रवि भवन किर्तिपुरबाट काठमाडौँ आउने छोटो बाटोको एउटा नाका हो । किर्तिपुरबाट ट्यांग्लाफाँट हुँदै रवि भवन आइपुग्न आधा घण्टा लाग्दैन । यो निषेधाज्ञाको अवज्ञा गरूँ कि भनेर सोचेँ तर गरिनँ । किर्तिपुरका जेष्ठ नागरिकहरूसँगको भेटघाट र अन्तरवार्ताको मेरो नियमित कार्यक्रम छुटिरहेको थियो । आज किर्तिपुरको बस्तीमा घुम्न जाने, सकेसम्म बढी उमेर भएका जेष्ठ नागरिकहरूको खोजी गर्ने र उहाँहरूसँग त्यहाँको ठेट नेपालभाषामा कुराकानी गरेर पुराना कुरा सुन्ने ख्याल रमाइलो र ज्ञानबर्धक हुँदैन । किर्तिपुरको इतिहास धेरैले लेखे होलान् । नेपाली विदेशी इतिहासकारहरूले आआफ्नै ढङ्गको आआफ्नै कल्पना र तथ्यको आधारमा । तर अहिले प्रविधिले साथ दिइरहेको बेला पाका मानिसहरूसँग कुरा गर्नु भनेको उहाँहरूको इतिहास उहाँहरूलाई नै भन्न लगानु पनि हो । यो उहाँहरूप्रति सम्मान गर्ने र सिक्ने रहर हो ।
स्थानीय निकायको निर्वाचन भएको पनि ३ वर्ष भयो । सरकारले जेष्ठ नागरिकहरूलाई भत्ता दिने निर्णय गरेको छ । सरकारले सानै रकम भए पनि लगानी गरेको छ । सरकारलाई लगानी गरेअनुसार धेरै ठूलो फाइदा लिएको पनि छ । जनताको तथ्याङ्कमा सुधार भएको छ । भत्ता दिनका लागि केही प्रमाणसहित तथ्याङ्क बनेको छ । प्रत्येक वडामा कति उमेरका कति जना जेष्ठ नागरिकहरू हुनुहुन्छ भन्ने तथ्याङ्कले स्थानीय निकायहरूलाई नीति निर्माणमा सहयोग पनि पुगेको छ । स्थानीय काम गर्नेबेला भएको जनताको तथ्याङ्क निर्माण गर्ने, अध्यावधिक गर्ने हो भने काम गर्न सजिलो हुनेछ । उमेरसँगै स्वास्थ्य, शिक्षा, अनुभव, आर्थिक स्थितिको पनि तथ्याङ्क रह्यो भने उहाँहरूसँग सहयोग लिन पनि सजिलो हुनेछ । एकातिर जेष्ठ नागरिकहरूले काम पाउनु भएको छैन भने अर्कोतिर विज्ञहरूको अभावमा काम भइरहेको छैन ।
साठीको उमेर नाघिसकेपछि नै नेपाली समाजमा अब म बूढाबूढी भएँ भन्ने मानसकिताले पक्रन्छ । त्यति उमेरका मानिसहरू कोही बिरामी भएका, कसैका खुट्टा नचलेका, कोही प्यारालाइसिस, कोही दमका रोगी, कोही मुटुका बिरामी आदि देखापर्न थाल्छन । कतिपय आफू साठीको हाराहारी पुगेकाहरूले पनि जङ्कु गर्ने इच्छा चैँ भित्रभित्रै राख्ने गरेको महसूस यो पंक्तिकारले गरेको छ ।
नेवा परम्परामा जङ्कु गर्ने चलन छ । गर्नेभन्दा पनि गराइदिने चलन हो । ७७ वर्ष ७ महिना ७ दिन लागिसकेपछि नेपाली समाजमा थोरै मात्र सशक्त हिँडडुल गर्न, सोच्न, काम गर्नसक्ने हुन्छन् । जङ्कु गर्ने भनेको चिनेजानेका देखि नातेदारहरूलाई बोलाएर धुमधामको उत्सव गर्नु हो, जुन महोत्सवका लागि प्रशस्त रकमको पनि जोहो गर्नुपर्ने हुन्छ ।
र्कीतिपुर कथा भन्ने क्रममा म त कता पो हराएछुँ । किर्तिपुरका आजका एक सम्पन्न र बौद्धिक परिवारका कुरो यस्तो छः
हामीले पनि बाआमाको जङ्कु गर्यौँ । किनभने जङ्कु गर्ने उमेरसम्म बाँच्नु भनेकै ठूलो कुरा । त्यो पनि स्वस्थ भइरहनु त अझै गारो हाम्रो समाजमा ।
मेरा बा कुल्ली काम गर्नुहुन्थ्यो, आमा गाउँघरकै मेलापातमा लाग्थिन् । दुवै मिलेर १५/- रुपियाँ कमाउँथे रे ! काम पाएका दिन खान पुग्थ्यो, लगाउन पुग्ने थिएन । म जन्मँदा २००/- रुपियाँ ऋण लागेको थियो भन्छन्– बाआमा । दुवैले काम पाएको र काम गर्न सकेको दिन राम्रो दिन हुन्थ्यो । नपाएको/नसकेको दिन नराम्रो दिन हुन्थ्यो । २ सय रुपियाँ ऋणको ब्याज कामैले चुक्ता गर्नुपर्दथ्यो । जति काम गरे पनि ब्याजै मात्र चुक्ता हुन्थ्यो, सावाँ जस्ताको तस्तै । मेरा बालाई भने ब्याज चुक्ता भएको कुरामै पनि खुसी नै लाग्थ्यो ।
बाआमाले, खाई–नखाई मलाई गाउँकै स्कूलमा भर्ना गरिदिए । स्कुलमा भर्ना भइसकेपछि म पनि गाउँका ठालूहरूकै सन्तानसरह पढ्न पाएकी थिएँ । गाउँमा छोरीलाई पढाउनु भनेको बानीबेहोरा बिगार्नु हो, विनासित्तिमा खर्च गर्नु हो भन्ने धारणाले बलियो रूप लिएको बेला मेरो पढाइ सबै गाउँलेहरूको आँखामा बिझेको थियो । मेरा बाआमाहरूलाई गाउँघरमा काम दिन छाडियो । छोरीलाई पढाएर गाउँ बिगार्नेलाई काम नदिएपछि सुध्रिन्छ कि भनेर । करिब एक महिनासम्म निकै मुस्किल पर्यो, हामीहरू खान नपाउने भयौँ, कसैले पैँचोसम्म नदिने भए ।
बा दिनदिनै काम खोज्न जानुहुन्थ्यो र निराश–लखतरान भएर फर्किनुहुन्थ्यो । घर आइपुगेर गुन्द्रीमा लड्नुहुन्थ्यो । बाको स्थिति देखेर आमा कुनातिर गएर बाले नदेख्ने गरी रुनुहुन्थ्यो । मलाई पनि भोक र त्यो परिस्थिति दुवैले गर्दा आँखाभरि आँसु आउँथ्यो । मलाई त्यतिखेर के लाग्थ्यो भने, म पनि धेरै पढुँला, निकै पैसा कमाउँला, मेरो बाआमालाई कुनै पनि साहुन्दा पनि कम नहुने गरी पालाँैला ।
मैले दिनदिनै यस्तै सपना देख्न थालेँ । तर वास्तविक स्थिति अर्कै थियो ।
काम खोज्दाखोज्दा मेरो बाले कतै घरेलु कामदारको काम पाउनुभयो । तलब त निकै कम थियो । तर दिनदिनै काम नपाइएला कि भन्ने डरचाहिँ भएन । एक दिन बाले एउटा चियादानी , १२ वटा गिलास, १ पाकेट चियापत्ती, १ पाकेट चिनी किनेर ल्याउनुभयो । एउटा चुल्हो बनाउनुभयो र आमालाई चिया बनाउने तरिका सिकाउनुभयो । र भन्नुभयो– ‘तैँले चिया पसल चला ।’, आमा जे पनि गर्न तयार हुनुहुन्थ्यो, उहाँले सहजै स्वीकार्नुभयो । यसरी हाम्रो घर (?) चियापसल भयो । मान्छेहरू जमघट हुने थलो भयो । बिहान बेलुकी चिया पिउँदै मान्छेहरू घन्टौँ बस्थे र देशविदेशका कुराकानी गर्थे । हामीलाई सुरुसुरुमा उनीहरूको कुरा अचम्म लाग्थ्यो । पछि हामी पनि अव्यस्त भयौँ । यसरी हाम्रो गुजारा हुँदै गयो ।
यसरी आज हामी बाको जङ्कु गर्न त सक्ने भयौँ । किर्तिपुरको एक बौद्धिक र सम्पन्न परिवारका रूपमा स्थापित पनि भयौँ ।
तर समय यस्तो छैन, जेष्ठ नागरिकहरूले जीवनको महत्वपूर्ण समय परिवार र देशलाइ दिए पनि उहाँहरूको स्थिति परिवार र आफन्तहरूबाटै असुरक्षित छ । उहाँहरूप्रतिको जिम्मेवारी न परिवारले न राज्यले लिन चाहेको छ । अब जेष्ठ नागरिकहरूले समय अनुसार आफैँ स्वतन्त्र बाँच्ने अभ्यास गर्नुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।