नेपालमा हरेक दशकले एउटा नयाँ मुक्ति खोज्छ । कहिले आन्दोलनको रूप लिन्छ भने कहिले एउटा अमुक नेताको अनुहारमा विश्वास गर्छ । यद्यपि, हरेकपटक उही पुरानो निराशाले फेरि नागरिकको आत्मालाई नराम्ररी थिच्छ । यही चक्रबीच, केही वर्षअघि रवि लामिछाने नामक टेलिभिजनकर्मीले जनताको चेतनामा प्रवेश गरे, एक यस्तो आवाजका रूपमा जसले “अब डर मान्ने समय सकियो” भनेर उद्घोष गर्यो । क्यामेराको अगाडि उनी निष्पक्षताको नाममा भ्रष्टाचार तथा नागरिक शोषणविरुद्ध बाघझैँ गर्जन्थे । उनको निडर व्यक्तित्वका कारण जनताले उनलाई केवल पत्रकार हैन, न्यायको प्रतिनिधि ठाने ।

रवि लामिछानेको यात्रा मिडियाबाट शुरु भएर राजनीतिसम्म पुगेको कथा हो । यो कथा कुनै सामान्य पेशा परिवर्तनको मात्र नभएर जनताको आक्रोश र असन्तुष्टिले जन्माएको यथार्थ हो । दशकौंदेखि सत्ताको बुटमुनि दबिएको नागरिकले जब पहिलोपटक सोही सत्ताको विपक्षमा कसैलाई नडराई बोलेको देख्यो, उसले उनलाई “आशाको पात्र” बनायो । बिडम्बना भन्नुपर्छ, उनीमाथिका विवादले आज जनता प्रश्न गर्दैछन्, त्यो आशा जसले जनताको हातबाट उनलाई सत्तासम्म पुर्‍यायो, के अहिले पनि जीवित छ ?

जनताको आकांक्षा र रविको उदय

नेपालका राजनीतिक संस्थाहरूमाथि विश्वास गर्न कठीन थियो । पुराना दलहरू देशलाई व्यवस्थापन गर्नेभन्दा “व्यवस्था खाइदिने माध्यम” बनिसकेका थिए । त्यही समयमा रविको टेलिभिजन शैली, सीधा बोल्ने स्वभाव र नागरिकको आवाजलाई मञ्च प्रदान गर्ने ढङ्गले उनको चिनारी अलग भयो ।

“जनताको मुद्धा म बोल्छु” भन्ने रविको साहस त्यतिबेला निराश युवामा एउटा भावनात्मक जागरण भयो । जसरी सिंगापुरमा “ली कुआन यु” परिवर्तनको प्रतीक बनेका थिए, रवि पनि नेपालमा “सिस्टमलाई हल्लाउने मान्छे”का रूपमा उदाए । यद्यपि, अन्तर के थियो भने रविसँग न त ठोस राजनीतिक योजना थियो न त संस्थागत ढाँचा । उनले विद्रोहको भावनालाई भाषामा अनुवाद गरे तापनि त्यसलाई दीर्घकालीन दर्शनमा बदल्न सकेनन् ।

सत्ता प्रवेश र यथार्थको धक्का

जब उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरे र सत्तामा प्रवेश गरे, जनतालाई पहिलोपटक लागेको थियो, “अब पुराना दलहरूको अन्त्य हुनेवाला छ ।” खैर, सत्ताभित्र पुगेपछि रविले बुझ्न थाले, भित्रको खेल मिडियाभन्दा फरक छ । उनले बुझे, न्यायालय, कर्मचारीतन्त्र, पुरानो नेतृत्ववर्ग अनि प्रशासनको जटिल सञ्जाल कुनै न कुनै सत्ताको स्वार्थले बाँधिएको छ ।

रविमा नागरिकता विवाददेखि लिएर पत्रकार आचारसंहिताको उल्लङ्घनसम्मका मुद्दा उछालिए । केहीले उनलाई “आकस्मिक नायक” भने, केहीले “नयाँ अवसरवादी” भनेर आरोप लगाए । उनले आफूलाई जनताको पक्षमा उभ्याए पनि, हरेक विवादले उनको विश्वासनीयतामा धब्बा लाग्न थाल्यो ।

मुद्दाहरू र तिनले खोलिदिएको सत्य

रविसँग जोडिएका कानूनी मुद्दाहरू, नेपालको राजनीति र कानूनी प्रणाली कसरी एकअर्काको हितमा गाँसिएको छ भन्ने तथ्यको ऐना बने । नागरिकता विवाद, सहकारी घोटाला, व्यक्तिगत आरोप लगायतका घटनाक्रमले हामीलाई सोच्न बाध्य बनायो कि रविले ठीकठाकसँग काम गरिरहेका छैनन् ।

साथै, हाम्रो प्रशासनिक संरचना पनि सही दिशामा नरहेको पुष्टि हुन्छ । त्यसैगरी, रवि स्वतन्त्र नेता भए पनि, उनको शैलीले कहिलेकाहीँ “नायक केन्द्रित” राजनीतिलाई बढावा दिएको आरोप लाग्यो । उनले आफ्नो पार्टीमा आफ्नो व्यक्तित्वलाई संस्थाभन्दा अगाडि राखे जुन नेपालको राजनीतिक संस्कृतिमा नयाँ होइन । तथापि निराशाजनक पक्ष भने हो ।

यो पनि सत्य हो कि उनका मुद्दाहरूले पुरानो सत्ता र न्यायिक प्रणालीको दोहोरो मापदण्ड उजागर गरे । जब ठूला भ्रष्टाचारका मुद्दा लुकाइन्छन् र एउटा लोकप्रिय व्यक्ति सजिलै निशाना बन्छ, तब प्रश्न उठ्छ, यो देश अझै पनि व्यक्ति होइन शक्ति सन्तुलनकै नियन्त्रणमा त छैन ?

पुरानो सोच र नयाँ पुस्ताको द्वन्द्व

“जेनेरेसन जेड” पुस्ता न त पुराना घोषणामा विश्वास गर्छ, न “गद्दीमा बस्ने परम्परा”मा नै । उनीहरू डिजिटल छन्, विश्वसामु खुलेका छन्, अनि नेताभन्दा “सिस्टम चेन्ज”का समर्थक छन् । रविको लोकप्रियता यही पुस्ताको हृदयमा शुरु भएको थियो । तर अहिले यही पुस्ता उनीप्रति प्रश्न गर्दैछ, “के तपाईं पनि पुरानाहरूसँगै गइसक्नुभयो ?”

सत्तामा पुगेपछि रविको पार्टी पनि अन्य दलझैँ आन्तरिक द्वन्द्व, स्वार्थ तथा प्रचारमा अल्झियो । पार्टीका सांसदहरू बीचको विवाद, निर्णय प्रक्रियाको पारदर्शिताको अभाव र एकपछि अर्को “पावर गेम”ले उनलाई पनि पुरानो राजनैतिक शैलीको कैदी बनाइदियो ।

प्रवासी नेपालीको दृष्टि: टाढा भएर नजिकको पीडा

प्रवासी नेपालीका लागि रवि लामिछानेको नाम एउटा भावनात्मक प्रतीक थियो । दुबई, मलेसिया, कतार, कोरिया र अमेरिकासम्म फैलिएका लाखौं नेपालीले उनलाई “देशभित्र बोल्न सक्ने हाम्रा प्रतिनिधि”का रूपमा हेरे । विदेशमा पसिना बगाउने नेपाली जब रातको सुत्नेबेला नेपालका समाचार हेर्छ, ऊ देशमा परिवर्तन खोज्छ, त्यो परिवर्तन रविको भाषामा भेटिएको थियो ।

दुर्भाग्य भन्नुपर्छ, आज प्रवासी समुदाय पनि द्विविधामा छन् । उनीहरू भन्छन्, “रवि हाम्रो मनको आवाज थिए तथापि अब त्यो आवाज पनि सत्ता मोहमा हराएको छ ।” जेन जेड्को आन्दोलनका क्रममा ‘किर्ते कागज’ बनाएर कारागारबाट निस्किएको घटनाले पनि हाल युएईमा नेपालीका लागि भिजिट भिसा तथा कामदार भिसा बन्द हुनमा दुरुत्साहन गरेको आंशका गरिएको छ । टाढा भए पनि प्रवासी नेपाली देशको धड्कनसँग जोडिएका छन् । उनीहरूमा देश फर्किनुभन्दा अघि “देश सुध्रियोस्” भन्ने चाहना बलियो हुन्छ । यही चाहनाले उनीहरू रविको आरम्भिक रूप सम्झन्छन् जुन आवाजले “अब हामी डराउने छैनौं” भनेको थियो । यद्यपि ,आज उनीहरूको दु:खको कारण अप्रत्यक्षरूपमा रवि पनि बनिरहेका देखिन्छन्  । जसले उनीहरूमा झन् निराशा थपिएको छ ।

सिंहदरबार र परिवर्तनको अपूर्ण कथा

नेपालमा सत्ताको प्रतीक भनेको “सिंहदरबार” थियो । जब सिंहदरबार जलाइयो तब प्रश्न उठ्यो, “त्यो भवन जलिरहेको थियो कि केवल जनताको विश्वास ?” जेन जेडको विद्रोह जसरी युरोप र अमेरिका लगायत दक्षिण एसियामा यस्ता व्यवस्था परिवर्तनको माग गर्दै सडकमा निस्किएको थियो, नेपालका युवा पनि त्यही बेचैनी लिएर निस्किए र आगो झोसे । उनीहरू ठान्दछन्, “सिंहदरबार जलाइएको भौतिक आगोले होइन, जनता भित्रको निराशाले हो ।” रविले शुरुमा त्यही आगो बोकेका थिए अन्याय, बेरोजगारी, सत्ता दम्भविरुद्ध तर जब उनी स्वयम् सिंहदरबार भित्र छिरे, सत्ता अनि कुर्सीको मोहजालमा परेर कुनै स्पष्ट नतिजा ल्याउन सकेनन् । फगत आफ्नै लापरबाही र कर्तुतहरूको शिकार बनेँ ।

भविष्यको संकेत: नायक होइन, संरचना चाहिन्छ

रविको सुन्दर आरम्भ, ठूलो जन-आकांक्षा, अनि ठूला कानूनी जञ्जाल; यो सबैले देखाएको छ कि वास्तविक परिवर्तन व्यक्ति-केन्द्रित हैन, संरचनागत सुधारमा निर्भर हुन्छ। उनले शुरुमा ‘माइक उठाउने’ काम राम्रोसँग गरे तर त्यसलाई ‘नीति बनाउने’ काममा रूपान्तरण गर्न सकेनन् । देशले राजनीतिमा नयाँ नायक मात्र खोज्दैन । देशले चाहन्छ; नयाँ संरचना, पारदर्शी प्रक्रिया, समान न्याय र दीर्घकालीन चौतर्फी विकास ।

रवि अदालतबाट सफाइ पाएर बाहिर आए भने मात्र उनी सफल हुने होइन । हिरासतबाट उनको  बहिर्गमन यो राजनैतिक प्रणाली सुधारतिरको शुरुवातको संकेत कदापि होइन । किनभने, उनी फेरि पुरानो ढाँचामा फर्किने सम्भावना अधिक छ । जेन जेड विद्रोहको बेला रविको नख्खु कारागार कान्ड जनताले बिर्सिएका छैनन् । देश सुधार्छु भन्नेले पहिला आफूमा विश्वसनीयता तथा आमूल सूधार ल्याउन आवश्यक छ ।

निष्कर्ष: अधूरो विद्रोह

रवि लामिछानेको कथाले हामीलाई सिकाउँछ- जनताको विश्वासले व्यक्ति त उठाउँछ तर व्यक्तिले मात्र सबै परिवर्तन गरिदिन सक्दैन । कारागारभित्रको उनका सयौँ दिन, अदालतका सुनुवाइहरू र सडकमा उठेको विद्रोह तथा बाहिर आएका उनका कर्तुतहरू यी सबै नेपालमा उस्तै संरचनागत प्रश्नहरूको प्रतिबिम्ब हुन् ।

रवि व्यक्ति हुन् कि प्रतीक ?

यो निर्णय अदालतले होइन जनताले गर्नेछन् । नेपालका नागरिकका लागि अहिले नायक होइन, व्यवस्था परिवर्तनको प्रक्रिया चाहिँ मुख्य हो । रवि जेलमा छन् तर उनको विचार अझै बाँकी छ । उनी दोषी हुन् या निर्दोष, यो निर्णय न्यायालयले गर्नेछ । यद्यपि, यो देशमा एउटा नयाँ आवाज उठिरहेको छ, जेन जेड; ठूला अभिजात्तीय निजामती र राजनीतिक संरचनाहरूलाई चुनौती दिने आवाज । के त्यो आवाजको शक्तिलाई रविले सामना गर्न सक्लान् त ?

नेपालले अब निर्णय लिनुपर्छ; हामी फेरि एक नायक प्रतीक्षा गर्नेछौं या सम्पूर्ण संरचना बदल्ने तयारी गर्नेछौं  ?