सहनु र स्वीकार्नु वर्तमानको एउटा सिङ्गो रथ हो । जसरी गुडाए पनि गुड्ने । बाध्यता वा स्वीकारोक्ति जे भने पनि हुने । रङ्गीन प्रदूषणको वाष्पिकरणले समयको ओजन तहमा क्रमशः वृद्धि भइरहेको छ । ट्याम्पु, चिम्नी दृश्यात्मक र बात लाग्ने नाम हुन्, जुन सर्वग्राह्य पनि छन् । यी रहरका प्रतिबिम्ब हुँदै होइनन् र करका कुरा पनि होइनन् ।
वर्तमानका प्रदूषण हुन् यी । विगत र भविष्यपर्यन्त अमिट रहने संस्कार र सामाजिक विकारहरू । डम्पसाइटको भन्दा बढी प्रदूषित भएका मान्यताहरू अदृश्यात्मक छन् । जुन गन्तीमा पर्दैनन् सितिमिती ।
खोइ के भन्नु ? प्रत्येक राम्रा विषय वा वस्तुहरू राम्रै भएका छन् र ? यक्षप्रश्न हो यो । सौन्दर्य सुन्दरकै प्रतीक र अभिशाप पनि हो । जतिसुकै बुट्टेदार पिँजडामा सुगालाई बन्दी बनाए पनि त्यो शोभा होइन, यातना नै हो । खुल्ला आकाशमा उन्मुक्त भएर पखेटा फरफराउँदै उड्ने सुगाको लागि पिँजडा कहिल्यै सुख बन्नै सक्दैन । रहरले कोही पनि बन्दी बन्दैन र बन्न चाहँदैन । प्राकृतिक उदाहरण हो यो । सुगाको आकर्षण नै अभिषाप हो । राम्रो भएकैले घरको शोभा र शोखको साधन बन्नेगरेका छन् । बरु कागहरू निश्चिन्त छन् यस्ता मामलामा । कागको न सुन्दरता बिक्छ न आवाज नै बिक्छ ।
बिचरा राम्रा पन्छी भने ठूलो आकाशबाट सानो घेरामा कैद बन्छन् । जसरी पनि उम्केर आफ्नै आकाशमा उड्नका लागि विफल प्रयासमा जुटिरहन्छन् । चुचो रगताम्य भएर अशक्त नहुन्जेल डन्डीहरूलाई ठुङिरहन्छन् । केही नलागेपछि विगतको सपनामा अर्धपागल भएर अरण्य क्रन्दनमा बाँच्छन् । चौबीसै पहर मुक्त हुनका लागि विद्रोह गरिरहन्छन् । अन्ततः असम्भवको डण्डीभित्र किचिएको यथार्थले छाएपछि निराशै निराशले थाक्छन् । छट्पटिन्छन्, चिच्याउँछन्, पीडा प्रदर्शन गर्छन् । प्रार्थना गर्छन् र दयाको भीख माग्छन् । मानिस भने यसैलाई मनोरन्ज मान्छन् । अरुका पीडामा उन्मुक्त हाँस्नेहरु क्रूर शासकजस्तै ।
जति विद्रोह गरे पनि मर्न भने सक्दैनन् । मर्नु भनेजतिको सरल कहाँ हुन्छ र ? सबैलाई त्यागे पनि आफ्नो मोह गुमाउन सक्दैन । यो प्राण हुनेहरूको ठूलो कुरा हो कि कायरता हो । प्रष्ट छैन । मात्र अवसरको प्रतीक्षामा आयुका क्षण गुनेर क्रमशः स्वाभाविक बन्दै जान्छन् । यर्थाथमा घर र मान्छेहरूको शोभा बढाउन थाल्छन् । सम्भ्रान्त र शोखको नमुना बनिररहन्छन् । यो बाध्यता मात्र हो, तर प्रदर्शन स्वाभाविक रूपमा ।
पन्छीको मात्र के कुरा गर्नु, मान्छेकै कुरा गरौं न । एउटी नवयौवना आफ्नो बैँसमा आफै कुतीकुती हुने समयमा वेश्यालयमा पुरूषको तृप्ति बन्न चाहेकी हुनसक्छन् र ? घरबाट रमाइलो नाटकमा रमेर विदेशमा बेचिएपछि उसको आत्मा, उसको योनिझैं अङ्गभङ्ग हुनेगरी रक्ताम्य हुन्छन् । यतिबेला संसर्गको आनन्द कहाँ अनुभूत हुन्छ र ? स्वर्गीय मिठोपनालाई कसरी सही मान्न सक्छ र ? शनैः शनैः त्यही नै युवती पान र बिँडी चपाएर उत्कृष्ट व्यापारका रूपमा स्वागत गर्छन् पछि गएर अरुलाई । आकर्षणका लागि कला प्रदर्शन गर्दछन् । के बाध्यता भनेको यथार्थको बीज हो ? भइरहेको भने यस्तै छ हिजो र आज पनि ।
कुरा नचपाउने हो भने सबै यथार्थ तीता नै हुन्छन् । त्यही तीतो स्वाभाविकतामा परिणत हुँदै गएपछि स्वाद पनि थपिँदै जान्छन् । अँध्यारा रातभित्र बिहानी उज्याला किरणहरूका बीज भएजस्तै, दुःखको पीडाभित्र सुगन्धहीन सुखका कणहरू समाहित भएजस्तै । प्राकृतिक र यथार्थबिच पनि समानताका, न्यायका तराजुहरू कहाँ नतौलेका छन् र ?
यी सबै बाँच्ने प्रपञ्च र नाटक मात्र हुन् । यथार्थबाट पृथक् भएको ठानेर निकटतम सीमामा नाटक गरिरहेका हुन्छन् । हो, गरिरहेका हुन्छन् । स्वीकार्नु सहज हो, विवाद गर्नु विवादकै लागि मात्र हो । यथार्थको प्रदूषणको ग्रहणबाट कोही बच्न सकेका छैनन् । विवादहरू, तर्कहरू, भाषणहरू एउटै जीवन बोधगम्य छैनन् । अनुकरणीय छैनन् । प्रदूषणका समयसापेक्ष रङहरूजस्तो कार्यशील भएर पनि लुप्त प्रदर्शनी भएका छन् ।
सडक वाहनका धूँवालाई दोष लगाउँछौं हामी । ईँटाभट्टाको चिम्नी र कलकारखानाका आकाशे निकासलाई उदाहरण बनाउँछौँ हामी । यी मात्र हुन् त हामीले भोगिरहेको यथार्थ ? किन कालो चस्मा लगाएर आँखा खुम्चाउँछौं ?
सगरमाथामा हिउँका डल्लाका कुप्रिएका कन्टेनरहीन फोहरप्रति सजगता अपनाउँछौं । यति नै हुन् त ? होइनन् । वर्तमानमा कुनै पनि पक्ष कुनै न कुनै प्रकारका दूषित हावाले, हिलोले छ्यापिएकै छन् । मरेर तार्नेहरूलाई के थाहा ? बाँचेर भोगिरहनेहरूलाई पो थाहा हुन्छ । जिजिविषाहरू कति रङ्गीन हुन्छन् भनेर ? बाध्यताका वैशाखीहरूले कोखको न्यानोमा कति सपनाहरू अङ्कुरित हुन नपाएर सलबलाइरहेका हुन्छन् । आँखा आकाशे स्पर्शको शिखरहरूबाट प्रताडित हुँदै गरेका क्षणहरू कुन नामका प्रदूषण हुन सक्छन् ?
प्रश्न–प्रश्नका समाधान होइनन् । उत्तरहरू काँचै भएका राम्रा हुँदैनन् । प्रयोगका लागि पाक्नै पर्छ । अन्यथा जीवन बाँच्न असमर्थ हुनेले आत्महत्याभन्दा कुन कुरामा पृथक रहने छ ? आँखा बन्द गरेकै भरमा दिउँसै सूर्यलाई ओझेल पारेर रात पर्यो भन्नु समूहसँग एकाकार हुनु होइन, एक्लिनु हो । आँखा बन्द गरेर लाज लुकाउनु, बेइज्जतीलाई साबुनले पखाल खोजेजस्तै मात्र हो । असम्भव परिभाषाको अपवादजन्य सम्भावना पनि हुनसक्छ । दिउँसै शहीद घोषणाका लागि छाती तिखार्नेहरूले बन्दुकको अगाडि हाँक दिएजस्तै । आवश्यकताभन्दा आफ्ना लागि चुनौती दिने हाँकबहादुरहरू नै हुन् । मीठो तितो । यो यथार्थगत एउटा नमुना हो । यस्ता थुप्रै उदाहरणहरू विधागत रूपमा पृथक् हुने गर्दछन् ।
शुभारम्भ, सदासयभन्दा फरक पो भइरहेको छ कि ? विषयान्तर भयो भन्ने लागे तापनि मलाई डर छैन । म ढुक्क छु, आखिर कुन पो कुरा सीधा विषयभित्रकै भएका छन् र ? जीवनमात्र कुन विषयमा बाँधिएको छ र ?
प्रदूषण र स्वच्छताको विषय टुङ्गिहाल्ने विषय पनि होइन । रगतमा स्वच्छताको अभाव छ । रगत नातामा पवित्रताको ग्यारेण्टी छैन । हिंसा र दुर्गन्धको विरूद्धमा प्रवचनको भौगोलिक सीमा गाँस्दै हिँड्ने धार्मिक गुरूहरू सार्वजनिक जीवनबाट प्रतिष्ठा कमाउँछन् र प्रसादका रुपमा वीर्यग्रहण गर्न बाध्य भएका छन् बेलीहरू । शिक्षकहरू प्रश्नपत्रको जाल फिँजाएर चुनचुने बैँसको फ्रकमा मौन बलात्कारका पुस्तकहरू पल्टाउन सकेका छैनन् कक्षा आरोहीहरू । अस्मिता शिक्षाको घीनलाग्दो विनिमय । त्यसैले होला, अदालतका ढोका ढकढकाउँदा आँट उमार्न सक्षम बनेका छैनन् । कुनै तराजुमा जोखिनसकेका छैनन् । करतुतहरू किन दिनहरूझैं बढ्दैछन् ?
सर्कसजस्तो जीवन किन जोवनजस्तो बन्नसकेको छैन ? चिट्ठाजस्तो आकर्षणको आकाशमा पौडेर इन्द्रजालको मोटो हिप्नोटाइज्ड कहिले नमिठो बन्नसकेको छ र ? मृगतृष्णाको यो गद्दीमा आसीन भएर सुस्ताउने आश्वस्त भइसकेका मान्छेहरू सधैं बढी बाँच्ने कसरत गरिरहेका छन् । मृत्युमाथि विजयका झण्डाहरू फरफराउने अभीष्टका भारी बोक्छन् र आयुमा धमिरा लगाएर क्षयग्रस्त बन्छन् ।
सपनामा शुभलाभ ढुकुटीको पैसालाई खनखनी गनेर विपनाको डेक्चीहरूमा भात छड्किँदैन । प्रेमको सीमा नाघेर ताजमहलमा गजुर लगाउँदैमा पुष्पवृष्टि अनुकूल एकैपटक छिप्पेको प्रेम कहाँ उमार्न सकिन्छ र ?
सुन्दरता विनाशको लागि हतारिन्छ । शर्तको श्राप मोक्ष नभएर हो कि अभिशाप बनेको छ सुन्दरता यहाँ । वाटिकामा नराम्रा पुष्पहरू उनेर पुरै फक्राएर धर्तीमा पछारिन्छन् । तर सुन्दरताले लिपिएकाहरू निमोठिएर छिट्टै बैठकहरूमा सजिन्छन् । मृग कस्तुरीकै कारण शिकार बन्छन् । धोकाले सुन्दरता र सुन्दरताले धोका पलपल जन्माइरहेका छन् । रङ्गमञ्चभित्र र पर्दाबाहिरजस्तै ।
प्रदूषण हरेक पक्षको सर्वमान्य हो । दृश्यात्मक र अदृश्यका भीरहरूभित्र जताततै सुक्ष्मातिसूक्ष्म रुपमा तन, मन, धन र चराचरका सम्पूर्ण आकाशमा माथि, तल र भित्र प्रदूषणको राज्य छ । विकल्पहीन छ यो । निर्विकल्प । अब रहरहरूमा रङ्गीन छाया पर्यो भनेर विचलित हुनु जरूरी छैन । मात्र जरूरी छ जिन्दाबादको, जिन्दाबादको ।
–२०५१
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।