जिन्दगीकै पहिलो पोर्ट्रेट बनाए, पत्रकार प्रतीक प्रधानले । सामाजिक सञ्जालमा त्यसको क्याप्सन राखे, ‘आफूले सम्मान गर्ने एक उच्च व्यक्तित्वको मुहार बनाउने कोसिस’ । भलै चित्र कसको हो, लेखेनन् । त्यो ठम्याउनै मुस्किल पनि थिएन । सत्याग्रही डा. गोविन्द केसीलाई नचिन्ने को छ ? बिरामीले डाक्टरका रूपमा सजिलै चिन्छन्, विद्यार्थीले प्राध्यापकका रुपमा ।

गाेविन्द केसी

यहाँनेर प्रतीकको पात्र चयन, परिकल्पना र प्रस्तुतिका समीक्षा गर्न खोजिएको होइन, खालि आम मानिसका आस्था र विश्वासका धरोहर डा. केसीको स्केचमा एउटा नायकत्व बोध गरिएको हो । त्यो देख्नासाथ मलाई लाइक, लभ, कमेन्ट, सेयर, रिट्विट सबै एकसाथ गरौँ जस्तो भयो । के यो माया हो ?

सामान्य सही, चित्रमा बल्ल आए, डा. केसी । अंकितबाबु अधिकारीले एउटा गीत बनाएको हेक्का छ । चोकका ‘डमी पुलिस’ बारे लेख्न भ्याउने कविहरुले उनलाई काव्यनायक बनाएर कविता, खण्डकाव्य लेखेको चाहिँ थाहा छैन । निबन्धकारहरुले पनि उनलाई ‘सब्जेक्ट’ बनाएको अनुभव छैन । मसलेदार जीवनी र आत्मकथा त उनी चाहँदैनन् नै । चाहन्छन्, आफ्नो बढाइचढाइ गर्दा कसैको अपमान नहोस् ।

उसो त सबै डाक्टरलाई ‘भगवान्’ मान्दा उनलाई ‘महान्’ भन्दा खेर जाने केही पनि होइन । मलाई यस्तो लाग्यो, लेखनका नाममा निन्दा मात्र कति गर्नु ? अब कोही सुपात्र खोजेर प्रशंसा गरौँ, आफैँलाई बोर नलागुन्जेल ।

साँचो अर्थमा फकिर हुन्, डा. केसी । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सेवावकाशलगत्तै सुदूरपश्चिममा बिरामीको सेवामा अहोरात्र खटिएका उनी कर्णाली पुगेका रहेछन् । सञ्चार माध्यम बोलिरहेका छन्, ‘जुम्लामा डा. केसीलाई बिरामीको उपचार गर्न निषेध’, ‘होटलबाहिर निस्कन निषेध’ आदि इत्यादि । कस्तो विस्मयलाग्दो खबर !

यहाँ नेताले राजनीतिलाई पायकको ‘पेसा’ बनाएका छन्, एउटा डाक्टरले चिकित्सा पेसालाई विशुद्ध ‘सेवा’ बनाएका छन् । नेता र उनीबीचको फरक यत्ति हो । मेडिकल माफियाको खर्चमा मोज गर्न पल्किएका नेता बिचौलिया बनेर आज सेवाभावकै चर्को हुर्मत लिइरहेका छन् । माफियासँग लड्नु पर्नेमा सरकार स्वयं माफियाको घोडामा सवार भएपछि उनी के गरुन् ?

डा. गोविन्द केसी सामान्य मानिस हुन् तर उनको सुकर्म असामान्य छ । उनीसित बम, बारुद, बन्दुक केही छैन । उनीजस्ता निरस्त मानिसको हतियार भनेको त्यही भोक हडताल हो । यस्तो लाग्छ, निरन्तरको सत्याग्रहका कारण उनी आफैँ अजेय शक्तिमा बदलिइसकेका छन् । नत्र सरकारले नै हिँडडुल र बिरामीको निःशुल्क उपचार गर्न किन रोक्थ्यो ?

राजकुमार बानियाँ

यो देशको दुर्दशा के हो भने पार्टी कार्यकर्ताबाहेक अरुको गणनै हुन्न । सबैले विवेकलाई दलको कोठरीमा बन्धकी राखेका छन्, कोही लिलामीमा छन्, कोही बिक्रीमा । विरोध र समर्थनका लागि पनि पार्टी र नेताको निगाह चाहिने हामी कस्तो दासत्वमा छौँ ?

दलीय चेतना यति कलुषित छ, डा. गोविन्द केसीजस्ता साधु, सन्तलाई पनि दुत्कारिरहेका छ । भिजिलान्तेहरुको वक्रदृष्टि कस्तो छ भने उनले कर्णालीमा चपाएको सुख्खा रोटी या रेस्टुरेन्ट अगाडि उभिएको फोटोको समेत ट्रोल बनेका छन् । कतिपयलाई उनको मृत्युको कामना गर्न पनि अप्ठ्यारो लाग्दैन । सादगी, इमानदारी र निष्ठामाथि नै व्यंग्य गरिने भर्चुअल समाज क्रूर हुँदै जाँदो छ ।

हुन त कसैकसैले उनको अन्धाधुन्ध विरोध गरेर मन्त्री पद समेत सुरक्षित गरेका छन् । भाडामा डमी अनशनकारी खडा गरेर दुष्प्रचार गर्न पनि पछि परेका छैनन् । उनीहरुको प्रश्न रेडिमेड हुन्छ, डा. केसी कसका लागि काम गरिरहेका छन् ? तिनलाई थाहै छैन, आफूले टेकेको भुइँ कहाँको हो ?

शिक्षण अस्पतालमा वरिष्ठ हाडजोर्नी विशेषज्ञका रुपमा २७ वर्ष सेवा गरेका डा. केसीले इमेज च्यानलको टक सो ‘हटसिट’ मा जगदीश खरेललाई मार्मिक अन्तर्वार्ता दिएका थिए, २०७६ कात्तिकमा । त्यहाँ विनम्रता छचल्किरहेको थियो, ‘इन्स्टिच्युट (चिकित्साशास्त्र अध्ययन संस्थान) ले मलाई धेरै दियो । मैले केही दिन सकिनँ ।’ उनले कुनै पनि बेला देशमा विपद् आइलाग्छ भनेर औषधि र यात्रा खर्चका लागि बैंक खातामा ‘इमर्जेन्सी फन्ड’ समेत राखेका रहेछन् ।

डा. केसीलाई लगातार चार चोटि एउटै लुगामा भेटेछन् । ढाडनेर खुइलिएको कलेजी रङको ज्याकेट अनि दाहिने पाकेट फाटेको जिन्स प्यान्टमा ।

‘काठमाडौँमा तपाईंको आफ्नै घर छ भनेर’ सोधिँदा उनी निकै बेर भक्कानिएका थिए । उनीसँग कार पनि छैन, घरबार पनि छैन । कसैको डर पनि लाग्दैन । रामेछाप, माकादुमको घर भूकम्पले भत्कायो । जग्गा बाँझो पल्टिएको छ । अहिले भाइको घर सुकेधारामा बस्छन् । बूढी आमा छिन् । पहिले सरकारी क्वार्टरमा बस्दा भात खान मन लागे भाइहरुको घर जान्थे कहिलेकाहीँ शनिबार । उनी भन्छन्, ‘भात खायो भने निद्रा ज्यादा लाग्छ । पकाएर खाने समय बिरामीलाई दिन्छु । मलाई खाली पेट एकदमै सहज हुन्छ ।’

लेखक शिवप्रकाशले डा. केसीलाई लगातार चार चोटि एउटै लुगामा भेटेछन् । ढाडनेर खुइलिएको कलेजी रङको ज्याकेट अनि दाहिने पाकेट फाटेको जिन्स प्यान्टमा । उनले मुखै फोरेछन्, ‘कहिल्यै नयाँ लुगा किन्नुहुन्न कि क्या हो डाक्टरसाब ?’ डा. केसीले सजिलै भनेछन्, ‘मलाई दुई जोर भए पुग्छ, एक जोर धुन्छु, एक जोर लगाउँछु ।’ आफ्ना आधारभूत आवश्यकतालाई पनि यसरी घटाउने मानिसको सादगीलाई उडाउँदा आत्मग्लानि हुँदैन कमरेड ?

शिवप्रकाशले उनलाई यो पनि सोधेका रहेछन्, ‘तपाईंको घरमा गएँ भने के खुवाउनु हुन्छ डाक्टरसाब ?’ उनले फिस्स हाँसेर भनेछन्, ‘चियाबाहेक केही पनि खुवाउन्न । लिमिट बजेट छ । पाहुनालाई चिया मात्र खुवाउन सक्छु ।’ धन्य, त्यही चिया पनि शिवप्रकाशलाई जुरेको छैन । यस्तो लाग्छ, खडेखडे एक छाक खाने दिगम्बर मुनि यिनै त होइनन् ?

नेपाली समाजमा अनशनको अर्को नामै डा. गोविन्द केसी हुन् । उनको अनशन-अफेयर केलाउने हो भने १८ औँ संस्करणसम्म २ सय २६ दिन भोक हडताल गरिसकेका छन् । सम्भवतः सबभन्दा धेरै दिन भोकै बसेर गान्धीगिरी देखाउने नेपाली अरु छैनन् । यो गान्धीछाप सत्याग्रहलाई अब ‘गोविन्दगिरी’ भने पनि हुन्छ ।

सायद गान्धी विचारबाट प्रभावित भएर उनले गोविन्दगिरी गरेका हुन् । गान्धीबाट को प्रभावित थिएनन् ? बीसौँ शताब्दीका मार्टिन लुथर किङदेखि नेल्सन मन्डेलासम्मको सौम्यतम अनुमोदनले गान्धीको स्वीकार्यताको दायरा फराकिलो भयो । यहाँ त्यही पात्रता विकास गरे डा. केसीले ।

सत्याग्रहको अर्थ हुन्छ, सत्यको खोजी गरेर, सत्यका माध्यमबाट सत्यमा पुगेर सत्यमा अडिग रहनु । सविनय अवज्ञा तथा निरस्त प्रतिकार वा निराहार युद्ध । महात्मा थोरोले काटमारभन्दा माथि उठेर युद्ध लड्न सिकाउने दर्शन दिएका थिए, ‘सिभिल डिस्अविडेन्स’ । त्यही भद्र अवज्ञाभित्र महात्मा गान्धीले सत्याग्रह खोजे र त्यसको अर्थलाई पूर्णता दिए । विनोवा भावेले थप व्याख्या गरे, सम्पूर्ण कष्ट आफूले सहेर सबैलाई जिताउने युद्ध ।

स्वास्थ्य शिक्षा सुधारको अभियानमा कहिलेकाहीँ राजनीतिक विषयवस्तु समेत मुछिएकाले उनका विरोधीले अनेक हिलो छ्याप्ने प्रपन्च नरचेका होइनन् ।

भारतमा अम्बेडकरले नै गान्धीगिरीमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । सत्याग्रह गणतन्त्रको औजार हुनु नहुने जिकिर थियो उनको । आधा शताब्दीपछि डा. गोविन्द केसीले त्यसैलाई लोकप्रिय औजार बनाइदिए । संविधानको आत्मा नबुझेका, कर्तव्यपथबाट बरालिएका अनि मनोगत दम्भ, कुण्ठा र दुराग्रहले भरिएका नेतागणलाई विवेकवान् हुन र जनतासित जोडिन गोविन्दगिरीले अंकमाल गरेको सत्याग्रहको सान्दर्भिकता छैन कसले भन्छ ?

हुन त गान्धीगिरीमै त प्रश्न उठेका थिए भने गोविन्दगिरीमा किन नउठून् ? स्वास्थ्य शिक्षा सुधारको अभियानमा कहिलेकाहीँ राजनीतिक विषयवस्तु समेत मुछिएकाले उनका विरोधीले अनेक हिलो छ्याप्ने प्रपन्च नरचेका होइनन् । तर उनको पवित्र उद्देश्यमा त्यसको छिटा समेत पर्न पाएन । राजनीतिकै कारण सुधार रोकिएको हो भने त्यसलाई किन छाड्ने ?

यस्तो लाग्छ, यी परोपकारी डाक्टर कसैका विरुद्ध लडेका हैनन् तर सबैका लागि लडेका हुन् । त्यसका लागि लडेका छन्, जसका लागि लडिदिने कोही छैन । उनी भट्टराईदेखि दाहाल, खनाल हुँदै कोइराला, देउवा, ओलीसम्मका आधा दर्जन प्रधानमन्त्रीका पालामा एकैथरी माग राखेर अनशन बसे । तीमध्ये सबैभन्दा धेरै ओलीको पालामा पाँच पटक ६८ दिन अनशन बस्नुपर्यो । त्यसैले ओलीको आँखाको कसिङ्गर बनेका हुन सक्छन् । सबैजसो सरकारले आफैँले पटकपटक गरेको सम्झौतालाई ‘आधा, अधुरो र उधारो’ राखेर डा. केसीलाई धेरथोर धोका दिएकै हुन् ।

उनको अनशनको थालनी कस्तो थियो त ? जनताको स्वास्थ्य र शिक्षासँग प्रत्यक्ष जोडिएको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) राजनीतिक भागबन्डाले कति थिलथिलो भयो भने प्राध्यापकहरू चाकरीमा मात्र कुद्ने, न राम्रोसँग बिरामी जाँच्ने, न राम्ररी पढाउने । प्रवेश परीक्षा दिएर फेल भएका अनि परीक्षा नै नदिएकालाई एमबीबीएस भर्ना दिने । जथाभावी सम्बन्धन बाँड्ने । ९५ प्रतिशत विद्यार्थी पढ्ने सरकारी मेडिकल कलेजलाई ३ सय ५० सिट, पाँच प्रतिशत पढ्ने निजी मेडिकल कलेजलाई दुई हजार सिट दिने ।

मेडिकल शिक्षा सहरमुखी र महँगो बनाउने गतिविधिको विरोधमा डा. केसीले कार्यस्थलमै कालोपट्टी बाँधे । ६ वर्षसम्म विभिन्न शक्तिकेन्द्र धाएर पर्खंदा पनि कुनै पहल नभएपछि आफैँ सत्याग्रह थाल्ने निधोमा पुगे । त्यसको अभ्यासस्वरुप ११ महिना बिहान केही नखाने, दिउँसो एक बोत्तल कोक र मफिन (केक) खाने, साँझ ग्रिन सलाद र दही मात्र खाने । २०६९ असार २१ मा पहिलो पटक अनशन बसे । चार दिनमै सकियो ।

त्यसको एक महिनामै दोस्रो अनशन बस्नुपर्यो । त्यही उपवासको अभ्यासले १८ वटा अनशनमा उनलाई ‘हङ्गर पेन’ नै भएन । पन्ध्रौँ पटक सबैभन्दा धेरै २७ दिन भोकै बसे । सबैभन्दा छोटो अठारौँ अनशन दुई दिनको मात्र रह्यो । विस्मय त त्यतिखेर लाग्छ, २३ दिनको अनशनले लखतरान भएका डा. केसी आराममा होलान् भन्ने सोच्दासोच्दै सञ्चार माध्यममा खबर आउँछ, उनी त सप्तरीको कहिले बाढीपीडित क्षेत्रमा पुगेका छन् ।

डा. केसीको बाल्यकाल बित्यो, मावली गाउँ दोलखाको जफे, झुलेमा । जहिल्यै पहिलो दोस्रो हुन्थे कक्षामा । महाराजगन्ज केन्द्रीय क्याम्पसमा हेल्थ असिस्टेन्ट (एचए) पढुन्जेल पनि उनले डाक्टर बन्ने मेसो पाएका थिएनन् ।

केही समय एचएलाई नै पढाएका उनलाई शिक्षा मन्त्रालयको छात्रवृत्तिमा एमबीबीएसका लागि बंगलादेश जाने सुयोग जुर्यो । ढाकाको राजशाही मेडिकल कलेजबाट सन् १९८५ मा फर्किनेबित्तिकै शिक्षण अस्पतालको हाडजोर्नी विभागमा हाउस अफिसर भए । एमएसका लागि ढाकाकै छात्रवृत्ति पाए । फर्केर उनी वीर अस्पतालका वरिष्ठहरुसित काम सिक्न चाहन्थे तर स्वास्थ्य मन्त्रालयका हाकिमहरुले जिल्ला खेद्न खोजेको झोकमा स्थायी जागिर नै हापिदिए ।

दसवर्षे द्वन्द्वमा समेत उनले गाउँ जान छाडेनन् । माओवादीले सरकारी सुराकीभने, सेना–प्रहरीले माओवादी मिलिसिया। रोल्वालिङ क्षेत्रमा सुराकीको बातमा १९ घन्टा थुनिए पनि ।

त्यतिखेर हाडजोर्नी सर्जन आधा दर्जन पनि थिएनन् । उनले शिक्षण अस्पताल महाराजगन्जमा केही महिना स्वयंसेवा गरे । सन् १९९४ मा औपचारिक रूपमा प्राध्यापन र शल्यचिकित्सा एकसाथ सुरु भयो । एमबीबीएसलगत्तै पहिलोपटक शिविर राखेका थिए, सर्लाहीको बरहथवामा । त्यो क्रम टुटेको छैन, अहिलेसम्म ।

झोलामा १५-२० किलोजति औषधी, पुस्तक र उपकरणको कुम्लो बोकेर वर्षको दुईपटक गाउँतिर निस्किहाल्छन् । उनी ७७ जिल्लामा स्वास्थ्य शिविर लिएर पुगेका छन् । कम गएको जिल्लामा पनि तीनचोटि त पुगेकै छन् । दसवर्षे द्वन्द्वमा समेत उनले गाउँ जान छाडेनन् । माओवादीले सरकारी सुराकीभने, सेना–प्रहरीले माओवादी मिलिसिया। रोल्वालिङ क्षेत्रमा सुराकीको बातमा १९ घन्टा थुनिए पनि ।

दुर्गमका स्वास्थ्यकर्मीलाई आधारभूत ज्ञान र सीप दिनु उनको ध्येय हुन्छ ताकि सेवा कहिल्यै नरोकियोस् ।  ‘कहिलेकाहीँ कस्तो समस्या पर्छ भने तालिम लिन आउनेले भत्ता मागिदिन्छन्,’ पाँच वर्ष पहिले उनले मसितको अन्तर्वार्तामा हाँस्दै सुनाएका थिए, ‘म विकासे संस्थाले जस्तो भत्ता पस्किन सक्दिनँ ।’ कहिलेकाहीँ त परिचय लुकाउनुपर्ने अवस्था आउँछ । आवश्यकता भएको ठाउँमा मात्र डाक्टर हुँ भन्छन्, अरू ठाउँमा शिक्षक । केही नभए पनि ‘लौ न चेक गर्नुपर्यो’ भन्दै आएपछि के लाग्छ ?

झाडापखाला, शीतलहर, महामारी होस् बाढीपहिरोको समाचार सुनेपछि उनी थामिँदैनन् । औषधी, न्याना कपडा र कम्बलहरू बोकेर हिँडिहाल्छन् । उनको परोपकारी भावनामा जाति, भूगोल र धर्मको छेकबार छैन । गुजरात (भारत), कश्मीर (पाकिस्तान) र हाइटीको महाभूकम्प, पाकिस्तान र उत्तराखण्ड (भारत) को बाढी अनि बर्मा र फिलिपिन्सको समुद्री तुफानका बेला पनि स्वयंसेवी डाक्टर बनेर खटिएकै हुन् ।

समाजकै सर्जन बनिसकेका छन्, डा. केसी । कहिलेकाहीँ मलाई पनि लाग्छ, अनशन अचाक्ली भयो । त्यही अनशन पनि नहुने भने यहाँ के होला ? डा. रामेश कोइरालाले एउटा ट्वीट लेखेका थिए, ‘केही चस्माहरु उनको आन्दोलन स्वास्थ्य शिक्षाका लागि हो भनेर देख्नै नमिल्ने बनाइएका छन् । तिनीहरुलाई प्रमाणपत्र देखाएर अझ निराश नबनाए हुने डा. केसीले ।’ रोचक के भने उनको ट्वीटर ह्यान्डलमा ट्वीट जिरो छ । त्यसमा पनि ४४३२ फलोअर्स देखिन्छन् । हाय रे !

चिकित्सा सेवालाई धन्धा बनाउनेहरु पक्कै उनीसित चिढिएका होलान् । क्षणिक लगानी गरेर अधिक फाइदा लिने, राजनीतिक पहुँच र पैसाको आडमा जथाभावी मेडिकल कलेज सम्बन्धन लिनेहरु पक्कै विक्षिप्त भएका हुन सक्छन् । सत्ताधारीहरु जनबलको धाक लगाउँछन् तर उनको नैतिकबलसामू निरन्तर पराजित भएका छन् । पछिल्लो पुस्ता पनि गोविन्दगिरी अंगिकार गर्न झन् झन् लालायित हुँदै जाँदो छ । #इनफइजइनफ त्यसको ताजा उदाहरण हो ।

आधारभूत स्वास्थ्य सेवालाई दूरदराजसम्म पुर्याउनु पर्ने, जनमुखी स्वास्थ्य नीति ल्याउनु पर्ने, सुटकेस बुझाएर डाक्टर बन्ने प्रवृत्ति रोक्नु पर्ने, मेडिकल कलेजका क्षमता र सुविधा अनुसार कोटा र शुल्क निर्धारण गर्नु पर्ने, दुर्गम तथा जेहन्दार विद्यार्थीका लागि छात्रवृत्ति लगायतका सुविधा हुनु पर्ने, प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापन गर्नु पर्ने माग जनताको हो कि डा. गोविन्द केसीको ?

यो देशका मान, पदवी,  पदक, पुरस्कार, राष्ट्रिय सभा आदिले डा. गोविन्द केसीलाई चिन्दैनन् । तिनले चाकडीमा पीएचडी गरेकालाई मात्र चिन्छन् । त्यो त झन्डा र झुन्डहरुकै बपौती भइसक्यो ।

उदेक लाग्छ, जुम्लाका बिरामी हेर्ने, एमबीबीएसलगातका कार्यक्रम सुरु गर्ने काम जनप्रतिनिधिको होइन ? त्यहीँका जनप्रतिनिधि किन मेडिकल माफियाकै भाषा बोल्दै डा. केसीलाई लखेट्न खोजिरहेका छन् ?

यी सनकी डाक्टरले कहिल्यै क्लिनिक खोलेनन्, निजी अस्पतालमा काम गरेनन् । उपकुलपति, कार्यकारी निर्देशक, डिन हुन गोविन्दगिरी देखाएका पनि होइनन् । अचम्म लाग्छ, यो देशका मान, पदवी,  पदक, पुरस्कार, राष्ट्रिय सभा आदिले डा. गोविन्द केसीलाई चिन्दैनन् । तिनले चाकडीमा पीएचडी गरेकालाई मात्र चिन्छन् । त्यो त झन्डा र झुन्डहरुकै बपौती भइसक्यो ।

धेरैलाई थाहा नहोला, डा. केसीको एक मात्र सोख फोटोग्राफी हो । उनले ७७ जिल्लाका वेशभूषा, संस्कृति, रहनसहन समेटिएको फोटो प्रदर्शनी पनि गरे, पोखरा, बाटुलेचौरको गन्धर्व टोल र शिक्षण अस्पताल, महाराजगन्जमा । बडा सात्विक जीवनशैली छ उनको । मेरा लागि पक्का जनवादी पनि उनै हुन्, सच्चा समाजवादी पनि उनै हुन् । उनीजस्तो कम्युनिस्ट पनि कोही छैन । उनीजस्तो कांग्रेस पनि कोही छैन । उनी फगत सिद्धान्त होइनन्, दृष्टान्त हुन् ।

काठमाडौँलाई नै सम्पूर्ण नेपाल ठान्ने केही मान्छेले सोचेका थिए, शिक्षण अस्पतालको जागिर छाडेपछि कहाँ बस्छ अनशन ? डा. केसी इलाममा बसे, डडेलधुरामा बसे, जुम्लामा बसे । अहिले पनि दार्चुला, मुगु, अछाम ओहोरदोहोर गर्दैछन् । जसको आफ्नो कोही छैन, त्यसका सबै आफ्ना हुन्छन् । कतिपयले यस्तो पनि भने, सरकारी जागिर खाएर कामकाजबिना अनशन बस्ने ? डा. केसी छुट्टी नलिईकन कहिल्यै अनशन बसेनन् बाबै ।

लेखक शिवप्रकाशले डा.गोविन्द केसीलाई केही दिन पहिले फोन गरेका रहेछन् । सामान्य हाइहेलो गरेपछि उनले भनेछन्, ‘लौ म जुम्लाको स्वास्थ्य चौकी आइपुगेँ । मैले बिरामीलाई समय दिएको छु । अहिले राख्छु है ।’

त्यो उनको कुनै जागिर होइन । फगत स्वयंसेवा हो । तर, ‘सेल्फ कमिटमेन्ट’ मा उनी एक सेकेन्ड पनि सम्झौता गर्दैनन् । बिरामीलाई कुराउन उनको चिकित्सकीय धर्मले दिँदैन । जागिर छाडे पनि उनको समर्पण कत्ति कम भएको छैन ।

मलाई थाहा छ, यो लेखोट डा. गोविन्द केसीले हेर्दैनन् । हेरे भने उनलाई पक्कै असहज हुनेछ । माफियाहरुको गाली ग्रहण गर्ने बानी पारिसकेका यी कर्मिला चिकित्सकलाई निन्दा र प्रशंसाको प्रकोष्ठ खोजी बस्ने गर्ने फुर्सद पनि कहाँ ?