अर्थतन्त्र र कविता
कुरा सन् २०१६ को हो । ११ मेको द गार्जियनको अनलाइन संस्करणमा एउटा समाचारले प्राथमिकता पायो । त्यो कुनै सनसनी खोज आपराधिक, राजनैतिक, यौन वा यस्तै चलनचल्तीको ब्रेकिङ्ग न्युज थिएन । त्यो समाचार थियो कवि र कविता वाचनको । शीर्षक थियो, “अस्टेरिटीको युगमा काव्यलाई क्रान्तिकरण गरिरहेका ग्रीक लेखकहरूलाई भेटौं” । द गार्जियनका अनुसार ग्रीसका सडक, बार र क्याफेहरूमा नयाँ किसिमका कविताहरूले स्थान पाइरहेका छन् ।
सन् १९७० को दशकमा ग्रीसमा सैनिक शासन थियो । १९६७ देखि १९७४ सम्मको सैनिक शासनलाई जुन्ता र ”कर्नेलहरूको शासन“ भनिन्थ्यो । त्यो तानाशाही सरकारको विरुद्धमा पनि प्रशस्त कविताहरू लेखिएका र कविहरूले आन्दोलन गरेका थिए । अहिले पनि त्यसरी नै कविहरू आन्दोलित छन् । पत्रिकामा, अनलाइन समाचारहरूमा, प्रेसमा, वेबसाइटमा मात्र होइन ग्राफीटी भित्ताहरूमा, चलचित्रमा, चित्रकलामा, सङ्गीतमा बेतोडले यस किसिमका कविताहरू छाइरहेका छन् ।
पूर्वअर्थमन्त्री यानिसका भनाइमा, “अस्टेरिटीका नाममा बेराजगारी बढेको र नव नाजीवादले टाउको उठाएको योबेलामा ग्रीसमा भइरहेको यो कविता आन्दोलनले सांस्कृतिक नवजागरण ल्याएको छ । ग्रीसको सङ्कट ग्रीसको आफ्नो मात्र सरोकारको विषय नभएर विश्वकै लागि अर्थपूर्ण रहेको छ । अस्टेरिटीबाट प्रभावित मुलुकको अर्थतन्त्र चकनाचूर भएको बेला यो कविता आन्दोलनले चाँदीको घेराको काम गरेको छ ।
ग्रीसमा कवितामार्फत् अस्टेरिटीका विरुद्ध आन्दोलन भइरहेको छ । ती आन्दोलनमा सहभागी कविहरूको कविताको सङ्कलन र अङ्ग्रेजीमा अनुवाद गरेकी छिन् अमेरिकामै बसेर ग्रीसको साहित्यको सेवा गरिरहेकी लेखिका क्यारेन भ्यान डीक । कोलम्विया विश्वविद्यालयका साहित्यका प्रोफेसर क्यारेन भ्यान डीक (KAREN VAN DYCK) ले आफ्नो सम्पादनमा तयार गर्नुभएको Austerity measures : The new Greek poetry नामक कवितासङ्ग्रह पेन्गुइन बुक्सले प्रकाशित गरेको छ । ग्रीक आधुनिक साहित्यका ज्ञाता क्यारेनका अनुसार, “यो कविता आन्दोलन एकै खालको छैन । ग्रीक काव्यका बारेमा थाहा नभएका, एकअर्काको सम्पर्क र परिचय नभएका, ठूला सहरमा रहेका सडकको पेटीदेखि गाउँको साना चौरसम्म, सबै उमेरका, सबै संस्कृतिका, नयाँ र पुराना पुस्ताका, पुराना र नयाँ सङ्गीतमा, नयाँ घटना र पुराना किंवदन्तीका बिम्ब लिएर भिन्न मानिसहरू भिन्न ठाउँमा एकै खाले उदेश्यका लागि कविता लेखिरहेका छन् ।”
एथेन्सको भोक, बेरोजगार, कटौतीमा परेको पेन्सन, बिग्रँदै गरेको व्यवसाय अनि विद्युत र पानीको अभावले यतिखेर ग्रीस युद्धकालीन समयको स्मरण गरिरहेको छ । २७ प्रतिशतभन्दा बढी ग्रीकहरू बेरोजगार छन् । प्राविधिक र शैक्षिक रूपमा सीपयुक्त ५५ प्रतिशत युवाहरू रोजगारको खोजीमा बाहिरिएका छन् । सन १९१४ मा ४० प्रतिशत गरिबीमा बाँचेका बालबालिकाहरू अहिले ५० प्रतिशत पुगेका छन् । सरकारको कहिल्यै पूरा नहुने बाचा र भ्रष्टाचार बढेको छ । मिडियामा हत्या र डकैतीको समाचार र सुरक्षा सामग्रीको विज्ञापनले बराबर स्थान पाइरहेको छ ।
यो सङ्कटपूर्ण समयमा ग्रीसका जनतालाई साथ दिएको छ कविताले, कविता आन्दोलनले ।
युरोपियन युनियन र अस्टेरिटी
सन १९५१ ताका युरोपलगायत संसारमै औद्योगिक विकासको आधार भनेको कोइला र फलाम थियो । त्यतिबेला युरोपमा भएका फलाम र कोइलाको व्यापारलाई सहजीकरण गर्न बनाइएको युरोपेली कोइला र फलाम समुदाय (Europian coal and Steel Community) नै सन् १९९२ मा आइपुग्दासम्म युरोपियन युनियन बन्न पुगेको हो ।
युरोपका १२ देशहरूले ७ फेब्रुअरी १९९२ का दिन नेदरल्याण्डको मास्ट्रिच (Maastrich) सहरमा गरेको सम्झौतापछि युरोपेली मुलुकहरूको संगठन बन्दा युरोपेली जनता कति खुसी भए होलान, कति आशावादी थिए होलान् यो मुलुकमा बसेर के भन्न सकिन्छ र ?
त्यही मास्ट्रिच सम्झौतानुसार नै सन् १९९९ सम्ममा युरोपमा एकल मुद्रा युरो लागु गर्ने, युरोपियन युनियनका सदस्य मुलुकहरूले आआफ्नो मुलुकको बजेट घाटा कूल ग्राहस्थ उत्पादनभन्दा ३ प्रतिशतभन्दा कम वा मुलुकको ऋण कुल गाहस्र्थ उत्पादनको ६० प्रतिशतभन्दा कममा सन्तुलित राख्नुपर्ने भयो । त्यसका लागि साझा रुपमा सबै युरोपेली मुलुकहरूमा आर्थिक र मौद्रिक अवस्थाको अनुगमन गर्नेपर्ने भयो ।
सो सम्झौताभन्दा अघि युरोपेली मुलुकहरूको आआफ्नो अर्थतन्त्र स्वतन्त्र रुपमा चलिरहेको थियो । एकल मुद्रा नभएसम्म एक मुलुकलाई अर्को मुलुकको आर्थिक निर्णयसँग त्यति चासो पनि थिएन । तर सबै सम्बन्धित मुलुकहरूको एकल मुद्राले गर्दा त्यसले बोक्ने मूल्यमा एकरुपता ल्याउन एक निश्चित आर्थिक अनुशासन र अनुगमनको जरुरी भयो । सबैजसो मुलुकका केही न केही आर्थिक समस्या त थिए नै र पनि जनसाधारणले सुरक्षाप्रति जिम्मेवार पनि हुनुपर्ने हुनाले आर्थिक घाटाले स्पष्ट प्राथमिकता पाएको थिएन । तर अब सबै युरोपेली मुलुकका सरकारहरूका प्राथमिकतामा परिवर्तन आउन थाल्यो र सम्झौता अनुसार बजेट घाटा कसरी कम गर्ने भन्ने कुरा नै मूल चिन्ताको बिषय बन्यो । बजेट घाटालाई पूर्ति गर्न युरोपियन युनियनका सदस्य राष्ट्रहरूले लागु गरेको आर्थिक र मौद्रिक नीतिलाई नै अस्टेरिटी मिजर्स भनिएको हो ।
बजेट घाटा पूर्ति गर्ने उपायहरू लागु गरिँदा कुन वर्गका मानिसहरूको हितमा भयो, र समग्रमा देश र जनताको हितमा भन्दा निश्चित व्यक्ति, समूह, कम्पनीको हितमा भयो भन्ने सवालले अस्टेरिटी मिजर्सका पक्ष र विपक्षमा मत सिर्जना भएको हो ।
कसरी भयो अस्टेरिटी मिजर्स
अस्टेरिटी मिजर्सका लागि अन्तरराष्ट्रिय मुद्रा कोषले अर्थतन्त्रमा सुधार ल्याउने सर्तसहित ऋण उपलब्ध गराउने भयो । बिभिन्न मुलुकहरूले आआफ्नै तरिकाले अस्टेरिटी मिजर्सका उपाय निकाले ।
उदाहरणको लागि
– सन २००९ मा अष्ट्रियाको कूल गाहस्र्थ उत्पादनको अनुपातमा रहेको बजेट घाटा ३.५ प्रतिशतबाट सन् २०११ सम्ममा ३ प्रतिशतमा झार्ने लक्ष राखियो । त्यसका लागि गरिने मौद्रिक र आर्थिक नीतिमा कर वृद्धिबाट १.१७ खर्ब ९ बैंकिङ कारोबार करबाट मात्र ५० अर्ब, सुर्ती, पेट्रोल र हवाईजहाज उडान करबाट ६६.७ अर्ब र खर्च कटौतिबाट १.६ खर्ब घाटा पूर्ति गर्ने निर्णय गर्यो ।
– चेक रिपब्लिकले तलबमा ४३ प्रतिशत कटौतीसहित राज्यले गर्ने खर्चमा ठूलो कटौती गर्ने निर्णय गर्यो ।
– डेनमार्कले बेरोजगार भत्ता घटाउने, २०००० जनाको रोजगार कटौती गर्ने, बच्चाले पाउने सहुलियत र विश्वविद्यालयको खर्च कटौती गरी घाटा पूर्ति गर्ने निर्णय गर्यो ।
– बेलायतले सन् २०१५ सम्ममा ८३ खर्ब युरो खर्च घटाउने, सरकारी विभागमा १९.५ प्रतिशत, आउँदो ४ वर्षमा ४९०००० सार्वजनिक सेवाको रोजगार कटौती गर्ने, विश्वविद्यालय घटाउने, बेरोजगार भत्ता ९५.५ बाट ७०.५ मा ल्याउने, ७०००० युरो भन्दा बढी आय भएकालाई बाल सहुलियत नदिने, रक्षाको बजेट ८.५ प्रतिशतले कटौती गर्ने, प्रहरी खर्च ४ प्रतिशतले कटौती गर्ने र भ्याट १७.५ प्रतिशतबाट २० प्रतिशत गर्ने निर्णय गर्यो ।
सबैभन्दा प्रभावित सर्वसाधारण
यतिखेर यसरी नागरिक सुविधालाई कटौती गरेर भए पनि बजेट घाटा पूर्ति गर्ने कि धनाड्य व्यक्ति र कर्पोरेट क्षेत्रबाट राजस्व सङ्कलन गरेर भन्ने मतमा युरोपेली मुलुकहरूले मिश्रित नीति अपनाएको देखियो । यसले अति धनीहरूलाई अझै फाइदा भयो । किनभने त्यो वर्गलाइ अस्टेरिटी मिजर्सले छुनै सकेन । कर्पोरेट सेक्टरलाई केही कर बढाइएको देखियो, जुन कर उनीहरूले अन्ततः उपभोक्ताबाटै असुल गर्ने हुन् ।
तर गरिब र निम्न कामदार वर्गका जनसाधारणलाई भने तुरन्तै प्रत्यक्ष नकारात्मक प्रभाव पर्यो । अस्टेरिटी मिजर्सका नाममा लागु गरिएका आर्थिक नीतिहरूले जनताको जीवनमा प्रत्यक्ष र तत्काल प्रभाव पर्ने जस्तैः सार्वजनिक सेवाको रोजगार, बाल सहुलियत, जनस्वास्थ्य सेवा, शिक्षा र विश्वविद्यालय अनुदान, बेरोजगार भत्ता, सार्वजनिक यातायात, खाई पाई आएको तलब तथा बोनसको कटौतीलाई प्रमुख आधार बनाएर बजेट घाटा पूर्ति गर्ने कार्यले युरोपियन देशका जनतालाई दैनिकी चलाउन नै कठिन बनायो । जनतालाई गरिब मात्रै होइन, माग्ने बनायो । बजेट घाटा पूर्ति गर्ने अरू बैकल्पिक उपायहरू नभएका होइनन् र केही हदसम्म लागु नभएका पनि होइनन् । जस्तैः रक्षा र प्रहरी खर्चमा कटौती, मन्त्रालयको प्रशासनिक खर्च र मन्त्रीको तलबमा कटौती, कर्पोरेट करमा वृद्धि, सुर्र्तीजन्य र मदिरामा कर वृद्धि, हवाईजहाज उडानमा कर वृद्धि, अति आय भएका व्यक्ति र कम्पनीमा कर वृद्धि आदी । तर युरोपेली मुलुकहरूको निर्णायक ठाउँमा रक्षा, प्रहरी, कर्पोरेट क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव हुनेहुनाले सरकारलाई निर्णय गर्नु सजिलो छैन र यसरी सर्वसाधारण नागरिकको आय र सुविधा नै कटौती हुने भएपछि अस्टेरिटी मिजर्सका विरुद्ध ठूला ठूला आन्दोलनहरू भए ।
युरोपेली युनियन, अस्टेरिटी मिजर्स र स्वाधीन अर्थतन्त्र
युरोपियन युनियन भइसकेपछि अर्थतन्त्र स्वाधीन हुन सकेन । अरू युरोपेली मुलुकहरूसँग समायोजन गर्नुपर्ने बाध्यता रह्यो । बजेट समायोजनका दिर्घकालीन र स्वाधीन नीतिगत निर्णयको सट्टा तत्काल अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिएर सङ्कट टार्ने निर्णय भयो । युरोपेली मुलुकहरूमा भएको नागरिक अधिकार र सामाजिक सुविधा अस्टेरिटी मिजर्सको तारो हुन गयो । फलस्वरुप अस्टेरिटी मिजर्सबाट तत्काल गरिब र कामदार जनता प्रभावित भए । जनसाधारणले सुन्नै चाहेनन् ।
अस्टेरिटी मिजर्स उनीहरूका लागि आयातित र सबै खाले रोगलाई एकै ओखती सिफारिस गरे जस्तै भयो र आफ्नो मुलुकको भौगोलिक, सामाजिक, सांस्कृतिक स्थिति र परम्परा, क्षमता, तुलनात्मक लाभका बारेमा सूक्ष्मरूपमा अध्ययन गर्नु र बजेट घाटाका बारेमा जनस्तरमा छलफल चलाउनु, आफ्नो मुलुकले उत्पादन गर्न सक्ने सेवा र वस्तुको युरोपियन युनियनबीच आदान प्रदान गरी एकअर्काको अर्थतन्त्र जोगाउनुभन्दा पनि जनहितका लागि लगानी गरिएका र जनताको जीवनयापनमा तत्कालै नकारात्मक असर पर्ने खालको नीति अपनाइएको थियो । त्यसमा पनि अन्तर्राष्ट्रिय मुद्राकोषबाट ऋण लिई तत्कालीक छोटो र लामो अवधिको समस्याको समाधान गर्ने उपायले ऋण र ब्याजको भार अत्यधिक हुनगई आर्थिक सङ्कट अझै बढ्यो । आर्थिक मन्दीका कारण प्रयोग गरिएको अस्टेरिटी मिजर्सले युरोपेली मुलुकहरूमा सुधारको सट्टा अझै आर्थिक सङ्कट बढायो ।
युरोप र अमेरिकाको तुलना गर्दा युरोपलाई हेर्ने दृष्टिकोण सामाजिक थियो । नागरिकलाई जीवनयापन र वृत्तिविकास गर्न दिइआएको सबै खाले हक, अधिकार र सुविधाहरू, जस्तैः महिला बालबालिका, जेष्ठ नागरिकलाई दिइएका विशेष सुविधाहरू, शिक्षा स्वास्थ्यमा दिइएको सहुलियत, विद्यालय र विश्वविद्यालयलाई दिने अनुदान, यातायातमा दिइएको छुट, रोजगारका सुनिश्चितता अधिकांश युरोपेली मुलुकको सुन्दर र सबल पक्ष थियो भने संस्कृति, साहित्य र कलाका लागि गरिएको लगानी पनि प्रशंसनीय थियो । तर अब अस्टेरिटी मिजर्सले युरोपको गौरवशाली इतिहास र मानवीय मूल्यलाई तत्काल ऋण तिर्न प्रयोग नहुने खिया लागेको कुनै वस्तुसँग तुलना गरिरहेछ र यसका विरुद्ध लडिरेहेछन् चार वर्षदेखि, युरोपकै कविताहरू ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।