१.
ज्याककी ‘दिदी’ फिल्म भनेपछि हुरूक्क हुन्थी । सप्ताहान्तमा उसले ज्याकलाई फिल्म हेर्न लैजान्थी र प्रत्येक गम्भीर दृश्यमा रून्थी, हाँस्ने दृश्यमा मज्जाले हाँस्थी ।
‘बुझिस्, जिन्दगी त हिरो हिराइन् को हो !’ उसले भन्थी, ‘ठूलो भए सि तैँले हिरो हुनू । तेरा बा आमाको नाम उजिल्याऊनू । तँ ठूलो भएर कलाकार भएको हेर्ने इच्छा छ !’
ज्याककी दिदीको उदेकलाग्दो फिल्म मोह देखेर ऊ पनि कलाकार हुने रहर उमार्न थाल्यो । उसकी दिदी एकादुई फिल्ममा कलाकार पनि भई टोपली । उसले अभिनय गरेका फिल्म रिलिज भएका बेला सिनेमा हल लिएर जान्थी र भन्थी, ‘हेर, तेरी दिदी कति प्रख्यात छे !’
ज्याकले प्रख्यातिको अर्थ बुझ्थेन तर पनि ऊ झिलिक्क केहीबेर आउने दिदीलाई ठूलो पर्दामा देखेर रमाउँथ्यो र दिदीजस्तै कलाकार हुने रहर गर्न थाल्थ्यो ।
एक दिन उसकी ‘दिदी’ले एक जना पुरूषलाई चिनाउँदै भनी, ‘यी तेरा पिताजी हुन् । दर्शन गर ।’
ज्याकलाई अनौठो लाग्यो ! यो कस्तो पिताजी हो, जो आपतविपतमा कहिल्यै आउँदैन । जहिले आउँछ, दिदीलाई मात्र माया गर्छ र आफूलाई चाहिँ कहिल्यै माया गर्दैन ।
एक दिन ज्याकले देख्यो, उसकी दिदी र पिताजीबीच भनाभन भयो, कुटपिटसमेत भयो । त्यसपछि पिताजीलाई उसले देख्न पाएन ।
ज्याक स्कुलमा पढ्दा सबैका बाआमा लिन आउँथे, उसकी दिदी लिन आउँथी । दिदी र उसको उमेरको फरक १७ वर्षको थियो । सबैलाई जिस्क्याउँथे- ‘तेरी दिदी कति बूढी !’
उसकी बूढी दिदी देखेर ज्याकलाई लाज लाग्थ्यो । कहिलेकाहीँ झिँजो मान्दै भन्थ्यो, ‘तिमी मलाई लिन नआउन मिल्दैन ?’
‘न तेरा बा छन्, न आमा छन् !’ दिदीले चित्त दुखाउँदै भन्थी, ‘दिदीले माया गरेको पनि नपच्ने हुन थाल्यो ?’
हो पनि, उसकी दिदीले अघोरै माया गर्थी । त्यसपछि उसले दिदीसँग कहिल्यै गनगन गरेन ।
समय बित्यो । फिल्ममा ज्याक पनि देखा पर्न थाल्यो । हेर्दाहेर्दै ऊ देशकै उम्दा कलाकार बन्यो, अस्कर अवार्ड जित्यो । प्रत्येक अवार्ड जित्दा उसले दिदीलाई पनि सँगै लैजान्थ्यो, कहिल्यै छाड्दैनथ्यो ।
बूढी भएर उसकी दिदीले ज्याककै घरमा देह त्याग गरी ।
दिदीको देहान्तपछि अचानक ती बा देखा परे, जो कहिल्यै घरमा छिरेका थिएनन् । उनले ज्याकलाई थप्थप्याउँदै भने, ‘तेरी आमाको निधनप्रति म दुःखी छु । मैले पूरा गर्न नसकेको जिम्मेवारी उसले पूरा गरी ।’
धेरैपछि मात्र ज्याकले थाहा पायो, जसलाई उसले जीवनभर दिदी भनिरहेको थियो, ऊ त आफ्नै आमा पो रहिछ ! किशोरावस्थामा आमा बनेकी उसले हलिउडका पर्दामा छाउन र ‘कुमारी’ नै देखिन दिदी भनाएकी रहिछ ।
कहिलेकाहीँ सोच्छु… सपनाको मूल्य कहिलेकाहीँ बढी नै हुन्छ
(तस्बिरमा प्रख्यात हलिउड कलाकार ज्याक निकोल्सन)
२.
‘… अनि प्रभुले हाम्रा लागि आफ्नो ज्यान दिनुभयो,’ सन्त बोनिफेसले आदिवासीहरूलाई भने ।
आदिवासीहरू छक्क परे । अरूका पापका लागि आफ्नो ज्यान दिने मानिस साँच्चिकै उदार रहेछ ।
तर आदिवासीहरूको समस्या थियो । त्यो समस्या के थियो भने उनीहरूको गाउँको विशाल चौर छेउ एउटा विशाल, सयौँ वर्ष पुरानो ओकको रूख थियो । त्यो रूखलाई उनीहरू भगवान् भनेर पुज्थे ।
सन्त बोनिफेसले उनीहरूको समस्या बुझेका थिए । उनले भने, ‘तिमीहरूको भगवान् नै छैन । मैले यो रूख काटिदिएँ भने पनि तिमेरका भगवानले मलाई केही दण्ड दिन सक्दैनन् ।’
गाउँलेहरू छक्क परे । गाउँमा केही नराम्रो सोच्नेलाई समेत दण्ड दिने ओक देवले झन् यसलाई के गर्दा हुन् ! पक्कै रूखबाटै देउता निस्केर दण्डित गर्दा हुन् ।
केहीले उक्साए, र भने, ‘लु त तिम्रो हिम्मत हेरूँ ?’
त्यसपछि सन्त बोनिफेसले उनीहरूको भ्रम चिर्न बञ्चरोले धमाधम रूख काटे ।
के अनिष्ट आइलाग्ने हो भनेर आइमाई केटाकेटी डराए, कोही रून कराउन थाले । पुरूषहरू रमिता हेर्न थाले ।
हेर्दाहेर्दै त्यो विशाल ओकको रूख ढल्यो तर सन्त बोनिफेसलाई केही भएन ।
वास्तवमा उनीहरूको देउता त खासै केही होइन रहेछ भनेर उनीहरू विश्वस्त भए । बेकारमा यत्रो समय खराब देउता मान्यौँ भनेर केहीलाई पछुतो पनि भयो । त्यस क्षेत्रमा रहेका पेजन धर्म मान्ने आदिवासीहरू क्रिश्चियन धर्म मान्न थाले ।
नयाँ धर्म माने पनि आदिवासीहरूको दुःख कम भएन । उसैगरी कामधाम जारी राख्नु पर्यो । उसैगरी बालबालिका रोगी भए, मरे । उसैगरी मानिस वृद्ध भए । समयक्रममा महामारी आई नै रह्यो तर तिनको दुःख कम भएन ।
स्वर्ग पाइने उधारो सपनामा उनीहरूले आफ्नो धर्म त्यागे ।
सो रूख ढलेको ३० वर्षपछि ५ जुन ७५४ मा सन्त बोनिफेसको हत्या भयो । खासमा सारा जर्मनहरूलाई क्रिश्चियन बनाउन भूमिका खेल्ने यी भिक्षु नेदरल्यान्ड्सको एउटा गाउँमा धर्म प्रचार गर्दै हिँडिरहेका बेला एउटा लुटेरा समूहले हत्या गर्यो ।
उनलाई बचाउन पनि उनको पाप बोकिदिने ईश्वरपुत्रले कुनै भूमिका खेल्न सकेनन्…
कहिलेकाहीँ सोच्छु… हामी बेकारमा भगवानहरू जन्माइरहन्छौँ…
(तस्बिरमा पेजनहरूको आस्थास्थल ढाल्दै सन्त बोनिफेस ।)
३.
रिचर्ड र मिल्ड्रेड लविङले प्रेमविवाह गरे । जब उनीहरूले विवाहलाई दर्ता गर्न खोजे, स्थानीय निकायले मानेन । त्यसपछि उनीहरूले अमेरिकाको भर्जिनिया अदालतमा मुद्दा हाले ।
अदालतले सन् १९५९ मा गोरा र कालाबीच बिहे हुन नसक्ने भन्दै सो विवाहलाई अमान्य घोषित गर्यो ।
उनीहरूलाई चित्त बुझेन ।
त्यसपछि सुप्रिम कोर्टमा उनीहरूले पुनरावेदन गरे । सुप्रिम कोर्टले पनि उनीहरूको बिहेलाई सन् १९६७ जुन १२ का दिन अमान्य घोषित गर्यो ।
सरकारविरूद्ध विद्रोह गरे । उनीहरूले अदालती निर्णयका बाबजुद तीन सन्तान जन्माए ।
यो घटनाको आधा शताब्दीपछि अमेरिका धेरै बदलिएको छ ।
त्यसो त धेरै मान्छेहरू काला र गोराबीचको बिहेलाई उति रूचाउँदैनन् तर अहिलेको समयमा अदालतले त्यस्तो बिहेलाई अमान्य घोषित गर्नेबारे सोच्न पनि सक्दैन ।
समय धेरै अघि बढिसकेको छ । पहिले देखिने कयौँ असम्भवहरू सम्भवमा परिणत भइसकेका छन् । त्यसैले जब कसैले यो हुनै सक्दैन भनेको सुन्छु, त्यसले भविष्य देख्न सक्दिनँ भनेको सुन्छु…
कहिलेकाहीँ सोच्छु…
४.
बेलायती अखबार द टाइम्समा निकै पाको उमेरकी रिपोर्टर छिन्, म्याड्ली फ्रिम्यान । त्यसो त पाका रिपोर्टरहरू धेरै छन् तर म्याड्लीको प्रसङ्ग रोचक लाग्यो मलाई ।
अब म्याड्लीलाई अहिलेको पुस्ताका बारेमा उति धेरै जानकारी हुने कुरा भएन । तर जान्ने प्रयास गर्ने हुनाले पत्रकारले कम्तीमा आफूलाई सान्दर्भिक बनाइराख्छन् ।
कतिपय अवस्थामा त पाका पत्रकारलाई कुनै हिट कलाकार किन हिट भइराछन् भन्ने पनि थाहा हुँदैन । यस्तोमा उनीहरूले आफूलाई सान्दर्भिक बनाउन नातीपुस्तासँग सम्पर्क बढाउँछन् र जानकारी बटुल्छन् ।
अमेरिकाकी प्रख्यात गायिका टेलर स्विफ्ट पछिल्लो समयकी सबैभन्दा सफल गायिका हुन् । उनले गत वर्ष र यो वर्ष कन्सर्टबाटै एक अर्ब डलर बराबरको व्यापार गरिन् ।
किन उनी यस्तो हिट छिन् भन्ने म्याड्ली फ्रिम्यानलाई थाहा भएन । यस्तोमा उनले आफ्नी ११ वर्षीया नातिनी लिया टिस्नेको सहयोग लिइन् र रिपोर्ट तयार पारिन्, ‘ह्वेयर टु स्टार्ट विद टेलर !’
पत्रिकाले पनि म्याड्ली र लिया दुवैको कम्बाइन बाइलाइन छापिदियो । यद्यपि लिया पत्रकार होइनन् ।
पत्रकार सहकर्मीहरूबीच कम्बाइन बाइलाइन हुनु ठूलो कुरा भएन तर आफ्नी नातिनीसँग बाइलाइन सेयर गर्ने कुरा भने मेरा लागि बिल्कुलै नयाँ कुरा हो ।
खैर, हजुरआमाले नातिनीको परिचय गराउँदै भनेकी छन्, ‘यो फुच्ची स्विफ्टोलजिस्ट हो । उसबाट मैले धेरै जानकारी पाएँ ।’
कहिलेकाहीँ म खबरभित्रको खबर पढ्न रूचाउँछु…
५.
अक्सफोर्ड विश्वविद्यालयमा एउटा विभाग छ । छ के भनूँ, थियो ।
विभागको नाम थियो, फ्युचर अफ ह्युमानिटी इन्स्टिच्युट ।
गएको अप्रिल १६ देखि यो विभाग बन्द गरियो ।
ठट्टा गर्नेहरूले भने- जुन गतिले संसार पतनको अवस्थातिर गइरहेको छ, त्यसले मानव जातिको भविष्य नै गतिलो देखिँदैन । त्यसैले त्यसमाथि अध्ययन गर्ने विभाग बन्द हुनु स्वाभाविक हो ।
सन् २००५ मा यो विभाग स्थापना गर्दा अक्सफोर्डको सपना थियो – यसले दर्शनशास्त्र, कम्प्युटर विज्ञान, गणित, अर्थशास्त्रजस्ता विधालाई समग्रमा अध्ययन गरी भविष्यमा आउन सक्ने मानवीय तथा ‘दैवीय’ अनेक पतनका बारेमा पहिल्यै जानकारी जुटाउन सकियोस् । मानव जातिको अस्तित्वमा पर्ने प्रभाव र त्यसबाट जोगिने उपायहरूको यो विभागले खोजी गर्ने विश्वास गरिएको थियो ।
यही विभागले एउटा नयाँ विषय पढाउँथ्यो, माइक्रोस्ट्राटेजी । मिहीन रणनीतिको पढाइले के सिकाउँथ्यो भने, अहिलेको हाम्रा गतिविधिले भविष्यमा कसरी मानव जातिको जीवनमा प्रभाव पार्ने परिणामहरू देखा पर्छन् ।
निक बोस्ट्रमले यो विभाग स्थापना गरेका थिए र उनको विषयविज्ञताबाट प्रभावित भएर विभाग स्थापनाका लागि इलन मस्क र फेसबुकका सहसंस्थापक डस्टिन मोस्कोवित्जले ठूलो आर्थिक सहयोग गरेका थिए ।
सहयोग सकिएपछि विभाग पनि बन्द भएको छ ।
निक बोस्ट्रमले अब के पढाउलान् ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।