रहेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भ राख्नुको कारण पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् ।

हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ५ वटा पुस्तक प्राप्त भएका छन् ।

===

१. गणेशकवि श्यामदास वैष्णव – नरेन्द्रराज प्रसाई

कवि श्यामदास वैष्णवको जीवनी–पुस्तक हो ‘गणेशकवि श्यामदास वैष्णव’ । साहित्यकार नगेन्द्रराज प्रसाईले लेखेको यो पुस्तकमा वैष्णवको जन्म र पूर्वकथादेखि जीवनको अन्त्यसम्मका कथाहरू समेटिएको छु । वैष्णवको बालकृष्ण समय, लक्ष्मीप्रसाद देवकोटा, पारिजात लगायतका साहित्यकारसँगका महत्त्वपूर्ण प्रसङ्गहरू पुस्तकमा रोचक तवरले प्रस्तुत गरिएको छ ।

‘श्यमदासु वैष्णव नेपाली साहित्यका खम्बा थिए । उनलाई देवदूत भन्छु म । उनैका कारण समेत जोडिएपछि देवकोटालाई महाकवि बन्न सहज भयो ।’, पुस्तकमा साहित्यकार पुष्कर लोहनी लेख्छन्, ‘सिद्धिचरणलाई युगकविको प्रस्तावना गर्ने नै वैष्णव थिए । विजय मल्ल र गोविन्द गोठालेलाई उकास्ने हेतु वैष्णवले ज्यानै सुम्पेका थिए । वैष्णवले नै पारिजातदेखि वानीरा गिरीसम्मलाई उठाने काम गरे । वैष्णवले ककसका लागि के के गरेनन् ? तर उनका लागि नइबाहेक ककसले के के गरे ? वैष्णव बाँचेका बखत पनि उनलाई नरेन्द्रराज प्रसाईले यथेष्ट मद्धत गरे, त्यसपछि पनि वैष्णवको जीवनी लेखेर अर्को महान् काम गर्ने प्रसाई नै हुन् ।’

त्यस्तै, लेखकीय प्रसाई लेख्छन्, ‘श्याम दाइका धेरै गुण थिए । उनी सय वर्षीय हाराहारीको उमेरमा पनि पचास वर्षीय तन्नेरीझैं हुन खोज्थे । ज्यादै जोसिलो, फूर्तिलो र जाँगरिलो भएर उनी सधैं हिंडिरहेका हुन्थे । … । महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि लामो जीवन बाँचेको भए नेपालको परिप्रेक्ष्यमा सायद उनी पनि श्यामदास वैष्णव भएर नै समाप्त हुन्थे ।’

पुस्तकलाई नई प्रकाशनले प्रकाशित गरेको हो । १ सय ३० पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।

===

२. स्वर्गको सेवा – बाबुकृष्ण कार्की

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका पूर्व निर्देशक सहायकरथी बाबुकृष्ण कार्कीको संस्मरणात्मक कृति हो ‘स्वर्गको सेवाः प्रकृति रक्षाको साहसिक कथा’ । ‘बाघ गोठालो’ उपनामले समेत चिनिने कार्की प्रकृति संरक्षण अभियन्ता पनि हुन् । उनले आफ्नो जीवनकथामा सैनिक सेवा, पर्यावरण, वन्यजन्तु र तिनको संरक्षण, संरक्षणमा जनसमुदायको भूमिका लगायत कुराहरूलाई पुस्तकमा समेटेका छन् ।

‘यो पुस्तक मेरो स्वर्गका वन्यजन्तुहरू, तिनको वासस्थान, बोट–विरुवा–रुख अथवा सम्पूर्ण जैविक विविधता र प्रकृतिको अनन्तकालसम्म रक्षा, सेवा र कल्याण भइरहोस् भन्ने शुभकामनाका लागि हो ।’, पुस्तकमा कार्की लेख्छन्, ‘प्रकृति संरक्षणमा समर्पित वर्तमान र भविष्यका तमाम् कर्मठ संरक्षणकर्मीहरू र उहाँहरूको प्रकृति संरक्षण स्कूलका लागि प्राचीन संरक्षणको दस्तावेज हो । मेरो गैरसैनिक र सैनिक संरक्षणप्रेमी गुरुजन तथा मित्रहरूको करकाप र प्रेरणाको उपज हो ।’

त्यस्तै, जनसमुदायसँगको सहकार्य–अनुभवका बारेमा कार्की आभारका शब्दहरू लेख्छन्, ‘२० वर्ष पहिले राजाका निकुञ्ज र वन्यजन्तु भन्ने भ्रम पालेका प्रकृतिप्रेमी जनसमुदायलाई सत्यतथ्य बुझाउन गाह्रो थियो । यद्यपि निकुञ्जका वास्तविक मालिक स्थानीय जनता र प्रोटेक्सन युनिट अस्थायी पहरेदार भनेर हामीले बारम्बार भन्दै आएको कुरा आज सत्य साबित भएको छ । कठिन घडीमा हामीलाई दह्रो साथ र सहयोग दिनुहुने र छिटोभन्दा छिटो आफ्नो निकुञ्ज आरक्षको स्वामित्व स्वःस्फूर्त ग्रहण गर्नुहुने ती तमाम संरक्षणप्रेमी जनसमुदायप्रति पनि म आभारी छु ।’

पुस्तकलाई स्कूल आफ लिडर्स प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । ४ सय पृष्ठमा फैलिएको पुस्तकको मूल्य ७ सय ५३ रुपियाँ रहेको छ ।

===

३. ताप्लेजुङ विमर्शः नेपाली वाङ्मय अभिलेखन

लेखक हरि गौतमको सम्पादक तथा संयोजन र लेखनाथ गौतमको व्यवस्थापनमा प्रकाशनमा आएको कृति हो ‘ताप्लेजुङ विमर्शः नेपाली वाङ्मय अभिलेखन’ ।

पुस्तकलाई अनुसन्धान, व्यक्ति–व्यक्तित्व, संस्मरण, कविता र परिशिष्ट गरी ५ खण्डमा प्रस्तुत गरिएको छ । पहिलो खण्डमा अनुसन्धानमूल लेखहरू समावेश छन् भने दोस्रो खण्ड ‘व्यक्ति–व्यक्तित्व’मा ताप्लेजुङमा जन्मेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गहनाहरूको चर्चा गरिएको छ ।

‘यो सबै प्रकारले ताप्लेजुङको आत्मालाई चिनाउनमा समर्पित ग्रन्थ हो । प्रथम ग्रन्थ विषय अनुसारको शीर्षकले छुट्याएका छन् – लामा छोटा गरी छ छन् ।’, पुस्तकको भूमिकामा प्रा.डा. गोविन्दराज भट्टराई लेख्छन्, ‘अनुसन्धान खण्ड ग्रन्थको आत्मा हो । यसले ताप्लेजुङका मूल विशेषता चिनाउँछ । सम्पादक हरि गौतमको प्रथम लेख मूल दैलो हो जुन उघार्दा भित्रका भूगोल, इतिहास, प्रकृति र संस्कृतिका तत्त्वले निर्मित सुन्दर ताप्लेजुङको एक झल्को देखिन्छ । डा. सुरेन्द्र केसी यथार्थवादी खरो लेख्ने र बोल्नेमा कहलिएका विद्वान् हुन् । उनको संक्षिप्त आलेखमा राष्ट्रलाई जसरी अधिनायकले चुस्यो त्यसरी नै ताप्लेजुङलाई पनि अनेकौं शताब्दी अधिनायक सत्ताले चुसेर छाडे भन्ने विचार छ ।’

पुस्तकलाई ताप्लेजुङ साहित्य समाजले प्रकाशनमा ल्याएको हो । ८ सय ९४ पृष्ठमा फैलिएर, हार्डकभरमा प्रकाशित पुस्तकको मूल्य २ हजार ५ सय ५ रुपियाँ रहेको छ ।

===

४. आधुनिक मुगलान – विश्वराज अधिकारी

साहित्यकार विश्वराज अधिकारीको नवीनतम लघुकथासङ्ग्रह हो, ‘आधुनिक मुगलान’ । अधिकारिले आप्रवासको विषयलाई कृतिको केन्द्रमा राखेका छन् । विषयवस्तुमा गहिरो चिन्तन गरेर आफ्नो विचारलाई काव्यिक तवरले प्रस्तुत गर्नु कृतिमा अधिकारीको विशेषता भएर देखा परेको छ ।

‘लघुकथाकार विश्वराज अधिकारी सद्गुणी स्रष्टा हुन् । संक्षेपमा भन्दा अध्ययन, अनुसन्धान, मनन तथा चिन्तनका माध्यमबाट सत्यको खोजी गर्ने र पद तथा प्रचारप्रति मोह नराख्ने सत्गुण, आफ्ना प्रयत्न राज्य सञ्चालनतिर याने पद, प्रतिष्ठा र प्रचारितिर लगाउने रजगुण तथा न अध्ययन, न चिन्तन, न मनन, न पद, न प्रचार केहीप्रति ध्यान नभएको अलमस्त गुण तमगुण हो । आहारविहारले यी गुण छुट्टिने होइन ।’, पुस्तकमा साहित्यकार खेमराज पोखरेल लेख्छन्, ‘लघुकथाकार अधिकारीद्वारा लिखित ‘आधुनिक मुगलान’ लघुकथासङ्ग्रहमा डायस्पोराको आधुनिक मान्यतालाई विषयवस्तु बनाइएको छ । विदेश पुगेर बसेका र प्राविधिक रूपमा नागरिक नै भए पनि जीवन निर्वाहका बखत अनुभूत हुने मनोवैज्ञानिक तथा समाजिक निम्नबोधलाई अध्ययन, चिन्तन–मननपश्चात् प्राप्त सत्य पाठकसामु पस्किएको छ ।’

लामो समयबाट अमेरिका बस्दै आएका अधिकारी ओक्लहोमा सिटी कम्युनिटी कजेजमा प्राध्यापकका रूपमा कार्यरत छन् । उनी व्यापार, व्यवस्थापन र बजार व्यवस्थापन विषयको प्राध्यापन गराउँछन् ।

पुस्तकलाई समकालीन साहित्य प्रतिष्ठान, बेलायतले प्रकाशनमा ल्याएको हो । ५१ थान लघुकथाहरू सङ्ग्रहित कृतिको मूल्य २ सय रुपियाँ रहेको छ ।

===

५. खुला आकाशमुनि – नानुमैया दाहाल

‘के होला त हालत तिम्रो लुकाएको भेटिएपछि
केले छोप्छौ काला धब्बा शरीरमा देखिएपछि
आठै प्रहर खेल्छौ पासा बाजीमा देश नै थापेर
तिम्रो अस्तित्व रहन्छ र सिङ्गै देश सकिएपछि ! (पृ. ३०)

मुक्तककार नानुमैया दाहालको नवीनतम मुक्तकसङग्रह हो, ‘खुला आकाशमुनि’ । विचार प्रधान मुक्तकहरूको बाहुल्यता रहेको सङ्ग्रहमा भाव र कलाले त्रिवेणी बनाएका छन् । शब्दसौन्दर्य, लयमाधुर्य र भावगम्भीर्य दाहालको शक्तिका रूपमा मुक्तकमा देखा परेका छन् ।

‘धन भएकाहरूसँग मन भेटिएन
मन भएकाहरूसँग धन भेटिएन
कस्तो विडम्बना रहेछ दुनियाँमा
धन र मन दुवै भएको जन भेटिएन । (मु. ७१)

‘यो याम मुक्तकको याम हो । नेपाली मुक्तकको मौलाउँदो याममा आयाम पनि फैलँदो छ । मुक्तकको आयाम यति फराकिलो भएको नारी हस्ताक्षरको हस्तक्षेपपूर्ण उपस्थितिले नै हो ।’, पुस्तकमा रमेश पौडेल लेख्छन्, ‘नानुमैया दाहालको ‘खुला आकाशमुनि’ नारी हस्ताक्षरमै रोज्जा मुक्तक कृतिको रूपमा आएको छ । मुक्तकमा आवश्यक सबै तत्त्वले भरिपूर्ण यो कृति मुक्तकका पारखी र आम पाठकका लागि पठनीय र सङ्ग्रहणीय छ ।’

पुस्तकलाई नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले प्रकाशनमा ल्याएको हो । १ सय ५२ थान मुक्तक सङ्ग्रहित पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।