परापूर्वकालमा एक जना पौरवनन्दन सुविख्यात राजा थिए, उनको नाम थियो : उपरिचर वसु ।
उनी सदा धर्ममा मन लगाउँथे । तर, उनलाई शिकार खेल्ने ठूलो सोख थियो । वनमा जाने, हिंसक पशुहरुको शिकार खेल्ने उनको नित्य नियमै थियो ।
एक समय यस्तो आयो– उनलाई शिकार खेल्न पनि मन लाग्न छाड्यो । समस्त अस्त्र शस्त्र त्याग गरेर उनी शान्तभावले आश्रममा बस्न लागे । अनि उनी नियमपूर्वक तपोनिष्ठ रहन थाले । उता देवराज इन्द्रलाई छटपटी हुन थालीहाल्यो । हो न हो, अब यिनले तपस्या गरेर मेरो इन्द्रपद ताक्न लागेका हुन् भन्ने ठानेर उनका सामु आए र तपस्याबाट निवृत्त हुन अनुरोध गरे । भने :
तिमी यस धरतीको राजा बन र मलाई सहयोग गर । म स्वर्ग सम्हाल्छु, तिमी धरती सम्हाल । तिमी चेदिदेशका नरेश बन । त्यो अत्यन्त सुन्दर, सम्पन्न र पुण्यलोक हो । म यो दिव्य आकाशचारी स्फटिकमय विमान पनि तिमीलाई उपहार गर्दछु । अनि यो वैजयन्ती माला पनि, जसमा उनिएका कमलपुष्पहरु कहिल्यै ओइलाउँदैनन् । यसले तिमीलाई हरेक शस्त्रास्त्रको प्रहारबाट सदा बचाउनेछ । अनि यो बाँसको छडी पनि तिमीलाई मेरो प्रेमोपहार, जसले शिष्ट पुरुषको सदा रक्षा गर्दछ ।
यति भनेर, त्यति उपहार दिएर, देवराज इन्द्र अन्तर्धान भए ।
यसरी राजा उपरिचर वसु चेदिनरेश बने र ठीक एक वर्षपछि इन्द्रले उपहार दिएको त्यो बाँसको छडी धरतीमा गाडिदिए । नवसंवत्सरको पहिलो प्रतिपदाको दिन त्यस छडीलाई त्यहाँबाट उठाएर धेरै उच्च स्थानमा राखिन्थ्यो अनि कपडाले लपेटेर, चन्दन, माला र आभूषणहरुले सिँगारेर सजाइन्थ्यो, विधिपूर्वक हार चढाएर त्यसमा हंसरूपधारी देवराज इन्द्रको पूजा गरिन्थ्यो । त्यो पूजालाई प्रेमपूर्वक हंसरूप धारण गरेर देवराज इन्द्रले ग्रहण गर्दथे । त्यस भक्तिभावबाट प्रसन्न भएर इन्द्रले भने :
यस जगत्मा चेदिनरेश वसुले झैं जहाँ मेरो उत्सव मनाइन्छ र पूजा गरिन्छ त्यस सकल राष्ट्रले लक्ष्मी र विजय प्राप्त गर्नेछ ।
त्यसै समयदेखि हरेक वर्ष इन्द्रजात्रा मनाउने चलन चल्यो ।
….
देवराज इन्द्रको प्रसन्नताका लागि चेदिनरेश उपरिचर वसु हरेक वर्ष इन्द्रोत्सव मनाउँथे । उनका यशस्वी महापराक्रमी पाँच पुत्र भए : बृहद्रथ, प्रत्यग्रह, कुशाम्ब वा मणिवाहन, मावेल्ल र यदु ।
ती राजा उपरिचरको राजधानीका नजीक एउटी नदी बहन्थिन् तिनको नाम थियो : शुक्तिमती । एकपटक कोलाहल नाम भएको एक सचेतन पर्वतले कामविह्वल बनेर ती दिव्यरूपिणी नदीलाई रोकिदियो । नदीको धारा रोकिएको देखेर राजा वसुले कोलाहल पर्वतमाथि पादप्रहार गरे । त्यस पर्वतमा धाँजा पर्यो । जहाँबाट त्यो नदी पुनः प्रवाहित हुन थाल्यो । त्यस कोलाहल पर्वतले ती नदीका गर्भबाट एउटा छोरा र छोरी गरी जुम्ल्याहा सन्तान पैदा गरिन् र प्रसन्नताले ती राजालाई दिइन् ।
ती शुक्तिमती नदीका छोरालाई राजा वसुले आफ्नो सेनापति बनाए । ती सुन्दरी कन्यालाई आफ्नी पत्नी बनाए । तिनको नाम थियो : गिरिका । एक दिन ऋतुस्नानपश्चात् गिरिकाले राजासँग समागम गर्ने तीव्र इच्छा प्रकट गरिन् । उता त्यसै बेला प्रसन्न बनेका पितृहरुले राजालाई आज्ञा दिए : वन गएर हिँसक पशुहरुको वध गर । कन्दर्पपत्नी रति जस्तै उत्तेजक, परमसुन्दरी पत्नी गिरिकालाई स्मरण गर्दै राजा हिंसक पशुहरुको वध गर्न जंगल गए । त्यो वन गन्धर्वहरुको चैत्ररथ उपवनजस्तै परमरमणीय थियो । त्यहाँको भव्य वासन्ती मनमोहक सौन्दर्य देखेर राजा कामोद्दीप्त भए । त्यहाँ फूल र मृदु पालुवाले आच्छन्न सुरभिमय एक अशोक वृक्ष थियो । त्यसैका मुनि उनी आराम गर्न वसे । त्यहाँ कामोद्दीपक वायुले प्रेरित भएर गिरिकालाई स्मरण गर्दागर्दै उनी परम उत्तेजित भए र उनको वीर्यक्षरण भयो । यसै खेर नजाओस् भनेर उनले त्यो रुखको पातमा छोडिदिए, गिरिकाको ऋतुकाल पनि निष्फल नहोस् भन्ने विचार गरेर पुत्रोत्पत्तिकारक मन्त्रहरुले अभिमन्त्रित गरी राजाले त्यो वीर्य त्यहाँ नजीकै बसेको बाज पक्षीलाई आफ्नी पत्नी गिरिकाका छेउ पुर्याउन आदेश दिए । त्यो बाज तीव्र वेगका साथ त्यो वीर्यपात्र बनेको पातको पुटक बोकेर त्यहाँबाट उड्यो ।
त्यसैबीच अर्को बाजले त्यसलाई देख्यो र त्यसले बोकेको वस्तु मासुको चोक्टो होला भन्ने ठानेर त्यसमाथि आक्रमण गर्यो । ती दुई बाजका बीच लुछालुछ हुन थाल्यो । यसै घम्साघम्सीमा त्यो वीर्य तल खस्यो, जहाँ यमुना नदीको निर्मल जलप्रवाह बहिरहेको थियो, त्यहीं खस्यो ।
संयोग कस्तो परेछ भने, एउटी सुन्दरी अप्सरा थिइन् अद्रिका नाम भएकी । कुनै नकाम गरेकीले उनलाई ब्रह्माजीको शाप लाग्यो, अनि उनले माछा बन्नुपर्यो । त्यो मछली त्यही यमुनाको जलप्रवाहमा खेलिरहेकी थिई । उसले आकाशबाट खसेको त्यो वस्तु निकै स्वाद मानेर खाई ।
दश महिना यसै बित्यो । एक दिन माछा मार्ने माझीले त्यो माछियालाई आफ्नो जालमा पार्यो । निकै विशाल आकारको त्यस माछालाई घरमा लगेर चिरेर हेर्दा त पेटभित्र एक जोडा केटाकेटी पो फेला परे । आश्चर्यजनक घटना भएकाले त्यस माझीले तुरुन्तै राजाका समक्ष यो कुरा निवेदन गर्यो । ती केटाकेटी मध्ये केटोलाई राजाले स्वयं ग्रहण गरे । त्यसको नाम राखियो : मत्स्य । पछि त्यो प्रसिद्ध राजा भयो । त्यस केटीको चाहिँ शरीरबाट माछाको उग्र गन्ध आउँथ्यो, त्यसैले राजाले उही माझीलाई दिंदै भने : यसलाई छोरी बनाएर पाल् । ती केटी सत्यले संयुक्त, र समस्त सद्गुणले युक्त थिइन् । तिनको नाम सत्यवती भनेर लोकमा प्रसिद्ध भयो । माछाजस्तो गन्धवाली भएकीले उनलाई मत्स्यगन्धा भनेर बोलाइने गरिन्थ्यो ।
उता त्यो शापग्रस्त अप्सरा अद्रिकाचाहिं शापमुक्त बनेर स्वर्गलोकमा गई ।
भएको के थियो भने :
माछा भएर पनि तैंले जब दुई मानवसन्तानलाई जन्म दिनेछेस् अनि तँ शापमुक्त हुनेछेस् : भनेर, उसलाई शाप दिंदा ब्रह्माले शापमुक्तिको अवधि पनि तय गर्नुभएको थियो ।
त्यो मत्स्यगन्धा भन्ने केटीचाहिँ जति जति हुर्किंदै गई उति उति औधी राम्री हुँदै गई । हुन त उसको जिउबाट ठँस्ठँस्ती माछाको गन्ध आउँथ्यो । तर, तेसको मुस्कान मुहुनीदार थियो, शरीर बान्किलो अनि यौवन उन्मादक । त्यो केटी आफ्ना माझी बाबुको काम सघाउँथी । स्वयं नाउ चलाएर यमुना नदीमा यात्रुहरुलाई आरपार गराउँथी । एक दिन तीर्थयात्रामा निस्किएका महर्षि शक्तिपुत्र ऋषि पराशरको दृष्टि त्यसमाथि पर्यो । नदी पार गरिरहँदा उनले त्यसलाई एकतमासले हेरिरहे, उसको त्यो बान्किलो रूप–यौवन देखेर ऋषि तिनमाथि आसक्त भए र उनले ती केटीसँग समागम गर्ने इच्छा व्यक्त गरे । मत्स्यगन्धाले पनि देखी– ऋषि तेजस्वी छन् तपोबलले उद्दीप्त छन् । उसलाई नाइँ पनि भन्न मन लागेन । उसले भनी :
हेर्नुहोस्, नदीका वारिपारी किनारबाट कति धेरै ऋषिहरुले हामीलाई हेरिरहेका छन् । के भन्लान् ? कसरी गर्ने समागम ?
अनि ती तपोसिद्ध ऋषिले आफ्ना सामथ्र्यले तत्काल बाक्लो हुस्सु प्रकट गरिदिए, अब कतैबाट कसैले नदेख्ने भयो । यो चमत्कार देखेर त्यो केटी एकातिर आश्चर्यचकित भई अर्कातिर लाजले भुतुक्क पनि, अनि भनी :
हे मान्यवर तपस्वी, म कुमारी केटी हुँ, म पिताको अधीनमा छु, स्वच्छन्द छैन, तपाइँसँगको समागमले मेरो कौमार्यभंग हुनेछ । गर्भ रहनेछ । अनि म कसरी घर जाने? अनि कलंकित जीवन लिएर कसरी बाँच्ने ? यी सबै कुरामा रामरी विचार गरेर जे हजुरलाई उचित लाग्छ त्यही गर्नुहोस् ।
ऋषि पराशरले भने :
हे भीरु, तिमी यसरी नडराऊ । मेरो प्रिय कार्य गरेर पनि तिमी कन्या नै रहनेछौ, तिम्रो कन्याभाव नष्ट हुनेछैन । ल, अब तिमीलाई जे मन लाग्छ माग । म तिमीलाई त्यो अवश्य दिनेछु । मेरो अनुग्रह कहिल्यै व्यर्थ भएको छैन ।
आफ्नो सामथ्र्य पहिले नै प्रकट गरिसकेका ती चमत्कारी ऋषिको कुरा सुनेर मत्स्यगन्धाले विश्वासपूर्वक आफ्नो शरीर सुगन्धित होस् भन्ने वर मागी । फेरि पनि उसलाई चकित तुल्याउँदै तत्काल उसको शरीरबाट सारा दुर्गन्ध हट्यो र यस्तो मगमगाएको सुगन्ध बहन लाग्यो कि त्यसको गन्ध एक योजन टाढासम्म पनि गमक्क गम्किरहन्थ्यो । त्यसै कारण पछि उसको नाम मत्स्यगन्धाको साटो योजनगन्धाका नामले लोकविख्यात भयो ।
अनि ती अद्भुत काम गर्न सक्ने ऋषिसँग त्यस राम्री बास्नादार केटीले परमअनुराग र तन्मयताका साथ समागम गरी । दुवैले परमतृप्तिको सास फेरे र एक अर्काप्रति अनुगृहीत भए । फेरि अर्को चमत्कार भयो । तत्काल उसले एक दिव्य बालकलाई जन्म दिई । ती पराशरनन्दन बालकको नाम नैे महर्षि व्यास भनेर आज सारा संसारले जान्दछ । यमुनाका द्वीपमा जन्मिएका हुँदा उनलाई द्वैपायन पनि भनिन्छ । श्याम वर्णका हुँदा अझ कृष्णद्वैपायन भनिन्छ । वेदसमुच्चयलाई चार भागमा विभाजन गरेर चतुर्वेद बनाएकाले उनलाई वेदव्यास पनि भनिन्छ । तिनै कृष्णद्वैपायन वेदव्यासले न भूतो न भविष्यति यस अपूर्व ग्रन्थ महाभारतको रचना गरेका हुन् ।
यस्ता पराशरनन्दन वेदव्यासलाई कोटि कोटि नमन !
जन्मनासाथ उनले आमा सत्यवतीलाई भने :
मात ! आवश्यकता परेका बखत मलाई स्मरण गर्नुहोला । म आइहाल्छु ।
यति भनेर उनी तत्काल माताको आज्ञा लिएर तपस्या गर्न भनेर यमुनाद्वीपतिर गइहाले । उता सत्यवती जस्ताको तस्तै कुमारी केटीकै रूपमा घर फर्किइन् । परैबाट मगमग बास्ना आएको थाहा पाएर सबै जना छक्क परे । त्यस्तो ठँसठँसती गनाउने केटी आज मगमग हररर बास्ना आउने भएकी देखेर पत्याउनै गाहारो भयो । कसरी यो चमत्कार भयो ? बाबुले सोधेपछि उसले भनी :
बाबा, आज एक पुण्यात्मा ऋषि शक्तिपुत्र पराशर नाउ चढ्न आउनुभाथ्यो । उहाँकै कृपाले मेरो शरीरमा माछाको गन्ध पनि गयो, यस्तो सुगन्ध पनि आयो ।
अनि सबै प्रसन्न भएर ती परमशक्तिशाली ऋषिको जयजयकार गर्न थाले ।
युगैपिच्छे धर्मको एक एक पाउ लोप हुँदै गएको देखेर, वेद र ब्राह्मणहरु माथि अनुग्रह गर्दै, अष्टादश पुराणको रचना गरी वेदार्थलाई विस्तार गरेकाले नै उनको नाम वेदव्यास रहन गएको हो । उनले चारै वेद, र पाँचौं वेद यो महाभारत आफ्ना शिष्य सुमन्तु, जैमिनि, पैल र आफ्नै पुत्र शुकदेव र म वैशम्पायनलाई पनि अध्ययन गराएका हुन् ।
यो कुरा वैशम्पायन मुनिले राजा जनमेजयलाई बताउनुभयो ।
….
आदिपर्व, ६३ अध्याय, जयकाव्य महाभारत ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।