‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ५ पुस्तक – कश्यप प्रसाद पौडेलको ‘डायनकी छोरी’, धनराज गिरीको ‘पाखण्ड पुराण’, उपेन्द्र त्रिपाठीको अक्करे भीरको बाटो हिँडेपछि, अमर त्यागीको अव्यक्त र विद्या भण्डारी ‘चिराग’को ‘लौरी हजुरबुबाको’ ।

१. डायनकी छोरी – कश्यप प्रसाद पौडेल

समाज सेवाको क्षेत्रमा संलग्न कथाकार कश्यप प्रसाद पौडेलको कथासङ्ग्रह हो ‘डायनकी छोरी’ । २०७७ को मंसिरमा पहिलोपटक प्रकाशनमा आएको यो कृतिको दोस्रो संस्करण हालै प्रकाशनमा आएको छ ।

‘समाजको पिँधमा रहेका वा पिँधमा पारिएका भुइँमान्छेका समस्या र संघर्षप्रति सरोकार राख्नु सबैको दायित्व हो । त्यसमाथि लेखकलगायत सचेत व्यक्तित्वहरुबाट यस्तो विषयमा चासो राख्नु झनै जरुरी छ ।’, पुस्तकमा आख्यानकार नयनराज पाण्डे लेख्छन्, ‘कथाकार कश्यप प्रसाद पौडेल आफ्ना कथाका पात्रहरुको सुख–दुःखलाई बहसमा ल्याउन प्रतिबद्ध देखिन्छन् । यस्तै बहसले प्रश्न निमार्ण गर्छ । समाज, सरकार र सत्तासित प्रश्न गर्नु अहिलेको आवश्यकता हो । कश्यपजीका सबै कथाहरु त्यस दिशामा अग्रसर देखिन्छन् ।’

‘आधुनिक नेपाली समाजबाट लोप भइसकेका र लोप हुने क्रममा रहेका नेपाली परम्परा, चाडपर्व, सामाजिक परिवेश, पौराणिक समाजको सोच, पुरानो संस्कृति, जन्मभूमिप्रति राख्नुपर्ने स्नेह र देशप्रति दलहरुको नैतिक जिम्मेवारी यो पुस्तकमा समावेश भएका मूलभूत विषयवस्तु हुन् ।’, पुस्तकमा कश्यप प्रसाद पौडेल लेख्छन्, ‘ती सबै विषयको जानकारी नयाँ पुस्तालाई दिनुपर्छ भन्ने मेरो मान्यता भएकाले मैले यी २१ वटा कथाहरुमा ती विषयहरु समावेश गरेको हुँ । यसमा केही यथार्थ र केही कल्पनाका कुरा उल्लेख छन् । कहीँ–कतै कोहीसँग मिल्न गएमा संयोगमात्र हुनेछ ।’

पुस्तकलाई रोशन–समीक्षा पौडेलले प्रकाशनमा ल्याएका हुन् । २१ कथाहरु सङ्ग्रहित यो कथासङ्ग्रहको मूल्य ४ सय रुपियाँ रहेको छ ।

२. पाखण्ड पुराण – धनराज गिरी

साहित्यकार धनराज गिरीको व्यङ्ग्य निबन्धसङ्ग्रह हो ‘पाखण्ड पुराण’ । सङ्ग्रहमा ‘सज्जन कसले खोजेको छ र !’, ‘महागुरुको कार्यतालिका’, ‘म के कम छु ?’, ‘कालीपारे आमोईको गन्थन’, ‘रहरको कहर’, ‘प्रभुको राजदूत हुने सपना’लगायत ५२ ओटा चोटिला निबन्धहरु सङ्ग्रहित छन् । सफल कवि, निबन्धकार तथा कथाकार गिरी व्यङ्ग्य लेखनमा समेत उत्तिकै निपुण छन् भन्ने कुरालाई सङ्ग्रहमा सङ्ग्रहित निबन्धहरुले पुष्टि गरेका छन् ।

‘‘म एक गुमनाम पात्र हुने थिएँ । एउटा गणित शिक्षक, १८ घण्टे टयूटर ! मलाई दामको लोभ र मोह छैन । तर जब म साहित्यकारहरुको सम्पर्कमा आएँ, लाग्छ मलाई पनि साढेसातीले छोयो ।’, पुस्तकमा गिरी लेख्छन्, ‘प्रा.डा. गोविन्दराज भट्टराई दाजै र मेरो सर्वप्रिय अनुज जीवा लामिछाने यायावरको विशेष स्नेह र भरोसाले, त्यसमाथि समाजिक सञ्जालले मलाई मबाट धेरै टाढा पुर्यायो । मानिसहरुले ‘धनराज गिरी’लाई भने मलाई चिनेनन् । यो पनि एउटा विषयगत रमाइलो नै रहेछ । अभिव्यक्ति बाबा, आदरणीय नगेन्द्रराज शर्माज्यूले ‘यायावर र जमघट’ जिम्मा लगाएर मलाई घरवासी होइन, विश्वव्यापी बनाउनुभयो । आजको म, धेरै आफन्तहरुको माया र प्रेरणाले बनेको म हुँ ।’’

अर्थशास्त्रमा एम.ए. गरेका गिरीले ४२ वर्ष गणित र तथ्याङ्कशास्त्रको प्राध्यापन गराए । ५१ भन्दा बढी पुस्कार तथा सम्मानबाट सम्मानित गिरीका एक दर्जन कृतिहरु प्रकाशित भइसकेका छन् ।

पुस्तकलाई गोरखा पब्लिकेसन्स प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । २ सय ५२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ८५ रुपियाँ रहेको छ ।

३. अक्करे भीरको बाटो हिँडेपछि – उपेन्द्र त्रिपाठी

‘थिएनन् चाइने जो काका
आमाले कुटेर रुँदै दगुर्दा
ईशाराले बोलाएर मिठाई ख्याई फुल्याउँथे
गाउँ नै नरहनु भनेको
मान्छे हुनु तर नामै नहुनु जस्तै रहेछ
गाउँ नै नरहनु भनेको
शरीर हुनु तर मुटु नै नहुनु जस्तै रहेछ’
(बाढीपछि गाउँ पुग्दा)

चितवन निवासी कवि उपेन्द्र त्रिपाठीको कवितासङ्ग्रह हो ‘अक्करे भीरको बाटो हिँडेपछि’ । उनका कविताहरुमा मानवीय संवेदनका साथमा सम्बन्धहरु चित्रण सचित्र पाइन्छ । उनका कवितामा अध्यात्मिक झलक समेत देखिएका छन् ।

‘कवि उपेन्द्रको यस कविता गोरेटोमा हिँडिरहँदा पाश्र्वमा मैले भूपीलाई सम्झिरहेँ । यसको अर्थ छ । यस सङ्ग्रहका कवितामा भूपीको काव्य स्कूलका सुन्दर र आकर्षक प्रभावहरु छन् ।’, पुस्तकको भूमिकामा कवि भूपीन लेख्छन्, ‘कवि उपेन्द्र यसलाई सहर्ष स्वीकारेर लेखकीय इमान्दारिता देखाउँछन् । यस कृतिका अधिकांश कवितामा तुकबन्दीलाई शक्तिमा बदलेका धेरै उदाहरणहरु छन् । ती पङ्क्तिहरुले घरि हसाउँछन् घरि रुवाउँछन् ।’

यस सङ्ग्रहमा ५७ थान कविताहरु सङ्ग्रहित छन् । सङ्ग्रहित अधिकांश कविताहरु छोटा आयतनका रहेका छन् । डा. सञ्जय पौडेलले प्रकाशनमा ल्याएको कवितासङ्ग्रहको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

४. अव्यक्त – अमर त्यागी

अकर्म
अक्कर अग्लो
अधर्म

साहित्यकार तथा काव्य विधाको लघुतम् नेपाली उपविधा बाछिटा प्रवर्तक अमर त्यागीको बाछिटाहरुको सङ्ग्रह हो ‘अव्यक्त’ । यस सङ्ग्रहमा ‘बाछिटा’को सैद्धान्तिक स्वरुपको समेत एक विस्तृत आलेखमार्फत् व्याख्या समेत गरिएको छ जुन बाछिटा लेख्न अग्रसर बाछिटाकारहरुका लागि सहयोगीसिद्ध हुन्छ ।

‘बाछिटा नवीनतम काव्यिक उपविधा हो । यसको रचना सूत्रात्मक हुन्छ । यसमा सूक्ष्म विषयलाई गहन रुपमा प्रस्तुत गरिन्छ ।’, बाछिटाको सैद्धान्तिक स्वरुपको निष्कर्षमा त्यागी लेख्छन्, ‘यसमा तीन–पाँच–तीन अक्षरका ती पङ्क्तिहरु रहन्छन् । यसमा प्रकृतिका कुनै पनि रुप वा झलकलाई बिम्बको रुपमा प्रयोग गरिन्छ । यसको प्रस्तुति प्रतीकात्मक हुन्छ । यसमा विषयको उठान, उत्कर्ष र मर्मस्पर्शी निष्कर्ष अन्तर्निहित रहन्छ । यसका तीनै पङ्क्तिबिच अर्थगत सामञ्जस्यता रहेको हुन्छ । सूत्रहाइकु र लघुहाइकु लेखनको पृष्ठभूमिबाट काव्यिक उपविधाको रुपमा बाछिटाको प्रवर्तन भएको हो ।’

त्यस्तै, पुस्तकको प्रकाशकीयमा लेखिएको छ, ‘त्यागीको यस कृतिभित्र बाछिटाको सिद्धान्त पनि समावेश छ । यसले बाछिटा भनेको के हो ? यो कसरी लेखिन्छ ? यसका खास खास विशेषताहरु के हुन् ? यी प्रश्नको उत्तर खोज्न सहज हुनेछ भन्ने हामीलाई लागेको छ । यसभित्र अनुभव र अनुभूतिका विभिन्न अभिव्यक्ति समेटिएका बाछिटाहरु छन् ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ६० पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ७५ रुपियाँ रहेको छ ।

५. लौरी हजुरबुबाको – विद्या भण्डारी ‘चिराग’

नरोकिई सधैं एकनास हिन्छ समय,
सफल त्यही हुन्छ जसले चिन्छ समय ।

समयमै गर्छ जसले गर्नु पर्ने काम,
उसलाई नै पुरस्कार दिन्छ समय ।

ढिलो गर्ने, अल्छी हुने बानी छ जसको,
उसको पाउने भागै खोसी लिन्छ समय ।

नजिस्कनु समय छ साह्रै बलावान्,
ठट्टा गर्नेको खुशी छिन्छ समय ।

नरोकिई सधैं एकनास हिन्छ समय,
सफल त्यही हुन्छ जसले चिन्छ समय ।

कवि तथा गजलकार विद्या भण्डारी ‘चिराग’को सचित्र बाल गजलसङ्ग्रह हो ‘लौरी हजुबुबाको’ । २० बालगजलहरु सङ्ग्रहित सङ्ग्रहमा चित्र भर्ने काम चित्रकार नवीनभक्त अधिकारीले गरेका छन् । सरल र सहज शब्दका साथ बालबालिकाले बुझ्ने भाषामा लेखिएका गजलमा चित्रहरुले थप नवीनता र रोचकता थपेका छन् ।

‘‘यो सचित्र बाल गजलसङ्ग्रहमा शीर्षकसहितका २० वटा गजलहरु समेटिएका छन् । यिनमा विविध खालका भावहरु देख्न पाइन्छ ।’’, भूमिकामा समीक्षक रमेश प्रभात लेख्छन्, ‘तीमध्ये दुईवटा गजल हजुबुबासँग सम्बन्धित छन् भने एउटा गजल हजुरआमासँग सम्बन्धित छ । बाँकी गजलहरु मामाघर, नेपाली जाति, हाम्रा चाडपर्व, हाम्रा विद्यालय, बालापन र हाम्रा आनीबानीसँग सम्बन्धित छन् । यी गजलहरु पढेर तपाईँका मनमा पनि गजल लेख्ने रहर पलाउन सक्यो भने लेखकको सफलता अझ चुलिने छ ।’

पुस्तकलाई पं. नीलकण्ड पौडेल स्मृति प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।