१.

हलिउडका फिल्म निर्देशक जर्ज लुकासले सन् १९७८ मा आफूले बनाउने फिल्मका लागि अनुसन्धान गर्न अनेक किताबहरू भेला पारेका थिए । उनको लस एन्जल्सस्थित कार्यालयमा यति धेरै किताब भेला भए कि पछि उनको कामत स्काइवाकर रेन्च (Ranch) मा पूरै घर बनाएर सारेका थिए ।

त्यो बेला उनको पुस्तकालयमा २७ हजार पुस्तक, १७ हजार फिल्महरू, कयौँ तस्बिरहरू, पिरियोडिकल्स, प्रेस क्लिपिङ र अन्य चिजहरू थिए ।

यत्रो व्यापक निजी पुस्तकालय कहिल्यै सार्वजनिक रूपमा खुला गरिएन । उनका कामदार, सहयोगी र विशेष साथीभाइलाई भने सगर्व देखाउने गर्थे ।

यो त पुरानो खबर भयो । अहिले त्यो पुस्तकालय त्यही रेन्चमा छ कि कसैलाई दान दिइसके होलान्… कहिलेकाहीँ सोच्छु…

अनि फेरि कहिलेकाहीँ सोच्छु… नेपाली फिल्म निर्देशकहरूमध्ये सबैभन्दा व्यापक निजी लाइब्रेरी कसको होला है ?

२.

प्रिय महेश्वरी, तपाईंले भन्नुभयो‑ राम्रो पाठक, राम्रो लेखक बन्न सक्छ ।

सहमत । हो, राम्रो पाठक नै राम्रो लेखक बन्न सक्छ ।

अचानक मलाई प्रख्यात एन पेचेट (उच्चारण यही होला) याद आई ।

उसले हालै कतै भनेकी थिई, ‘म अचेल अरूका किताबप्रति हुरूक्क हुन थालेकी छु ।’

शायद ऊ पहिले आफ्नै लेखनीप्रति हुरूक्क हुँदी हो ।

ऊ अहिले एउटा पुस्तक पसल चलाउँछे, पर्नासस बुक्स । दिनभरि पसलमा बसेर किताब त बेच्छे नै, अरूका राम्रा पुस्तकहरू पनि दिनको १० घण्टा पढ्छे ।

पढ्न त ऊ बच्चैदेखि पढ्थी । त्यसैले ऊ लेख्ने बनी । अहिले चाहिँ किताब बेच्न बस्दा अरूलाई किताबका बारेमा केही भन्न पनि त पढ्नु पर्यो !

‘अहिले म कुनै दोबाटोमा बसेर किताबहरूमाथि लामो भाषण, व्याख्यान या चिच्याउँदै केही बोल्न सक्छु,’ एनले यसो भन्दा म पनि मज्जाले हाँसेँ किनभने उसले एउटा सानो उदाहरण पनि सुनाएकी थिई ।

धेरै वर्षअघि ऊ सिकागो एयरपोर्टबाट निस्कँदै गर्दा त्यहाँ एक जना हरेकृष्ण अभियानकर्मीले मच्ची मच्ची किन हिन्दु भएँ, गीतामा के छ… भनेर व्याख्यान दिएको थियो ।

एकछिन उसको उत्साह हेर्न एन उभिई । असह्य भएपछि सोधी, ‘तिमीलाई यसो गर्दा अप्ठेरो, लाज या यस्तै केही लाग्दैन ?’

‘तिमी कसैलाई प्रेम गर्छ्यौ ? गर्छ्यौ भने बीच सडकमा उभिएर प्रेमीका बारेमा बोल्न रत्ति अप्ठेरो लाग्दैन,’ तिनले जवाफमा भनेछन् ।

एनले कुरा टुङ्ग्याई, ‘अहिले म त्यो हरेकृष्णे जस्तै भएकी छु । म घण्टौँ राम्रा किताबबारे बोल्न सक्छु, किताबमाथि घण्टौँ लेख्न सक्छु, जिज्ञासुलाई ती किताबबारे सकारात्मक बनाउन र त्यसका बारेमा लेख्न उत्प्रेरित गर्न सक्छु । र, त्यसका लागि म धक मान्दिनँ । मलाई पागल भने पनि फरक पर्दैन ।’

कहिलेकाहीँ…

३.

सन् १७८६ को अप्रिल महिनामा अमेरिकाबाट बेलायतको भ्रमणमा आएका राजनीतिज्ञहरू थोमस जेफर्सन र जोन एडम्स (जो दुवै पछि अमेरिकी राष्ट्रपति बने), उनीहरूलाई बेलायती दरबारले कहाँ जाने इच्छा छ भनी सोध्दा शेक्सपियरकहाँ भनी जवाफ दिएका थिए ।

तस्वीरमा जेफर्सनको घर जहाँ शेक्सपियरको कुर्सी छ ।

त्यो वेला अमेरिकीहरू बेलायती औपनिवेशिकताविरूद्ध लडिरहेका थिए । तर बेलायती नाटक र शेक्सपियरप्रति उनीहरूलाई यति मोह थियो कि उपहारका रूपमा शेक्सपियरको कुर्सी लगे । खासगरी जोन एडम्सको भागमा शेक्सपियर बस्ने गरेको कुर्सी पर्यो ।

एडम्सले आफ्नो डायरीमा लेखेका छन्, ‘यो कुर्सी यति साँघुरो र यति सानो छ कि मुस्किलैले बस्न सकिन्छ । यस्तो अप्ठेरो कुर्सीमा शेक्सपियरले कसरी बसेर चिन्तन गर्थे होलान् !’

त्यो कुर्सी अमेरिकाको भर्जिनियामा रहेको मोन्टिसेलोस्थित जेफर्सनको घरमा अझै सुरक्षित छ रे !

कहिलेकाहीँ सोच्छु… जोन एडम्सको भागमा के उपहार परेको थियो होला ?

४.

सत्ता र भ्रष्टता लोग्ने स्वास्नी हुन् । सत्ताले भ्रष्टतालाई समय दिएन भने भ्रष्टतामाथि दाबी गर्न हरकोही तयार हुन्छ ।

मलाई यतिबेला एउटा कथा याद आइरहेको छ । यो कथा होइन, इतिहास हो ।

रोममा सम्राट क्लाउडियसको रजगज थियो । यस रजगजमा उसले रोमकै सबैभन्दा सुन्दर स्त्री भेलेरिया मेसालिनालाई बिहे गर्यो । भेलेरिया तेस्री स्वास्नी । क्लाउडियसको भाग्यप्रति सब छक परे तर धेरैले स्वाभाविक पनि माने किनभने सबैभन्दा सुन्दर स्त्री प्रायः सबैभन्दा शक्तिशालीकै भागमा पर्छे ।

क्लाउडियसलाई सुन्दर स्वास्नी सुमर्नु मात्र थिएन । उसका लागि साम्राज्य चलाउनु थियो । साम्राज्यको प्राथमिकतामा उसकी नवपत्नीले एक्लो महसुस गर्न थाली । साम्भ्रान्त हुनु यौनिक रूपमा कमजोर हुनु पनि हो । एक्लोपन दूर गर्न उसले लक्का जवान खोज्न थाली ।

एक कान दुई कान मैदान भयो, महारानी भेलेरिया रोमकै कुख्यात वेश्यामा परिणत भई रे !

क्लाउडियसले स्वास्नीका बारेमा यस्तो नसुनेको होइन तर उसले खासै मतलब गरेन । तर महारानीको तेवर दिन प्रतिदिन बढ्दै जान थाल्यो । उसले शहरभरिका हेर्दैका लोभलाग्दा पुरूषहरू छानीछानी दरबार ल्याउन अह्राउँथी । जो क्लाउडियसको डरले जान मान्दैनथ्यो, उसलाई मार्नेसम्मको धम्की दिन्थी ।

यो कुरा क्लाउडियससम्म नपुगेको होइन । ऊ यस्ता झिना मसिना कुरामा ध्यान दिन चाहँदैनथ्यो । अथवा यसो भनूँ, सही एक्सनका लागि सही समय आइपुगेको थिएन ।

भेलेरियालाई मनपर्ने एक जना पुरूष थियो । ऊ भनेपछि मरिहत्ते गर्थी । गायस सिलिअस नाम थियो उसको । सिलिअस पहिल्यै विवाहित थियो तर भेलेरिया सौतामाथि जान्छु भनेर उखुम गर्न थाली । रोमको कानुनअनुसार कुनै स्त्री विवाहित भए अर्को पुरूषसँग बिहे गर्न पाउँदिन थिई । त्यसैले सम्राट क्लाउडियसलाई झुक्याएर पारपाचुकेमा हस्ताक्षर गराई र सिलिअससँग बिहे गर्न तयार भई ।

यसका लागि सम्राट क्लाउडियस रोममा नभएको अवसर पारेर बिहे सम्पन्न भयो । महारानीलाई बिहे गरेपछि सिलिअस दरबारमा छिर्यो र आरामपूर्वक बस्न थाल्यो । यो देखेर रोमबासीहरू चकित मात्र होइन, क्लाउडियसमाथि थु थु गर्न थाले ।

जनताले थु थु गरेपछि बल्ल क्लाउडियसलाई आफ्नी स्वास्नीको हर्कत याद आयो । क्लाउडियसले आफ्नी स्वास्नीसँग नाम जोडिएकाहरू एक एकलाई काट्ने आदेश दियो । स्वयं गायस सिलिअसलाई पनि काट्ने आदेश दियो ।

तर उसले यी सारा भ्रष्टताका मुहान भेलेरियालाई भने केही गरेन । किनभने, यसलाई यति साह्रो छुट उसैले दिएको थियो । त्योभन्दा बढी ऊ भेलेरियालाई हदसम्म माया गर्थ्यो ।

कहिलेकाहीँ सोच्छु… सत्ता र भ्रष्टता लोग्ने-स्वास्नी हुन् । जब स्वास्नी भ्रष्ट हुन्छे, उसले स्वास्नी तह लगाउँदैन, उसका प्रेमीहरूलाई छिमल्नतिर लाग्छ ।

५.

टाकुरो

ऊ अमिताभ बच्चनको छोरो । रेफ्युजी फिल्मबाट बलिउडमा उसले धाँसु इन्ट्री मारेको थियो । तर वर्षौं उसका एकपछि अर्को फिल्म फ्लप हुन थाले । उसले काम पाउन छाड्यो ।

पहिले फिल्ममा लिन तँछाडमछाड गरिरहेकाहरू पनि उसबाट छड्किन थाले । प्रायःले फोनमा बोल्न पनि झिँजो मान्न थाले ।

अचानक उसको भागमा धुम फिल्म पर्यो । सन् २००४ मा यो फिल्म रिलिज भएपछि उसको टाउकोबाट फ्लप हिरोको ट्याग हट्यो । फिल्मले त्यो बेलाको कमाईको कीर्तिमानसमेत बनायो ।

फिल्म ब्लकबस्टर भएपछि फिल्मका निर्माता आदित्य चोपडाले एउटा गज्जबको पार्टी दिए । रातभर रमाइलो गरेर जब बिहानीपख अभिषेक होटलबाट निस्कियो- सोच्यो- घर नजिकै छ । पैदलै जानु पर्यो । मान्छेले मलाई कति चिन्दारहेछन्, त्यो पनि जाँची हेर्नु पर्यो ।

नभन्दै तीन मिनेटभित्र हिँड्दै घर पुग्दा उसलाई फर्की फर्की हेर्नेहरू निकै पायो ।

उसले आफैँलाई ढाढस दियो- अभिषेक तँ त सुपरस्टार भइस् यार ! तँलाई बधाई छ ।

गर्वले उसको छाति ढक्क फुल्यो ।

ऊ घर पुग्यो । उसले घरको ढोका खोल्न घण्टी बजायो । ढोका खोले उसका बाउले, अमिताभ बच्चनले !

अघिसम्म सुपरस्टारको छाति चौडा बनाएको ऊ मरिचझैँ चाउरियो । सोच्यो, जुन घरमा यत्रो महानायक, सुपरडुपर स्टार छ, उसैको घरमा बस्ने मजस्तो मान्छेले के सुपरस्टार भएको घमण्ड गर्नु ? जुन बाउले कहिल्यै आफ्नो सफलताको घमण्ड गरेको छैन, उसको छोरोले जाबो एउटा फिल्म हिट हुँदा यत्रो मान खोज्ने ?
त्यो दिन अमिताभको हातमा अखबार थियो र प्रेमपूर्वक बाउले छोरालाई सोध्दै थिए, कस्तो भयो पार्टी ?
अघिको सारा घमण्ड, सारा रमाइलो एकै छिनमा चूर भयो ।
कहिलेकाहीँ सोच्छु… बेलामौकामा मान्छेलाई उसको ‘ठाउँ’ देखाउने अग्लो टाकुरो पनि चाहिने रहेछ… उसले चुपचाप कुरा बुझोस्- यो टाकुरो त के टाकुरो… त्यो टाकुरो पो टाकुरो !