्टी ‘फ्यान क्लब’ को रूपमा स्थापित हुन्छ । ‘फ्यान क्लब’ बिना ताली बज्छ जसले परिवर्तनको घण्टी बजाउन सक्दैन ।

हामीले बुझ्न आवश्यक छ:

१. सिद्धान्त के हो, किन आवश्यक छ ?

सिद्धान्तले पार्टीलाई मार्गदर्शन गर्छ । यस्तो बाटो जसले भविष्यमा कसैलाई मन नपरेर होइन, कसैले सिद्धान्त नटेरेर पार्टी-निर्णय हुने व्यवस्था बनाउँछ । यसले पार्टीको  स्वच्छता, स्पष्टता र दिगोपनाको संरक्षण गर्दछ ।

२. भावनाबाट होइन, बोधबाट राजनीति गर्नुपर्दछ

भावना छिटो बग्छ तर इतिहास बग्दैन, बन्छ । नेपाल राजनीतिक भावनाका कारण हरेक दशकमा उस्तै संकटमा फस्छ । हामीले ‘ट्रेन्डिङ नेता’ होइन ‘विश्वसनीय नीति’ रोज्नुपर्ने हो तर पटक पटक नयाँ अनुहार बन्छ, मर्छ र बदलिन्छ । ठिक विपरीत, नीति भने स्थायी हुन्छ । जेन्जीले अनुहारभन्दा नीति हेर्न सके नयाँ नेपाल बन्छ । होइन भने, देश पुनः अर्को भड्खारोमा पर्ने निश्चित छ ।

३. लोकप्रियताभन्दा क्षमता ठूलो हो

चर्को आवाजमा बोल्ने सबै नेता हुँदैनन् । सबै ‘नयाँ’ असल हुँदैनन् । सबै ‘पुराना’ खराब हुँदैनन् । राजनीति ‘कोड स्विचिङ’ होइन; दीर्घ अध्ययन र अनुभवको विषय हो ।

किन नेपालमा विचारधारा “कमजोर” बन्यो ?

१. कमजोर शिक्षा-व्यवस्था

विज्ञान, राजनीति, दर्शन, इतिहास र सामाजिक अध्ययनको आधुनिक शिक्षा नेपालमा कमजोर छ । दर्शन नबुझेपछि राजनीतिक नेतृत्व ‘कसम खाइदिने’ बाँसुरी बजाउने कलामा सीमित हुन्छ ।

२. तत्कालीन अस्थिरताबाट पीडित मनोविज्ञान

१२ वर्षे जनयुद्ध, १० वर्षे संक्रमण र निरन्तर सरकार परिवर्तनले जनतालाई ‘शान्ति’, ‘छुटकारा’ तथा ‘दल-परिवर्तन’ जस्ता तत्काल राहतको राजनीतितिर लग्यो । फलस्वरूप, विचारभन्दा क्षणिक राहत ठूलो बन्यो ।

३. पार्टी आन्तरिक लोकतन्त्र कमजोर

दर्शनविहीन नेताले दर्शनविहीन पार्टी बनाउँछ । ठोस राजनीतिक चेत र दर्शनको जग बिना नेतृत्व-केन्द्रित राजनीतिले पार्टीलाई ‘अनुहारको कैद’ बनाउँछ जहाँ विचार शूली चढ्छ र ‘भगवानवाद’ को जन्म हुन्छ ।

अब नेपालको राजनीति कहाँ मोडिनुपर्ने हो ?

नेपाल बिस्तारै संक्रमणयुक्त हुँदैछ । अहिले अर्थतन्त्र गहिरो संकटमा परेको छ । सामाजिक ध्रुवीकरण दिन प्रतिदिन बढ्दो छ । वैदेशिक निर्भरता आकासिँदै छ जुन अत्यन्तै चिन्ताजनक र सर्वत्र चासोको विषय हो । यस्तो बेला दर्शन-आधारित, नीति-आधारित तथा तथ्य-आधारित राजनीतिक पुनर्जागरण अत्यावश्यक छ ।

अब हामीले:

पार्टी-बनाउने होइन, पार्टी-सुदृढ गर्ने समय आएको छ । नयाँ पार्टी बनाउँदैमा देश सुध्रिने भन्ने हुँदैन । देश सुधार्न पार्टीलाई व्यक्ति केन्द्रित होइन विचारपूर्ण बनाउन आवश्यक छ ।

पोलिसी–मेकिंगलाई ‘विशेषज्ञता’मा जोडिनुपर्छ । देश बनाउन प्रगतिशील नेता मात्र पर्याप्त छैनन् । नीति बनाउन अर्थशास्त्री, समाजशास्त्री, शिक्षाविद्, विज्ञ सबै क्षेत्रमा सक्षम जनशक्ति उत्तिकै आवश्यक छन् ।

युवा पुस्तालाई ‘राजनीतिक शिक्षा’ आवश्यक छ । जेन्जीको हालको ऊर्जाले गाह्रो समयमा देशलाई उठाउन सक्छ तर बिना दिशाको ऊर्जा केवल विस्फोट मात्र हो जसले विनाश निम्याउने निश्चित हुन्छ ।

भविष्यमा दीर्घदृष्टि नहुने पार्टीलाई सत्ता नदिने मतदाता संस्कृतिको विकास गर्नुपर्दछ । जनता विवेक प्रयोग गर्न थाले भने, दर्शनविहीन पार्टी टिक्दैन ।

निष्कर्ष : नेताका अनुहार होइन, राष्ट्रको सोच बदल्नुपर्छ

नेपाली राजनीति अझै आइतबार जन्मिएर सोमबार बिर्सिने संस्कारबाट मुक्त हुन सकेको छैन । आज च्याउझैँ उम्रने दल, भोलि चुहिने नेतृत्व र आजै थाकिसकेको पुस्ताले राष्ट्र निर्माण होइन, इतिहास दोहोर्याउने काम मात्र गर्छ । देश बनाउने हो भने- नारा होइन दर्शन, अनुहार होइन नीति र भीड होइन चेतनासहितको पुस्ता चाहिन्छ ।

यद्यपि, आजको मूल प्रश्न- के हामी थोत्रा व्यवस्थामाथि टिप्पणी गर्दै चुपचाप बस्ने कि, त्यही अस्थिरताको गर्भमै स्थायित्वको बीउ रोप्ने साहस गर्ने ? के हामी भावनात्मक प्रतिक्रियाको राजनीतिबाट उठेर दीर्घकालीन सोच, वैचारिक स्पष्टता र सैद्धान्तिक इमानदारीमा आधारित नयाँ परम्परा निर्माण गर्न तयार छौँ ? यदि होइन भने, नेपाल फेरि केवल नक्साको नाम  रहनेछ- इतिहासको गल्तीभित्र हराएको एउटा राष्ट्र ।

राजनीति कुर्सीको खेल होइन- यो देशको भाग्य लेख्ने लेखनी हो । त्यो लेखनी दिशाविहीन हातमा रहिरहे मुलुक कहिल्यै आफ्नो गन्तव्यमा पुग्दैन । दर्शनविहीन दल र दृष्टिहीन नेतृत्वबाट उज्यालो भविष्य अपेक्षा गर्नु, अन्धकारसँग सूर्योदय माग्नु बराबर हो ।

हामीले बुझ्नै पर्छ- राष्ट्र बदल्न नेताको नाम बदल्ने होइन, सोच बदल्नुपर्छ । विचार फेरिएपछि मात्र दिशा फेरिन्छ । जबसम्म दलहरूले आफ्ना मूल मूल्य र दर्शन सम्झँदैनन्, तबसम्म राष्ट्र मात्र होइन, नागरिक पनि आफ्नै भविष्यको खोजीमा भौँतारिरहनेछन् ।

अन्ततः प्रश्न फेरि यहीँ आएर ठोक्किन्छ- हामी नेताका अनुहार नियालिरहने जनता बन्नेछौँ, कि आफ्नै विवेक, चेतना र प्रतिबद्धताले निर्देशित नयाँ राष्ट्र निर्माणका सहयात्री हुनेछौँ ?